आश्चर्यजनक मौनता छाएको परदेशी सुनसान रातहरू। फरक-फरक ठाउँ, वर्ण र भेष भएका थुप्रै लावारिस लासहरूसँग आत्मीय साटासाट गरेर ढलिरहेको छु कहिल्यै नउठ्ने गरी, टाढा बिरानो सहरको विराट अस्पतालभित्र सन्नाटा छाएको चिसो अँध्यारो कोठामा।
नेपाल आमा, मलाई अँध्यारोदेखि खुब डर लाग्छ। विगत ६/७ महिनादेखि मलाई यहाँको अपरिचित मान्छेहरूले एउटा ठूलो सरकारी अस्पतालको मुर्दाघरमा चिसो अँध्यारो कोठाको एक खण्डे दराजमा राखेका छन्। खोई के-के बोल्छन् के-के मान्छेहरू! म बुझ्दिनँ। म मरेँ रे भन्ने हल्ला गाइगुईं चलेको धेरै भैसकेछ। काम गर्दागर्दै दुर्घटनामा परेर सख्त घाइते हुन पुगेको म उपचारको क्रममा मृत्यु हुन पुगेको कुरा गर्छन्।
खोई कता-कता छन् मलाई चिनाउने मेरो परिचयपत्र अनि पासपोर्ट! हालको लागि मसँग भएको मेरो चिनारी भनेको दाहिने खुट्टाको बुढी औंलोमा के जाति ट्याग झुण्ड्याएको छ यहीँ हो-
नाम- नेपाली बाबु
ठेगाना- काभ्रे, नेपाल
उमेर- २८ वर्ष
हाल- अरब मुलुक
काम गर्ने कम्पनी- अल तायएर ब्रदर्स लिमिटेड कम्पनी अरब
मृत्युको कारण- दुर्घटना
आमा, सायद तिमीलाई अचम्म लाग्ला मेरो पत्र पाएर। त्यसैले सुरुमै बिन्ती बिसाएर भन्दैछु। यो कल्पित कोरा कल्पना मात्रै होइन, यथार्थ हो आजको। मेरो मात्रै होइन यसरी अलपत्र परिरहेको पार्थिव शरीर, थुप्रै छन् अलग-अलग देशको भिन्नभिन्नै अस्पतालको मर्चरी हाउसहरूमा। अनगिन्ती मजस्तै युवायुवतीको मृत्यु पछिको जिन्दगी लास बनेर तिम्रो काखमा फर्कने दिनको प्रतीक्षा गरेर बसेको।
आमै, यो चिठी तिम्रो नाउँमा समर्पण गरेर तिमीसँग गुनासो पोखेको पटक्कै होइन। भएभरका अनगिन्ती सम्बधित निकायहरू थाहा पाएर पनि थाहा नपाएको जस्तो नाटक मंचन गरेर ढिलासुस्तीको नमुना नै बनेको कारण बस् बाध्य भएको हुँ तिम्रो नाउँमा चिठी लेख्न। आखिर दुनियाँको सबैभन्दा प्रिय भनेको आमा नै हो। कि कसो नेपाल आमा?
तिमीलाई लाग्ला जाने बेला आफूखुसी जाने! जब अप्ठ्यारोमा पर्यो तब मलाई सम्झने! आमा, बिल्कुल कुरा त्यस्तो थिएन मेरो बारेमा। म तिमीलाई अलिकति मेरो बारेको विगत पोख्न चाहान्छु।
मेरो जन्म सुन्दर पहाडी जिल्लाको रमणीय एउटा गाउँमा भएको थियो, २०५१ साल तिर। म जेठो छोरा भएर जन्मेको रे। मभन्दा मुनि एउटी बहिनी छिन्। अनि बा र आमा। ठिकै थियो, सानो सुखी परिवार। मेलापात गर्दै चलेको थियो जिन्दगी। सुमधुर चल्दै गरेको हाम्रो जिन्दगीमा कालो इतिहास बोकेको कथित दश वर्षे जनयुद्धको असर नराम्रोसँग परेको थियो। म भर्खर १ वर्षको हुँदै गर्दा सल्केको जनयुद्धको उपलब्धि के भयो र के पायो भन्ने बारे भनी रहनु जरुरी छैन होला।
मिठा मिठाईजस्तो सल्लाहहरू सित्तैमा बाँड्दै हिँड्ने गर्थे रे गाउँ-गाउँमा त्यो बेला। हुलका हुला राता मान्छेहरू हक, अधिकार, समताको कुरा, वर्गीय-जातीय विभेदको कुरा खुब गरिन्थ्यो रे! तास खेल्नेलाई तासै खुवाउने! मध्यपान गर्नेलाई जाँडको ड्रममै डुबाउने काम गर्थ्यो रे! हाम्रो पहाडी जिल्लाहरू तिनीहरूको लागि अनुकूल भूभाग हुन्थ्यो रे!
गाउँमा माईला दाइ र लाले दाइको संगतमा रम्दै-रम्दै जीवन गुजारा चलाइरहेका मेरा सोझा बालाई माओ र लेनिनको आगो ओकल्ने कथा-कहानी सुनाएर वर्ग संघर्षको भूमरीमा हाम फाल्न विवश बनाएको रहेछ! पछि आमाले सुनाउने गर्नु हुन्थ्यो।
मेरो बा जंगल जाने बेला म भर्खर ३ वर्षको थिएँ रे! ती राता मान्छेहरूको जोशिलो कुरामा लागेर जानु भएको मेरो बा। आमा भन्दै हुनुहुन्थ्यो पछि २-४ चोटि आउनु भयो रे। त्यसपछि कहिल्यै फर्केर आउनु भएन मेरो बा। नेपाल आमा, यसरी मेरो बाको छोटो जिन्दगीको अन्त्य भएको कथाले आमालाई बेस्सरी थिलथिलो बनाएछ पीडादायी समय बनेर त्यो बेला।
आमाले दुखैदुःखको तलाउमा डुबेर हामीलाई हुर्काउनु भयो। बुर्जुवा शिक्षाको विरोध गर्ने राता मान्छेहरूको क्रोधले भरेको आँखा छलाएर मेरी आमाले जेनतेन स्कुलले शिक्षासम्म दिनु भएको रहेछ। बा फर्केलान् भनेर धेरै दिनहरू कुर्नु भयो तर बा कहिले फर्किएनन्। मेरी आमा निरीह अर्ध-विधुवा बनेर बाँकी दिनहरू एकल महिलाको जीवन जिउनु भएको थियो।
पछिल्लो समय ती ठूला राता मान्छेहरूको कालगतिले जीवन बिसर्जन गरेको आफन्तहरूका सालिक बनाइरहँदा फेरि एकपटक मेरी आमा मेरो बाको चिहान मात्रै भए पनि देखाइदेऊ भनेर स्थानीय नेताकोमा पुगेको कुरा गर्दै हुनुहुन्थ्यो। बा जिउँदै छन् वा मृत्यु भैसक्यो, यो बारे बेखबर थियौं हामी।
बा बेपत्ता भए। युद्ध रोकियो। जंगल-जंगल चाहर्ने सबै राता मान्छेहरू गाउँ फर्किए। कोही सहर छिरे। शान्ति सम्झौता भयो। अनमिन आफ्नै देश फर्किए। हिजो ढाडमा चढेर टाउकोमा हान्न हौसिएका थुप्रै योद्धाहरू अनफिट भएको बहाना देखाउँदै आ-आफ्नै घर फर्काए। किताबको झोला छोडेर बारुदको बोरा बोक्दै रगतको होली खेलेर भाइ-भाइ एकआर्काको दुश्मन बनेर गरेको लडाइँको लडाकुलाई केही लाख रुपैयाँ थमाएर पुनः आफ्नै गाउँ फर्काए। केही ठालु सुप्रीमोहरूलाई क्यान्टलमेनको बिटोको रापले अझै डाम्दैछ।
नेपाल आमा, मैले बन्दुक बोकिनँ। बोक्नु परेन। बोक्न बाध्य बनाएनन्। बोक्ने उमेर पनि त थिएन। तर बन्दुक बोकेर देशको मुहार फेर्न हिँडेका मेरो बाको अघोषित मृत्युले पटक-पटक धेरै पटक जिन्दगीको मोड-मोडमा ठक्कर खाँदै-खाँदै मैले मेरो जिन्दगीलाई आमाको माया र बहिनीको स्नेहको साथ २५ वर्षको बनाएँ।
एक्लो छोरो, बाको बिरासत थाम्नु नै पर्यो! बालिग उमेर भैसकेको म आमाको सल्लाह बमोजिम विवाह गर्ने भएँ। विवाह गरियो एउटी सुन्दर कन्या खोजेर। धेरै वर्षपछि अलिकति खुसीको किरण छायो हाम्रो परिवारमा।
घरको पूरै जिम्मेवार मेरो युवा काँधमा हस्तान्तरण भइसकेको थियो। देशमा भएको अस्थिर राजनीतिको बाछिटाले स्वरोजगारमा अनिकाल छाएको थियो। धेरथोर भएको उद्योग-कलकारखाना ध्वस्त पारिसकेको थियो। एक बाली हुने पाखा जमिनको कृषि उत्पादनले जिन्दगी चल्न कठिन हुँदै गयो।
नेपाल आमा, आर्थिक अभावको प्रभाव थेग्न नसक्ने भएर बाध्य हुँदै सानी सात महिनाको छोरी, जीवनभरि साथ दिने कसम खाएकी जीवन संगिनी, तीन बिसा उमेर पार गरेकी बुढी आमा अनि मिठो सपना सजाउँदै गरेकी प्रिय बहिनीलाई छोडेर परको देश परदेशमा आएको थिएँ म।
परदेश आएको केही समयमा पुनः मेरो परिवारमा नसोचेको मानवीय क्षतिले भरिएको कथा दोहोरिन पुग्यो। सायद हाम्रो खुसीको आरिस देउताले नै गरेर होला। मेरो काम गर्ने ठाउँमा अकल्पनीय दुर्घटनामा मृत्यु हुन पुगेँ।
मृत्यु शाश्वत सत्य हो। जन्मँदै निर्धारित भएर आएको हुन्छ मृत्यु। मृत्युसँग मेरो भन्नु केही छैन। एक न एक दिन सबैको हुन्छ मृत्यु तर कुठाउँमा भएको कुबेलाको मृत्युले मलाई भन्दा मेरो बाँचेको आफ्नाहरूलाई जिउँदै पटक-पटक मारी रहेछ। आँसु निख्रेको आँखा वियोगले क्षतविक्षत भएको मुटु बोकेका मेरो आमा र बहिनी वियोगान्तको अलाप रट्दै छन्।
रंगिन सपना बुन्दै गरेकी जीवनसाथी उजाड सिउँदो अनि बियोगको डढेलोले सखाप बनाएको मन बोकेर बेहोस हुँदै बक्रँदै मेरोजस्तै मृत्यु कुर्दैछन् रे। बा के हो? बाको मतलब के हो? सामान्य कुरा बुझ्न नसक्ने उमेरको मेरो छोरी सन्चै छन् रे! भोलिपर्सी ठूली भएपछि बुझ्नेछिन् बाको बारेमा।
आमा, नेपाल छिटो फर्कने चाहना छ। मेरो लास हेर्ने मन गरेका मेरा आफन्तहरूसामु सास हुन्जेल साथ नदिए पनि लासलाई त कमसेकम छिटो फर्काउने पहल गर्न लगाइदिनु होला। कतै तिम्रो कुरा सुनि पो हाल्लान् कि तिमीमाथि शासन गर्ने नेपाल सरकारले।
नेपाल आमा, म कुनै ठूलो कुराको दाबी गर्दिनँ तर म यत्ति चाहिँ भन्ने दुस्साहस गर्छु कालापत्रे सडकहरूमा महंगा गाडी चढेर हिँड्ने सुकिला पहिरनभित्र विराजमान चिल्ला गाला भएको ठूला मान्छेहरूमा परेको छ हामीले पठाएको रेमिटेन्सको केही हिस्सा। ती ठूला मान्छेहरू बस्ने घरको इँटा र सिमेन्टमा हाम्रो रगतपसिना मिसिएको छ।
मजस्तै थुप्रै युवाको रगत पसिनाबाट फलेको पैसामा हालीमुहाली गर्ने सम्राटहरूलाई झकझकाइ दिनुहोला। मेरोजस्तै थुप्रै लासहरू परिरहेको छन् अलपत्र। जिउँदो हुँदा आफ्नो देशमा रोजगार दिन नसकेका सम्राटहरूलाई मरेको हाम्रो लासलाई दाहासंस्कार गर्न छिट्टै झिकाउने कष्ट गर्न अनुरोध गरिदिनु होला।
बुढी भएकी मेरी आमाको बुढो दुई हातमा परेको देउताको अपत्यारिलो नमिठो कोसेली, अकल्पनीय मृत्युको पत्र आफ्नो प्रिय मान्छेहरूको। जीवनमा देख्दै गरेको सपनाहरू पूरा गरिदिउँला भन्ने उहाँको श्रीमान, मेरो बा अनि मृत्यु उप्रान्त बैतर्नी पार गरेर स्वर्गको द्वार खोलिदिने जिम्मा बोकेको उहाँको छोरो म। हामी दुई बा-छोराको मृत्युले मन चिराचिरा भएको बिचल्ली परिवारलाई दया गरिदिनु होला नेपाल आमा।
नेपाल आमा, कति धेरै मनको बह पोखाएँ तिमीलाई! तिमीलाई कति पीडा छ भन्ने कुराको जानकार नै छु म। मेरो भौतिक शरीर ढलेर गए पनि मेरो आत्माले देखेको छ तिमी माथिको ज्यादतीहरूलाई। तिमीलाई कति पीडा दिएको छ थाहा छ मलाई। कहिले आफ्ना मान्छेले, कहिले पराई मान्छेले, कहिले प्रकृतिले!
अन्तमा, आमा परेदशमा भयो मृत्यु मेरो। मेरो मृत्युको खबर पाइसके पाउनु पर्ने जतिले। मेरो अन्तिम अभिलाषा छिट्टै जन्मभूमिमा फर्केर सदाको लागि तिम्रो काखमा गहिरो निन्द्रामा निदाउने।
उहीँ परदेशी लास।