सहरको त्यो मोडमा
दाहिने लक्ष्मी
र देब्रे सरस्वती थिए
तिमी दाहिने मोडियौ
र म देब्रे मोडिएको हुँ
यो दश वर्षमा
तिमी लाखौंको धन सम्पत्ति
पजेरोमा खेल्छौ
म एक्स, वाई र जेरोमा खेल्छु
तिम्रो सम्पत्तिले
सम्पत्ति नै थपिरहँदा
मेरो एक्स, वाई र जेरोले
मलाई साँच्चीकै जेरो बनाइरहेको छ
तिमी मेरो विद्यालयमा आउँछौ
लक्ष्मीको दान गरेर
विद्या प्रेमी भएर जान्छौ
म जिन्दगीभर सरस्वतीसँग खेलेर
विद्या प्रेमी हुन सक्दिनँ
यो समाज फेर्ने रहर बोकेर
सहरको त्यो मोडबाट
देब्रे मोडिएको म
आज आफ्नै हातको
चक, डस्टर फेर्न पनि
चौमासिक तलब
पर्खिनु पर्ने अवस्थामा छु
मलाई धनभन्दा विद्या ठूलो
भनेर पढाउने सरलाई
तिम्रै पजेरोमा चढेर
भेट्न जान मन छ
र सोध्न मन छ
तिमी लक्ष्मीको दान गरेर
विद्या प्रेमी हुन्छौ
म सरस्वतीसँग जिन्दगी बिताउँदा पनि
विद्या प्रेमी हुन सक्दिनँ भने
कसरी धनभन्दा विद्या ठूलो हुन्छ सर?