फुटिसकेको खेत अनि
सुकिसकेको बाली हेरी
यहाँ बसेर थाप्लोमा हात राखेर
सरकारलाई नखोज
हतार नगर, ऊ आफै हतारिएको छ
तिम्रो जग्गा लिलाम गर्न पक्कै आउने छ
ऊ त्यही सडक किनारको प्लटिङमा
सरकार कुरेर बसिरहेको छ!
खाली प्लेट लिएर नपर्ख न उसलाई
थोत्रो झुपडीमामा बसेर नखोज न उसलाई
ऊ त्यही महल छेउमा हेर त
चिल्ला कारभित्र सुकिला मुख्यौटाहरू
आउने जाने गरिरहेका छन्
खोज्नु त्यही सरकार हुनेछ
त्यही दर्शन तिम्रो लागि अपार हुनेछ!
झुपडीमा पासो लगाउन
हतार नगर न ए मनुवा
ऊ त्यही पल्तिर हेर
महङ्गाइको मुखुण्डोमा
यो सरकार कुरेर बसेको छ
सरकारले केही गरेन भन्न
हतार नगर न ए मनुवा
एकदिन पक्कै केही त गर्नेछ!
तिम्रो गुनासो बाँकी रहन्न सधैं
तिम्लाई मार्ने मुख्यौटाभित्र खोज्नु
त्यहीँ सरकार हुनेछ
'भोकमरीले किसानको मृत्यु'
शीर्षकमा समाचार बन्नेछ
आखिर सरकारले केही त गर्नेछ!