एउटा मान्छे
जसको आफै बस्ने घर
जीर्ण, लथालिङ्ग र भताभुङ्ग छ
झमझम दर्किरहेको पानी
कहाँ-कहाँबाट चुहिन्छ भनेर होइन
कहाँ-कहाँबाट चुहिंदैन भनेर हेर्नुपर्ने
तर ऊ त्यही जीर्ण घरको पिँढीमा बसेर
आकाशको बादल हेर्दै
मनबाट अनगिन्ती प्रश्नका वाणहरु छोडिरहेछ
कता होला बादलको घर?
कस्तो होला उसको घर?
कच्ची होला कि पक्की होला?
घरका ढोका कता फर्किएका होलान्?
अनि कतिबेला घरबाट निस्किँदो हो?
घरबाट निस्किएर कति परसम्म पुग्दो होला?
ऊ पुग्ने ठाउँको सिमाना होला कि नहोला?
कहिले यता, कहिले उता
कहिले लेकतिर कहिले बेसीतिर
कतै एकैछिन थकाइ मारेको हुन्न
घुमेको घुम्यै कुदेको कुद्यै।
घरमा उसलाई कुरेर बस्ने
उसको परिवार होला कि नहोला?
उसलाई माया गर्ने र गाली गर्ने
कोही छन् कि छैनन्?
ऊ के खाँदो हो?
अरुलाई के खुवाउँदो हो?
सोच्दा सोच्दै सिंगो ज्यानको कतै पनि
ओभानो नरहने गरी भिजिसक्यो त्यो मान्छे
पौडिन नमिल्ने तलाउमा चुर्लुम्म डुबिसक्यो।