तिमीले पढेको जस्तो छैन म
तिमीले पढेको होलाऊ भूगोलमा
कि दुइटा ध्रुव हुन्छन् पृथ्वीको
विज्ञानमा चुम्बकको दुइटा ध्रुव
प्रत्येक पोजिटिभ चार्जको लागि नेगेटिभ
क्रियाको प्रतिक्रिया बराबर
अनि राजनीतिमा समेत द्वैन्दवाद
नैतिक शिक्षा- असल खराब
अँध्यारो उज्यालो
मेरो एउटै मात्र ध्रुव छ
एउटै चार्ज, एउटै दिशा
उसो त तिमी मायाले हैन, जिज्ञासाले आउने हो
तर तिमी आउँदै नआऊ- यो बाटो एकतर्फी बाटो हो
डेड इन्ड हो, यहाँ तिमी ओहोरदोहोर गर्न मिल्दैन
मेरो मनमा तिमी भासिन मात्रै मिल्छ
मेरो तल मात्रै छ माथि छैन
मेरो रात मात्रै छ अँध्यारो मात्रै छ
मेरो तराजुमा एउटा मात्रै साइड छ
जोख्ने, तौलने बानी परेको तिमीलाई यो काम लाग्दैन
तिम्रो लागि म केवल एउटा सिद्धान्त हुँ
शून्यभन्दा कम प्रोब्याबिलिटी भएको अस्तित्व हुँ
तिमीले गन्दा भन्ने गरेको संसारमा म बस्छु
तिम्रो याद यहाँसम्म आइपुग्छ तर फर्किंदैन
दोहोरो यहाँ केही पनि छैन
प्रेम समेत एकोहोरो छ र कतिपल्ट भनिसकेँ
बेचिएको प्रेम फिर्ता हुने छैन
थाहा छैन तिम्रो ब्ल्याक होल कस्तो छ
यो चाहिँ मेरो ब्ल्याक होल हो।