श्रावणको एकदिन
बिना कुनै काम
केवल झरी हेर्न
छाता ओढेर म
कोठाबाट निस्किएँ
मलाई विशेष मनपर्छ झरी
कति मिठो लाग्छ झरीको अवाज
झरीसँग नजिक हुन
कहिलेकाहीँ छाता ओढेर निस्कन्छु
त्यो दिन पनि
चप्पल लगाएर म निस्केँ
कौशलटार चोकसम्म पुगें
आकाशे पुलमा उभिएँ
तल सडकमा हुइँकिरहेका गाडीहरूलाई हेरेँ
सडकको पानी सिरिरी उडाउँदै
एउटा जीप धुलिखेलतिर बत्तियो
केही मोटरबाइकहरू
कोटेश्वरतिर हुइँकिएँ
तल कुँदिरहेकाहरूलाई जस्तो
मलाई कुनै हतारो छैन
म बिल्कुल फुर्सदिलो मानिस
यो झरी, यो छाता, यो पुल
कस्तो आनन्द
कस्तो खुसी
म शान्त छु
मलाई केही कमाउनु छैन
केही गुमाउनु छैन
वातावरणमा छाएको चिसोले
हातका रौँहरू ठाडा भएका छन्
देब्रे पाखुरा अलिअलि भिजेछ
म आँखा चिम्म गरेर
एकछिन उभिएँ
एउटा लालशा मनमा उब्जियो
ठूलो हुरी आइदियोस्
मेरो छाता उडाएर लगिदियोस्
म लुछुप्पै भिज्न सकुँ
भिज्दा भिज्दै
झरीसँग पग्लिएर
बग्दै-बग्दै
सडक किनारको नाली हुँदै
बागमतीमा मिसिना सकुँ
बागमतीसँग हुर्रिंदै
पहाड, मधेस हुँदै
सागरमा मिसिन सकुँ
सागरबाट बाफ बनी
बादलमा सामेल भएर
उड्दै उड्दै वर्षा बनी
कौशलटारको पुलमै वर्षिन सकुँ
म नै झरी बनुँ
म नै म बनुँ
विस्तारै आँखा खोलेँ
पोहोर साल पनि त
श्रावणको एकदिन
यसैगरी यही पुलमा आएर
उभिएको थिएँ।