जिते दाइ,
तिम्रो होइन यो सहर
हरेक दिन
अभावले डसिरहने यो सहर
हरेक रात
पीडाहरूले खेदिरहने यो सहर
तिम्रो हुँदै होइन जिते दाइ।
जहाँ सुत्केरी आमाको जीवनभन्दा
अस्पतालको बिल अमूल्य हुन्छ
जहाँ तिम्रो सन्तानको
नैसर्गिक अधिकार
सत्ताको अपहरणमा परेर मर्छ
जहाँ कुशासनको बारुदबाट
सल्काइन्छ अकिन्चनको भविष्य
जहाँ अस्थिपञ्जरको भट्टीमाथि
उठाइन्छ आलिसान महलहरू
कसरी हुन सक्छ यो तिम्रो सहर?
जहाँ धनको झोलीभित्र तरबार थापेर
न्यायको गर्धन छिनाइन्छ
जहाँ विवेक बन्धक राखेर
अत्याचारले हैकम जमाउँछ
जहाँ राज्यको ढुकुटीमाथि
गिद्धहरूको राज चल्छ
जहाँ मुलुकको स्वाधिनता
सत्ताको भोकमा लिलामी हुन्छ
कसरी हुन्छ यो तिम्रो सहर?
जहाँ श्रमिकको पसिनामा
सहरले होली खेलेको हुन्छ
जहाँ गरिबका झुपडी बालेर
सत्ताको रोटी पाक्छ
जहाँ योग्यहरूलाई पाखा लगाएर
अयोग्य र आसेपासेहरूलाई
सत्ताको जामा लगाइन्छ
जहाँ न्यायको लाइसेन्स
दलालहरूको खल्तीसँग साटिन्छ
जहाँ इमानको शीर छेदन गरेर
बेइमानीको रोटी पोलिन्छ
यस्तो निर्मम सहर
कसरी तिम्रो हुन्छ जिते दाइ?
जहाँ चारैतिर सकुनीहरू
पासा थापेर बस्छन्
जहाँ सत्यका शिरहरू
द्रौपदीको सारीको लाज बनेर निहुरिरहन्छन्
कसरी हुन्छ यो तिम्रो सहर?
कसरी हुन्छ यो हाम्रो सहर?
अब जाग्नु पर्छ तिमी
अब उठ्नु पर्छ हामी
यो देशको सुन्दर भविष्य कोर्न
सत्य, न्याय र विवेकको
झण्डा बोकेर
हामी सबैको संसार बनाउन
सम्मानित जीवन जिउन
अब उठ्नुपर्छ
अब जाग्नुपर्छ।