ए, सरसफाइ गरेर बागमती सफा गर्न खोज्नेहरू !
सडकको छेउकुना बढारेर महानगर सफा गर्न खोज्नेहरू !
गरिबलाई भिख बाँडेर दयावान बन्न खोज्नेहरू !
आवाजहरू दबाएर देशमा शान्ति खोज्नेहरू !
मूल सफा गर, मूल!
के कसैले कहिल्यै आफैंभित्र चियाएका छौ?
फोहोरको मूल त स्वार्थ हो, लोभ हो
शोषण हो, दमन हो
अहंकार हो, अज्ञान हो!
फोहोरको मूल त मनभित्र डुङ्डुङ्ती छ!
प्रकाशदेखि डराउनेहरू
अर्काको दीयो निभाएर
टर्चलाइट बाली हिँड्छन्
टर्चलाइट घुमाएर घमण्डसाथ भन्छन्—
हामी अन्धकार सफा गर्दै छौं!
आफैंलाई नियालेर हेर
कतै बागमतीको बहावको बाधक तिमी नै त हैनौ?
कतै यो सहरको अँध्यारो तिम्रै लामा लामा छाया त हैनन्?
सके बागमतीको मूल फुटाऊ
सहरलाई आफ्नै पहिचानमा फुल्न देऊ
गरिबहरूलाई तिम्रै दाँजोको स्वाभिमानमा उठ्न देऊ
जनबोलीहरू फुट्न देऊ
सत्यलाई प्रकाशित हुन देऊ
बागमतीमा आउने छ बाढी
र बगाएर लाने छ तिम्रा
लोभ र स्वार्थहरू
दम्भ र अभिमानहरू
सफा गर्नु पर्ने छैन तिमीले—
बागमती
बरू, निर्मल गङ्गाले नै सधैं सधैं तिमीलाई पवित्र पारिरहने छ!