किताबमा के छ?
सबै उसलाई थाहा छ
कुन पेजमा कतिवटा अक्षर?
ती अक्षरका सम्बन्ध कुन शब्दसँग?
त्यो पनि थाहा छ
कुन पेजमा कति वटा शब्द?
कुन शब्दको सम्बन्ध कुन वाक्यसँग?
त्यो पनि थाहा छ
तर किताबभन्दा पर
अरु त अरु के कुरा?
भान्छामा आफूले खाँदै गरेको
भातको सिता र
यसको पिता- धान बीचको
सम्बन्धसम्म पनि थाहा छैन।
छोराले फो जिपिए ल्याएर
मख्ख परेको बाउलाई
मात्र फो जिपिए र
विज्ञान बीचको सम्बन्ध थाहा छ
विद्यार्थीले फो जिपिए ल्याएर
मख्ख परेको स्कुललाई
मात्र फो जिपिए र
विज्ञापन बीचको सम्बन्ध थाहा छ।