खान मन नलाग्ने र बान्ता हुने क्रम रोकिएको थिएन। अस्ति स्वास्थ्य चौकीमा आइरन चक्की र भिटामिन बी कम्लेक्स मात्रै दिए। अस्तिसम्म तल्लो पेट दुखिरहेको थियो, हिजोबाट माथिल्लो पेट दुख्न थालेको छ। दुखाइ बढ्दै गयो। ग्यास्ट्रिक बढेको छ।
आँखा र छाला पहेलो देखिन्छ। जण्डिसको शंका लाग्यो। अस्पताल पुगेँ। अल्ट्रासाउण्ड र सिटिस्क्यान गर्दा पित्तथैलीमा पत्थरी देखियो। अप्रेसन गर्नुपर्ने भयो। अप्रेसनको दिन रबिनले राम्रो हेरचाह गरे। मेरो दुःखमा श्रीमानको साथ र सहयोगले म नतमस्तक भएँ। अघिपछि धेरै माया देखाउन नजाने पनि बिरामी हुँदा र अशक्त हुँदा बुढोले यतिसम्म गर्ने रहेछन् भन्ने लाग्यो।
अप्रेशन भएपछि केही दिन घरमा आराम गरेँ। कथा, कविता, आलेख, स्तम्भ टंकण गर्ने मेरा सोख थिए। मेरो डायरी भनेर डेस्कटपमा छुट्टै फोल्डर बनाएको थिएँ। खासमा समीपसँगको सम्बन्ध नजिकिएपछि मैले डायरी लेख्न सुरु गरेकी थिएँ। डायरीमा मनका कुरा लेखिरहेको बेला मोबाइलमा घण्टी बज्यो।
कलिङ फ्रम जापान भनेर स्क्रीनमा देखियो। जापानदेखि मलाई कसले सम्झेको होला भन्ने लाग्यो। फोन उठाएँ। हेलो भन्ने आवाज चिरपरिचित लाग्यो। विस्तारै हेलो भनेँ। मैले हेलो भन्नासाथ उसले सोधिहाल्यो, 'सरला कता हो?'
समीपको आवाज सुन्नासाथ म रिसले रातोपिरो भएँ। बिहेमा बोलाउँछु जसरी पनि आउनु भनेर आफैले भनेको मान्छेले निम्तोसम्म गरेन। त्यसयता मलाई दुई महिनादेखि सम्पर्क गरेन। जापान जाने बेलामा पनि एकपल्ट जाँदैछु भनेन। उसले आज जापानबाट मलाई फोन गर्दैछ।
'मिस्टर समीप, म तपाईंको टाइमपासको साधन होइन। न बिहेमा सम्झिनु भयो, न जापान जाँदा। अहिले उता पुगेपछि फोन किन? मैलै तपाईंलाई बिर्सिन थालिसकेँ, कृपया अबदेखि फोन नगर्नू।'
आक्रोश पोखेर फोन राख्न खोज्दा उसले भन्यो, 'म कुन परिबन्धमा परेँ भन्ने तिमीलाई कसरी सुनाउँ सरला? तिमीलाई यति चाढै बिर्सिन सक्छु भन्ने तिमीलाई कसरी लाग्यो र मलाई कल, मेसेज, फेसबुक, भाइबर, इन्स्टा सबैमा ब्लक गर्यौ? जुन दिन मेसेन्जरमा हाम्रो अन्तिम कुरा भयो त्यसमा तिमीले हतार-हतार कुरा गर्यौं।
अन्तिममा मैले अर्को बुधबार नै बिहे नै फिक्स भयो, मनको मान्छेले मलाई के गिफ्ट दिने? भनेर मेसेज गरेको थिएँ। सायद तिमीले त्यो पढिनौँ, अघिको सबै मेसेज डिलिट भए पनि त्यो मेसेज मेसेन्जरमा यसै रहेछ। तिम्रो बुढाले देखेछन् त्यो मेसेज। मलाई तिम्रै आइडीबाट त्यही दिन फोन आयो। तिमी नै होला भन्ने सोचेर फोन उठाएँ। पुरुष आवाज सुन्नासाथ म झस्किएँ।
'मेरो बुढी तिम्रो मनको मान्छे कसरी भो? को हो तिमी?' तिम्रो बुढाले जंगिएर सोधे। हामी नजिकको साथी भएको, आत्मिक र भावनात्मक रुपमा नजिक भएकोले त्यसो भनेकोले अन्यथा नसोच्न आग्रह गरेँ।
तिम्रो बुढो मसँग झन् आक्रोशित भए। मनको मान्छेलाई घरकै मान्छे बनाएर राख्ने हो भने बुढी नै दिन तयार रहेको भन्ने जस्ता अन्टसन्ट कुरा गरे। मैले आफ्नो तर्फबाट सक्ने जति प्रस्टाएँ। आफूहरू प्रोजेक्टमा सँगै काम गर्ने मिल्ने साथी भएको, एउटा पवित्र मित्रताको सम्बन्ध मात्रै रहेको भन्दै अनावश्यक बोलेको भएँ माफी दिन समेत अनुनय गर्दै बिहेमा दुवै जना आउनको लागि आग्रह पनि गरेँ। मैले आफ्नो कुरा सिध्याउन नपाउँदै उनले अबदेखि मेसेज गर्ने, फोनमा बोल्ने गरेको थाहा पाए ठिक नहुने चेतावनी दिएर फोन काटे।
बिहेपछि पनि तिम्रो फोन आएन। फेसबुक प्रोफाइल हेर्न मन लागेर खोल्न खोज्दा नाम नै भेटिएन। ब्लक गरिछौ। भाइबर, इन्स्टा सबैतिर ब्लक। कल गर्न खोज्दा पनि लागेन। मनमा डर लागिरह्यो। यता जापानको लागि डकुमेन्टेसन र भिजा प्रोसेसिङमा समय दिनुपर्ने थियो, व्यस्त भएँ। बिहे भएको महिना दिनमै हामी दुवै जापान आयौँ।
जापान उड्नुभन्दा दुई दिनअघि रश्मीको फेसबुक आइडी खोलेर तिम्रो फेसबुक प्रोफाइल हेरेँ। स्टाटस देखेँ, भोलि टिचिङ अस्पतालमा पत्थरीको अप्रेसन २ बजे फिक्स। भोलिपल्ट पौने दुई बजे अस्पताल पुगेँ। रिसेप्सनमा सोधेर तिम्रो वार्डमा पुगेँ। तिमीलाई त अप्रेशन थिएटर लगिसकेको रहेछ। वार्ड बाहिर तिम्रो बुढो रहेछन्। देख्नासाथ चिने। राता आँखा बनाएर मलाई हेरिरहे। मैले अकमकाउँदै भनेँ, 'माफ गर्नुहोस् सर, हजुरको चेतावनीबीच पनि म सरलालाई भेट्न आएँ। एउटा पवित्र मित्रताको सम्बन्ध मात्रै हो सरलासँग मेरो, गलत नबुझिनुदिनु होस्।' यति भनेर फलफूल र जुस छेउमा राखिदिएर हिँडें।'
'तपाईंले कथा भन्नु भएको हो कि साँच्चै हो समीप? यत्रो भैसक्दा पनि मलाई बुढोले किन एकपल्ट तपाईंको बारेमा सोधेनन् त?,' मैले आश्चर्य व्यक्त गरेँ।
'तिमीलाई तिम्रो बुढोले मसँगको सम्बन्धलाई लिएर नानाभाती भने होलान्, तिमीहरू बीचमा ठूलै लफडा भयो होला भन्ने सोचेर डर लागेको थियो। धन्न केही भनेनछन्। गंगाको जलझैँ पवित्र हाम्रो सम्बन्ध र घरपरिवारको बीचमा रहेको पर्दा समयमै हटाउन सकेको भए हामीबीचको सम्बन्धलाई परिवारले सहज रुपमा लिन्थ्यो होला तर अब परिवारले बुझ्ला भन्ने लाग्दैन।
त्यसैले अब हामी बीचको आत्मीयता र सानिध्यतालाई हाम्रो मनकै बाकसमा साँचो लगाएर राखौँ। विगतको स्वर्णिम क्षणलाई मिठो स्मृतिको रुपमा ल्यापटपको डायरीमा होइन, मनको डायरीमै राखौँ। म घरमा आइपुग्न लाएँ सरला। तिम्रो जीवन सुखमय रहोस्, भगवानसँग यही प्रार्थना गर्छु। बाई।'
म केही बोल्नै नपाई फोन कट्यो। मेरो गह भरियो। मैले समीपलाई गलत रुपमा बुझेर उनलाई सामाजिक संजाल तथा फोन कलमा ब्लक गरेकोमा आत्मग्लानी भयो। उनलाई चिन्न नसकेकोमा थक-थक लाग्यो। के गलत गरिएछ र यत्रो मानसिक पीडा खेप्न लेखेको होला भन्ने लाग्यो। बुढोप्रति साह्रै रिस उठ्यो। यत्रो कुरा भैसक्दा पनि मलाई यो विषयमा किन सोधेनन्। मलाई सोधेको भए घामझैँ छर्लंग बनाइदिन्थेँ उनलाई यो सम्बन्धको बारेमा।
घर आउँदै छन् उनी आज। आज आफैले कुरा झिक्छु भन्ने सोचेँ। बल्खुबाट हिँडिसकेँ भनेर फोन आयो। चिया खाजा बनाउन भान्सातिर लागेँ। गेट बज्यो। झ्यालबाट हेरेँ। रबिन आइसकेछन्। सरासर आएर केही नबोली भित्र छिरे। म केही समयपछि चियापानी लिएर कोठाभित्र छिरेँ।
उनले मेरो ल्यापटप हेर्दै रहेछन्। 'ल, बुढो चियापानी खाँदै हेर्नु..' के भनेको थिएँ, रबिन त मैमाथि खनिए। चिया पानी राखेको प्लेटलाई हातले उडाइदिए। गलैँचा र कार्पेटभरि चिया, पानी पोखियो। हेर्दै गरेको ल्यापटप बजारे। मोनिटर र किबोर्डको भाग दुईतिर भयो।
'के हेर्न लायक छ र हेर्नु? के खानु यो तँजस्तो आइमाईले ल्याएको?' भन्दै उनी बौलाए। कुरो बुझेँ, अघि ल्यापटपमा लेख्दा लेख्दैको डायरी यसै छोडेर म समीपको फोनमा व्यस्त भएँ। पक्कै त्यही डायरी पढेर यस्तो गर्दैछन्। बरबरी आँसु झरे, केही बोल्नै सकिनँ।
आज आफै कुरा झिकेर उनको सामु सबै असमझदारी प्रस्ट पार्छु भन्ने सोचेको थिएँ। के सोचेथेँ, के हुन गयो। उनले पहिलेको कुरा पनि झिके। समीपको मेसेज र हस्पिटलमा भेट्न आएको कुरा समेत झिकेर थप आरोप र गालीगलौजको वर्षा गरे। उनले बुझेजस्तो नराम्रो सम्बन्ध केही होइन भनेर भगवान र उनी स्वयंको कसम खाँदा पनि शान्त भएनन्।
अन्तिममा आफूले दुई विकल्प मध्ये एउटा रोज्न भनेँ। कि आफ्नो आचरण ठिक नभएको तर्क गरेर घरबाटै निकालिदिने कि अबदेखि ऊसँग नभेट्, नबोल् भनेर सुध्रिने मौका दिनुपर्ने भनेपछि मैले सुध्रिने मौका पाएँ एक पटकको लागि। मन अलि हल्का भयो। नबोलेरै र आँसु बगाएरै बित्यो त्यो दिन।
भोलिपल्ट अनायसै समीपको फोन आयो। रबिन थिएनन् घरमा। आफैले हिजो फुटाएको ल्यापटप बनाउन निस्केका थिएँ बजारतिर। हिजै समीपले बिदाइको हात हल्लाएका थिए। फेरि किन फोन गरे? समीपलाई हिजोको सबै घटना सुनाएर मन हलुका पार्न मन थियो तर फेरि हिजै रबिनसँग गरेको वाचा कसरी आजै तोड्ने? असमञ्जसमा परेँ। पहिलो कल नउठेपछि दोस्रो कल पनि आयो। झ्यालबाट बाहिर हेर्दै फोन उठाएँ। उताबाट हतास आवाज आयो। समीप आत्तिँदै बोलेका थिए।
'हाम्रो हिजोको कल रेकर्ड भएछ मेरो मोबाइलमा। सबै होइन, पछिल्लो एक मिनेट जतिको भ्वाइस। त्यो सुनेपछि उसले त एकैपल्ट दश/बाह्र वटा स्लिपिङ ट्याबलेट खाइछ। धन्न समयमै बहिनी पुगिछ कोठामा। बेहोसीमै बान्ता गरिराखेको रहेछ। बहिनीले छिटै नै हस्पिटल पुर्याइछ। अहिले म हस्पिटलकै लबीबाट बोल्दैछु सरला। मेरो कारणले धन्नै रश्मीलाई केही भएन। अहिले भर्खर होस आएको छ उसको। बहिनीले भित्र सम्झाउँदै छे उसलाई। रश्मी अहिले मसँग बोल्दिन भनेकी छ रे। सफा र निश्चल मन हुनेले नै किन यति धेरै पीडा र तनाव भोग्नुपर्छ, सरला? वार्डेन बोलाउन आयो, म जान्छु है?'
'जिन्दगी हामीले सोचेझैँ सिधा बाटोबाट कहाँ चल्दो रहेछ र? अनेक आरोह, अवरोह, मोड र घुम्ती छिचोल्नै पर्ने रहेछ। उनलाई यतिखेर तपाईंको खाँचो छ। गएर भेट्नु। उनलाई अथाह माया देनु, माफी माग्नु, अनुनय विनय गर्नु, विश्वास दिलाउनु कि तपाईं ऊबाहेक कसैको होइनौ भनेर। अब हाम्रो यो कुराकानी अन्तिम हुनेछ समीप। हरपल तपाईंलाई नदेखुँ वा नसुनु त के भो, हृदयमा तपाईं अमिट तस्वीर छापिएर बसेको छ। तपाईंको वैवाहिक जीवन सुखमय रहोस्। बाई समीप!'
'बाई!'
समाप्त
यो पनि
तपाईं बिहे गर्नुस्!
तपाईं बिहे गर्नुस् भाग- २