सुरुमा लाइब्रेरीमा भेट भएको थियो क्यारे। 'तिमी हृदय हो?' भन्दै परिचय गर्न आएकी थिई। कति चाँडो उसको हृदय हुन पुगेछु पत्तै भएन। कलेजको सुरुआती दिन थिए। हाई-हेल्लो भन्दै कुरा गर्दै गर्दा मुटु र समयले खोई कतिखेर चाल बदलिसकेछ।
मलाई उसको उपस्थिति प्यारो लाग्न थालेको थियो। उसलाई पनि मेरो सामीप्यता प्यारो लागेको हुनुपर्छ। खाली समय भयो कि हौसिँदै कुरा गर्न आइपुग्थी। कलेज जान बित्तिकै आँखाले उसलाई खोज्नु, हातले आफै हात हल्लाउनु, क्यान्टिनमा, पानी खाने ठाउँमा मख्ख पर्दै ऊसँग बात मार्नु मेरो दिनचर्या हुन्थ्यो।
आँखाले आँखासँग, मुटुले धड्कनसँग कुरा गरेपछि शब्दको जरुरत नपर्ने रहेछ। त्यही दिनचर्या अब रातभर फोनमा गफिनु हाम्रो रात्रिचर्या बन्न पुगेको थियो।
कहिले सामाजिक कुप्रथा कुरीतिका, कहिले हजुरआमा हजुरबुवाले सुनाएका कथा, कहिले आफूले भोगेका सुनेका त कहिल्यै आफ्नै दैनिकी अनि प्रेमकथाबारे बेपर्वाह गफ गर्थ्यौं। हुन त गफको के ठेगान र! उसको घरमा अलि कडा, बाहिर निस्किन खासै नदिने। कलेजबाहिर भेटघाट भने कमै हुन्थ्यो। म भने बाहिर भेट्न जिद्दी गरिरहन्थेँ।
यस्तै एकदिन कलेजमा उसले भोलि तिम्रो फोटो ल्याऊ है भनी। मैले पनि डराइ-डराइ भनिदिएँ, 'तिम्रो पनि ल्याऊ है।' यसै त रिटर्न पोलिसी भनेर घुर्क्याइरहन्थी। अर्को दिन पासपोर्ट साइजको फोटो खाजेर दिएँ। उसले चाहिँ बिर्सें भनेर दिइन। अनि म के कम, खाजा खाँदा, घर जाँदा, भेट हुने बित्तिकै फोटो-फोटो भनेर चिढ्याउन थालेँ।
अत्ति भएछ क्यारे! कक्षाबाट निस्केर घर आउँदा हातमा मुठ्ठी पारेर सुटुक्क दिएर गई मानौं मुठ्ठीभित्र आफ्नो मुटु झिकेर दिएकी हो। मैले उसलाई नै पाएजस्तै खुसीले मख्ख पर्दै एउटा आफ्नो अनि उसको फोटो पर्सको भित्रपट्टि लुकाएर राखेँ। त्यसपछि ऊ मेरो दुई ठाउँमा कब्जा जमाउन सफल भई- एउटा मुटु, अर्को पर्समा।
एकदिन उसलाई घुम्न जाने भनेर कर गरेँ। बल्लबल्ल तयार भई। हामी गोदावरी गयौं। दिउँसभरि के-के गफमा डुब्यौं, भेउ नै पाइएन। हुन त एक ठाउँमा डुबिसकेको मान्छेले अर्को ठाउँमा डुबेको कसरी देख्छ र? आखिर प्रेममा न डुबेका थियौं। थाहै भएन।
उसलाई फोटो खिचेको त्यति मन पर्दैन थियो तर पनि लुकीलुकी उसको फोटो भिडिओ खिचेको थिएँ। घरमा आएर भिडिओमा म्युजिक जोडेर राखेँ। उसको र मेरो पहिलो सेल्फी भिडिओ भने पनि, फोटो भने पनि आखिर त्यही नै त थियो। ५० पटकभन्दा बढी हेरेँ तर पनि मन भरिएन।
धेरै केटी साथी थिए मेरा, सबैसँग उसैगरी बोल्थेँ। तर ऊ मेरो निम्ति झन्-झन् महत्वपूर्ण हुँदै गइरहेकी थिई। झन्-झन् प्यारो लाग्न थालेकी थिई। त्यसपछि हामी झन् भेट्दै गयौं। दोस्रो पटक चोभार गयौं। लाग्थ्यो चोभारका सिँढीले सुगन्ध छाड्दै हिँडेका हाम्रा पाइला गन्दै थिए अनि सल्लाका ठूला-ठूला रुखले आकाश तिर फर्किएर सायद हाम्रै बारेमा कुरा गर्दै हावासँग झुलिरहेका थिए।
बसमा सँगै हिँड्दा पनि थरीथरीका गीत बज्थे। कहिल्यै 'कस्तो हो माया तिमीसँग बस्यो' त कहिल्यै अर्जित सिहंको 'लाखौं मिला नमिले तुम्से जरा' गीत सुनेर कसैले ब्याकग्राउन्ड म्युजिक बजाइदिएजस्तो लाग्थ्यो। आफ्नै लागि गाइदिएजस्तो लाग्थ्यो अनि ऊतिर पुलुक्क हेरेँ, हातमा हात राखेर कसक्क कस्थेँ। चाहान्थेँ त अंगालोमा बेर्न तर पब्लिकमा त्यत्रो हिम्मत कसरी आओस्।
ऊ सधैं मलाई भेट्न आउँदा लाइब्रेरी जान्छु भनेर आउँथी। तर घुम्न जाँदा धेरै हिँड्नु पर्ने। खुट्टा दुखाउथ्यो विचरीको। घरमा गएर मामुले मसाज गरिदिनु हुन्थ्यो। एकदिन त 'मेरो छोरी लाइब्रेरी जाँदा जम्मै खुट्टा दुखाउँछे। कति पढ्छे मेरी छोरी' भन्नुभएछ। सुनेर मरीमरी हाँसें अनि म्यासेन्जरमा उसको निकनेम 'लाइब्रेरी' राखेँ। त्यस दिनदेखि ऊ मेरो लाइब्रेरी भई।
ती पलहरू मेरा जीवनकै सबैभन्दा रमाइला थिए। कपासजस्तै हलुको, उसका ओठजस्तै गुलाबी थिए म। ती दिनहरूमा जस्तो फुरुङ्ग म कहिल्यै भएकै थिइनँ। त्यसअघि मैले कसैलाई त्यति नजिकबाट चाहेकै थिइनँ। मुहारमा छुट्टै प्रकारको चमकता सायद उसको प्रेमको मादकताले ल्याएको थियो। प्रेमको पुष्प बिमानमा यसरी उडेछु कि अरु सोच्ने पत्तै पाइनँ।
यसै त आफै पनि मुसुमुसु मुस्कुराइरहन्थेँ म। ठूला-ठूला पहाडको माथि-माथि बेपरवाह पखेटा फिज्याइरहेको चिलजस्तै प्रेममय आनन्दमा उड्नुको मजा छुट्टै थियो। बिहानीमा झ्यालको पर्दाबाट सूर्यका पहेला किरणभित्र छिर्न तँछाडमछाड गरेजस्तै सायद हावाले प्रेमका झोक्काहरू ल्याएर मभित्र प्रवेश गराइदिएको थियो।
एकदिन जब आँखा चिम्म गरेर उसको ओठमा ओठ मिलाएँ, उसको सासले मैले सास फेरेँ। उसका वदनले मेरा वदन छोए त उफ् मुटुको धड्कनै त्यही रोकियो। छुट्टै न्यानोपनको आभास भयो। त्यही दिन हो क्यारे अब माया गर्छु त जीवनभर उसैलाई गर्छु। सात जुनी काट्न नसकौँला, ऊसँगै सात फेरा हाल्छु। मनभरि माया गाँसेर तनभरि उसको रक्षा गर्छु। मैले उसलाई आफ्नो अर्धाङगिनी देखिसकेको थिएँ। त्यसपछि हाम्रो सामीप्यताको गहिराइ अझ बढेको थियो।
तर अचानक अप्रत्यासित मेसेज आयो- 'हृदय, मलाई एक्लै ठिक छु जस्तो लाग्यो। लेट्स इन्ड दिस्। म साथीको रुपमा राम्रो छु। वि क्यान बि बेस्ट फ्रेन्ड।'
त्यसपछि पनि कुराकानी त हुन्थे तर मनमा कसो-कसो ऊ टाढिँदै गएको आभास हुन्थ्यो। रात परिसकेपछि ऊसँग गफिने लत लागिसकेको थियो। अब ऊ नबोल्दा खाना रुच्दैन, निन्द्रा लाग्दैन। उसको बेवास्ता मेरा लागि असह्य हुन थाल्यो। छटपटिँदै पीडामा मेरा दिन बित्न थाले। म रित्तो एक्लो भएँ। रोएँ, कराएँ। सुनिदिने बुझिदिने कोही भएन।
डायरीका पानामा विवश भएर अक्षर कोर्न थालेँ। आँसु पनि दुश्मन बनेर आयो। डायरीमा कोरिएका अक्षर पनि ठूला-ठूला फिक्का हुँदै बिलाएर गए। म मनभित्र कुडिँदै गए। रातको अन्धकार छिप्पिँदै गर्दा मडारिएको त्यो कालो बादल भित्रबाट ऊ आउँछे कि भनेर टोलाउँथें। तर ऊ टाढा गइसकेकी थिई। म यतैकतै रुमलिएको थिएँ तर फोन र म्यासेज गर्न भने छोडिनँ।
एक्कासी कल उठ्यो। मधुरो आवाजमा हाई सुनियो।
'के छ, के गर्दै छ्यौ?,' जवाफ फर्काएँ।
छोटो र निस्सार उत्तर दिइन्, 'ठिक छ, तिम्रो?'
'मेरो पनि ठिक छ।'
एकछिन मौनता छायो।
फेरि प्रश्न गरी, 'किन कल गरेको?'
म अवाक भएँ। पहिले-पहिले बिनाकारण ४ घण्टा, ६ घण्टासम्म गफ गर्न हौसिने ऊ आज बोल्नको लागि कारण खोज्दै थिई। मन भारी भए पनि जवाफ फर्काएँ, 'होइन, यत्तिकै के छ भनेर।'
उसले पनि रुखो जवाफ फर्काई, 'ए ल ल, खाना खान गएँ म।'
उसको मसँग कुरा गर्ने अरुचि देखेर भित्रभित्रै पिल्सिँदै गएँ अनि रिसको झोकमा लेखिदिएँ- 'अब मलाई तिमीसँग बोलेर आफैलाई हानी गर्न मन छैन। मबाट हुँदैन यो सब। म बोल्दिनँ तिमीसँग।'
निकै बेरसम्म निन्द्रा लागेन। सुतिन त्यस दिन। निदाउने प्रयत्न विफल हुँदै गए। दुई दिनसम्म त वास्ता गरिनँ पनि। आखिर माया न हो, रिसाउने अहम बोकेको मन सेलाइसकेको थियो। कल गरेँ उठेन। म्यासेज गरेँ सरी तर जवाफ आएन। बेलाबेला मोबाइलको स्क्रीन बल्छ कि भन्ने आश पलाउथ्यो। कतै उसले जवाफ पठाएकी त छैन? तर कुनै रेस्पोन्स नआएपछि रिक्तता र शून्यताको हाँडीमा फस्दै गएँ। पटकपटक सोच्थेँ, मैले के नै पो गरेको छु र? त्यस्तो के नै पो भएको छ र ऊ मसँग टाढिनु पर्ने? बेलाबेला चिढिन्थेँ ऊमाथि।
यसरी थुप्रै दिन विक्षिप्ततामा बिते। यादहरू रोक्न पनि नमिल्ने, छेक्न पनि नमिल्ने, बेजोडले सताइरहे। म उसको यादबाट न त अल्झिन नै सक्थेँ न त अघि बढ्न नै। सोच्नबाहेक केही गर्न सकिनँ। थाहा छैन यो हृदयको प्रेम कथा थियो कि त्यो कथामा प्रेम नै थिएन। या त सबैको कथा यस्तै हुन्छ?
विस्तारै समय बित्दै गयो, ऋतु फेरियो, साल फेरियो, अब त मन पनि फेरियो। त्यो रिक्तताबाट बाहिर निस्किए। आफूलाई सम्हालेँ। आफूमा वर्कआउट गरेँ। मेरो लाइब्रेरी साँच्चीकै ठूलो पाठ बनेर आई। ऊ आएर गएपछि भूकम्पजस्तै मेरो जीवनमा धेरै उथलपुथल त ल्याइदियो तर जीवनमा धेरै कुरा सिक्ने मौका पाएँ।
अहिले ऊ मेरो सबैभन्दा मिल्ने साथी छ। जसलाई केही नसोची नसम्झी फ्याट्ट गएर आफ्ना कुरा भन्न सक्छु। मेरो दुःख सुनिदिने, राम्रो काम गर्न हौस्याउने ऊ मात्र छ। साँच्चीकै राम्री साथी रहिछ ऊ।
बेलाबेला चिढ्याउछे अझै पनि तर अब विक्षिप्तताले भरिएको हृदयमा प्रेमको कुनै ठाउँ छैन। सन्तुष्ट छु यसमा कि कुनै पनि सम्बन्धलाई अगाडि बढाउन सकिँदैन भने बीच बाटोमै छाड्नुभन्दा यस्तो मोडमा ल्याएर राखुँ जहाँबाट फेरि नयाँ यात्रा सुरु गर्न सकियोस्।