अमूल्य उपहार भाग- २
अब स्कुलका सुन्दर यादहरू लिएर रिजल्ट कुर्न अनन्या घरमा बसिन्। एसएलसी सकिएपछि ६/७ महिना रिजल्ट कुर्नु पर्ने भयो। नयाँ वर्ष आयो। उनको घरमा लामो समयदेखि पढ्न बस्नु भएको नाता पर्ने दाइले आफ्नो साथीहरूलाई नयाँ वर्षको अभिवादन कार्डहरू पठाउन दर्जनौं कार्डहरू किनेर ल्याउनु भो र अनन्यालाई नि देखाउनु भयो।
'दाइ, अनुलाई एउटा है त,' भन्दै एउटा सबभन्दा राम्रो कार्ड छानेर अनन्याले राखिन्।
अनन्यालाई कार्ड-सार्ड लेख्न असाध्यै झ्याउ लाग्थ्यो। ८ कक्षा पढ्दा एकजना लफंगा केटाको कार्ड आएको थियो, हाँस उठ्ने लभ लेटरको साथ। 'फेरि पनि पठाइस् भने मेरो दादालाई भनिदिन्छु' भनेर धम्की दिँदै उनले कार्ड च्यातिदिएकी थिइन्। तर यसपालि भने उनी खाली दिमाग सैतानको घर भएकी थिइन् र उनी यो जान्न उत्सुक थिइन् के अनिसले पनि उसलाई साँच्चै मन पराउँछ? तसर्थ, नलेखी बस्नै सकिनन्।
एउटा रहस्यमय कविता लेखिन् र सावधानीका साथ एउटा विश्वसनीय साथीको मद्दतले अनिसलाई पठाइदिइन्-
'जागी दिएछ एउटा उत्साह, नुनिला आँसु पिउँदा पिउँदै
कहाँ पाउन सक्छु र आकाशको फल, चौराहमा कुरी बसेर
धड्कनले त तिमीलाई नै रोज्दछ, रीतको पर्खाल उलंघन गरेर
को होला त्यो तिमीलाई आफ्नो भन्ने, चाहना गर्ने नै त हुनुपर्छ
हत्केला गनेर नबस है, नाम जानेर पो के गर्छौ?'
अनन्यालाई थाहा थियो, ऊजस्तो स्मार्ट मान्छेलाई यति सानो रहस्य पत्ता लगाउनु कुनै ठूलो कुरो थिएन तर २/३ हप्तासम्म केही जवाफ नआउँदा मनमा असाध्यै डर थियो। कतै उसले पनि तिम्रो दादालाई भन्दिम् भनेर गाली आउँछ कि भनेर।
एकदिन उसको जवाफ प्राप्त भयो। अनन्यालाई विश्वास लागेन, यो सपना हो वा विपना? के यो पत्र मेरै लागि हो? उनी आघातमा थिइन्। मोबाइल फोनको दुनियाँका केटाकेटीहरूलाई मुटु निकालेर कसरी चिठी लेखिन्छ थाहा नहोला। त्यो चिठीमा अनिसले आफ्नो मुटु निकालेर अनन्यालाई उपहार दिएजस्तो थियो। अनान्याको अन्धकार जीवन सूर्यको किरणझैँ प्रकाशित भएको थियो।
अनिसको मायाको सागरमा दुःख र आँसु सबै बिर्सेर रम्न थालिन्, पंख फिजाई आकाशमा उड्न थालिन्। अनन्या कृतज्ञ भइन्, अनिसका शब्दहरूले संसार एक सुरक्षित र सुन्दर ठाउँ हो भन्ने आत्माविश्वास र प्रोत्साहन पाइन्। आफूलाई संसारको सबैभन्दा धनी केटी बनेको महसुस गरिन्। उनीहरूको भावनाहरू एकअर्काको बारेमा समान थियो, अनिसलाई पनि 'अनन्या र अनिस'को स्कुल जीवन कहिल्यै समाप्त नहोस् नै लाग्दथ्यो।
यसरी उनीहरूको इनोसेन्ट लभ स्टोरी सुरु भयो। उनीहरूले एकअर्कालाई प्रायः दिनदिनै लेख्न थाले। उनीहरूका निःशुल्क हुलाकीहरू उनकी बहिनी (दादाको छोरी) र उसको भाइको मद्दतबाट, जो उनीहरूकै स्कुलमा हाल ६ कक्षामा अध्यनरत थिए।
एसएलसीको रिजल्ट नआउन्जेल उनीहरूको आफ्नै नयाँ स्कुल सुरु भैसकेको थियो, पेन-फ्रेन्डको र उनीहरूको सम्बन्ध लेखनबाटै बढ्दै गयो। केही महिनापछि रिजल्ट आयो। अनिस र अनन्या दुवै फर्स्ट डिभिजनमा पास भए। अनन्याको के पढ्ने कुरा तय थियो तर अनिस अनिर्णयित थियो। एकदिन उनीहरूको बजारमा भेट भयो। ५ मिटर टाढा उभिएर भुइँमा हेर्दै गाडीको घाइँघुईको आवाज माझ उसले कानुन पढ्ने निर्णय सुनायो।
एकदिन दादाले केही समान खोज्ने क्रममा अनन्याले लुकाको सम्पत्तिको थुप्रो, अनिसले लेखेका चिठीहरू भेटाउनु भयो। दादाको रिसको कुनै सीमा थिएन।
'यता आइज' भनेर अनन्यालाई भान्सा कोठामा लानु भयो।
'तँलाई यहाँ नुन कुन हो, तेल कुन हो थाहा छ? चुलोमा आगो बाल्न आउँछ? तँलाई घरको काम गर्न नपरोस् भनेर पढाइमा ध्यान दे भनेको, यस्ता बकवास काम गरेर पढाइमा कसरी फोकस हुन्छ? दुइटा डुंगामा खुट्टा राखेर तँ कसरी लक्ष्यमा पुग्छस? फेरि अनिस हाम्रो दाजुभाइ पर्छ, असम्भव कुरा! तँलाई डाक्टरी पढ्नु छ, कुनै ख्यालठट्टा होइन, राम्रोसँग पढाइमा ध्यान दे। होइन भने केटा खोजेर आउने मङ्सिरमा तेरो बिहे गराइदिन्छु। कसले ल्याएर दिन्छ तँलाई यस्ता ध्यानभंग कुराहरू?' भन्दै बेसरी गाली गर्नु भयो।
अनन्याले आफ्नो बेस्ट फ्रेन्डको नाम भनिन्, बहिनीको नामलाई गोप्य राखिन्। 'तिनीलाई अबदेखि हाम्रो घरमा बोलाउनु पर्दैन,' दादाले भन्नु भयो।
दादाले हाम्रो बारेमा थाहा पाउनु भएको कुराको जानकारी दिँदै अनन्याले रुँदै अनिसलाई लेखिन्, 'तिमी नै भन म दादालाई कसरी सम्झाउँ कि यो बकवास होइन, तिमी मेरो इन्स्पिरेसन हो, तिमीबाट तिमीजस्तै मेहनती र स्वभाविमानी बन्न प्रेरणा मिल्छ।'
कागजमा अनन्याका शब्दहरू रफ्तारसँग दौडन्थे तर बोल्दा शब्दहरू तालमेल मिलाई मुखबाट नझरी दिँदा अरुलाई बुझाउन सधैँ कठिन हुन्थ्यो। अझ दादाको अगाडि उनको मुखमा दही नै जम्थ्यो। त्यसैले उनले अनिसलाई अनुरोध गरिन्, 'प्लिज, तिमी जसरी हुन्छ मेरो दादालाई एउटा चिठी लेख अनि भन कि हामी मेहनती विद्यार्थी हौं, सधैं पढाइमा फोकस गरेर उहाँले चुनेको लक्ष्यमा पुगेर उहाँलाई गर्व गराउने छौं।'
'मेरी प्यारी अनु, दादा हाम्रो लागि सूर्य समान हो। मैले सूर्यलाई कसरी बत्ती देखाउने? र आयो विवाहको कुरा, हामी त टाढाको नातेदर हो। म आफ्नो तर्फबाट सक्षम र राम्रो मान्छे बन्ने पूरा कोसिस गर्छु। तिमी पनि दादाले भनेको कुरा मान, भगवानमाथि विश्वास राख, सब ठिक हुन्छ। म पनि तिमीलाई चिठी लेख्दिनँ, तिमी पनि पढाइमा ध्यान देऊ। बरु तिमीले लेखेको चिठीहरू पनि फर्काइदिन्छु,' अनिसले सान्त्वना दिँदै र ठट्टा गर्दै जवाफ फर्कायो।
अनिसको बोलीले अनन्यालाई रामवाणझैँ छोयो। उनलाई मेला, महोत्सव, मेजबानी जान मन लाग्ने कुरा सबै त्यागिन्। दिदी पनि छक्क पर्नु हुन्थ्यो, अनु मकहाँ आउन किन छाडेकी भनेर। साउने सोमबारे वर्त लिन थालिन्, कलेजमा एडमिसन भएको थिएन, तैपनि उनी कापी कलम बोकेर, आफ्नो लेखको ढल्काइ बदलेर अनिसको ह्यान्ड-राइटिङजस्तै राम्रो बनाउन थालिन्। तर उसको जस्तो कहिले भएन, आफ्नो पनि झन् बिगारिन्।
दुवैजनाको एडमिसन टाढा-टाढा सहरका अलग-अलग क्याम्पसमा भयो। अनिस कानुन (आइएल) अनि अनन्या विज्ञान (आइएससी) विषय लिएर दुवैजना आ-आफ्ना पढाइमा व्यस्त भए। उनीहरूका कुराकानी, सञ्चार आदानप्रदान ठप्पै बन्द भयो। अनन्याकी बहिनी पनि उनीसँगै केही समय सहरकै स्कुलमा पढाइ सुरु गरिन्। त्यसैले चाडपर्वमा घर जाँदा चिठी लेखेर एकअर्कालाई पठाउने माध्यम पनि भएन।
अनन्याको स्कुलबाट फर्स्ट डिभिजनमा पास हुने विद्यार्थीहरूलाई मेडलले सम्मानित गर्ने 'विद्यालय पुरस्कार समारोह'मा निमन्त्रणा आयो। उनी क्याम्पसबाट बिदा लिएर घर आइन् तर मेडल लिन स्कुल गइनन्। अनिस पनि आउँछ र दादाले हामीलाई सँगै देख्नुभयो भने राम्रो नमान्नु होला भनेर। मेडल लिन स्कुल नगएकाले अनन्याले दादाबाट भरमार गाली खाइन्।
आइएससी पहिलो वर्ष परीक्षाको नतीजा पनि आयो। सबै विषयमा नम्बर कम र बायोलोजीमा फेल। घरमा दादालाई, बुबालाई नतिजा त देखाउनै पर्यो। हेर्ने बित्तिकै दादाको मुखको रङ यसरी झर्यो कि अनन्याले त्यो अनुहारमा उहाँको आफ्नो बहिनीको लागि बनेका सपनाहरू पखालिँदै गएको देखिन्। तैपनि दादाले नरिसाई भन्नु भयो, 'केही छैन, अर्को परीक्षामा राम्रो गरेस्, ट्युसन लिएस्।'
अनिसले भने फर्स्ट डिभिजनमा पास गरेको थाहा पाएर भगवानले स्वयम् उनलाई नै आशीर्वाद स्वरुप सबैभन्दा उत्तम उपहार दिनुभएको आभार महसुस गर्दै अनन्याले सन्तुष्टिको सास फेरिन्।
आइएससी दोस्रो वर्ष पढाइ पनि सुरु भयो। अनन्या एकदिन आफ्नो कलेजकी साथीको दाइको बिहेमा जन्ती गएकी थिइन्। बिहान बेहुली अन्माउने बेला भएको थियो तर उनी यो के देख्छिन्! दुलाहाको काकासँग दादा पनि बिहेमा टुप्लुक्क आइ पुग्दै गम्भीर अनुहारको भाव देखाउँदै भन्नुभयो, 'अनु चाँडै घर हिँड, गाडीमा बस।'
साथीहरूलाई बाई भनेर उनी गाडीमा बसिन्। गाडी घर तिर बेसरी हुइँकियो। अनन्याले सोचिन्, 'ला! मैले जन्ती आएर ठूलो गल्ती गरेछु, पढाइमा ध्यान दिन छोडेर बिहे, भोज खाँदै हिँड्ने? अब दादाले मलाई घरमा मार्नु हुन्छ।'
दुलहीको घर र अनन्याको घर गाडीमा लगभग एक-डेढ घण्टाको दूरीमा थियो। दादाले पूरा सफरभरि गम्भीर अनुहार लगाएर केही पनि बोल्नु भएन। उनले ड्राइभर दाइलाई इसारा गर्दै सोध्न खोज्छिन्, 'के भो?'
दाइले नि हात हल्लाउँदै इसारामै भन्नु भो, 'मलाई थाहा छैन?' अनन्याले जीवनमा यस्तो तनाव कहिले महसुस गरेको थिइनन्। आमाबुबाको बारेमा नराम्रो विचार आयो, उहाँहरूलाई केही त भएन कतै? सोचेर डरले उनको मुटु दुई टुक्रा हुन मात्र बाँकी थियो।
तर घर पुग्दा उनी आश्चर्य भइन्। घर लिपपोत भएर सजिएको, मिठो-मिठो खाना पाकी राखेको, बुबाआमा, भाउजू, काका, काकीहरू नयाँ लुगा लगाएर बसेको, छिमेकी भेला भएको मनोरञ्जनको दृश्य उनले देखिन्। उनको दिमाग चक्कर खान मात्र बाँकी थियो।
'गिरिजाप्रसाद कोइराला आउँदै छन् आज हाम्रो घरमा?' उनले सोधिन्।
उनको कुरा सुनेर सबजना खितिती हाँसे।
'अनु, तँ पनि नुहाएर रेडी भएर मेरो कोठामा आइज,' दादाले भन्नु भयो।
अनन्या हतार-हतार नुहाएर रहस्य थाहा पाउन कौतुहूलताले ५ मिनेटभित्र रेडी भएर कुद्दै दादाको कोठामा गइन्। तर दादाको कुरा सुनेर अनन्याको शरीर सिमेन्ट जमेझैं जम्यो।
दादाले भन्नु भोयो, 'तँलाई केटा हेर्न आउँदै छ, काकाहरू अनि हामी सबैलाई केटा मन परिसक्यो, एनआरएन इन्जिनियर हो। हामीलाई थाहा छ तेरो उमेर विवाह गर्ने बेला भएको छैन तर हाम्रो कुरा भइसकेको छ। बिहेपछि पनि तिमी आफ्नो पढाइ जारी राख्नू, केटाले तिमीलाई अहिले लाँदैन।'
'अनि, अन-अनिस नि?' भनेर भक्कानो छोडेर अनन्यालाई चिच्याउन मन लाग्यो तर उनको मुखबाट केही आवाज आएन। सहमतिमा टाउको मात्र हल्लियो। यद्यपि अनन्याको दिमागमा केटा भगाउने मास्टर प्लान आयो।
'आओस् न त्यसलाई मैले जानेको छु, एक सेकेन्डमा घरबाट बाहिर निकालेर फालिनँ भने मेरो नाम अनन्या होइन,' उनले सोचिन्।
केटा, उसको दाइ, भाइ र बुबा अनि नातेदारहरूका साथ आए। दादाले अनन्यालाई चिया बना भन्नु भयो। उनले चियामा मरिच मात्र होइन, एक टुक्रा खुर्सानी पनि मिसाइदिइन्, पिरो भएर मुख जलोस् भनेर। चिया लिएर जाँदा माथिको ओठ दाँतले च्यापेर मुख बिगार्दै गइन् केटी मन नपरोस् भनेर। पछि केटाले केटीसँग एक्लै कुरा गर्ने माग गर्यो।
केटा कोठामा पस्ने बित्तिकै अनन्याले भनिन्, 'नमस्कार! म अनन्या।'
'नमस्कार! म दिवाकर,' केटाले भन्यो।
'तपाईंलाई एउटा कुरा सुरुमै भनिहाल्छु, मेरो बोइफ्रेन्ड छ है,' उनले भनिन्।
'ए केही छैन, अनि कति उमेर भयो तिम्रो?' केटाले सोध्यो।
'१७ बर्स,' अनन्याले भनिन्।
'ए, अनि बिहेपछि तिमीलाई मेरो आमाबुबाको लागि भात पकाइदिनु पर्छ है,' केटाले भन्यो।
'मलाई भात सात पकाउन आउँदैन, मेरी बहिनीले दिदीलाई भात पकाउन आउँदैन भनेर मसँग सहरमा बस्न नमानेकी। अहँ! मेरो छिमेकी सरितालाई भात पकाउन आउँछ, उसलाई बिहे गर्नु छ। मलाई त बिहे सिहे गर्ने मन छैन,' रिसाउँदै अनन्याले भनिन्।
उनको जवाफ सुनेको केटाको मुखमा निरास देखेर खुसीले गद्गद् भइन्। यति थाहा पाइसकेपछि पक्कै केटाले नाई भन्दिहाल्छ, खानासाना खान्छ अनि घर जान्छ सोचेर उनी ढुक्क भइन्।
तर अनन्याको मास्टर प्लान फ्लप मात्र होइन, नराम्ररी असफल भयो। केटाले वैदेशिक कामबाट केही दिन मात्र बिदा लिएर नेपाल आएको हुनाले उनीहरूको बिहे तीन दिनभित्र हुने पक्का भयो। अनन्या बेसरी रुँदै कराउँदै भन्न थालिन्, 'नाई मलाई केटा मन परेन, अनि उसको घरमा बुबाआमालाई भात पकाइदिनु पर्छ, नाई म त बिहे गर्दिनँ।'
बुबा पनि आफ्नी अनुको इच्छालाई सहमत दिँदै छोरीको पीडालाई बुझेर उनीसँग रुँदै भन्न थाल्नुभयो, 'भैगो मेरी छोरी सानै छिन्, विवाह रद्द गरौं।'
तर काकाले रुखो स्वरमा, सर्वप्रथम अनन्यालाई सम्झाउँदै भन्नु भयो, 'अनु! तँलाई कुन चाहिँ केटाले हिँड, म तिमीलाई रानी बनाएर लान्छु भन्छ त? तिमीलाई हाम्रो विश्वास छैन? छोरी आमाबुबाको गौरव र शान हो, तिमीले यो घर-बर पाउनु हाम्रो लागि सधैं गर्वको कुरा हुनेछ। चुप लाग, केटा राम्रो छ, केही हुन्न।'
त्यसपछि बुबालाई पनि सान्त्वना दिँदै भन्नुभयो, 'छोरी पराया धन हो, एकदिन दिनै पर्छ, ढिलोचाँडो आफ्नो भाग्यको खेल हो।'
काका स्कुलको अध्यापक र समाजको सम्मानित व्यक्ति हुनुहुन्थ्यो। बुबाले उहाँको कुरा टार्न र बहस गर्न सक्ने कुरै भएन। त्यसपछि अनन्याको कुनै दालै गलेन।
अनिस बिनाको जिन्दगी अनन्याले कल्पना पनि गरेको थिइन तर परिवारको खुसीको लागि एउटी ज्ञानी, आज्ञाकारी छोरी बनेर आफ्नो खुसीको बलिदान दिँदै हृदयका आँसु सुकाएर उनी दुलही बनिन्। यसरी दिवाकर र अनन्याको बिहे भयो। बिहेको दोस्रो दिन अनन्याले दिवाकरलाई एयरपोर्ट छोडिन्। उहाँ उडेर वैदेशिक कामतिर र अनन्या स्वदेशमा आफ्नो कलेज तिर। उनको आइएससी पढाइ सकेपछि उनी पनि उहाँसँग बिदेसिने निर्णयसहित।
अनन्याले आफ्नो अध्ययनको लागि नियमित क्याम्पस जारी राखिन्। एकदिन कक्षाकोठाको बाहिर आफ्नो साथीहरूसँग क्याम्पसकै बरन्डामा उभिराखेको बेला उनको अगाडि अचानक अनिसलाई देखिन्। उनी त अक्कमक्क भइन्। उनको मुटु ढुकढुक हुन थाल्यो। आफू रुँदै कक्षा कोठाभित्र पसेर उसलाई यहाँबाट जान भनिदेऊ जस्तो मनमा आयो। तर साथीहरूले उनको नर्भस अनुहार देखेर सोधे, 'को हो अनु ऊ?'
उनले बोइफ्रेन्ड कसरी भन्ने? उनको मुखबाट आवाज निस्कियो, 'देवर हो।'
'तिमी यहाँ किन आएको?' अनन्याले उसलाई सोधिन्।
'तिमीले बोलाएको होइन?' उसले भन्यो।
अनन्यालाई थाहा थियो, उनले उसलाई बोलाको होइन तर त्यहाँ कुनै बहस गर्ने माहोल थिएन। सबले उनीहरूलाई नै हेरिराखेका थिए र बरन्डामा दारासिङ्गजस्ता बलिया सिनियर दाइहरू पनि हुनुहुन्थ्यो। अनन्याले आफ्नो मनको भूकम्प र त्यहाँको स्थितिलाई सामान्य पार्न खोज्दै हतार-हतार सिँढीबाट तल ओर्लिंदै भनिन्, 'प्लिज, यहाँबाट हिँडी हाल, जाऊ।'
अघिल्लो कक्षा छोडेर उनी खरायोको हिँडाइले ५ मिनेटमा डेरामा आइन्। डेरामा आन्टीलाई ऊ मेरो मामाको छोरा भनेर अनिससँग परिचय गराइदिइन् र उसलाई कोठामा बस्न भनिन्।
'तिमीले अति नै ढिलो गर्यौ आउन अनिस, ल हेर के भइसक्यो,' बिहेको एल्बम देखाउँदै उनले भनिन्।
एल्बम पल्टाउने बित्तिकै उसको हात थर्र काप्न थाल्यो। उसलाई त्यो एल्बमले असह्य पीडा दिएको अनुभव अनन्याकी रुममेट दिक्षाले गरिन् र उसको हातबाट एल्बम खोसेर कोठाबाट बाहिर लिएर गइन्।
त्यसपछि अनन्याले अनिसलाई आफ्नो कोठाको सरस्वती माताको फोटो फ्रेम खोल्न लगाइन्। सरस्वती माताको पछाडि उसको आफ्नो फोटो देखेर ऊ छक्क पर्यो।
'हेर न, तिमीलाई पूज्दा-पूज्दा सरस्वती माता रिसाएर मलाई फेल गरिदिनु भएको होला,' अनन्याले भनिन्।
ऊ मुसुक्क हाँस्यो। उसले पनि आफ्नो वालेट निकालेर अनन्याको पुरानो फोटो देखायो जुन उसले अनन्याको मामाको छोरी (उसको फुपूकी छोरी) सँग मागेर लिएको रहेछ।
'ए बा कति पुरानो फोटो, त्यो फालिदेऊ,' भन्दै अनन्याले पासपोर्ट बनाउन भर्खर धुलाको एउटा फोटो टेबलबाट झिकेर दिइन्।
उसले अनन्याको कापी, किताबहरू सबै निहालेर हेर्दै भन्यो, 'तिम्रो अंग्रेजी कति राम्रो भइसक्यो होला है।'
'राम्रो भए त पास भइहाल्थेँ नि, अंग्रेजी राम्रो भएर के गर्नु तिमीजस्तो दिमाग भए पो? तिमीलाई फेरि पनि बधाई छ, सधैं यस्तै रहनु, जीवनमा यस्तै अगाडि बढिराख्नु,' अनन्याले भनिन्।
'अब के फरक पर्छ र? तिमीलाई पनि बधाई लक्की गर्ल,' उसले भन्यो।
'म लक्की होइन, मेरो दादा लक्की हो, बेस्ट ज्वाइँ पाएर,' अनन्याले भनिन्।
शैक्षिक कुराकानीको क्रममा नेपाली विषयमा अनिस एउटा उत्कृष्ट विद्यार्थी साथै गत वर्ष उसले पढेको र हाल अनन्याले पढ्नु पर्ने पाठ्यक्रम उही भएकोले अनन्याले सोधिन्, 'हेर न हाम्रो यो वर्ष नेपाली पढ्नु पर्छ, तिम्रो नोटबुक मलाई दिन मिल्छ प्लिज?'
'मिल्दैन, मैले अरुलाई नै दिइसकेँ,' उसले भन्यो।
'ओके, केही छैन,' अनन्याले भनिन् तर मनमनै हे भगवान कस्तो लोभी केटा भन्ठानिन्।
अनन्याले नास्ता बनाइन् तर उसले एक चम्चा पनि मुखमा हालेन। अनन्याले अनिसलाई यसरी पहिलो पटक नजिकबाट चिन्ने र बोल्ने मौका पाएको थिइन्। उनले स्कुल पढ्दा जुन कल्पना उसको बारेमा गरेकी थिइन्, आज अनिसलाई प्रत्यक्ष रुपमा साँच्चीकै आकाशको फलजस्तो देखिन्। झनै स्मार्ट, भलाद्मी, नम्र, शान्त अनि आत्मविश्वासले भरपूर।
अप्रत्याशित परिस्थितिलाई बुझेर, वास्तविकता स्वीकारेर आफू यति सहजै अगाडि बढेको उसको अटल आत्मबल र महान् व्यक्तित्व देखेर अनिसप्रति झनै सम्मान बढेर उसलाई भगवान रुपी मानव देख्दै थिइन्।
अनन्यालाई थाहा थियो, यो भेट अब उनीहरूको अन्तिम भेट हुनेछ। त्यसैले जानुअघि उनले सोधिन्, 'मैले औटोग्राफ बुक बनाको छु, तिमीले भर्न मिल्छ प्लिज?'
'हुन्छ, म पछि फिर्ता दिन्छु, घर लिएर जान्छु,' उसले भन्यो।
'हुन्छ, धन्यवाद।'
साथै आउने होली पर्वमा घर जाने कुरा पनि जानकारी गराइन्। त्यति बेला फर्काइदिनु भनिन्। सम्भवित, अनन्याले आफ्ना कलेजका साथीहरूका साथसाथै अनिसलाई एउटा असल साथीको रुपमा आफ्नो अटोग्राफ बुकको स्वीट मेमोरीमा वचत गरेर सधैंको लागि राख्न चाहन्थिन्। क्रमशः
यो पनि
अमूल्य उपहार