मनिसले जन्मबाट नै आफ्नो संघर्षका पाइलाहरू अघि बढाउन सुरु गर्छ। जीवनको रमाइलो भनौं या कहालीलाग्दो यात्रा, त्यही बेलादेखि सुरु हुने गर्छ। हुर्कंदै जाँदा उसको चेतनाको स्तर फराकिलो हुन थाल्छ, आवश्यकता पनि बढ्न थाल्छ।
विद्यालय जीवन सुरु हुन्छ। सुरु-सुरुमा रहर नै हुने रहेछ। बा-आमाको गालीबाट बच्नकै लागि भए पनि विद्यालय जान्छन्। यसरी बाह्रखरीबाट अध्ययन यात्रा सुरु हुन्छ। सोचाइ नबन्दासम्म, पढाइ नबुझ्दासम्म करकाप नै हुनेरहेछ। अरुकै लागि भए पनि पढ्न जानै पर्ने, अरुकै लागि भए पनि अनुशासित हुनै पर्ने, अरुकै लागि भए पनि मेहनत गर्नैपर्ने रहेछ जीवनको कुनै क्षणमा। समयले कोल्टे फेर्दै जाँदा पढाइको महत्त्व बढेको भान हुँदोरहेछ।
पढाइको लागि वातावरण मिल्नुपर्ने रहेछ। चाहे त्यो पारिवारिक होस् या आर्थिक वा अन्य। यस्तै वातावरणको चाँजोपाँजो मिलाउँदै मरुभूमिका फोकटामा सपनाका गगनचुम्बी महल बनाउने अभिलाषा बोकी सहर झर्नुपर्ने अवस्था हाम्रो वास्तविक अवस्था छ। सुखदुःख गरेरै बाले ढुंग्रोमा जम्मा गरेर राखेको पैसाले धेरै खुसीलाई किन्ने रहर हुँदाहुँदै पनि त्यो कल्पनामा मात्र सीमित हुन पुग्ने रहेछ।
जब गोजीमा दाम सकिन थाल्छ तब कोठामा नुन सकिन थाल्छ। साँझ बिहानको एक चम्चाबाट थोरै घटाएर रारा तालको पानीजस्तै बाक्लो दालसँग जाउलो खानै खोज्दा साथीले 'नुन कम छ जस्तो छ' भन्दै गर्दा 'म त नुन कम नै खन्छु' भनी मन नलगाई नलगाई खानुको जीवन क्या गज्जबको हुने रहेछ। त्यो खल्लोपनालाई पनि स्वादिष्ट बनाउने रहेछन् ती अभावका फोहोराले।
रवाफ थियो त केवल बाको डिग्रीको खोस्टो किन्ने। म पनि बाको त्यो सपनाको पछि दौडिरहेँ, कहिले कलेज धाएँ त कहिले कोचिङ क्लास। ती क्लासहरूमा म खुलेर जान सक्ने अवस्था पनि कहाँ थियो र हजुर! फी तिर्नुपर्ने रहेछ। आफूसँग गोजीमा सुक्को हुने भन्ने त प्रदेशीलाई दशैं आउनु जत्तिकै हुन्थ्यो। आफूलाई आवश्यक सामान अनि पुस्तक व्यवस्था गर्नलाई हम्मे-हम्मे पर्थ्यो।
बजारमा कुनै सामान किन्नुपर्यो, कतै बाहिर निस्कँदा खल्तीबाट झिनो नगद झार्नुपर्यो भने साँझ बिहानको रारा ताल सम्झनामा बल्झिन पुगिहाल्थ्यो। त्यो पैसामा बाको पसिनाको नुनिलो स्वाद सम्झन्थेँ। बाका खोच परेका गाला सम्झिन्थेँ। आमाको कुहिनाबाट फाटेको चोली सम्झन्थेँ। यो मेरो रहर नभई बाध्यताजस्तो पनि थियो।
हुन त पहिलादेखि नै बानी पर्दै आएको मलाई खासै धेरै वास्ता त लाग्थेन। मलाई त्यतिबेला पीडाको बोध हुन्थ्यो, मन भक्कानिन्थ्यो जब साथीहरू नयाँ-नयाँ ड्रेसमा कलेज जान्थे, क्याम्पसबाट हुने हरेक कार्यक्रममा खुला मन लिएर जान्थे। जागिर खानुपर्छ भन्दै विभिन्न क्लासहरू सुरु गर्थे। आफूसँग त्यस्तो कुनै सामर्थ्य थिएन।
बिहानको समयमा कलेज गयो, दिउँसो फर्कियो। अघिल्लो दिनदेखि खाएको त्यो मिठो दाल र भातले भोलिपल्ट दिउँसोसम्म सजिलै धान्न सक्थ्यो। नधानोस् पनि कसरी? अवस्थाले त्यस्तै भोग गराएपछि। दिउँसो पनि खाने भन्ने त्यस्तै हुन्थ्यो, गर्मी हुन्थ्यो, थकान महसुस हुन्थ्यो। पानीमा तताएको केही भए पनि हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यस्ता त मेरा दिवास्वप्न मात्र हुन्थे।
कहिले ड्रेससँगै सुतिन्थ्यो त कहिले बासी भातलाई तह लगाउथेँ अनि कल्पना गर्थें त्यो आफ्नै झुपडीको। ती मेरी आमाका काम गर्दा चिरा परेका हातले पस्केको खोले सम्झन नखोज्दा पनि आँखै वरिपरि नै रहन्थे। आमाका तिनै चिरा परेका हात, बाका कुर्कुचामा मलम लगाउने सोच मेरो पनि थियो। कुनै चाडबाडको बेला आमाले भनेको सम्झना आउँथ्यो, घरमा खान खाने बेला तेरै याद मात्र आउँछ छोरा भन्नुहुन्थ्यो। पढाइको भन्दा पिरलो भविष्यको लाग्थ्यो। पढेर के गर्ने भेउ नै पाएको थिएन।
यी त मेरा दैनिकी नै थिए। मेरा हरेक दैनिकीसँग बाको खुसी जोडिएको हुन्थ्यो। हरेक कुराको हिफाजत गर्नु थियो। त्योभन्दा बढी बाआमाको खुसीको हिफाजत गर्नु थियो, मेरो शिक्षा!
आफूभन्दा अग्रज दाजुदिदीका डिग्रीका पट्टिकाहरूमा धमिरेले बस्ती बसाएको, त्यसैमा साङ्लाले नचरी लगाएको सम्झिँदा गहभरि समुन्द्रका छल जसरी भरिन्थ्यो। छताछुल्ल हुन्थ्यो। मैले मेरो बालाई के देखाउने?
एकान्तमा बस्थेँ, मनमा अनेक सपनाका महल बन्न सुरु हुन्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो मेरो सपना मेरै नामको डिग्रीको सर्टिफिकेटमा लेमिनेशन लगाएर झोलामा बोक्ने अनि जागिरे जीवन सुरु गर्ने। डिग्री भन्ने कुरा चानचुने थिएन। त्योभन्दा जागिरको त कुनै कुरै नगरौँ। एक मनले भन्थ्यो- समयमै खाडी छिर्, यो खेर जाने आर्थिक लगानी समयलाई त्यहीँ लगा। अर्को मन भन्थ्यो- तँ यति किन कमजोर बन्छस्? तँ त सक्षम छस्, देशमै केही गर्न सक्छस्। जे-जे गर्नपर्छ, तँ यही गर्। तेरो पहिलो लक्ष्य डिग्री पूरा गर् भन्थ्यो।
शिक्षाले सर्टिफिकेट मात्र दियो तर सीप दिएन। सीप बिनाको सर्टिफिकेटको कुनै मूल्य थिएन। आफैभित्र मनैमन द्वन्द्व हुन्थ्यो। पढाइभन्दा पनि आफ्नो व्यवथापन कसरी गर्ने भन्ने पिरलो बढी भएकै प्रभावले होला खाडीका सपनाहरू मनमा खेल्दथे। गहिरिएर सोच्न बाध्य बनाउँथे ती पापी मनहरू। तर कुनै निर्णय लिन दिँदैनथे।
त्यसै कारण मन भरिएर आउँछ। त्यो आफूलाई बिसन्चो हुँदा आफ्नो प्रवाह नगरेरै भए पनि त्यो डिग्रीको खोक्रो खोस्टो किन्ने सपना बोकेका मेरा बा बरु त्यो खर्चलाई एक मिटर तुलको खास्टो किन्नको लागि जम्मा गरेको भए काम लाग्थ्यो होला। परिवारलाई एक मिटर तुलको वस्त्र खोज्नकै लागि त्यति टाठो गर्नपर्ने थिएन। यो खर्च त केवल बलुवामा पानीजस्तै लाग्न थाल्यो।
हाम्रा शिक्षित र बौद्धिक व्यक्तिलाई हेर्दा पढाइप्रति वितृष्णा जाग्छ। अहिलेको युगमा नपढेका भन्ने पनि कोही छैनन्। पढेर पार लागेका पनि सबै छैनन्। अहिलेको पढाइ वैकल्पिक जस्तो भएको मेरो भोगाइ छ। परिवारको खुबीले धान्दासम्म झोला बोक्यो, त्यसभन्दा पछिको विकल्पमा रातो पासपोर्ट त्यही झोलाको पाकेटमा छँदै छ।
शिक्षा वास्तवमा ज्ञान र सीपसँग जोडिएको हुन आवश्यक थियो। ज्ञानबिना सीप हासिल गर्न सकस पर्ने हुन्छ। त्यस्तै आर्जित सीपलाई सही उपयोग गर्न पनि शिक्षा आवश्यक पर्ने रहेछ। तर हामीले लिइरहेको शिक्षाले त्यो कहिल्यै सिकाएन। रुखमा चढ्न सिकायो तर झर्न कहिल्यै सिकाएन। जसरी रुखको टुप्पोमा पुगेर यताउता हेर्दा समात्ने र टेक्ने ठाउँ साँघुरिन्छ, त्यसरी नै अहिलेको शिक्षाले डिग्रीको सर्टिफिकेट देखाउने तर उपलब्धि केही नदीने अवस्था तितो सत्य हो।
खालि किताबी ज्ञान मात्र वास्तविक ज्ञानको रुपमा परिभाषित गर्ने काम गर्यो। व्यवहारिकताका सवालमा कहिल्यै मेरो शिक्षा प्रणालीले वकालत गरेन। त्यो खोस्टोलाई सिरानीमा च्यापेर खाडीको ५५ डिग्रीको घामको मस्तले सपना देखाउनु सिवाय केही काम लागेन। शिक्षण महासागर हो। यहाँ त जीवन पार लगाउने उपाय सिकाइनु पर्थ्यो। पौडिन सिकाउनु को सट्टा नदीमा हात बाँधेर फालिदियो तर पार लाग्न कहिल्यै सिकाएन।
पुतलीको लार्भाजस्तो हुने भयो मेरो देशको शिक्षा। आफ्नो केही अगाडि खाना छ तर त्यसलाई कसरी खाने सिकाएन। सिकायो त केवल छट्पटिन र हल्लिन मात्र। यसरी कहिले जागिरको आश देखायो त कहिले सफलताको आश देखायो, अन्त्यमा खाडीको सपना देखायो मेरो शिक्षाले।
कहिलेकाहीँ त लाग्छ बल शिक्षादेखि सुरु भएको औपचारिक शिक्षा व्यवस्थाले कुनै तहका कक्षाहरूमा त्यो खाडीको गर्मीबाट बच्ने उपाय सिकाइदेओस्। डटेर ठूला-ठूला मेसिन कलकारखानामा काम गर्ने तरिका सिकाओस्। बगाएको त्यो रगत र पसिनालाई पुछ्न सिकादेओस्। त्यसका साथै परिवार र आफन्तजनलाई खाडीको लास काठको बन्द मोडिएको बाकसमा लास आउँदा सहर्ष स्वीकार गर्ने क्षमता सिकाओस्। यी त भावना र कल्पना मात्र थिए।
उता समाजले पनि राम्रै अपेक्षा गरेकै थियो। जीवन बनाउँछ। बा-आमाका च्यातिएका नङ्ग्रामा मलम लिएर आउँछ। सबैको लागि खुसी लिएर आउँछ। त्यो त भुमरीले तानिसकेको वस्तु फिर्ता हुनुजस्तै भयो। डिग्रीको सर्टिफिकेट लिएर समाजमा अनुकरणीय बन्ने सपना कसको पो हुँदैन र? आशाका किरणहरू बादलमै लुटपुटिन विवश भए। जीविकोपार्जन गर्न न त मसँग कुनै इलम थियो न त कुनै सीप नै। थियो त केवल डिग्रीको सर्टिफिकेट मात्र। यसले कुनै पार लगाउन सकेन।
यसले त भोक लागेको बेलामा जिब्रोमा चट्नी लगाएजस्तो मात्र भयो। पूरा तृष्णा मेटाउन सकेन। उता साहुको ॠण दिन दुई गुणा रात चौगुणाका दरले उकालो लागिरहेको थियो। बगर छेउमा बाँकी रहेको जग्गा जमिन पनि पूरै लिलाम भैसकेको थियो। चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेको जस्तो मेरो जीवन भएको थियो। ठूलो बज्रपात मेरो परिवारमाथि परेको थियो।
अब बाँकी दुःखलाई फ्रेम लगाउने केवल खाडीको सपना मात्र बाँकी थियो। डिग्रीको लालपुर्जाले बाटो देखाउन नसक्दा परिवारको दुःख पीडा ओत्न पनि खाडी पस्नुपर्छ भन्ने लाग्ने रहेछ। क्षितिज पारिको त्यो खाडीको सपनाले पनि सताइरहने रहेछ। खुसी त खाडीबाट मात्र पाइने रहेछ। बिना सीप र क्षमताको योग्यताभन्दा खाडी नै लायक लाग्ने रहेछ।