मेरो जिन्दगीको
निर्विकल्प लक्ष्य हो ऊ
तर
म उसको जिन्दगीमा
वैकल्पिक सूचीको
अन्तिम सदस्य पर्न पुगेछु।
मलाई थाहा छ
म उसको जिन्दगीमा हुन
मभन्दा अगाडिका
यी सबै सफल
र वैकल्पिक उम्मेदवारले
ऊभन्दा
उत्तम सेवा क्षेत्रहरू
भेट्टाउनु पर्नेछ।
ऊ प्रतिष्ठित सेवा हो
जसलाई छोडेर
यी सफल उम्मेदवारहरू
जान सक्दैनन्
र
उसको आशा नगरेर
अन्य सेवाक्षेत्र रोजेर
म जान सक्दिनँ।
वैकल्पिक उम्मेदवारको
अन्तिम म्याद रहुन्जेल
अर्थात्
उसको हातमा कसैको नामको
मेहेन्दी औँठी नपरुन्जेल
म मेरो पालो
आउने आशा
मारिहाल्न पनि त सक्दिनँ।
हजारौं आवेदनबाट छानिएका
केही सफल उम्मेदवार
उसको वरिपरि छन्
जो साँच्चीकै अब्बल छन्
उसको जिन्दगीमा
मभन्दा अब्बलहरूको
कमि छैन
तर मेरो जिन्दगीमा
ऊभन्दा वैकल्पिक लक्ष्य छैन।
उसका दैनिक
गतिविधि नियाल्ने
र
उसको सामाजिक सन्जालमा
आउने सूचना हेर्ने बाहेक
अचेल मसँग अरु काम छैन
किनकी
म उसको जिन्दगीमा आएका
अब्बलहरूको बहिर्गमन
कुरिरहेको छु
र पर्खिरहेको छु
मेरो पालो।
मलाई थाहा छ
ऊसँग भएका
अब्बल उम्मेदवारहरू
अन्य क्षेत्रमा पनि
उसैगरी अब्बल बनेर जानेछन्
अब्बल उम्मेदवारहरूको
महत्वाकांक्षा पनि धेरै हुने
र तीव्र गतिमा सेवा
परिवर्तन गर्नेछन्
जसले गर्दा
मजस्ता
उसलाई निर्विकल्प
लक्ष्य ठान्नेहरू
ऊसँग जिन्दगी काट्ने
निर्विकल्प अवस्थामा पुग्नेछौँ।
एकपटक
जिन्दगीको निर्विकल्प लक्ष्यलाई
प्राप्त गरेर
देखाउन मन छ
परीक्षामा वैकल्पिक भएका
वैकल्पिक उम्मेदवार पनि
जिन्दगीमा
सफल उम्मेदवारभन्दा
अब्बल हुन सक्छन्
त्यसैले महोदय
सबैलाई एउटै र उस्तै
परीक्षाबाट मूल्याङ्कन नगरियोस्।