लाठे भएँ, बुझ्ने भएँ
सारा संसारले चिनेर के भो र
मैले मेरो परिवारलाई मेरो परिचय दिन सकिनँ आमा
किनकी मेरो न्वारन गर्दिने पण्डित नै पाइएन।
म नाम बिनाको छोरो पालन पोषण गर्न
धेरै बुवाआमाहरू आए
अझै पालिरहेछन् धेरै बुवाआमाहरूले
तर अफसोच! उहाँहरूले मलाई बोलाउनै सक्नु हुन्न
किनकी किनकी मेरो न्वारन नै भएको छैन
हे मेरी आमा, मलाई साथीहरूले जिस्क्याउँछन्
म पढ्ने स्कुलको हाजिर खातामा मेरो नाम छैन
मलाई कसैले बोलाउँदैनन्, अचेल खल्लो लाग्छ आमा
के म तिम्रो छोरो हैन र
के मेरो न्वारन गर्ने पण्डित साँच्चै पाइएन?
कि तपाईंहरूले भ्याउँदै भ्याउनु भएन?
मसँगै जन्मिएका ती मेरा साथीहरू
रमाइरहेछन् बुवाआमाको काखमा
लेखाइरहेछन् आफ्नो नाम छरछिमेकका
घरका भित्ता-भित्ताहरूमा
तर मेरो त कटाक्ष छ, नाम बिनाको छोरो भनेर
हे मेरा बुवा, हे मेरी आमा
के मेरो न्वारन गर्ने पण्डित साँच्चै पाइएन?
कि खोज्दै खोज्नु भएन तपाईंहरूले
यो हुतिहाराको नाम किन राखिदिने भनेर
म लाठे भए तर अछुतो छु आज
वर्षौं बित्यो तर मेरो परिवारको सुतक हटेन।