कोठाको एक कुनामा
घामका पाइला नपरेजस्तै
मनको एक कुनामा पनि
खुसीका पाइला परेका छैनन्।
एक अँजुली घाम पोखिदिएर
त्यो कुनामा उज्यालो छर्न नसकेजस्तै
ओठको एक धर्को मुस्कानले मात्रै
मनको कुनामा पनि खुसी छर्न सकेन।
कोठा र झ्याल दुवै फेर्न नसकेजस्तै
अब ऊ आफ्नो मन पनि त फेर्न सक्दैन
केही दिनको चिन्ता र चिन्तनको चुनावपछि
ऊभित्र एउटा मधुर विचार आउँछ
जसको तेजले प्यालामा अर्को घाम उदाउँछ
उही अँध्यारो कुनामा दीपक जलाएर
अचेल ऊ सधैँ सूर्यको पूजा गर्छ।
अभाव वा अभागका अवस्थामा पनि
धैर्यता र दृढताका प्यालाहरूमा
अचेल ऊ सधैँ आशाका दीप जलाउँछ
जसको आभामा असल उर्जा पलाउँछ
कोठाका सबै कुना उज्याला भएजस्तै
मनका सबै कुनामा आज ऊ खुसी छ।
सायद ऊ अब जान्दछ
कोठाको कुनामा उज्यालो छर्न होस्
या मनको कुनामा खुसी भर्न होस्
सृष्टि-कोण हैन दृष्टि-कोण फेर्नुपर्छ।