कुरा गराई समयको हुन्छ, दिनको होइन
मान्छेको परिस्थिति बोल्छ, उसको रहर होइनन्
र यहीसँग गाँसिएको हुन्छ भाग्य र संयोग। सामान्यतया, यी दुई चिज कसैको वशमा हुँदैन। यदि हुँदो हो त यहाँ सबैको भाग्य राम्रो हुने थियो होला र संयोगमा प्राप्त गरेको वस्तु दीर्घकालीन। तर परिस्थितिले मान्छेलाई विवश बनाउँछ।
भाग्य जन्मसिद्ध हुन्छ अनि संयोग त समयको खेल न हो। विडम्बना, परिस्थिति त्यो आगो हो जसको विकराल रूपले मानिसका आशाहरूलाई खरानी बनाइदिन्छ। यिनै विषम् परिस्थितिबीच हुन्छ उसको आगमन। प्रेमको आगमन।
खै के थियो त्यो दिनमा। तीजको रमझममा लिप्त भएर सम्पूर्ण नेपालीहरूको मन गद्गद् थियो। त्यो साँझ तीजको रमाइलो सकिन लाग्दा पनि त्यसको प्रभावको आकर्षण अझै तीव्र थियो। भर्खर मात्र खाना खाएर आफ्नो कोठामा आई बेड मिलाउदै थिएँ। मेरो फोन भाइब्रेट भयो। के थाहा कि त्यो एउटा परिस्थिति, त्यो एउटा म्यासेजले मेरो जीवनको मोडमा यति धेरै प्रभाव पार्नेछ भनेर।
म (रेबिका) र यो मेरो कथा हो। यस्तो कथा जसको सुरुआत त एउट म्यासेजबाट भएको थियो तर अन्त्य, अन्त्य अझै अन्योलमै छ।
'विवेक रिप्लाइड टु योर स्टोरी' मोबाइलको नोटिफिकेशन बारमा देखा परेलगत्तै मन एक्कासी अक्कनबक्क हुन्छ। मोबाइलको स्क्रीन खोलपछि देखिन्छ- विवेक रिजाल, मेरो +२ को ब्याचमेट। दुई वर्ष अघिदेखि चिन्जान भएको तर वार्तालापको नाममा चुइक्क आफ्नो नाम पनि नभनेको व्यक्तिले आज अचानक मेरो इन्स्टा स्टोरीमा मेसेज गर्न पुग्छ- 'बधाई छ, हजुर डान्स नेपालको लागि सेलेक्ट हुनुभएको छ।'
एक दिनअघि तीजमा म र मेरो साथी रिया नाचेको सानो भिडिओ इन्स्टाको स्टोरीमा राखेको थिएँ, रिप्लाई त्यसैमा आएको थियो। जुन मेरो कल्पनाबाट निकै परको थियो। मैले अचम्म मान्दै यो कुरा रियालाई सुनाएँ। 'ओए हेर्न, यो हामीसँगै कलेज पढेको कम्प्युटर ब्याचको विवेकले रिप्लाई गरेको रहेछ स्टोरीमा!'
कुनै पनि कुराले हत्तपत्त उत्साहित नहुने म, आज कसरी रियालाई यति छिटो उसको बारेमा भनेँ त्यो त आजसम्म पनि थाहा पाएकी छैन। अनि मेरो मन? त्यो त कपास सरि हलुङ्गो भएर मन्द हावाको वेगमा आकाशमा उडिसकेको थियो।
अन्तरमनमा उसलाई रिप्लाई दिउँ कि नदिउँ भन्ने कुराले भिषण युद्ध गरिरहेको थियो। अन्तरद्वन्दको कुरा कसले सुनोस्, यहाँ मन र मस्तिष्कको लडाइँमा सम्भवतः मनले नै हजार पटक जितेको हुन्छ।
त्यो एक मेसेजको प्रभावले सातौँ आसमानको सैरमा निस्किसकेको यो मनलाई रोक्न सक्ने सामर्थ्य खोइ कसमा होला र? विजय तिलकसहित जीतको ताज पहिरेको मनको भावनाले मलाई रिप्लाई गर्न बध्य बनाउँछ- 'धन्यवाद!'
'कंग्र्याच, नाउ यू गाइज कम टु केटिएम' जिस्किने हेतुले उसले मेसेज पठाउँछ।
'थ्यांक यू सो मच सर' हाँसेको इमोजीसहित म पनि जिस्किँदै आजको संवाद यतिमै टुङ्गो लगाउँछु।
त्यस दिनदेखि हाम्रो निरन्तर कुरा हुन थाल्यो। कुरा गम्भीर नभए पनि दिनकै हाई र हेल्लोमै टुङ्गिन्थ्यो।
समय त बग्छ नै र परिस्थिति परिवर्तन भई नै रहन्छ। अबको परिस्थितिमा भर्खर चिन्जान भएको व्यक्ति घुलमिल भएपछि आफ्नो रङ्गिन जीवनको प्रतिपक्ष जताउन थाल्छन्, त्यसरी नै ऊ पनि दैनिकिको हाई र हेल्लोबाट पर हटेर मेसेजमा मेरो प्रशंसा मिसाउन थाल्छ।
'तिम्रो फोटोहरू देखेर मलाई कुनै मोडलको झझल्को आउँछ।'
अब फेरि मेरो मनलाई के चाहियो र?
'हाहा, होर?'
'उम्, कति धेरै फोटो राखेको, तिमी नेपालमा त पक्कै छैनौ।'
'उम् हो, म सिड्नीमा छु,' मेरो रिप्लाई।
यति भावनाका छाल तरङ्गित पारेर अरु सामान्य कुराहरूसहित त्यो रात पनि विलिन भयो। भोलिपल्ट म मेरो काममा व्यस्त थिएँ, फेरि मेरो मोबाइलमा उसैको मेसेज आयो।
'गुड मर्निङ रेबिका!'
'गुडमर्निङ' स्माइली इमोजीसहित रिप्लाई दिन्छु।
'के गर्दै छौ,' उसले सोध्छ।
'ड्युटीमा छु, भरे कुरा गरौँला है,' एक हात फिजाई टाटा गरेको इमोजीले मेसेजको आकर्षण बढाउँछु।
'हुन्छ, ह्याब अ गूड डे।'
'सेम टु यू,' फोन अफ गरेर पुनः काम तर्फ तल्लीन हुन्छु।
बिहानीको संवाद त्यतिमै टुङ्गिन्छ र राति फेरि उसैले मेसेज गर्छ। जति नै सम्हाल्न खोजे पनि यो मनले उसका मेसेजहरू नजरअन्दाज गर्नै मान्दैन थियो। विस्तारै उसैसँग गफमा म रमाउन थालेँ। ती साना-साना संवादमा मुस्कुराउन थालेँ। यो कुरा रियाले नोटिश गरेकी रहिछ। ऊ मलाई उसैको नाम लिएर गिज्याउन सुरु गरी।
उसका कल धेरैजसो इग्नोर गर्ने गर्थेँ तर एकदिन रिसिभ गरेर दुई मिनेट जति बोलेर राखिदिएँ। त्यो त सुरुआत न थियो, पछि दुई मिनेटबाट आधा घण्टासम्म लम्बिन थाल्यो। मैले आफैले उसलाई कहिल्यै सुरुमा मेसेज गरिनँ, उतैबाट निरन्तर आइरहन्थ्यो।
समय त सामान्य नै चल्दै थियो तर सधैँ मेसेज गर्ने ऊ एक्कासी १४ दिनका लागि गायब भैदियो। न कुनै खबर, न केही हाई र हेल्लो। पानीबाट निकालेर छटपटिएको माछाझैँ महसुस गर्दै थिएँ ती दिन। माछाजस्तो पानी नभई नहुने त थिएन, फगत त्यो माछाजस्तो तड्पन जरुरी पनि थिएन तर खै केको बेचैनी थियो कि उसको प्रोफाइल दिनमा १४/१५ चोटि खोलेर हेर्ने गर्थेँ।
लगभग १५ दिनपछि उसको मेसेज आयो, 'हाई रेबिका! म कलेजबाट टूर गएको थिएँ। त्यसैले मेसेज गर्न पाइनँ। सन्चै छौ?'
'पागल त्यत्रो दिन हराउँदा एकचोटि सम्झिदिएको भए के जान्थ्यो र!' झर्केर यो कुरा भन्न मन थियो तर उसको मेसेजले धेरै दिनदेखि बेचैन भएको मेरो मनलाई शान्त बनाइसकेको थियो, त्यसैले पनि काता-कति भए पनि ऊसँग रिसाऊन सकिन।
दिन बित्दै गयो। संवादका खुड्किला दिन प्रतिदिन आफ्ना पाइला अघि सार्दै थिएँ। ऊ सामान्य थियो, सामान्य कुरा गर्थ्यो। बातमा हल्का जिस्किने त गर्थ्यो तर त्यो उसको माया होकि ठट्टा म सधैं अन्योलमा पर्थेँ। उसका ती कुराहरू समुन्द्रका छालजस्तै थिए र म त्यही समुन्द्र किनारमा बसेकी बटुवाजस्तो, छाल आउथ्यो र मलाई सधैँ भिजाएरै जान्थ्यो।
त्यसैले त होला सायद मैले उसको लागि प्रेम महसुस गरेँ। तर के उसले पनि यस्तै महसुस गर्छ? या फेरि मसँग जिस्किनु मात्रै उसको मनसाय थियो। यो कुराले सधैँ डर बनाउन थाल्यो। अनि एकदिन एक्कासी मेरो कोही प्रेमी छ या छैन भनेर सोध्यो।
विडम्बना, परिस्थितिले फेरि त्यो मोडमा ल्याइदियो जुन कुरा मैले यो कहानीमा अहिलेसम्म गरेको छैन। उहीसँगै +२ मा पढेको एकजना गुमनाम व्यक्ति, गुमनाम यसकारण कि म त्यो मान्छेको पहिचान यहाँ खोल्न चाहन्नँ तर विवेकले चिनेकै केटा मेरो प्रेमी थियो र यो कुरा केही हदसम्म उसलाई नि थाहा थियो जस्तो मलाई लाग्थ्यो। तर किन किन 'नाई मेरो कोही छैन' सुन्ने चाहना थियो होला उसको। त्यसैले त यो प्रश्नलाई तारबार सरि तेर्साइ दियो र मलाई पारिदियो दोधारमा जसको जवाफ मैले उसलाई कहिल्यै दिइनँ।
मलाई डर थियो कहीँ उसले मलाई प्रेम प्रस्ताव राख्यो भने म के उत्तर दिने? म उसलाई प्रेम गर्छु वा गर्दिनँ? मैले जे महसुस गरेको थिएँ, त्यो प्रेम नै होकि कुनै आकर्षण? यदि प्रेम नै हो भने पनि म अरू कसैको नासो हुँ। म कोही अर्कैको भइसकेकी छु। कोही अर्कैसँग भइसकेको मेरो मुटुले उसलाई प्रेम गरोस् पनि त कसरी?
मनमा उठेका यी प्रश्नलाई बडो ठट्टयाउलो पारामा यो भनेर सम्झाइदिएँ कि 'प्रेम होइन तर बानी परेको छ उसको मलाई।'
एक वृक्षको पातलाई सानो हावाको बेगले पनि सजिलै पर उडाएर लैजान सक्छ तर त्यही रुख उछिट्याउनलाई ठूलै हुरीको आवश्यकता पर्दछ। उसको आगमन मेरो लागि सानो हुरीजस्तै थियो। म कोमल पात बनी कतिखेर उसको बेगमा उड्न पुगेछु चाल नै पाइनँ तर ऊसँग टाढिनु मेरा लागि ठूलै हुरीको खाँचो थियो। मतलब म कोमल पातबाट विशाल रुख बनिसकेकी रहेछु। म उसको सामीप्यतामा निकै लिप्त भइसकेकी रहेछु।
मनमा एक किसिमको छटपटी, काउकुती लगाउन थाल्यो। कसलाई सुनाउँ? के गरूँ? भइरहेको थियो। एक मनले रियालाई सुनाउँ कि भन्ने भयो र अर्को मनले संकोच मान्दै थियो। सुनाउँ त के सुनाउँ? के भनेर सुनाउँ कि म अरू कसैको मनमा बसेकी मान्छेको मनमा विवेकको नाउँले काउकुती लाग्न थालेको छ। यो डरले मनमा उब्जेको अलमललाई कसरी सन्तुष्ट पारेँ, त्यो मलाई नै थाहा भएन।
समयको एक कुरा गज्जबको छ, कि त्यो चल्छ र हरेक कुरालाई सामान्य बनाइदिन्छ। त्यो दिनको, त्यो अलमल पनि पछि सामान्य लाग्दै थियो। तर परिस्थिति, चैन त यसैलाई छैन। समय समयमा झटारो हानि नै रहन्छ।
मन कतिसम्म गह्रुङ्गो हुन सक्दो रहेछ भन्ने कुराको महसुस त तब भयो जब विवेकले 'आज म धेरै खुसी छु, मेरो क्रसले आज मसँग बोली' भनेर मेसेजमा लेख्यो। आकाशमा उडिरहेको चरालाई एक्कासी शिकारीले हानेको गुलेलीको ढुङ्गाको झटारोजस्तै यो मेसेजले मेरो मनमा नराम्रो झापड हान्यो।
तर कलाकार म पनि अब्बल दर्जाकै हुँ। पोलेको मनमा मल्हम लागेको अभिनय गरे र रिप्लाई दिन पुगेँ- 'ओहो! बधाई छ, कोहो नि तिम्रो क्रस फेरि?'
उसले हत्तनपत्त जवाफ दियो, 'मेडिकल स्टुडेन्ट हो। तिमी चिन्दैनौ।'
यो विशाल वृक्षको जरालाई उजाड बनाइदिने त्यो आँधीको अंशलाई नचिनी बस्नै सकिनँ र लागेँ खोज्न। दुई दिनको अथक प्रयासपछि पत्ता लगाएरै छाडेँ।
हरियो गाउन लगाएको आवरण तस्वीर थियो, गोलो अनुहार, चिम्सा आँखा, कालो तर टुप्पोमा अलिकति खैरो लेप लगाइएको सिल्की कपाल, झल्यास्स हेर्दा निकै राम्री थिई ऊ। विवेकको क्रस बन्न लायककी।
मैले यो कुरा रियालाई भनेँ तर उसलाई त केवल निहुँ चाहिएको थियो मलाई उडाउने र यो परिस्थितिले उसलाई यो मौका दिएको थियो। मलाई भित्रभित्रै रिस र ईर्ष्याको जलनले पोलिरहेको थियो तर मन उदास बनाएर बस्नुबाहेक विकल्प नै के थियो र?
निन्द्रामा, दिन अनि रात उस्ता उस्तै हुन्छन्
भोकमा, ढिडो अनि भात उस्ता उस्तै हुन्छन्
मलाई मात्तेको भन्छे ऊ, के भन्ने ऊस्लाई
योवनमा, नशा अनि मात उस्ता उस्तै हुन्छन्।
बस यही भनेर सम्हालेँ यो मनलाई।
रियाले मेरो स्वभाव त्यो कुरादेखि ख्याल गरेकी रहेछ र मलाई सोधी, 'तैँले विवेकलाई मन पराउछेस् हो?'
सधैं जिस्किने ऊ आज निकै गहिरो भावमा मलाई यो प्रश्न सोध्दै थिई। धेरै पटक हैन भन्दा पनि उसले हो भन्न छाडिन। जति पटक मुखले होइन भने पनि मनले रियाले झैँ हो भनिरहेको थियो। अब मलाई महसुस भयो कि म उसलाई प्रेम गर्न थालिसकेछु।
मलाई अब ठूलो आँधीको पर्खाई हुन थाल्यो ताकि म यो सबैबाट मुक्त हुन सकूँ। सोही आँधीको प्रतीक्षा स्वरुप मैले मेरो फेस्बुक डिएक्टिभेट गरेर ऊसँग अब नबोल्ने अठोट गरेँ।
फेसबुक डिएक्टिभेट गरे पनि इन्स्टामा पुनः उसले मेसेज गर्यो- 'मलाई फेसबुकमा किन ब्लक गरेको?'
'यत्तिकै' भनेर संवाद टुङ्गयाउने मन थियो तर उसको त्यो मेसेज रिप्लाई दिइनँ मैले। तर धेरैबेर रिप्लाई नगरी बस्न सकिनँ। त्यसैले मेसेज रिप्लाई दिएँ। रिप्लाई दिए पनि म सधैँजस्तो मिठो लवजमा ऊसँग बोलेकी थिइनँ। म चाहन्थेँ कि मेरो रिसाहा बोलीले समयको प्रवाहसँगै हाम्रो सामीप्यता पनि घट्दै जाओस्। सामीप्यता घट्नु पनि जरुरी थियो जसरी सामीप्यता बढ्नु जरुरी थियो।
हो, हाम्रो सामीप्यता बढ्नु निकै जरुरी थियो। थाहा थिएन, सँगै +२ पढेको साथी, साथी भनौँ वा केटा! खै के भनुँ किनकि साथी बन्न त साथीत्वको आधार हुनुपर्छ तर कलेजमा त हामी एकदम अन्जान थियौँ। आज दुई वर्षपछि त्यही अन्जान केटा मेरो साथी बन्न पुग्छ। मसँग धेरै नजिकिन्छ। मलाई जीवनको अमूल्य पाठ पढाएर जान्छ। यो सबै मेरो कल्पनाभन्दा परको कुरा थियो। हो, त्यसैले हाम्रो सामीप्यता बढ्नु जरुरी थियो। तर यत्ति सारो?
यत्ति जरुरी थिएन। अफिम स्वास्थ्यको लागि हानिकारक भए पनि त्यसको लत लागेको मान्छे त्यसको सेवन नगरी बस्न सक्दैन। हो, विवेक पनि मेरो लागि कुनै अफिम सरि भएको थियो। मेरा लागि ऊ र उसका लागि म हानिकारक थियौँ तर पनि किन किन मलाई यो कुराको प्रवाह कहिल्यै भएन। म अन्जानमै उसलाई प्रेम गर्न लागेछु। प्रेम अन्जानमै भए पनि मैले मेरो वास्तविक प्रेमीलाई जानी जानी धोका दिएकी थिएँ। मेरो प्रेमी जसले मलाई प्रेम गर्छ, मैले उसको भावनाको हत्या गरेकी थिएँ।
समयको अन्तरालमा यस्तो अवस्था नआएको होइन कि विवेकले मलाई प्रेम गर्छु भनेर भनेको थिएन। मलाई माया गर्छु पनि भनेको थियो र मेरो बारेमा कविता पनि लेखेको थियो तर त्यो समयसम्म म उसको मायाको पासोबाट स्वतन्त्र भइसकेकी थिएँ। उसका शब्द मिठा त लाग्थे तर मनै लोभ्याउने गुलियो भने लाग्दैन थियो। त्यही भएर त उसको यो कविताले मनमा छाप छोड्दा छोड्दै पनि मुर्झाएको त्यो मायालाई जीवन्त पार्न सकेन,
तिमीलाई शब्दमा व्याख्या गर्दै कविता लेख्ने
प्रयास मैले कहिल्यै गरिनँ
अनि सगरमाथाको उचाइ बित्तामा नाप्ने
प्रयास मैले कहिल्यै गरिनँ।
लेकको गुराँस फुलको र
तिम्रो त्यो ओठको
रक्तिम रङ्ग जोख्ने
प्रयास मैले कहिल्यै गरिनँ।
निलो त्यो समुन्द्रको
अनि कालो ती तिम्रा नयनको
गहिराइ बुझ्ने
प्रयास मैले कहिल्यै गरिनँ।
कविताको भाव बुझ्ने जमर्को गर्दा यो कविता धेरै चोटि पढेँ। भाव बुझेँ र सायद मन पग्लिन्थ्यो होला तर उसको हरेक कुरा भन्दाको उसको ठट्टयाउलो पनले उसले मलाई मन पराएको कुरा पनि विश्वास लागेन। त्यसैले पनि मैले विवेकसँगको नाता टुटाउनु थियो, जुन टुटाएँ पनि।
तर सम्बन्ध टुटे पनि त्यो सम्बन्धले छाडेको याद कहिल्यै नटुट्दो रहेछ। उसका स्मृति मेरो लागि झरीजस्तै थिए। म जति तेजले ऊबाट भाग्न खोज्थेँ, त्यति नै छिटो म लुछुप्पै भिज्थेँ। म उसको स्मृतिको ऋणी छु। उसका यादले मलाई धेरै कुरा सिकाएका छन्। मलाई प्रेम गर्न सिकाएका छन्, मलाई रम्न सिकाएका छन् जुनम चाहेर पनि भुलाउन सक्दिनँ र भुलाउन चाहन्नँ पनि।
म मेरो मनमा रहेको ऊ प्रतिको भावना कहिल्यै ऊ समक्ष पस्किन चाहन्न थिएँ र कोसिस पनि गरिनँ। त्यो मनको सन्दुकमा भोटे ताल्चा लगाएर कैद छ। मलाई अझै पनि थाहा छैन कि उसको लागि जे महसुस म गर्थेँ वास्तवमा उसले पनि त्यही महसुस गर्थ्यो या म मात्रै बढी आश्वस्त भएकी थिएँ। यो प्रश्न मेरो मानसपटलमा सदैव महेन्द्र राजमार्गमा कुद्ने सवारी सरि ओहोरदोहोर गरिरहने छ तर उत्तर?
भो उत्तर नजानेकै बेस।
पारिजात! यो शब्द सुन्ने वित्तिकै हाम्रो दिमागमा एउटै कुराले चित्र कोर्ने गर्छ। पारिजातको फूल, जो रातमा फूलेर, रातमै जुनी काटेर, रातमै झर्ने गर्छ, कुनै सपना सरि। हो, मेरा लागि विवेक पनि पारिजातजस्तै थियो। हामी बीचको सम्बन्ध पारिजातको अस्तित्व सरि थियो। क्षणिक अनि वास्नायुक्त।
हो, हाम्रो सम्बन्ध वास्नायुक्त थियो। जसले मेरो जीवनमा एक मिठासपूर्ण वास्नाको कोपिला सृजना गरिदिएको थियो। सायद ऊ मेरो जीवनमा नआइदिएको भए म आज त्यही पूरानै रेबिका हुने थिएँ होला। जो केवल पढाइ र काममै व्यस्त हुने गर्थी। जसलाई नयाँ साथी बनाउन एउटा युद्ध जिते बराबर नै हुन्थ्यो।
विवेकको आगमनले मेरो जीवनमा खुसीको वास्ना छरि नलागेको थियो। त्यसैले ऊ मेरा लागि पारिजातजस्तै छ। हाम्रो सम्बन्ध पनि पारिजातजस्तै क्षणिक थियो। रातमा फुलेर, आफ्नो सारा बैँस रातमै बाँचेर, रातमै बुढो भै रातमै मृत्यु हुने पारिजातजस्तै। हामी पनि अनायासै भेटिएका थियौँ, अनायासै हामी फूल्यौँ अनि आफ्नो सारा बैँस जिएर आज सम्बन्धको मृत्यु पनि बेहोर्यौं।
म, पारि क्षितिजमा देखेथेँ एउटा प्रतिबिम्ब, मुस्कुराउँदै मैतर्फ हेर्दै सपना देखाउन खोज्दै थियो। उसको जीवन्त मुस्कानको खिल्ली उडाउँदै, उसकै सामुन्य दैलो बन्द गरेर आएँ।
तर मलाई कुनै अफसोस छैन्। पारिजात क्षणिक भएता पनि उसको स्थान सम्बन्धित ठाउँमा उच्च हुने गर्दछ। सबैको मनमा आफ्नो वास्नाले राज गर्न सफल भएको हुन्छ। विवेकको आगमनदेखि सम्बन्ध रित्तिनु सम्मको यात्रामा म फूलेँ, आफ्नो वास्ना महसुस गरेँ र अन्त्यमा झरेँ, त्यही पारिजात सरि।