यो पानीको हर बुँदमा
तिम्रो मुस्कान देख्छु म
त्यही बुँदको निश्चलताजस्तै
तिम्रो मन नि त्यस्तै
र त
झरी र तिमी
उस्तै लाग्छ
जति पर्यो उति राम्रो
जति हेर्यो उति सुन्दर
बरु आऊ न
तिमी पनि यो झरी बनेर बग्दै बग्दै
मिठो धुन बनेर
अनि
म एकएक बुँद
मनको बलेसीमा
सम्हालेर राख्छु नि
हुन्न र?
तिमी कथा खोज्दै
म संगीत रोज्दै
यो मनसुने झरी
यो छाता
यो आभास
लेख न बरु
यी हाम्रा पाइलाका
छंकारहरू
मैले भोगेका पलहरू
तिमीले देखेका दृश्यहरू!
बर्खाको भेलसँगै
हिलाम्य बाटोहरूसँग
साटेका दुःखहरू
परिश्रमको पथ हिँडिरहेका
अथकित झिनो आशाहरू
सबैसबै समेटेर लेख्नू
झरी त झर्दै गर्छ
बन्जर भूमिलाई
काकाकुल माटोलाई
हराभरा पार्दै
कहिले मुसलधारे पानी
कहिले सिमसिम!
सम्झनाहरू
लहरहरू
हिँडाइहरू
भोगाइहरू
अनुभव र अनुभूतिहरू
यिनै त हुन्
जीवनका कथाहरू
समय फेर्दै जान्छ
रुपहरू फेर्दै जान्छन्
बाँकी रहन्छन् त
तिनै यादगार पलहरू
धमिलो सम्झनाहरू!
यो सिन्दुरी झरीमय पल
सिमसिम पानी
उजेलीको इन्द्रेणी
चिसो पवनको झोक्का
तल नदीको हरेक बुँदमा झंकार
यो पल, यो मौसम, यो साथ
साँची! कति सुन्दर, कति रंगीन
तातो दूध चियासँगै जमेको
न्यानो अनुभूति
पानीका हरेक थोपामा टल्केका
हरेक बिम्ब, हरेक छाया
त्यसैमा समाहित छन्
हजारौं सपनाहरू
रहरका लहरहरू
सुदूरकी सुन्दरीझैं
किनाराबाट टोलाएर हेरें
गहिरिएर हेरें
जीवनको जीवन्तता
त्यही रंगमा मुस्कुराएका ती मनहरू!
शब्दका गुच्छाहरू उडेका थिए
स्वतन्त्र भएका शब्द भित्रका वाक्यहरू
त्यहीं चिसाम्य साँझमा
निसङ्कोच निर्विघ्न भएर
हो यतिबेलै लागेको हो
म जीवन बाँचिरहेछु
शब्दहरूको देशमा
जहाँ छैनन् केही अहंकार
विरक्तका अध्यायहरू
छन् त केवल नयाँ उजेली
जहाँबाट सुरुआत हुन्छ
एउटा सुन्दर जीवनचित्र
साँची! धेरै सुन्दर तिमीजस्तै!
झरी मात्र होइन
मनसुनका अनेक रूपहरू छन्
झरनाको सौन्दर्य
चिसो कन्चन पानीको
स्पर्श र आभास
ओहो! कति मधुर
कति सुन्दर
यो मौसम बहारको हो
पालुवा पलाउँदै
नयाँ आशाका
सपनाका
खुसीका
प्रकृतिको सुन्दर सृष्टि
देख्यौ?
कति सुन्दर हुन्छन् मनसुने झरी!