खाँचो तिम्रो साथको थियो, तिम्रो न्यानो स्पर्शको थियो
खाँचो दुई मिठो वचनको थियो, एकान्त बिथोल्ने आफ्नोपनको थियो
अहँ! तिमी छँदै थिएनौ
जुन बेला मलाई तिम्रो बढी खाँचो थियो।
म मनको भावको प्यासी बनी छट्पटिरहेँ
तिमी त माया, फगत सांसारिक वस्तुले नै व्यक्त गर्न थाल्यौ
थकित भएँ पटक-पटक जिन्दगीबाट, खाँचो चौतारीको थियो
अहँ! तिमी छँदै थिएनौ
जुन बेला मलाई तिम्रो बढी खाँचो थियो।
म शब्द-शब्दलाई तौलँदै, तिम्रो नयन नियाल्न खोज्थेँ
सुसज्जित श्रृंगार तिम्रो नामकै, हो खाँचो तिम्रो नजरको थियो
समर्पित तिमीमा थिएँ, समर्पण तिम्रो खाँचो थियो
म भिडभाडमा अलपत्र पर्थें, खोजी तिम्रो आभासको हुन्थ्यो
अहँ! तिमी छँदै थिएनौ
जुन बेला मलाई तिम्रो बढी खाँचो थियो।
म जीवन पलपलमा जिउने अभिलासा राख्थेँ
तिमी जीवनलाई भविष्य नामको भकारीमा थोपरी दिन्थ्यौ
तिमी नहुँदाको शून्यतामा म त्रषित बन्थेँ
निष्पट्ट अँध्यारोमा जूनको किरणझैं, खाँचो तिम्रो आगमनको थियो
अहँ! तिमी छँदै थिएनौ
जुन बेला मलाई तिम्रो बढी खाँचो थियो।