प्रिय उहाँ
अचेल
सोचिरहनु भएको छ
यस्तो होस कि 'लास्ट इनिङ'
देशले पछिसम्म सम्झिरहोस्
ढोकाभित्र
सल्लाहकार
बिचौलिया
'र' द लालहरूको जमघट बाक्लियोस्
ढोकामा
गरिब
किसान
मजदुर
ज्यामी
र द्वारपालेले सलाम ठोकोस्
ढोकाबाहिर
विचार
सिद्धान्त
आदर्श
संघर्ष
युद्ध
र विद्रोहको इतिहास पजनीको बिरासतमा चुलियोस्
यस्तै यस्तै सोचिरहनु भएको छ
प्रिय उहाँ
अचेल
केही छैन
प्रतीक्षा गर्नुहोस्
प्रतीक्षाको फल मिठो हुन्छ
हामी हाम्रा स्वप्नहीन आँखा लिएर
चिरायु निन्द्राको चिहानमाथि
राष्ट्रियताको भारी बोकेर
बिना लालपुर्जा जोतिएको किसानझैं
गुजुमुजु परेको निधार
चुकजस्तै अनुहारमा
आँसुका फूलहरू फूलाउँदै
त्यो समयलाई कुरिरहन्छौं
बर्बाद गर्नका निम्ति हामीसँग समय छैन
घिटिक् घिटिक् गर्दै
प्राणपखेरु नउडुन्जेल
हामी कुरिरहन्छौं
उहाँको 'लास्ट इनिङ'
हो, हामी
हाम्रा चिहानमाथि चढाइएका फूलहरू लिएर
प्रफुल्लित
र सुगन्धित हुँदै
धुमधामले सेलिब्रेट गर्नेछौं
मुक्तकण्ठले प्रशंसा गर्नेछौं
यस्तो होस् कि त्यो 'लास्ट इनिङ'
इतिहास पोलेको खरानी घसेर उभिएको
मुर्कट्टाले तर्साए पनि
लावालस्करझैं उभिएर
हामी जयजयकार गर्नेछौं
चियर्स! चियर्स! चिर्यस!