काँधमा जिम्मेवारी
अनि
छिनेको चप्पलको
लोताजस्तै
परिवार
छिमेकी
आफन्त
साथीभाइ भएपछि
म लागेँ विदेश
खाली खुट्टा
बिरानो देशको
भाषा, रहनसहन
बुझ्न नपाउँदै
मलाई
जेल हालियो
त्यसपछि अनेक
हल्ला चल्न थाले
मेरा बारेमा
समुन्द्रमा डुब्यो
आत्महत्या गर्यो
खरानी घस्यो
कैलाश पर्वततिर लाग्यो
शरणार्थी
कन्टेनरमा फालियो
कुशको लास
जलाइयो मेरो
छोराछोरीले पापा
जुस र चकलेट
भन्दा भन्दै
अघाए
बुढी
नाबालकहरूलाई छाडी
पर-पुरुषसँग सल्की
आमा नै त
थिइन् बस्
सखारै झिसमिसेमा
झरी, बादल, घाम नभनी
आँगनीको डिलबाट
मलाई नै
तर्केर बस्थिन्
यत्तिकैमा
१२ वर्षपछि
मलाई निर्दोष
भनी छाडियो
तर विडम्बना
फुलेको दाह्रीजुंगा र
फेरि त्यही उही
खाली खुट्टासँगै
चरम यातनाले
गर्दा पार्किङसन
त्यत्रो बेर
मेरो गाला
सुमसुमाएर पनि
न आमाले
मलाई छोरा भनी
ठम्माइन्
न नै
मैले चिनेँ।