कहिलेकाहीँ केही नगर्दा पनि थकाइ लाग्छ। केही नगरी बस्दा आउने सोचको भारी नै उठाइनसक्नु हुन्छ, त्यसैले होला। 'खाली दिमाग शैतानका घर' त्यसै भनेको हैन। शैतानको घर हुनलाई त्यो दिमागले कसैलाई मार्ने योजना नै बनाउनु पर्दैन, आफ्नै पतनको बाटो सोच्न थाले पुग्छ, बस्।
केही नगरी बस्यो, शैतान मोटाउने। केही गर्ने सोच्यो, गर्ने चाहिँ के? जाउँ कि नजाउँ? कोही चिनेको मान्छे भेटे के गर्ने होला? नदेखेजस्तो गरिदिउँ? ठूलो भयो भन्ने सोच्लान्। तिमी ठूलो भएको सोच्छन्। तिमी भित्रको शैतान ठूलो भएको र आजभोलि तिमी नै तिमी नरहेको देख्दैनन्। भएभरकालाई त्यो देखाउँदै हिँड्न सक्दैनौ, त्यसैले जाऊ आफ्नो मनको गर। के गर्दा हुन्छ त्यो शैतानलाई चाहिँ मार।
आफूलाई यति भनिसकेपछि जाने निधो गर्छ।
सात बज्न लाग्यो। अब हिँड्यो भने ठिक्क बेलामा पुगिन्छ। बस्ने ठाउँ पनि भेटिन्छ। पुलनेर एउटा पानको दोकान छ। सधैँ त्यता जाँदा त्यहाँ छिरेकै हुन्छ। के चाहिँ गर्दो रहेछ भनेर परैबाट हेरेको- एक मुट्ठी ह्यापिडेन्ट किनेर खल्तीमा हालेको देखेँ। अर्को खल्तीमा पनि खै के हालेको जस्तो लाग्यो, मेसो पाइनँ। पाँचै-पाँचका नोट गन्दै ऊ आफ्नो बाटो लाग्छ। एअरपोर्टमा कसैलाई भेट्न छुट्ला कि जसरी यो मान्छे सिफलको उकालोमा पनि दौडिराछ, दायाँबायाँ कतै नहेरी।
आज चाहिँ लास होला कि नहोला भनेर सोचिराख्नै पर्दैन। कति वटा होलान् भनेर चाहिँ सोच्छ बरु- तीन वटा होलान्। जयबागेश्वरीमा बाटो काटेर पारि लाग्नेबित्तिकै अर्कै संसारमा पुगेजस्तो हुन्छ सधैँ। किन हो? ल आइपुग्यो! सधैँजस्तो त्यही १६ मिनेट लाग्यो। ४ महिना अघिसम्म १५ मिनेट लाग्थ्यो, बीचमा पान पसल छिर्न नपर्ने भएर।
कति मानिस आज पनि बाहिर बाटोतिर गयो, त्यत्तिकै! गाडीभित्र, त्यत्तिकै! कतै ममः खान छिर्यो, त्यत्तिकै! कोही नभएको ठाउँमा एकछिन शान्तिसँग बस्छु भनेर गयो, त्यहाँ पनि सधैँ त्यत्तिकै! कति अटाउन सक्या! तर उसले त्यो ठाउँलाई कोही नभएको ठाउँ भनेर सोच्न चाहिँ कहिल्यै छोडेन।
खासमा कोही नभएको ठाउँ त त्यही एकछिनपछि जाने डेरा मात्र हो। तर सबै कोही नभएको ठाउँमा शान्ति नहुन पनि सक्छ। डेरामा कोही छैन, शान्ति पनि छैन। बरु यहीँ ठिक छ। खुट्टा टेक्ने ठाउँ छैन। किन चाहियो? त्यो त डेरामै प्रशस्त छ नि। उसलाई चाहिएको कुरा यहीँ छ।
जाँच, रिजल्ट, कमाइ, भविष्य अनि अरु के-के, सबैलाई पोको पारेर एकछिन जयबागेश्वरी तिरै छोडेर आएको छ। अहिले फर्किँदा फेरि बोकेर जानुपर्छ। एकछिन अब यतै मग्न हुने हो।
मान्छे प्रायः सबैका हातखुट्टा छन्। प्रायः सबै बोल्न सक्छन्। अनुहार नमिले पनि बाँकी कुरा त उस्तै छन् तर कोही पनि उस्तै छैनन्। ऊजस्ता कोही छैनन्। उसैले जस्तो भारी बाहिर छोडेर उसैले जस्तो खोज्न आउने चाहिँ थुप्रै छन्। नजिकै एउटा मान्छे छ। उसैको जस्तो बनावट छ तर एकछिन पछि अर्कै हुनेवाला छ। हिजो ऊ पनि आज ऊ आको जसरी नै आको थियो होला। आज पनि आको छ तर अलि अर्कैगरी र आज सबै फर्किसकेपछि पनि ऊ फर्किँदैन।
त्यही ठाउँमा कसैलाई पर्नुसम्म आपत परेको छ। कसैलाई केही न केही। ऊ पनि केही न केही वालाजस्तो देखिन्छ। खोलापारि भइरहेको ताण्डवलाई मोबाइलमा भरेर जो बसिराछ। एकैठाउँमा एकजनाको अवस्था कस्तो, अर्काको कस्तो। उसको पनि दिउँसोसम्म उसकै जस्तो पारा थियो होला। उसैको जस्तो भारी बोकेर हिँडिराथ्यो होला। साँझमा उसैले जसरी जयबागेश्वरीमा भारी बिसाएर त्यहाँ जाने पनि सोचिराथ्यो होला।
जे होस्, जान त गयो। भारी पनि बाहिरै बिसाएर गयो। तर अब उसका भोलिदेखिका दिउँसोहरू आजको दिउँसोजस्तो हुँदैनन्। न उसले कहिल्यै फर्केर त्यो भारीलाई हेर्छ। त्यो भारी फेरि कस्तो भनौँ भने- एउटाले बिसाएपछि अर्को पिठ्यू खोजेर चढिहाल्ने। यतिबेलासम्म त्यसलाई अर्कैले बोकिसक्यो। उसले पनि अब बिसाउने-उठाउने, बिसाउने-उठाउने गरिराख्छ। तबसम्म जबसम्म अर्को पिठ्यू निस्किँदैन।
आँखैअगाडि यो सब भइराछ तर उसलाई मेसो छैन। होस पनि किन? यहीं सब नसोच्न भनेर त ऊ त्यत्रो १६ मिनेटको बाटो हिँडेर आको छ। अहिले त्यही कोही नभएको ठाउँमा फर्कँदा सोच्छ अनि भोलि साँझसम्म सोची नै रहन्छ।
अब फेरि उसकै कुरा गरौँ। उसले भारी बाहिरै छोडेर आको छ, त्यसैले भारीको कुरा चाहिँ नगरौँ। त्यो अब उसले बाहिर निस्केपछि फेरि उठाउँछ अनि भोलि साँझसम्म उठाइ नै रहन्छ।
ऊ त अझै मोबाइल ठाडो पारेरै बसिराछ। एउटा फुच्चे केटो क्यामरा अगाडि आउँछ। 'भैया, एक खरिद लो ना, मैँ आपके छोटे भाइ जैसा हुँ।' यो लाइन उसले अघिदेखि ४-५ चोटि सुनिराथ्यो तर खासै ध्यान दिएको थिएन। 'सिर्फ फिफ्टी रुपिज भैया। अच्छा चलो आपके लिए फर्टी।'
त्यो के चिज हो थाहा छैन। न त्यो फुच्चेलाई त्यसको नाम थाहा छ। उसले त्यो कहिल्यै देखेको थिएन। न उसलाई त्यसको आवश्यकता छ, न उपयोगिता थाहा छ। उसलाई एउटा कुरा थाहा छ। ऊ पनि एकचोटि १० वर्षको थियो। 'मम्मी यो किन्दिनु न', 'बाबा त्यो ल्याइदिनु न'- उसले यस्तो कतिचोटि भन्यो भन्ने उसलाई याद छैन। 'दाइ यो किन्नु न'- यस्तो चाहिँ उसले कतिचोटि भन्नुपर्यो उसलाई याद छ। एकचोटि पनि परेन।
हुन त ४० रुपैयाँ उसका लागि महँगै हो तर फुच्चेका लागि त्यो कति महँगो होला भनेर सोच्दा मात्र पनि उसले आफूलाई साह्रै सम्पन्न पायो। फुच्चेको आवश्यकताले उसले 'भैया खरिदो ना' भनेको त्यस चिजको उपयोगितालाई जित्यो। दुई चोटि गाडी चढिकन चार वटा ह्याप्पिडेन्ट खान पुग्ने त्यति पैसा राखेको भए खै केमा खर्च हुन्थ्यो तर आजसम्म पनि उसलाई गाडी चढ्न र ह्याप्पिडेन्ट खान पुगि नै राख्या छ।
त्यहाँबाट फर्केपछि खानलाई जसो भन्यो उसै छ। जाँदाजाँदै भिजे के लगाउने होला भनेर सोचिराख्न पर्दैन, न सुत्दा ढाड बिझाउँछ। छोराछोरीलाई के खुवाउने भनेर पनि दिमाग खियाइराख्न पर्दैन उसले, त्यो गरिदिने अरु नै छन्। एक घण्टा त्यहाँ बस्दा यतिसम्म सोच्न सक्ने हुन्छ ऊ।
त्यहाँबाट निस्कँदासम्म अघि पान पसलबाट लिएका पाँचै-पाँचका नोट सबै सकिए तर हातहरू अझै सकिएनन्। व्यर्थै ह्याप्पिडेन्ट किनेछु भनेर मन अमिलो पार्दै ऊ बाटो लाग्छ।
भारीहरू एकएक गर्दै पिठ्यू चढिसके। कोठामा पुग्दासम्म हिँडाइले भन्दा तिनै नदेखिने भारीको बोझले बढी गाल्छन्। अघि भर्खर पाँच-पाँचको नोट बाँडेर आएको ठाउँमा खान, लाउन, पल्टिन, रमाउन जे-जे भन्यो त्यही थिएन तर यहाँ छ। उसका लागि यो सब कहिल्यै सकिँदैन, ठिक त्यसैगरी जसरी त्यो एक घण्टाको शान्ति ऊसँग सधैँका लागि कहिल्यै आउँदैन।