साथी भन्ने वित्तिकै के बुझ्नुहुन्छ?
साथ दिने? पर्दा हात दिने? एक्कासी महिनौंपछि 'ओई, थोरै पैसा सापट चाहियो यार!' भन्ने? धेरै भयो नजमेको यो शुक्रबार यसो जमौँ न भन्ने, जति जो-जो वरिपरि भए पनि ऊजस्तो त कोही आएन जिन्दगीमा क्या दिन थिए भन्दै एक पोको भूतलाई सुमसुम्याउँदै सम्झिएको 'ऊ' साथी?
पाइलैपिच्छे पाइन्छ वाला साथी, बिहानदेखि अँध्यारो हुनसम्म कुम जोड्ने साथी, पहिले मिल्थ्यो अहिले थाहा छैन साथी, समय नमिलेर हो नत्र हामीजस्तो को जम्छ होला जस्तो साथी, बच्चाको साथी, जीवनसाथी, एकचोटि देखेको साथी, एकचोटि भेटेको साथी वा एकचोटि पनि नदेखेको/नभेटेको साथी?
यी बुँदाहरूमा कतै न कतै त पर्नै पर्छ जो कोहीको साथी। कि त साथीका मेरा परिभाषित बुँदाहरूमा त्रुटि छ भनेर मैले हाँसेरै स्विकार्नु पर्छ।
समय परिवर्तनशील छ। बदलिन्छन समय, परिवेश, ऋतुहरू अनि मान्छेहरू। अटल रहिरहन्छन् फेरि गुम्सी बस्ने भावना, सम्झना, झझल्कोहरू, अनौठो अत्यास र अन्वेषण गर्न नसकिएका अनुभूतिहरू! मौसमहरू जसरी बदलिन्छन्, बदलिन्छन् वरिपरिका चिजबिजहरू।
अनि साथीहरू?
परिवर्तन महसुस हुन देख्नुपर्छ, अनि देख्न भेट्नुपर्छ। भेट्दै नभेटेको र देख्दै नदेखेको कोही साथी परिवर्तन हुन सक्छ? सँगसँगै प्रश्न आउला- नभेटेको, नदेखेको पनि साथी हुन्छ? यो प्रश्न आफैमा आत्मपूरक सुनिन्छ, हरेक मान्छेपिच्छे फरक जवाफ आउन सक्छ।
ठूलो संसार छैन अचेल। रेडियो कार्यक्रममा विशेष दिन कुरेर बस्नु पर्ने परिस्थिति रहेन। हुलाकी दाइको नम्बर पात्रोको पानामा लेखेर राख्नु पर्दैन। फोन नम्बरहरू डायरीमा सम्झी-सम्झी पेन केर्ने दुःख अब दन्त्य कथाजस्तै हो। ग्लोबल भिलेजमा बाँचिरहेका छौँ हामी। न समयले बाँध्छ न स्थानले, न कुनै संचारको कमिले बाँध्छ। अचेल मान्छे कुनादेखि कुनासम्म एकैचोटि यात्रा गर्न सक्छ। संसार सानो बन्दै छ अनि थोरै भइरहेछन् साथी बनाउन देखा पर्ने पूराना व्यवधान!
सँगै भइरहने, भेटिरहने, कामकाज मिल्ने सँगै पढ्ने, गाउँको साथीबारे एकछिन छोडौँ! कहिले नभेटेको, कहिले नदेखेको तर पनि 'साथी' भनेर पुकार्दा प्रफूल्लताले तपाईंका गालाहरू छुने कोही त्यस्तो साथी छ तपाईंको? हुन सक्छ, हुने प्रबल सम्भावना छ वा भविष्यमा हुन पक्का सक्छ!
कुराकानी भएको तर कहिल्यै नभेटेको मान्छेले तपाईंको मन कतिको बुझ्ला! हदै भए एक फोन कल वा भिडिओ कल नै। के यति प्रयाप्त छ कसैले कसैलाई प्रेमिल बुझाइमा रिझाउन?
मानौँ कुरा मात्र भएको साथीलाई आज भेट्दै हुनुहुन्छ, के-के सोच्नुहुन्छ, के-के तयारी गर्नुहुन्छ?
पहिलोचोटि तपाईंले बोल्नुहुन्छ कि उसले 'हाई' भन्दा एकचोटि मुस्कुराएर नबोली सत्कार गर्नुहुन्छ? फर्मल भएर हात पो मिलाउनु हुन्छ कि आफ्नै मान्छे सम्झिएर अंकमाल?
पहिलो भेटमै अंकमाल अलि भारी भएन? बोल्दा कसरी बोल्नुहुन्छ? प्रभाव छोड्ने गरी विस्तारै वजनदार शब्दहरू समाइ कि चैते हावाजस्तो हलुका सुगन्ध बोकेर? कस्तो पहिरनमा भेट्नुहुन्छ उसलाई जसलाई बस भेट्नु मात्र भएको छैन? के-के कुरामा ध्यान दिनुहुन्छ?
तपाईंले सोचेजस्तो ऊ नभए वा उसले सोचेभन्दा अलिकति बकम्फुसे ठहरिए, केही फरक पर्छ नाम नभएको तपाईंहरूको सम्बन्धमा कि केही फरक पर्दैन?
केही त जरुर छ जसलाई मैले भेटेको छैन, बस भेटेको मात्र छैन। नत्र लेखिरहँदा, सोचिरहँदा किन म निर्धक्क भइरहेछु? किन भित्रभित्रै मलाई भरोसाले अलिकति लालहित बनाइरहेछ। कैयौं वर्ष सँगै भएको मित्रता त एक पलपछि खस्रो हुनसक्छ, मैले नभेटेको, नदेखेको मान्छेलाई यतिसम्म मनमा ठाउँ दिन ठिक होला र? मैले ऊसँग आफ्ना सुखदुःख साटेको छु। विस्तारै आएका परिवर्तन बुझाएको छु। कहिलेकाहीँ मध्यरातसम्म म एकहोरो लेखेको छु, कहिलेकाहीँ सुनेको छु। उसले कति बुझ्ला मलाई, यो अवास्तविक मुलाकातको आधारमा?
सम्बन्धहरू साँच्चीकै क्षेणभंगुर हुन्छन् कि खारिएको चटानमा कुँदिएका शिल्पी जसरी बसिराख्छन्?
मैले नभेटेको, नदेखेको तर मनको एकदम करिब साथी, के ऊ पनि यस्तै सोच्छ जसरी म सोच्छु? यो यात्राको कुनै गन्तव्य छ कि बस् हामी बिसौनीमा भेटिएका फरक सवारीका यात्रु हौँ? यो यात्रा नै होइन कि यो काल्पनिक दिवासपना हो!
जुन महसुस नभेट्दा छ, त्यो भेटेर टुङ्गिने पो हो कि? जसरी हिउँदभरि आशा बोकेर बाँचेको रुखलाई वसन्ती हावाले हाँगै भाँचेर लछार्छ? कि वर्तमानमै आलङ्कारिक सोचहरूको श्रृङ्गार पुछेर बाँचे हामी एकछिन?
यो पढ्दासम्म तपाईं एकचोटि मात्र पनि मुस्कुराउनु भएन भने आँखा चिम्लेर सोच्नुहोस्, त्यस्तो साथी छ? छ भने भइहाल्यो। छैन? जानिराख्नुहोस् बेमौसमी फूल पनि मगमगाउँछ, बेतालको हावाले पनि सुगन्ध बोक्छ, नभेटेको साथीले मन छुन सक्छ, नदेखेको साथीले अन्तर कुन्तर चिहाउन सक्छ, बस् अवसर दिनुहोस्।
एकचोटि वेचैन तालिकाबाट पोख्नुहोस् आफूलाई असरल्ल, रिजिड दिनचर्यालाई खुकुलो बनाउनुहोस्। एक कप कफी? एउटा इभिनिङ वाक? एक फोन वार्ता?
ढाक्न छोड्नुहोस आफैलाई निर्मम नियमहरूको जन्जिरमा।
मानौँ स्कुलको पहिलो दिन, नयाँ सफा चट्ट सर्ट प्यान्टमा हुनुहुन्छ। नजिकै जानुहोस् र भन्नुहोस् मुस्कुराएर आफ्नो नाम। पारम्परिक मुस्कान झल्किए गज्जब, नझल्किए आफैलाई चङ्गा बनाउनु भयो कमसेकम।
वजनले को उडेको छ? बादलले सोचेर उड्छ र? साँच्ची बादल त बन्न मन छ नि? कि मेरो एउटा कमजोर मनोवैज्ञानिक लेखका कोठाहरूमा रुम्मलिने बन्दी मात्र बन्नुभयो?
बाँकी अर्को भेटमा फेरि...
तपाईंले नभेटेको, नदेखेको साथी।