उसका बाजेले राणातन्त्र भोगे
उसका बाउले राजतन्त्र भोगे
उसले गणतन्त्र भोग्दै छ
तर
उसलाई लोकतन्त्र कहिल्यै आएन।
ऊ निमुखा हो
ऊ इमान्दार कामदार हो
ऊ डनगिरी र धनगिरी गर्दैन
तस्करी र व्यक्ति पूजा
उसको आदर्श होइन
उसलाई लोकतन्त्र कहिल्यै आएन।
ठूला जुत्ताको तलुवा चाटेन
क्षणभङ्गुर पदसँग नैतिकता साटेन
अवसरसँग जोडिएका स्वार्थहरू
स्वार्थसँगका अवसर लत्याउँदा
ऊ अयोग्य बेरोजगार बनेको छ
संविधानमा उल्लेखित मौलिक हकहरू
उसको व्यवहारमा लागु भएनन्
उसलाई लोकतन्त्र कहिल्यै आएन।
ऊ नास्तिक भयो
उसले देखेका भगवानहरू
उसले भेटेका भगवानहरू
सबै स्वार्थी
सबै पक्षपाती
कहिले त्यही पदार्थ सेतो भन्छन्
कहिले त्यही पदार्थ कालो भन्छन्
ऊ दङ्गदास छ
ऊ उदास छ
स्वतन्त्रताको उन्मत्त आकाशमा
गम्भीरताको शान्त पातालमा
ऊ कहिल्यै खेल्न पाएन
ऊ कहिल्यै भुल्न पाएन
उसलाई लोकतन्त्र कहिल्यै आएन।
कहिले कुन झुन्डको बितन्डा
कहिले कुन झुन्डको रबैया
यो कस्तो व्यवस्था
यो कस्तो अवस्था
यहाँ नियम एउटै छ
यहाँ कानुन एउटै छ
एउटै नियमको
परिभाषा फरक छ
एउटै कानुनको
व्याख्या फरक छ
उसलाई लोकतन्त्र कहिल्यै आएन।
उसको कछाड
हिजो नि फाटेको थियो
आज नि फाटेकै छ
रसिला कुराको खेती गर्नेहरू
चिल्ला कुराका पिरतीहरू
उसलाई केही गर्नुछैन
जब राति ओछ्यानमा पल्टेर
छानोको प्वालबाट आकाश नियाल्छ
उसलाई हाँसो लाग्छ
उसलाई बैराग्य लाग्छ
तिम्रा क्रान्तिकारी भाषणहरू
तिम्रा समाजवादका व्याख्याहरू
लटरम्म फलेका झुटका फलहरू
फलेर के गर्नु
ती अखाद्य हुन्छन्
ती अपाच्य हुन्छन्
उसलाई लोकतन्त्र कहिल्यै आएन।