भाग- १
बेलुकीको खानपिन र घरको काम सक्काएर एकछिन ल्यापटपमा अफिसको काम गर्न बसेँ। जंकमेलमा परिचित नाम देखेर इनबक्समा सारेँ, हतार-हतार इमेल खोलेँ। इमेल पढेर चरम खुसी र भगवान भेटिएको अनुभव भयो। इमेलमा फोन नम्बर पनि थियो, त्यति बेलै फोन गर्न खोजेँ तर रातको ११ बजिसकेको हुनाले अरुलाई डिस्टर्ब गर्न उचित ठानिनँ।
बिहानीको कुराइ र खुसीको उत्साहले त्यो रात छर्लंगै बित्यो, ७ नबज्दै फोन लगाएँ किनकि इमेलमा लेखिएको थियो, 'मेरी प्यारी, तिमी कता हो? म रक्षा, म अस्ट्रेलिया आएको ११ वर्ष भैसक्यो। तिमीलाई खोजेको खोजै छु, नेपालबाट तिम्रो इमेल आइडी पत्ता लगाएर तिमीलाई सम्पर्क गर्न खोजेकी हु। मेरो नम्बर यो हो, मेरो इमेल पाउनेबित्तिकै मलाई कल गर है।'
यतिका वर्षपछि बिहान सबेरै मेरो अति प्रिय साथीको आवाज सुन्नु मेरो कानमा सुमधुर संगीत गुन्जिनुजस्तै थियो। हामी दुवैमा खुसीको सीमा थिएन। यति लामो समयदेखि हराएको साथीसँग कुरा हुँदा हामी 'कब् के बिछ्डे हुवे, आज कहाँ आके मिले'झैँ भएका थियौं। भेट्ने उत्सुकताले हामी दुवैलाई उति नै सताउँदै थियो।
पारिवारिक जानकारी आदानप्रदानपछि रक्षाको श्रीमान् छोराछोरी लिन नेपाल जानु भएकोले उनी पनि फ्री भएर आजै दिउँसो मलाई भेट्न आउने मौका मिल्यो। हामी साथीहरू कलेजपछि १५ वर्षपश्चात भेट्दै थियौं। रक्षा मेरो घर राति बस्ने गरी आइन्। हामीहरूको १५ वर्षपछिको पुनर्मिलनको कुराकानी कहिल्यै अन्त्य नहुने थियो।
दिनबाट रात, रातबाट मध्येरात कुनबेला बित्यो हामीलाई पत्तै भएन। छिमेकीले हाम्रो हर्षमय कुरा गराइको हल्ला सुनेर कोठाको भित्तामा ढक-ढक हान्दै हामीलाई हल्ला नगर भनेर चेतावनी दियो। तर छिमेकीलाई के थाहा, यति लामो हराएको साथी भेटेर उसले भन्ने बित्तिकै हाम्रो कुरा कहाँ टुंगिन्थ्यो?
'ओई, अस्ट्रेलिया आएर अहिलेसम्म एउटा फेसबुक आइडी नहुने केटी, तिमी कुन जमानामा छौ? तिमीलाई खोज्न मैले कति चक्की पिस्नु पर्यो तिमीलाई के थाहा? तिमीदेखि म एकदम रिसाको छु है,' भन्दै रक्षाले मलाई तेस्रो पटक गाली गर्दै थिइन्।
'नरिसाऊ न यार, छिमेकी नि रिसाइसक्यो। जोरले कुरा गर्न पाइन्न। फेसबुक मलाई फापेन प्यारी, के गर्ने? तिमीलाई थाहा छँदै छ, एउटी कामदार महिलालाई काम र परिवार सन्तुलन मिलाउन गाह्रो छ। छोराछोरी, घर, कामबाट कुन बेला फुर्सद हुने र फेसबुक चलाउने?,' मैले रक्षालाई फकाउन खोज्दै हाम्रो कुराकानी मधुरो स्वरमा जारी राखे।
'होइन, अहिलेको युगमा को व्यस्त छैनन् र? समय निकाल्नुपर्छ, समय सँगसँगै हिँड्न सक्नु पर्छ, नभए पछि परिन्छ। तिमीलाई थाहा छ, शिरीष, समा, स्मृति कहाँ छन्?,' रक्षाले सोधिन्।
'अहँ! थाहा छैन, प्लिज भन न,' मैले भनेँ।
'भन्दिनँ! कलेजमा हुँदा, हामी सधैं माहुरी र महजस्तै जोडी राख्नुपर्छ है भन्ने केटी होइन तिमी? अहिले साथीहरूलाई यति सजिलै बिर्सने?' रिसाउँदै उनले फेरि आफ्नो उदास मनोभाव देखाइन्।
'खोई लेऊ तिम्रो फोन यता!' रक्षाले मेरो हातबाट फोन लिएर, मेरो फोनमा फेसबुक एप डाउनलोड गरिदिइन् र शिरीष, समा, स्मृतिलाई फ्रेन्ड रिक्वेस्ट पठाइदिइन्।
रक्षा, शिरीष, समा, स्मृति र म, हामी ५ जनाको ग्यांग कलेजमा पञ्चकन्या ग्रुपको नाममा प्रसिद्ध थियौं। यसरी हामी पञ्चकन्या ग्रुप साथीहरूको १५ वर्षपछि फेसबुकमा भेटघाट भयो। शिरीष अमेरिकामा पिएचडी गर्दै, स्मृति लण्डनमा परिवारसँग अनि समा नेपालमा कलेज टिचर भैसकेकी कुरा थाहा पाएर अत्यन्तै खुसी भएँ। हामीले फेसबुक च्याट ग्रुप बनायौँ। रक्षा र फेसबुकको आभारी छु, लामो दूरीपछि हामी अति मिल्ने पूराना कलेजका साथीहरू नजिकियौँ।
यसरी कलेजका साथीहरू भेटेर विगतका रमाइला पलहरू सम्झिँदा मलाई स्कुलका साथीहरूको पनि झलझली सम्झना आयो। साँची, के गर्दै होलान् मेरा बाल्यकालका ती प्यारा साथीहरू? के तिनीहरूले मलाई सम्झिन्छन्? स्कुल लाइफ त कसको रमाइलो हुन्न र? स्कुल भन्नासाथ चन्चले उमेर, बोल्न लजाउने उमेर, माया साटासाट गर्ने उमेर, झगडा गर्ने उमेर, ट्वाइलेट सँगै जाने उमेर, बिना कारण हाँस्ने उमेर, कहाँ फर्किन्छ र त्यो पूरानो पलहरू?
सक्ने भए घडीको त्यो समयलाई फर्काइदिन्थेँ। ल्याइदिन्थेँ त्यही समय, लगाइदिन्थेँ फेरि त्यही स्कुल ड्रेस, बाटी दिन्थेँ त्यही दुई चुल्ठी कपाल, लेखिदिन्थेँ बेन्चमा साथीहरूको नाम। उतिबेला आफूले स्कुल लाइफमा गरेको उटपट्याङ कुराहरू सम्झिँदा अझै हाँस उठेर आउँछ। मेरा स्कुलका साथीहरू जो जहाँ छन् सबै प्रिय छन्, स्मरणीय छन्। यो अमूल्य उपहार प्रेमकथा मेरा हृदयका पानाहरूबाट कोरिएर तिनै साथीहरूको सम्झनामा समर्पित छ।
'एकादेशकी एउटी असाधारण युवती अनन्या, एउटा अप्रिय घटनाको गहिरो दुःस्वप्न शोकमा डुबेकी थिइन्। त्यो रात फेरि पनि त्यस्तै अप्रिय, भयानक र विषाक्त क्षण थियो जस्तो कि उनी १७ वर्षकी हुँदा आएको थियो। दुर्भाग्यवश, यसपटक पनि यी असह्य चोटपीडा बोकेर ल्याउने आँधीको भागिदार हाल ३२ वर्षीय युवती अनन्या नै थिइन्। तर यसपटक भने अनन्याको जीवनमा विनाश होइन, उनको मनमा खुसीका आँसु र परिवारमा माया, सम्मान र समर्थन थियो। तैपनि आज उनी सुत्न सकेकी थिइनन्, उनको सिरानी फेरि पनि नुनिला आँसुले भिज्दै थिए।
आफ्नो श्रीमानको अनुहार आँखाबाट कहिल्यै ओझल नहोस् भन्दै, मनमा शान्ति महसुस गर्दै, एकटक उहाँको मुहारमा हेर्दै थिइन्, उहाँको सुन्दरताको परिभाषा बुझ्दै थिइन्। मानौं यो अनुहार हो वा कुनै जादु हो? उहाँको यो शरीर हो वा किताब हो? यो किताबलाई उनी आफ्नो हृदयमा लुकाउन चाहन्थिन् र उहाँको जस्तै अनगिन्ती निःस्वार्थ प्रेममा प्रतिबिम्बित हुन चाहन्थिन्। उनी आफ्नो श्रीमानलाई यसरी अपार मायाले हेर्दै थिइन्, मानौं आज भर्खर उनी उहाँको नयाँ दुलही बनेकी थिइन्।
'यस्तो ज्ञानी र भलाद्मी बर अनन्याले पाउनु उनी साह्रै भाग्यमानी हो,' उनको विवाहमा सहभागी हुने अतिथिहरूले आशीर्वाद र बधाई दिएका कुराहरू उनले सम्झिन्। 'जोडी भगवानकै घरमा बनिसकेको हुन्छ, धर्तीमा कसको बिहे कोसँग हुन्छ भविष्यवाणी गर्न सकिन्न,' आमाले जहिले भन्नुहुने वाणीहरू पनि सम्झिन पुगिन्।
अनन्याले आज यसको सही महत्व बुझ्दै थिइन् र पूरा बाल्यकालको फ्ल्यासब्याक उनको आँखाअगाडि प्रक्षेपित हुँदै गएको देखिन्।
दादादिदीको बिहे भइसकेपछि जन्मेकी घरकी सानी गुडिया थिइन् अनन्या। उनी आमाको पेटमा हुँदा बुबाले छिमेकी काकासँग वाचा गर्दै निर्णय लिनु भएछ, 'यदि छोरा भयो भने, तिम्रो छोराको नाम श्यामकुमार र मेरो छोराको नाम भिमकुमार हुनेछ। यदि छोरी भए त्यही नाममा कुमारी पछाडि थपिदिने।'
काकाको छोरी भयो र उहाँले श्यामकुमारी नाम राखिदिनु भयो। दुई महिनापछि बुबाकी भिमकुमारी पनि जन्मिन्। तर दादाले भिमकुमारी नामको असहमति जनाउँदै आफ्नी गुडिया बहिनीको नाम अनन्या बनाइदिनु भयो र बुबालाई सम्झाउनु भयो, 'अनन्या भनेको पार्वतीको अर्को नाम हो, अतुलनीय हो।'
त्यसपछि बुबाले दादाले रोजेको नाममा सहमत हुँदै भन्नुभयो, 'ल ठिक छ, मेरी प्यारी छोरी अनु।'
दादाको क्षत्रछायामा एउटी राजकुमारीझैँ अनन्या (अनु) हुर्किन थालिन्। उनी पढ्नमा सानैदेखि तेज थिइन्, दुई क्लासदेखि नै घर बाहिर सहरको विद्यालयहरूमा पढ्ने मौका पाइन्। दादाले अनन्यालाई आफ्नो छोरीजस्तै माया गर्नु हुन्थ्यो र सानी बहिनीलाई डाक्टर बनाउँछु भन्नु हुन्थ्यो।
दादा माध्यमिक विद्यालयको शिक्षक हुनुहुन्थ्यो र उहाँको काम जता-जता स्थानान्तरण भयो, अनन्याको पनि स्कुल परिवर्तन भैराख्थ्यो। उनी ७/८ क्लासमा हुँदा उहाँले आफ्नै गाउँमा जागिर पाउनु भयो, तसर्थ अनन्या पनि गाउँकै स्कुलमा नियमित ८-१० कक्षासम्म टप ३ विद्यार्थी भएर पढ्न थालिन्।
अनन्या १३-१४ वर्षको हुँदा आमाले गाली गर्दै भन्नुहुन्थ्यो, 'हाम्रा छिमेकीका छोरीहरू सबलाई खाना पकाउन आउँछ, घरको काम गर्न आउँछ, अनुलाई केही आउँदैन। लु अब भोलिदेखि भात पकाउन सिक्।'
दादाले आमालाई सम्झाउँदै भन्नुहुन्थ्यो, 'आमा, खाना त सबलाई बनाउन आउँछ, हाम्री अनुजस्तो कसैलाई पढ्न आउँछ हाम्रो गाउँमा? मेरी बहिनीले भात पकाउनु पर्दैन, उनी ठूलो काम गरेर देखाउछिन्, डाक्टर बन्छिन्।'
दादाले अनन्यालाई यतिसम्म माया गर्नु हुन्थ्यो कि, स्कुल जानुअघि कपाल कोरिदिनेदेखि लिएर साउने झरीको मुसलधारे वर्षामा सवारी साधन नपाउँदा बिरामी बहिनीलाई आफैले काखमा बोकेर अस्पताल पुर्याउनु हुन्थ्यो। यति मात्र नभएर, आमाले गर्नुपर्ने काम उहाँले उनलाई सिकाइराख्नु हुन्थ्यो।
अनन्या १४ वर्षको उमेरमा बल्ल महिनावारी भइन्। दादाले पसलबाट प्याड किनेर भाउजूलाई भनेर कसरी यसको प्रयोग गर्ने सिकाइदिन भन्नुभयो र फोहर कपडा कहिले प्रयोग नगर्नु भनेर सल्लाह दिनुभयो। सायद आमा आफू टुहुरी भएर होला, उहाँलाई महिनावारी हुँदा छोरीलाई कसरी सिकाउने परम्परा, पारितको बारेमा त्यति ज्ञात भएन होला। 'ला यसलाई पनि स्यालले टोकेछ' भनेर हाँसो मात्र गर्नुभयो।
अनन्या महिनावारी पछि झन्-झन् अल्छी हुँदै गएकी देखेर आमा र भाउजूले यसलाई दाइले बढ्ता पुल्पुलाएर यस्ती अल्छी भएकी भनेर गाली बेसरी खान थालेकी थिइन्। घरमा दादालाई पनि गुनासो सुन्दा-सुन्दा उनको बदलिँदो बानी बेहोराले दिक्क मान्न थाल्दै उनका आवश्यकताहरूलाई पहिलो प्राथमिकता दिन छाड्नु भएको थियो। अनन्यालाई पनि घरमा अब मलाई कसैले माया गर्दैन भन्ने भ्रम परिसकेको थियो।
उनले धेरै पटक दादाबाट आफूप्रति उपेक्षित व्यवहार हुँदै आएको अनुभव गर्न थालिन्। जस्तो कि, दादाले एकदिन चकलेट किनेर घर ल्याउनु भो र उनीभन्दा ५-७ वर्ष साना आफ्ना छोराछोरीलाई चकलेट दिँदै भन्नुभयो, 'अनु, तँ अब ठूली भइसकिस्, तैँले चकलेट खानु पर्दैन।'
यो कुराले अनन्यालाई छुरीले घोचेभन्दा बढी दुख्यो। उनी चकलेट खान नपाएर उनलाई कुनै दुःख थिएन तर दादाको वाणीबाट आफू उपेक्षित मात्र होइन, उनको मुटु खाली हुँदै गरेको र दादाको माया अब उनको लागि हावामा गायब हुँदै गरेको महसुस गरिन्।
तत्पश्चात, प्रारम्भ हुन थाल्यो अनन्याको भविष्यमा आउन लागेको आँधीको संकेतहरू। त्यो दिन अनन्याको ९ कक्षाको पहिलो दिन थियो। 'सबैलाई कक्षा ९ मा स्वागत र विशेष स्वागत तिमीहरूको नयाँ सहपाठी अनिसलाई छ' भनेर कक्षाको सरले घोषणा गर्नुभयो। आश्चर्यचकित अनन्याले छड्के आँखाले अनिस उभिएको बेञ्चतिर हेरी राखिन्।
आहाँ! कस्तो राम्रो नाम र कहाँबाट आको होला यो मानव? कौतूहलता जागेर कुहिना मार्दै छेउको साथीलाई उनले सोधिन्, 'ओए! कुन स्कुलबाट आको हो त्यो नयाँ केटा?'
'हे लाटी, हाम्रै स्कुलको हो नि। ९ कक्षा रिपिट गरको हो,' वास्तै नगरी साथीले भनिन्। तर अनन्यालाई भने थाहा भएन, त्यो दिन के भो? मानौं कुनै जादुई क्षणले अचानक स्कुल एउटा मन्दिर, मन्दिरको ऊ भगवान र आफू भक्त भएझैँ भयो।
समय बित्दै जाँदा अनिसको सरल, नम्र, अहंकारहीन स्वभाव र तीक्ष्ण विवेकी प्रतिभाको प्रशंसा निरन्तर उनले आफ्नो दादालगायत स्कुलका अन्य शिक्षकहरूबाट सुन्दा, साथै कक्षाको साथीहरू बीचको बढ्दो लोकप्रियता देख्दा, ऊप्रति झन्-झन् प्रभावित भएर उनलाई मनमा अदृश्य आकर्षित ऊर्जा आइरहन्थ्यो। साथीहरूमाझ ऊ सिनेमाको हिरोझैँ गरी बसिरहेको हुन्थ्यो।
'हे भगवान, म पनि केटा भए ऊसँगै बस्न पाउथेँ, केटी भएर किन जन्मेछु!' उनले केटा साथीहरूसँग डाह गर्दै सोची राख्थिन्।
अनिसले हेरे पनि नहेरे पनि उसलाई देख्नबित्तिकै अनन्याको मनमा फुर्रफुराउने पुतलीले उनको मनको चैन जम्मै हरेर लागिसकेको हुन्थ्यो। अनिसले पनि अनन्यालाई उस्तै मायालु नजरले हेर्ने गर्थ्यो। तर जब तिनीहरूको आँखा जुध्थ्यो, उसको हेराइलाई अनन्याले बेवास्ता गर्दै उसमा कुनै चासो नभएको अभिनय गर्थिन्। अनन्याका आँखाहरूले उसलाई अघाउन्जेलसम्म हेर्ने चाहना राख्थे तर उसलाई नहेरेझैँ गर्नपर्ने बाध्यता हुन्थ्यो। यसरी नै अनन्याका स्कुलका बाँकी दुई वर्ष बित्दै गए।
बुबालाई जहिले नि ४ बजे बिहान उठेर चिया बनाइदिएर पढ्न बस्थिन् अनन्या तर हाल उनको शरीरमा होर्मोनल परिवर्तनका कारण होला, महिनावारीपछि २४ सै घण्टा सुत्दा पनि निन्द्रै नपुगेको, जहिले नि थाकिराखेको जस्तो हुन्थिन्। खेलकुद एकदम मन पर्थ्यो, त्यो पनि कम गरिन्। कति चोटि औषधि पसलमा निन्द्रा नलाग्ने औषधि पनि किन्न गइन् तर पसलेले हाँस्दै भन्थे, 'छैन बहिनी, किन्न पाउँदैन।'
त्यो समस्या खासमा साधारण आइरन ट्याब्लेटले समाधान गर्न सकिन्थ्यो, यी सब रगतमा आइरनको कमीले रैछ। तर त्यो बेला उनलाई मद्दत गर्ने कोही भएन। उल्टै उनी अब विभिन्न नामले चिनिन थालिन्। ८ मा पढ्दा ३८ किलोकी सानी केटी ९ कक्षामा पुग्दासम्म ५३ किलो भैसकेकी थिइन्। घरमा मेहनत गर्न नसकेपछि स्कुलमा नतिजा देखिने नै भो। ९ कक्षामा दोस्रो स्थान थियो, १० कक्षामा तेस्रोमा झरिन्।
अनन्याको दादा एउटा प्रतिभाशाली, आदर्शवादी, शिक्षण प्रविधिमा लामो अवधिको अनुभवी, शिक्षण विधिमा उत्कृष्टत खुबी भएका र शिक्षामा सधैं गुणस्तर ल्याउन र कडाभन्दा कडा अनुशासन लागु गराएर एउटा साधारण स्कुललाई राम्रोसँग व्यवस्थित गराई उच्च स्तरमा ल्याएर, स्थानीय क्षेत्रको नमुना स्कुल बनाउन सक्षम हुनु भएको थियो। यी योगदानहरूले उहाँ क्षेत्रकै उर्जावान युवा, प्रसिद्ध र प्रशंसकृत शिक्षक हुनुहुन्थ्यो।
उहाँ असाध्यै दृढ र कडा स्वभावको हुनुहुन्थ्यो। 'मेरा विद्यार्थीहरू सबै उत्कृष्ट हुनुपर्छ,' उहाँको यो आदर्श वाक्य थियो। उहाँलाई अरुले गल्ती गरेको र गैरमेहनती विद्यार्थी पटकै मन पर्दैन थियो, चाहे उ आफ्नै बहिनी नै किन नहोस्। 'मूर्ख गदही! तेरो जीउसँगै, तेरो दिमाग पनि मोटो हुँदैछ। तँलाई यति पनि आउँदैन,' भनेर उनको दुई चुल्ठो कपाल तानी-तानी साथीहरूको अगाडि प्रायः दादाले क्लासमा अनन्यालाई कठोर सजाय दिनु हुन्थ्यो।
भनिन्छ, 'एक असल शिक्षक मैनबत्ती जस्तै हो, जसले अरूको बाटो उज्यालो बनाइदिन्छन्।' शिक्षकहरूमा विद्यार्थीहरूलाई बनाउने वा तोड्ने शक्ति हुन्छ। जतिसुकै अब्बल, औसत वा औस भन्दा कम विद्यार्थी भए पनि विद्यार्थीको व्यक्तिगत गुण, मुटुको सौन्दर्यतालाई पनि उत्तिकै मान्यता दिएर सबैलाई समान माया, करुणा र सम्मानका साथ व्यवहार गर्नुपर्छ। विद्यार्थीलाई संख्या वा श्रेणीको आधारमा न्याय गर्नु हुँदैन, सजाय दिनु हुँदैन।
हाम्रो देशमा शिक्षकहरूलाई मनोविज्ञान, करुणा र प्रेमको तालिम दिइएको हुँदैन। तसर्थ, अनजानमा विद्यालयमा दुर्व्यवहार हुनु बालबालिकाका लागि मानसिक आघातको पहिलो अनुभव हो। कक्षाका ती नकारात्मक टिप्पणी, अप्रिय क्षणहरूले अनन्या स्कुल होइन, जेलमा गएजस्तो तनाव महसुस गर्थिन् र सधैं अब्बल हुनैपर्ने, राम्रो नम्बर ल्याउनै पर्नेजस्ता दबाबले उनको आत्मबल कम, आफूप्रति घृणित, अध्ययनमा कम रुचि, निरुत्साहित भएर भित्रैबाट उनी टुटिसकेकी थिइन्।
उनलाई शारीरिक र भावनात्मक रुपमा मुटु दुख्ने चोट पर्थ्यो। आफू कस्तो बेकार, बिमूल्य, धर्तीको बोझ, म मरे पनि अब कसैलाई केही फरक पर्दैनजस्ता आत्महत्याका नकारात्मक सोचहरू मनमा आइरहन्थ्यो।
अनन्याको ब्याचका केटाकेटीहरू बडो अनौठा थिए। असाध्यै लजालुहरू, कम बोल्ने, सकेसम्म एकअर्कासँग कुरै नगर्ने। सायद सामूहिक कक्षाकार्य भएको भए बोल्थे होलान् तर विगतमा विद्यालयको पाठ्यक्रममा त्यस्तो केही थिएन। त्यसैले केटाकेटीहरूलाई बोल्न आवश्यक थिएन। अनन्याले आमाबाट पनि अब ठूली भइस्, उत्ताउली भएर हिँड्ने होइनजस्ता प्रतिबन्द सुन्दै आएकोले उनी पनि त्यही वातावरणमा भिज्न र केटाहरूसँग कुरा गर्न सधैं नै डराइन्।
अनन्याको नेपाली विषय कमजोर थियो, दादाले नेपाली ट्युसनमा भर्ना गराइदिनु भयो। अनिस पनि कक्षाको अरु १/२ जना साथीहरूसँग नेपाली ट्युसनमा भर्ना भयो। जबकी उसलाई नेपाली ट्युसनको जरुरी नै थिएन। शिक्षक स्तरमा नेपाली पढाउने उसको क्षमता थियो।
स्कुलमा नेपाली सरले कतिचोटि भन्नुहुन्थ्यो, 'अनिस, आज तिमी नै क्लास लेऊ।' ट्युसनमा पनि उनीहरूबीच कहिल्यै बोलचाल भएन। एकअर्कालाई 'हाई, हेल्लो' पनि भनेनन्। एसएलसीअगाडि अंग्रेजी ट्युसन पनि सँगै पढे तर एकअर्कासँग एक शब्द कुरा नगरी। एसएलसी परीक्षामा पनि संयोगवश परीक्षा हल पनि एउटै पर्यो, तथापि उनीहरू बोलेनन्।
परीक्षा सकिएको भोलिपल्ट मामाघरको काकाहजुरबुबाको १३ दिने क्रियाभोजको लागि आमासँग अनन्या मामाघर गइन्। अनिसलाई पनि त्यहाँ देखेर उनी तीनछक्क परिन्। पछि थाहा पाइन्, ऊ त अनन्याकी माइजूको दाजुको छोरा पो रहेछन्। कस्तो सानो संसार! जे होस् उसलाई त्यहाँ देख्दा अनन्या अत्यन्तै खुसी भइन् तर मुखले भने केही बोल्न सकिनन् र स्कुलपछि त्यही नै तिनीहरूको अन्तिम भेट थियो।
क्रमशः