चारैतिर छाइरहेको सन्नाटालाई छिचोल्दै हवाई जहाजकी एअर होस्टेस बोलिन्, ‘वेलकम टु काठमाडौं’।
भर्खरै मात्र जोडिएका मेरा दुई परेला अलि लामो समय माया-पिरती लाउन नपाई छुट्टिए। यसो घडी हेरें, बिहानको २ बज्नै लागेको रहेछ।
जेट्ल्यागले शरीर त्यसै शिथिल बनाइरहेको आभाष भैरहेको थियो। धेरै समयपछि स्वदेश फर्किंदा पनि मेरो मन फुरूङ्ग थिएन, सबै परिवारसहित आउन नपाएकोमा।
एक प्रकारको भारी मन लिएर क्याबिनको ह्याण्डक्यारी बोकेर लुखुर-लुखुर बाह्य प्रस्थान ढोकातिर लागें। इमिग्रेसन सकेपछि बाहिर निस्किएर वरिपरि नजर लगाएँ। मध्यरात भए पनि सबैका आफन्त, नरनाताको राम्रै जमात थियो, वर्षौंपछि आएका आफ्ना मान्छेहरूसँग माया साट्न।
यसो सोचें- मेरो त को पो छ र यहाँ लिन आउनलाई? बा-आमा आऊन् भने बुढा-बूढी मान्छे, कसरी आऊन्?
उराठ मन लिएर अरूलाई बेवास्ता गरेको बहाना गर्दै एअरपोर्ट बाहिर निस्किएँ। रात अझै बाँकी थियो, त्यसैले रात बिताउने उपाय खोज्न थालें।
‘बैनी, १ कप कफी दिनुस् न’, कृत्रिम बत्तीको उज्यालोमा हल्का मुस्कुराइरहेकी एक अधबैंसे महिलासँग कफी मागें। खेतबारीमा ठडाइएका बुख्याँचाहरू जस्तै ठिङ्ग्रिन्न उभिएका बिजुलीका पोलहरूमा जडान गरिएका बत्तीहरूले चारैतिर झलमल्ल पार्ने प्रयास गर्दै थिए। मेरा दुई गह्रुँगा पाइलाहरू पनि मन लागि-नलागि आफ्नो गन्तव्यमा लम्किन उद्दत थिए।
‘पुग्नेबित्तिकै खबर गर्नुस् है’, हिँड्ने बेला अमिलो मन बनाउँदै भनेकी थिइन्, अर्चनाले।
सिमकार्ड किनेर फोन गर्ने सोच्दै वरिपरि खुलेका पसलहरूको खोजीमा लागें, तर भेटाउन सकिनँ; बेला उपर्युक्त भएन। सहज प्राप्तिको आश गरेको चिज अप्राप्त हुँदा मन अति खिन्न र अस्थिर बन्दो रहेछ। समय पनि बित्दै गयो।
उषाकाललाई उछिनेर बिहानीले ६ बजेको जनाउ संकेत गर्यो। रातभरको अनिदोले लोलाएका मेरा आँखा सरसर्ती घुमाएँ वरपर। फाटङ्ग-फुटुङ्ग खुलेका चिया पसलहरूबाहेक केही देखिनँ। नजिकैको चिया पसलमा गएर १ कप चिया माग्दै साहुजीलाई सोधें-यहाँ सिमकार्ड कहाँ किन्न पाइन्छ, दाजु?
‘पल्तिर एउटा पुस्तक पसल छ, ७ बजेपछि खुल्छ, त्यहीँबाट लिनुस् न’, ठूलो चियाको ट्रेमा ८/१० वटा सिसाको गिलासमा चिया राख्दै साहुजीले भने।
सोचें- अब अझै १ घण्टा कसरी बिताउनु?
‘अर्चना, म राम्रैसँग काठमाडौं ओर्लिएँ है। सिमकार्ड किन्न ढिलो भएकाले चाँडो खबर गर्न पाइनँ। अनि बिभान र एलिशा के गर्दै छन्? आफ्नो अनि बालबच्चाको राम्रो ख्याल गर है, म चाँडै फर्कन्छु’, न्युयोर्कमा भएकी मेरी श्रीमतीलाई फोन लगाउँदै भनें।
‘हवस्, यताको चिन्ता नगर्नुस् हजुरले, म सम्हाल्छु सबै।’ मेरो फोनले उनी पनि ढुक्क भइन्।
अब भने मेरो मन गन्तव्यमा पुग्ने र धेरै वर्षपछि बा-आमा भेट्न पाउने आशाले रमाइरहेको थियो।
घरमा बा-आमालाई फोन गर्ने प्रयास गरें, तर फोन लागेन।
‘फोन चार्ज गर्न त आउँदैन राम्रोसँग मेरा बा-आमालाई; चार्ज गर्दिनी मान्छे पनि त भएनन् होला, अनि कहाँबाट लागोस् त फोन’, चित्त बुझाएँ।
घर जान बसपार्क जाने पर्खाइमा सडकमा उभिएँ। बाली खान आउने सलह कीराजस्तै देखिने गरी एकदम धेरै सार्वजनिक यातायातहरू सलल दौडिरहेका थिए रिङरोडमा।
कति अस्तव्यस्त छ है यहाँको ट्राफिक, कसरी व्यवस्थापन गरिरहेको होला नेपाल सरकारले? विदेशको सार्वजनिक यातायातसँग मनमनै तुलना गर्न लागें।
एकैछिनमा ‘चाबहिल-चक्रपथ-सामाखुसी-गंगबु-बसपार्क-कलंकी’ भन्दै कोकोहोलो हाल्दै आएका महानगर यातायातका एक सहचालक भाइले गाडी रोकाए।
बिस्तारै बसमा चढेर महिला सिट पछाडिको सिटमा बस्न लागेको थिएँ, कसैले पछाडिबाट बोलायो-प्रशान्त।
फरक्क फर्केर हेरेको त बिशाल पो रहेछ। बि एस्सी पढ्दादेखिको अति मिल्ने साथी। काठमाडौंमा प्लस टु कलेज संचालन गरेर अहिलेसम्म किशोरावस्थाका धेरै नानी-बाबुहरूलाई दीक्षित गराएको साह्रै राम्रो मनोवृत्ति भएको धेरै विद्यार्थीहरूको प्यारो सर।
‘खबरै नगरी आएछस् त, गरेको भए त म एयरपोर्टमा लिन आइहाल्थें नि’, उसले मेरो दिलखुस बनायो।
‘छुट्टी अकस्मात् मिल्यो, हतार-हतार टिकट काटी आएँ, कसैलाई खबर गर्न नि पाइनँ’, मैले भनें।
‘अनि किन एक्लै आइस् त, भाउजू छोरा-छोरीलाई किन नल्याएको?’, उसले सोध्यो।
‘अर्चनाको कामले गर्दा छुट्टी मिलाउन सकिएन, मेरो मात्रै छुट्टी मिलेकाले सो समयको सदुपयोग पनि हुने र बा-आमासँग भेट पनि हुने भन्ने सोचेर एक्लै भए पनि आएँ। नाति-नातिनाले पनि हजुरबा-हजुरआमासँग भेट्न खुब रहर गरेका थिए तर ल्याउन सकिनँ’, मैले भनें।
‘अनि यत्रो वर्षसम्म किन आएनस् त एकपटक पनि घर परिवार सम्झेर?’, प्रश्नमाथि प्रश्न थप्दै गयो उसले।
‘विदेशको बसाइँ भनेजस्तो सजिलो हुने रहेनछ; काम छ त जीवनको अस्तित्व छ; अरूले सोचेजस्तो पैसा बोटमा फल्दैन; दैनिक घरखर्च धान्नको लागि शरीरले थेगेसम्म काम नगरी सुख छैन; काम भन्यो, भिसा स्टाटस भन्यो, यस्तैमा रूमलिँदा-रूमलिँदै आउने अवसर पनि मिलेन’, सबै बेलिबिस्तार लगाएँ त्यताको परिस्थितिको।
‘अनि तँ कहाँ हिँडेको त एकाबिहानै?’, मैले सोधें।
‘कलेजको कामले केही दिनको लागि पूर्व हिँडेको, ९ बजेको बस छ बसपार्कबाट।’
हाम्रो भलाकुसारी अझै चल्नेवाला थियो, तर सहचालक भाइले बसपार्क आइपुग्यो भनेपछि एक्कासि ब्रेक लाग्यो र हामी दुवै ओर्लियौं।
उसले त पहिल्यै काटिसकेको रहेछ टिकट। मेरो लागि पनि टिकटको व्यवस्था गर्दियो। अनि हामी आ-आफ्नो बस छुट्ने ठाउँतिर लाग्यौं। छुट्टिन लाग्दा विशालले भन्यो-फर्किंदा समय निकालेर आएस्। अझै धेरै कुरा गर्न बाँकी छ। मेरो परिवारसँग पनि भेटाउँला।’
मेरो बस पनि १० बजे छुट्नेवाला थियो। बाहिरतिर बसौं भने कता बसौं, गएर बसको सिटमा थकाइ मारें।
‘दाइ, अलि उता सर्नु न’, झसङ्ग भएँ। जेट्ल्यागले अघि नै झकाइसकेको रहेछु। भर्खरको अधबैंसे युवक थकित मुद्रामा मेरो सिटको छेवैमा आएर बस्यो।
१० बजेपछि गाडीले पनि आफ्नो गति लिन सुरू गर्यो। बसको झ्यालबाट नजर डुलाउँदा देखिएका दृश्यहरुको स्वाद लिँदै गम्दै थिएँ- कति धेरै परिवर्तन भैसकेको रहेछ।
बसको रफ्तारसँगै देखिएका दृश्यहरूसँग रोमान्चित हुँदै र कैयौं कुराहरू मनमा खेलाउँदै हिँडिरहेको थिएँ एकाग्र भएर। तत्क्षण शून्यता छिचोल्दै छेवैको भाइले सोध्यो- ‘दाजु, विदेशतिरबाट?’
‘हो भाइ’, मैले सिधा उत्तर दिएँ।
सुकिला कपडा, कानमा एअरपड, अनि हातमा परिस्कृत आइफोन; सायद मेरो लवाई र हाउभाउले होला, उसले सहजै अनुमान लगायो। हाम्रो सुरूआती बार्तालापलाई थप औपचारिकता दिन फेरि सोध्यो- ‘कुन देशबाट?’
‘अमेरिकाबाट, पढाइको शिलशिलामा केही वर्ष पहिले अमेरिका गएको थिएँ, बल्ल फर्किने मौका मिल्यो’, मैले भनें।
‘यत्रो समयसम्म पनि घर-परिवारको सम्झनाले तानेन त?’, प्रश्नमाथि प्रश्न गरिरह्यो उसले।
मैले फेरि उत्तर दिएँ- पढाइ, कामले फुर्सद नपाएर हो भाइ। अहिले बल्लतल्ल केही समयको छुट्टी मिलाएर आएँ। तर सबै परिवार आउन पाइएन। के गर्नु भाइ विदेशको कुरा सबै चाँजो-पाँजो मिलाई आउन नमिल्ने।
मैले पनि हाम्रो कुराकानी अगाडि बढाउन उसको पनि जानकारी खोतल्ने प्रयास गरेर सोधें- भाइको बसाइँ काठमाडौंतिरै?
‘होइन, बुढा भएका बा-आमा बिरामी भएर जचाउन ल्याएको थिएँ। १७ दिनको बसाइँपछि फर्किंदै छौं। आजकालका च्याउझैं खुलेका अस्पतालहरू पनि उपचार सेवा दिनेभन्दा पनि पैसा मात्रै कुम्ल्याउने सूरमा संचालित छन्। पैसा नै मुख्य आदर्श ठान्छन्। हिप्पोक्र्याटिक ओथ खाइसकेपछि त मानव सेवालाई जोड दिनु नि’, अन्तर्मनदेखिनै निराशा पोख्दै थियो उसले अहिलेका अस्पतालहरूप्रति।
‘कस्तो छ त बा-आमालाई अहिले?’
‘अलिक ठिक हुँदै गा'छ। अझै केही समय राख्नुपर्छ भन्दै थिए, चित्त नबुझेर आफैं स्याहार गर्छु भनेर लिएर आएँ। ल्याएको खर्चपानी पनि सकिसक्यो।’
‘अनि खोइ त बा-आमा?’
‘बुढा-बूढीलाई बान्ता हुन्छ, अगाडिको सिट मिलाइदिन भनेको बल्लतल्ल बा-आमालाई त मिलाइदिए, मलाई पछाडि पठाए।’
‘अनि भाइले के गर्नुहुन्छ नि?’
‘गाउँघरतिर ठेक्कापट्टाको काम गर्छु र अलिअलि समाजसेवा पनि।’
‘साह्रै राम्रो, तपाईंहरूजस्तो ऊर्जावान् युवाले समाजको लागि योगदान गर्नु भनेको त साह्रै राम्रो कुरा हो। शुभकामना छ तपाईंलाई।’
कुरैकुराको सिलसिलामा ४ घण्टा बितिसकेछ।
‘चितवन ओर्लिने जति अगाडि आउनुस् है’, सहचालक भाइले ढोकाबाट चिच्याउँदै थियो।
यत्तिकैमा मेरो छेवैको भाइले भन्यो- हुन्छ त दाजु, म अहिले चितवन झर्छु। बा-आमालाई देवघाट घुम्ने साह्रै रहर छ। केही दिन घुमाएर फर्किन्छु। हजुरलाई भेटेर एकदम खुसी लाग्यो।
अहिलेको यस्तो बदलिँदो समयमा मानिस यति व्यावसायिक बन्न खोजेको छ कि हर कुनै अन्तरसम्बन्धमा ऊ अत्यधिक मुनाफा खोजिरहेको हुन्छ।
मनमनै सोचें- यो कहाँको ‘श्रवणकुमार’ जन्मिएछ, जो यति धेरै व्यावहारिक र बफादार छ आफ्नो नाता र सम्बन्ध जोगाउनमा। किनकि म स्वयं एक त्यस्तो उदाहरण थिएँ जो व्यावहारिक ‘श्रवणकुमार’ होइन व्यावसायिक ‘मुनाफाकुमार’ बन्न बुढा भएका बा-आमासँग वर्षौं टाढिएर बसें। मलाई पनि मुखबोला साथी भेटिएको थियो। ऊ झर्ने कुराले मन हल्का खिन्न भयो।
हात हल्लाउँदै भनें- हुन्छ भाइ, बा-आमाको राम्रो ख्याल राख्नु। जीवनको कुनै मोडमा फेरि भेट होला, आशा राखौं।
गोधूलि साँझ परिसकेको थियो अर्खले ओर्लिंदा। दिनभर चर्न निस्केका गाईवस्तुहरू गोठ फर्किसकेका थिए। उपल्ला घरे ढकाल बाको घर नजिकैको बाँसघारीमा चराहरू पनि बास बस्ने क्रममा चिरबिर-चिरबिर गरिरहेका सुनिन्थे।
लगेज र ह्याण्डक्यारी गुडाउँदै हिँडेको देख्दा जो कोहीले विदेशबाट आएको सहजै अनुमान लगाउन सक्थे, तर बाटोमा कोही देखिनँ। बा-आमा भेट्न पाउने कुराले मन पुलकित भैरहेको थियो। यताउति नगरी सिधै बा-आमा बस्ने पुरानो टिनले छाएको पुर्ख्यौली घर पुगें। घरमा ताला लगाएको रहेछ। वरपर हेरें, कोही देखिनँ।
‘कहाँ जानुभएछ, साँझसम्म पनि घर आइपुग्नु भा'छैन त’, मन त्यसै सशंकित भयो। उदास मन लिएर घर मास्तिर लागें। अर्जेलनी आमाले भान्सा सकेर जुठेल्नोमा भाँडा मस्काउँदै हुनुहुँदोरहेछ।
‘नमस्ते आमा, सन्चै हुनुहुन्छ?’
‘नमस्ते, सन्चै आइपुग्यौ बाबु? खोइ त परिवार?’
‘सपरिवार आउन मिलेन आमा, एक्लै आएँ। अनि बा-आमा कहाँ जानुभएछ? देखिनँ त घरमा। ताला पनि लगाको रहेछ।’
‘बा-आमा त थुप्रै भो जेठा/माहिलाकोमा बस्न सहर जान्छम् भनेर हिँडेको। ३ वर्ष जति भो क्यारे बुटवलतिर गएको। त्यसपछि हामीसँग पनि भेट भा’को छैन।’
यस्तो प्रविधिको विकाश भएको अवस्थामा पनि यत्रो लामो समयसम्म बा-आमासँग सम्पर्क हुन सकेको थिएन। मेरा बा-आमालाई राम्रोसँग फोन चलाउन नआउने, दाजुहरू पनि अंशबन्डाको बेला मसँग त्यसै रिसाएका थिए। कहिल्यै भाइ कस्तो छ भनेर सम्झन समेत प्रयास गरेनन्।
यत्तिकैमा खाना खाएर गाउँ घुम्न गएका अर्जेल बा पनि टुप्लुक्क आइपुगे र मलाई देखेर अचम्म मान्दै सोधे-कैले आइस् प्रशान्त? बा-आमा अनि गाउँघरको माया मारिस् क्यारे।
‘होइन बा, परिस्थिति मिलेन, यस्तै भयो।’
‘ल आज यतै बस्, थाकेको होलास्; भोलि-पर्सि गाउँघर घुम्, अनि बा-आमा भेट्न बुटवल जालास्। हामीले पनि ३ वर्षजति भयो भेटेको छैन। सहर गएसी बुढा-बूढीले पनि गाउँको माया मारे।’ अर्जेल बाले पनि मेरा बा-आमा भेट्न नपाकोमा गुनासो गरे। खाना खाइवरि सुत्न त गएँ तर रातभर निन्द्रा लागेन।
यतिका समयमा बा-आमा भेट्न आउँदा पनि समयमा भेट्न पाइनँ। मन चंचल भैरह्यो। बा-आमासँग बिताएका पलहरूको स्मृतिले निद्रारानीलाई भगाइरहे।
बिहान उठ्नेबित्तिकै बुटवल हिँडिहाल्न मन लाग्यो। अर्जेल बा र आमासँग बिदा मागेर बुटवल बजार झरें। मेरा २ दाजुहरू, बालबच्चाको भविष्यको लागि भन्दै म अमेरिका गएकै वर्ष अंशबन्डा गरी सहर पस्नुभएको। बुटवल झरिसकेपछि सिमान्त दाइलाई फोन लगाएँ- दाइ दर्शन, आरामै हुनुहुन्छ?
‘प्रशान्त, सन्चै छ?’
‘हजुर दाइ, सन्चै छु। म अहिले बुटवल बजारमा छु, हजुरहरू कहाँ हुनुहुन्छ?’
‘हो र? कहिले आइस्। खबरै नगरी आएछस् त। पख् म एकछिनमा लिन आइपुग्छु’, दाजुले भन्नुभो।
केहीछिनको पर्खाइपछि दाजु आइपुग्नुभो। अनि दाजुको घर पुगें। भव्य घर अनि उच्च जीवनशैली, मन लोभियो।
‘यहीँ बसेर यत्रो प्रगति गरिरहेका छन् मेरा दाजुहरूले, म चाहिँ बा-आमा, परिवार छोडेर विदेशिएको छु’, मनमनै सोचें। एकैछिनमा भाउजू र भतिजो-भतिजी पनि आए। भाउजूसँगको कुराकानीको क्रममा भतिजो-भतिजी मेरो वरिपरि मौरीले रानो घुमेझैं घुमिरहे। सायद काकाले के-के ल्याइदिनुभा'छ भन्ने भएर होला, केटाकेटी न परे। मैले लगिदिएका खेलौना र कपडा दिएपछि खुसी हुँदै खेल्न गए। यत्रोबेरसम्म पनि अझै बा-आमा देखिनँ र सोधें- ‘बा-आमा खोइ त दाइ?’
‘तँ पनि विदेश भइस्। बा-आमाको ख्याल गर्ने पनि कोही भएन। तँलाई थाहा छ त जीवन र मेरो परिवार सबै आ-आफ्नै काममा ब्यस्त। त्यही भएर जीवन र मैले सल्लाह गरेर वृद्धाश्रम छोडेर आएका छौं। २ वर्ष जति भो। पोहोरमात्रै भेटेर अलिअलि खर्च र लत्ताकपडा छोडेर आएको हो।’
दाजुको कठोर मनको सरल बोली सहजै निस्कियो। सुन्नेबित्तिकै जिउ सिरिङ्ग भएर आयो। दाजुहरूसँग भाउन्ना छुटेर आयो।
‘बुढा भएका बा-आमालाई २ छाक खुवाएर राख्न नसकेर के गरेको होला त्यस्तो?’, लाचार भएर मनमनै गमें।
केही समयपश्चात् जीवन दाइको परिवार पनि झुल्किनुभयो। कन्सिरीमाथि चढेको मेरो रिसले सीमा नाघ्यो। अनि रिसैरिसले आगो भएर चिच्याएँ- अब कति धेरै दु:ख दिन्थे होला र ती डाँडामाथिका जून भएका बा-आमाले र यो उमेरमा 'बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि' बनाउनुभयो?’
मेरो आवेग देखेर माइला दाइ पड्किए- मानिसको उचाइभन्दा छाया लामो र औकातभन्दा कुरा ठूलो भयो भने बुझ्नु कि घाम अस्ताउँदै छ। ठूला कुरा नगर्। तेरो पनि त जिम्मेवारी हो। हाम्रो व्यस्त जीवनमा पर्याप्त समय दिन सकेनौं उहाँहरूलाई। आफ्नो उमेरका साथीसंगीसँग भेट पनि हुन्छ। मन पनि भुल्छ भनेर वृद्धाश्रम राखिदिएका हौँ। बर्सेनि भेट्न गएकै छौं।’
म नि:शब्द भएँ।
आफूले खाई-नखाई हुर्काएर, बढाएर यतिका ठूला बनाका छोराहरूको महलमा १ जोडी निरिह पन्छीको पिँजडा अट्ने ठाउँ छैन।
एकमनले सोचें- सायद मेरा दिदी-बैनी हुँदा हुन् त आज यो स्थिति आउन दिने थिएनन् होला।
म उहाँहरूको कुराले अगम्य भएँ र भनें- म पनि त आफ्नो भविष्य बनोस् भनेर बाध्यताले नै विदेशिएको हुँ। यतिका वर्षपछि आएर मलाई हजुरहरूसँग झगडा गर्नु छैन। मलाई ठेगाना दिनोस्। म आफैं जान्छु भेट्न।
भित्री मनले नमाने पनि देखाउनकै लागि भए पनि मलाई वृद्धाश्रम पुर्याए दाइहरूले।
अफसोच! यत्रो वर्षदेखिको बा-आमा भेट्ने सपना अझै पूरा हुन सकेन मेरो। यो थाहा पाएँ कि बा-आमा त १ वर्ष पहिला नै तीर्थ जान्छम् भनेर वृद्धाश्रम छोडेर हिँडिसक्नुभएको रहेछ। दाजुहरूलाई त के वास्ता! बेखुस भएको आभाष मात्र दिइरहेका थिए। तर मेरो मन भने साह्रै अमिलिएर आयो। भक्कानो छोडेर रूँनुजस्तो भयो। ठूलो गर्जनका साथ मनको ज्वालामुखी बिस्फोट होलाजस्तो भयो। भविष्य बनाउने नाममा आफ्ना बा-आमा भेट्नै नपाउँला जस्तो भयो।
म अवाक् भएँ।
कसैको मुखमा हेर्न सकिनँ। जीवन उराठलाग्दो भएको महसुस भयो। कसैको मुख नदेख्नेगरी विदेश फर्किऊँजस्तो लाग्यो। घर फर्केपछि कोठामा छिरेर रोएँ, धेरै रोएँ। जीवित देवी-देवताको महत्व बुझ्न नसकेकोमा धेरै आत्मग्लानी भयो। चिच्याएँ, कराएँ- के अब बा-आमालाई देख्न पाउँदिनँ त?
कतिबेला निदाएछु पत्तो पाइनँ।
बिहान उठ्दा टाउको भारी भएको र आँखा सुन्निएका थिए। भतिजो-भतिजी आएर खेल्न खोजे मसँग। ती अबोध बालबच्चासित मन खोलेर खेल्न पनि सकिनँ।
एकमनले सोचें- आज मेरा दाजु- भाउजूहरूले आफ्ना बा-आमालाई गरेको व्यवहार पछि यिनीहरूले पनि गरे भने के आफूले गरेको कुकृत्य सम्झलान् त मेरा दाइहरूले पनि? तर म प्रार्थना गर्छु कि यिनीहरूले त्यस्तो कदापि नगरून्।
मेरो लागि अब मेरो भनेर बस्ने आधार कोही भएन शिवाय ती भगवानरूपी बालबच्चा। छुट्टी छोट्टाएर अमेरिका फर्कने निधो गरें।
‘अर्चना, म चाँडै फर्कंदै छु’, श्रीमतीलाई फोन लगाउँदै भनें।
‘किन र? बुवा-आमालाई ल्याउने चाँजो-पाँजो मिलाएर आउनु न बरू। हामी पनि जान पाएनौं। यतै भेट होला। केटाकेटीले नि हजुरबा-हजुरआमा चिन्छन्’, अर्चनाले बा-आमाको न्यास्रो लागेको झल्को दिइन्।
अर्काकी छोरी भएर पनि बरू बा-आमालाई आफ्नै ठानी माया गर्ने यिनै रहिछन्। आफ्ना भन्नेले त शरीरमा प्राण रहुन्जेल फर्केर हेर्न चाहेनन्। अब प्राण गएको थाहा पाए भने कात्रो हटाई-हटाई हेर्लान्।
‘कुरा अर्कै छ, त्यहीँ आएर भनौंला। दुर्भाग्य मेरो। बा-आमासँग भेट भएन। २/४ दिनपछि फर्किन्छु होला’, फोन काटिदिएँ।
मनमा अनेकौं विचारका तानाबाना बुन्दै घरमा मात्रै बस्न मन लाग्यो बाँकी दिनहरू पनि। दाजुहरूलाई मेरो खासै वास्ता थिएन र बा-आमा कहाँ गए होलान् भन्ने रत्तिभर पनि दुखेसो थिएन। तर मेरो मन भने यति बिचलित थियो कि सम्हाल्ने कुनै उपाय नै थिएन।
सोच्दै थिएँ- तीर्थ जान्छु भनेर हिँडेका मेरा बा-आमा कहाँ गए होलान्? के गर्दै होलान्? डाँडापारिको जून भएको अवस्थामा घरको न घाटको भएर कहाँ हिँडिरहेका होलान्? हे भगवान्! जसरी भएनि १ पटक भेट गराइदेऊ, बाँकी व्यवस्था म गर्नेछु।
अनेक तर्कनाहरू मनमा खेल्दै थिए। म अमेरिका जाने बेला आमाले छोराको पढाइ राम्रो होस् र अमेरिका छिट्टै जान पाओस् भनि घरभन्दा माथि २ घण्टा उकालो चढेर जानुपर्ने पिपले डाँडाको मन्दिरमा गएर भाकल गरेको र सोही अनुरूप भाकल पूरा भएको सम्झना आयो।
सोचें- त्यही मन्दिरमा गएर बा-आमासँग छिट्टै भेट होस् भनि भाकल गरेर अमेरिका फर्कन्छु।
भोलिपल्ट बिहान सबेरै उठें। अनि आत्महत्या गरूँलाझैं गरी झुन्डिएका लुगाहरू ट्याप्प टिपेर पहिन्दै बुटवल छाड्ने तयारी गरें।
अर्खले पुगेर अर्जेल बा र अर्जेलनी आमासँग भेटेर सबै वृतान्त सुनाएँ। साह्रै भक्कानिनुभयो उहाँहरू पनि।
भनें- बा, अब २/४ दिनमा फर्किन्छु होला म, कोही छैनन् मेरो भन्नु यहाँ। कसका लागि बस्ने?
अर्जेल बाले भने- आशावादी बन्नुपर्छ। बा-आमालाई खोजेर जा बरू। ज्यादा दु:ख नपाऊलान्।
कुरा त ठिकै लाग्यो, तर कतिन्जेलसम्म? भेट्ने टुंगो छैन।
‘हुन त हो बा, बरू छुट्टी मिलाएर फेरि आउँछु, अहिले जान्छु।’ मैले त्यसो भनिरहँदा उनीहरू त्यति खुसी थिएनन्। आफ्ना दमालीहरू हराएको सुनेर उनीहरूलाई नि नमजा लागिरहेको थियो।
फेरि भनें- आज डाँडाको मन्दिर गएर दर्शन गरेर आउँछु।
‘कोसँग जान्छस् त?’ बाले सोधे।
‘एक्लै जान्छु, जीवनको एक मात्र सारथी मनसँग भुल्दै।’
मैले यति भन्न नपाउदै अर्जेल बाले गाली गर्दै भने- त्यस्तो घनघोर जंगलमा के एक्लै जान्छस्, म पनि जान्छु नि त तँ सँगै। म पनि नगएको थुप्रै वर्ष भयो। भकारो सोहोर्ने आमा छँदै छ। अरू काम के नै पो छ र?
खाना खाइवरि अर्जेल बा र म शनै-शनै उकालो चढ्न लाग्यौं। धेरै समयपछि उकालो हिँडेकाले होला, थकानले छिटो हिँड्नै सकिनँ।
अर्जेल बाले बेला-बेला जिस्काउँथे- बुढो गोरुको अगाडि बहर त कमजोर देखियो त!
गफैगफमा २ घण्टाको उकालो चढेर मन्दिर पुग्यौं। मन्दिरलाई पर्यटकीय उद्देश्यले पुनर्मर्मत तथा सजिसजाउ गरी राम्रो बनाइएको रहेछ। श्रद्धालु भक्तजनहरूको पनि राम्रै आवतजावत देखिन्थ्यो। पाटी तथा सत्तल पनि निर्माण गरी कैयौं बेघरबारहरूलाई आश्रय पनि दिइएको रहेछ। मन्दिरको मूलद्वारबाट प्रवेश गरी आफूले जाने अनुरूपको पुजा-अर्चना गरें र भेटी पनि चढाएँ। मन्दिरमा पूजा गरेसी ‘वर’ माग्नुपर्छ भनि आमाले भनेको सम्झँदै वर मागें: बा-आमासँग छिट्टै भेट होस्।
अर्जेल बाले भने- हिँड प्रशान्त, आधा घण्टा तल एउटा नमूना बस्ती छ, घुमेर आउलास्।
बाटोमा चौपायाहरू चराउन आएका गोठालाहरूसँग भलाकुसारी गर्दै आदिवासी बस्ती आइपुग्यौं।
मेरो ‘एक-अर्काप्रति दयालु/सहयोगी हुनुहोस्’ भन्ने सोचसँग ठ्याक्कै मिल्ने सोच भएका धेरै मानिसहरू देखें। अनौठो लाग्यो एक-अर्कालाई इज्जत गरेको तथा सहयोगी भएको देखेर। सहरको हावाले छोएका, आफ्नो स्वार्थ मात्र हेर्ने, सम्बन्धलाई व्यवसायीकरण गरी नाफामुखी हुन खोज्ने खोक्रो सभ्यताको अगाडि त्यो स्वत:स्फूर्त रूपमा स्थापित भएको नि:स्वार्थ, भद्र तथा शिष्ट सभ्यता देखेर म अवाक् भएँ।
सोचें- यदि मेरा बा-आमाले जन्माएका सन्ततिहरू पनि यही सभ्यतामा हुर्केका हुँदा हुन् त आज मेरा बा-आमा यो उमेरमा घरबारविहीन हुँदैन थिए होलान्।
अनि अर्जेल बालाई सोधें- बा, यहाँका मानिसहरूको यति धेरै अवलम्बनयोग्य कुराहरू रहेछन्, यिनीहरूको सिको किन अरूले गर्न सक्दैनन्?
बाले एक वाक्यमा जवाफ दिनुभो- अरूको खुट्टा तान्ने प्रवृत्ति। मानिसमा अरूलाई लडाएर आफू माथि जाने सोच नआउँदो हो त अहिलेको विश्व धेरै फरक हुन्थ्यो।
कुरैकुरामा साँझ पनि पर्न लाग्यो।
अर्जेल बाले भने- अब फर्किनुपर्छ।
‘बा, हजुर मान्नुहुन्छ भने आज यतै पाटीतिर बसेर त्यहाँका मानिसहरूसँग भलाकुसारी गर्ने मन छ मेरो। बा-आमाको झल्को मेट्न मन छ। अनि कस्ता-कस्ता पृष्ठभूमिबाट मानिसहरू यस्तो परिस्थितिमा आउने रहेछन् जान्ने इच्छा जाग्यो।’
‘घरमा पनि खासै काम त छैन, तँ भन्छस् भने बसुँला’, बाले सहजै उत्तर दिए। म साह्रै खुसी भएँ। मेरा बा-आमा जस्ता मान्छे कति हुँदा रहेछन्, सो जान्ने मन भयो। पाटीको परिसरमा पाकेको मिठो-मसिनो खाएर रात बिताउने सुरसारमा विभिन्नथरि मान्छेहरूसँग कुरा गर्न सुरू गरें।
ती मान्छेहरूको भिडमा एक जना पढे-लेखेकाजस्ता देखिने बुज्रुक बृद्ध पनि थिए। त्यहाँको हरेक समस्याको समाधानको लागि खटेर लाग्ने। उमेरमा पनि अरूभन्दा केही कम जस्ता देखिन्थे। मलाई जिज्ञासा लाग्यो र सुरूआत उहाँबाट गरें- बा, कसरी यहाँ आइपुग्नुभो?
‘४ दाजुभाइ अनि २ दिदीबैनी भएको मेरो परिवारमा सबैका बालबच्चा/परिवार भए तर मेरो हुन सकेनन्। श्रीमती पनि चाँडै स्वर्गबास भइन्। बैंस/उमेर छउन्जेल परिश्रम गरेर खाएँ। बुढो भएसी हेर्ने कोही भएनन्। अनि पाटीको बास भयो बाबु’, रोउँला जस्तो आवाजमा खडानन्द बाले भने।
उनको कुरा सुनेपछि मनमनै सोचें- बच्चा नभएकालाई बुढेसकालमा बच्चाप्रति त्यस्तो आश लाग्दो रहेछ, तर ३ भाइ छोरा भएका मेरा बा-आमालाई त्यो अवस्थामा बिरामी हुँदा तातो पानी दिने पनि कोही छैन। फेरि मन भावुक भयो। अनि अरूहरूको पनि सोधें, धेरैको मिल्दोजुल्दो कथा रहेछ।
केही कुरा थप्दै खडानन्द बाले फेरि भने- अर्का एक वृद्ध जोडी पनि बस्छन् यहाँ, तिनीहरूको पनि छोरा-छोरीले नहेरेको रे। अहिले बिरामी भएर तल आदिवासी बस्तीको सुमनले अस्पताल लिएर गएका छन्।
फेरि गमें- आदिवासी बस्तीको सुमन? कति नि:स्वार्थ रहेछन् है त्यहाँका मान्छे। यहाँ आएर बुढा-बूढीको पनि हेरचाह गर्न भ्याउनेरहेछन्। यस्ता परोपकारी मनहरूप्रति भगवान् सधैं दाहिना होऊन्।
कुरैकुराको सिलसिलामा सबै सुत्न जाने तरखर गर्दै थिए। अर्जेल बा पनि अरू केही बुढा-बूढीहरूसंग गफिँदै थिए। बाहिर कोही बुढा-बूढी बोलेजस्तो लाग्यो। यसो नजर घुमाएको, धमिलो लालटिनको प्रकाशमा एक अधबैंसेले १ जोडी वृद्ध-वृद्धालाई डोहोर्याउँदै आइरहेका थिए। अलि नजिक आएपछि चिने चिने जस्तो लाग्यो। अचम्म मान्दै सोधें- भाइ, तपाईं यहाँ?
ऊ पनि आश्चर्यचकित हुँदै सोध्यो- दाजु, हजुर यहाँ?
‘अँ, म प्रशान्त, मेरो घर अर्खले हो। आज यहाँको मन्दिर दर्शन गर्न आएको। अनि तपाईं?’, मैले सोधें।
‘म सुमन, मेरो घर पनि त्यहीँ तल आदिवासी बस्तीमा हो।’
‘ए, सुमन भन्ने भाइ पो हो? अघि नै खडानन्द बाले तपाईंको बारेमा कुरा गर्नुभा’को थियो। अनि बा-आमालाई देवघाट घुमाएर ल्याउनुभो त?’
‘अँ दाजु, केही दिन घुमाएर ल्याएँ, बा-आमा साह्रै खुसी हुनुभो’, उसले भन्यो।
मैले फेरि भनें- सबैका बा-आमाले तपाईंजस्तो छोराछोरी पाए पो!
म यता सुमन भाइसँग मीठो वार्तालाप गरिरहेको थिएँ, अरू बुढा-बूढीहरू पनि आफ्नो दौंतरी आएर खुसी हुँदै थिए। खडानन्द बाले सबैलाई भेला पार्दै भने- हेर त दामोदर/दमोदरनी उपचार गरेर निको भएर आएछन्।
उहाँको कुरा सुनेर म झसङ्ग भएँ, ‘दामोदर/दमोदरनी?’ बिस्तारै अगाडि बढेर दामोदर/दमोदरनीको नजिक पुगें, यसो हेरेको त मेरो आँखाबाट बलिन्धारा आँसु बग्न थाल्यो।
डाँको छोडेर रोएँ, कराएँ, चिच्याएँ- धन्य भगवान्! मेरो पुकार सुनेऊ, मैले गरेको भाकल पूरा भयो।
बा-आमालाई अंगालो हालेर मनभरिका कुण्ठा धितमरुन्जेल आँसु बगाएर पखालें।
आमाको मन कुँडिएर होला केही बोल्न सक्नुभएन। बाले गला अवरूद्ध भएको आवाजमा सोध्नुभयो- सन्चै छस् कान्छा?
‘बा-आमा, मलाई माफ गर्नुस्। अब हजुरहरूलाई ती पापीहरूसँग बाचुन्जेल कहिल्यै भेट गराउने छैन।’
मन सम्हालेर बाले भन्नुभयो- पीर नगर् बाबु, यो संसारमा खुट्टा तान्ने र लडाउन खोज्ने आफन्त र इस्टमित्रहरू नै हुन्। परायाले त लडेको देखे उठाउँछन् वा झुक्किएर लडाउन खोज्दा पनि माफी मागेर जान्छन्।
म यस्तो मानसिक अवस्थामा थिएँ कि सुमन भाइलाई एकटकले हेरिरहेको थिएँ। तर केही वाक्य फुटाउन सकिनँ। मसँग उसको लागि आभार प्रकट गर्ने कुनै शब्द नै थिएन। मनमा आयो, यदि मानिसको पुनर्जन्म हुन्छ भने सुमन मेरी आमाको कोखबाट जन्मिओस्।