म अन्योलमा छु
दोधारमा छु
फरक छ पहिले र अहिलेमा
त्यसैले त मझधारमा छु
परिवर्तन त नियम हो
थाहा छ रातपछि दिन आउँछ
पक्कै पनि कुनै दिन
मरुभूमिमा पनि त हरियाली छाउँछ
कर्तव्यबोधले धेरै कुरा सिकायो
अन्तर्मनले हौसला दिलायो
तर हलचल नभई
यथार्थमा बाच्न सिकायो
फरक छ पहिले र अहिलेमा
त्यसैले त म मझधारमा छु
सृष्टि हो हार्नु हुँदैन
तारा हो चम्किन छोड्नु हुँदैन
आउँछन् आरोप प्रत्यारोपहरू
विचलित हुनुहुँदैन
सदमार्गमा लाग्नलाई कहिले चुक्न हुँदैन
जीवन परीक्षा होनि हार कहिल्यै मान्न हुँदैन
हो, म अन्योलमा नै छु
दोधारमा नै छु
फरक छ पहिले र अहिलेमा
त्यसैले त म मझधारमा छु
सुनौलो बिहानी अवश्य आउने छ
परको क्षितिजले मार्ग दर्शन पनि पक्कै गराउने छ
म मुस्कुराउने छु किनकि
म प्रतीक्षामा छु त्यो अनभिज्ञताको ज्ञानलाई सिक्न
अन्योलमा नपरी पाइला सार्न
दोधारमा नपरी हौसला दिन
अनि मझधारमा नपरी
अघि बढ्न।