आफू परालको गुन्द्रीमा बसेर
नबिझाउने डसनामाथि
कसले बसाल्यो तिमीलाई
सम्झना छ?
आफूले सङ्गलो पानी पिएर
गिलास भरी-भरी
तातो, बाक्लो दूध कसले तिम्रो अघि राखेथ्यो
सम्झना छ?
तिमीले सुनेका र पढेका
सबै कथाहरूका राजाले जस्तै
कसले बचाएथ्यो अप्ठ्याराहरूबाट तिमीलाई
सम्झना छ?
चाउरिएका छाला
दाँत झरेर रित्ते भएको मुख
फुलेर सेताम्मै भएका दाह्री, कपाल र आँखीभौँले ढाकेको
उदास-उदास अनुहारबीच
सपक्क ढाकाटोपीमा उभिएका
तिनै हुन्
हो
तिनै बा हुन्।