साँझको ६ बज्यो। मन एकदमै चञ्चल भैरहेको छ अनि बेग्लै छटपटी पनि। यति एअरको पछाडिको सिटमा बसेर मैले रोमान्चक कल्पना गरिरहेको छु।
मेरो धैर्यताको समय सकियो। जहाज काठमाडौं विमानस्थलमा अवतरण भयो।
उसको प्रेममा बेचैन भएपछि उसलाई भेट्न ३५ मिनेटअघि म विराटनगरबाट राजधानी सहरका लागि उडेको थिएँ। यो मेरा लागि राजधानी सहर मात्र होइन, प्रेम नगरी हो। जुन माटोमा मैले जीवनमा सबैभन्दा बढी माया गरेकी ऊ बस्थी। त्यसैले यो मेरा लागि राजधानी सहरभन्दा बढी माया सहर वा प्रेम नगरी हो।
फोन र इन्टरनेटबाट झाङ्गिएको प्रेममा भौतिक संसारका रंगहरू भर्न र उसलाई भेट्न म मेरो प्रेम नगरीमा अवतरण गरेको हुँ।
आजकाल उसका र मेरा दिनहरू गज्जब हुन थालेका छन्, रातहरू अत्यन्तै प्रेमिल। हाम्रो सम्बन्ध पहिलेजस्तो सहकर्मीको होइन, सहयात्रीको रुपमा विकास हुँदैछ। दिनभर सप्तकोसीको किनारमा बसेर नदीमा ससाना ढुंगा हान्दै ऊसँग घण्टौं भिडिओ कलमा संवाद गर्नु आजकाल मेरो दैनिकी बनेको छ। त्यो भिडिओ संवादमा हामी एकअर्कासँग जिस्किन्छौं, हाँस्छौं, ठुस्किन्छिौं।
रातहरू पनि अत्यन्तै प्रेमिल छन्। जब रातिको ११ बज्छ, पुरै दुनियाँ सुतिरहँदा हामी जाग्छौं, आफ्नो प्रेमका खातिर। रातका कुरा दिनका भन्दा अलि फरक हुन्छन्। रातमा प्रेम छताछुल्ल हुन्छ, हामी एकअर्काको अंगालोमा भएको कल्पना गर्छौं अनि तिनै कल्पना एकअर्कालाई सुनाउँछौं।
कहिलेकाहीँ हामी एकअर्कासँग रिसाउँछौं, ठुस्किन्छिौं। हामीलाई ठुस्किन कारण नै चाहिँदैन। भएको केही हुँदैन, तैँले मलाई माया गर्दैनस् हो? भनेर आफैले सोध्यो अनि रिसाएर फोन काट्यो। फोन काटेको २ मिनेट नबित्दै फेरि फोन गर्यो। हो हाम्रो प्रेम यसैगरी मौलाइरहेको छ।
हामीले एकअर्कालाई चिनेको धेरै वर्ष भयो। तर पछिल्लो समय हामीले एकअर्कालाई प्रेम गर्न थाल्यौं। दिनभर सप्तकोसीका किनारमा बसेर गरेको प्रेमिल भिडिओ संवाद, रातभरको प्रेममय कल्पनापछि पहिलो पटक म उसलाई भेट्न अहिले देशको राजधानी सहर अर्थात् मेरो प्रेम नगरीमा अवतरण गरेको हुँ।
ऊ राम्रो परिवारमा जन्मे हुर्केकी केटी। आजसम्म ऊ कसैलाई रिसिभ गर्न, स्वागत गर्न कहिल्यै एअरपोर्ट गएकी छैन। तर मलाई थाहा छ, विमानस्थलका पिचमा जहाजका पाङ्ग्राहरू दौडिरहँदा विमानस्थलको पार्किङमा ऊ मलाई पर्खिरहेकी छ।
उसको प्रेममा आफूलाई समर्पण गर्न विराटनगरबाट उड्नुअघि हामीले फोनमा कुरा गरेका थियौं। भेट्नासाथ के गर्ने?
मैले जवाफ दिएँ, 'कसिलो अंगालो हाल्ने, अनि चुम्बन खाने।' ऊ लजाई अनि सोधी, 'एअरपोर्टमै!'
मैले आत्मविश्वासी भएर जवाफ दिएँ, 'एस।'
फोनमा गफ गरेजस्तो आत्मविश्वास अहिले भने ममा देखिएको छैन। जहाजबाट ओर्लिएर आगमन कक्षसम्म पुग्ने बसमा बसिरहँदा म उसलाई भेट्नासाथ अंगालोमा कसेर चुम्बन गर्ने हिम्मत बटुलिरहेको छु।
आगमन कक्षमा पुग्नासाथ मैले उसलाई फोन गरेँ।
उसले आफू पार्किङभन्दा थोरै बाहिर स्कुटर रोकेर बसेको बताई।
आफ्नो झोला टिपेर सरासर उसले भनेको ठाउँतिर गएँ।
लाल रङ्गको स्कुटर, कालो सर्ट, निलो जिन्स पाइन्ट, मुखमा मास्क टाउकोमा हेलमेट। हेलमेट र मास्कको बीचबाट मलाई हेरिरहेका उसका आँखा। जिन्दगीको यो पल मेरा लागि सबैभन्दा स्वर्गीय आनन्दको पल हो।
ऊ स्कुटरमा बसिरहेकी थिई। उसलाइ मैले स्कुटरबाट ओर्ल अनि हेलमेट खोल म तिमीलाई अंगालो हालेर चुम्मा गर्छु भन्न सकिनँ। ऊ पहिल्यै लजाएकी थिई, उसले त्यो आँट नै गर्न सकिन।
म स्कुटरको पछाडि बसें, उसले स्कुटर कुँदाई।
तिलगंगानिर पुगेपछि मैले उसलाई भनेँ, 'मेरो दायाँतिर पशुपतिनाथको मन्दिर छ। आजसम्म म काठमाडौं आउनासाथ जब जब पशुपतिनाथ मन्दिरलाई दायाँ पारेर हिँडेको छु, मेरो हरेक काम, हरेक लक्ष्य पूरा भएको छ।'
उसले सोधी, 'यसपटक चाहिं तिम्रो लक्ष्य के छ नि?'
मैले जवाफ फर्काएँ, 'तिमीलाई पाउने।'
ऊ हाँस्दै बोली, 'म तिमीसँगै छु अनि मलाई पाउन तिमी परको पशुपतिनाथ मन्दिर हेरिरहेको छौ?'
मैले कुरा बुझेँ, अलि अगाडि सरेर ऊसँग टाँसिएँ अनि एउटा हात उसको काँधमा अर्को हात उसको कम्मरमा राखेँ। कम्मरमा हात राख्दा उसलाई काउकुती लागेछ क्यारे, ऊ मुस्कुराई।
सिटी सेन्टरबाट धोबीधारा मार्गमा गएर उसले स्कुटर रोकी।
हामी एउटा क्याफेमा छिर्यौं। यो क्याफेमा हामी पहिले पनि आएका छौं। तर त्यतिबेला आउँदा हाम्रो सम्बन्ध सहकर्मीको मात्रै थियो।
हामीलाई यो क्याफेका केही विशेषता पनि थाहा छन्। खासमा यो टि-क्याफे हो। तर यहाँ तपाईंले दूध चिया माग्नु भयो भने दूध सकिसकेको हुन्छ। कालो चिया माग्नु भयो भने चिनी सकिसकेको हुन्छ। यहाँ हामी आएर वाइफाईको पासवर्ड सोध्यो भने जहिल्यै क्याफेको भाइको जवाफ एउटै हुन्छ- आजै नेटमा पैसा सकिएछ, हाल्नै भ्याएको छैन। यो क्याफेको अर्को विशेषता पनि हामीलाई थाहा छ, हामी यहाँ जाँदा अहिलेसम्म अर्को कुनै ग्राहक बसेको देखेका छैनौं।
भित्र छिरेपछि उसले हेलमेट र मास्क उतारी। मैले उसका आँखा, उसको मुहार हेरिरहें। उसको रेशमी कपाल मलाई चलाउन मन लाग्यो। आँट गर्न सकिनँ, विस्तारै टेबलमा अड्याएको उसको हातमाथि आफ्नो हात राखेँ। ऊ मायालु नजरले मलाई हेर्न थाली।
क्याफेको भाइ आयो। उसले दूध चिया छ भनेर सोधी। भाइले दूध छैन भन्यो। हामीले थाहा पाएअनुसार उसको क्याफेमा स्प्राइट मात्रै पाइन्थ्यो। त्यसैले उसले एउटा स्प्राइट अर्डर गरी।
एकअर्काको मायामा ब्याकुल थियौं हामी। एउटै स्ट्रबाट हामीले पालैपालो एक गिलास स्प्राइट खायौं।
साँझ निकै छिप्पिसकेको छ। उसलाई झम्सिखेल घरमा जानु पर्थ्यो भने म यतैकतै होटलमा बास बस्नु पर्थ्यो।
हामी जुरुक्क उठ्यौं। दुवैजनाको मुटु मायाले यसरी फुलेको थियो कि अब एक मिनेट मात्रै हामीले ढिला गर्यौ भने यो महाप्रलयकारी विष्फोट बन्नेवाला छ।
एकअर्कालाई च्याप्प अंगालो हाल्यौं। अंगालोमै मैले उसलाई निधारमा चुम्बन गरें। उसको रेशमी कपालमा मायालु स्पर्श गरें। ऊ मौन थिई।
छुट्टिन दुवैजनालाई मन थिएन। तर आज नछुट्टिए भोलि कसरी भेट होला र?
गह्रौं मन बनाएर हामी अलग भयौं। मैले स्प्राइटको पैसा तिरें। उसले बाहिर निस्केर स्कुटर स्टार्ट गरी। म ऊसँग टाँस्सिएर बसें। हामीले भर्खर बिताएको पलले हामीलाई मौन बनाइदिएको छ।
नयाँ बानेश्वर चोकमा पुगेर मैले उसलाई दायाँ मोडेर रोक्न भनेँ। उसले स्कुटर रोकी, म ओर्लिएँ। उसले निकैबेर मलाई हेरिरही। अनि इसारामै भोलि भेट्ने भनेर छुट्टिने अनुमति मागी। मैले जाऊ भनेँ।
उसले मलाई हेरिरहँदा उसका आँखामा थुप्रै प्रश्नहरू थिएँ। उसका आँखाहरू भनिरहेका थिए, म किन मैले माया गरेको मान्छेसँग निर्धक्क समय बिताउन सकेको छैन, किन मलाई समयमै घर जानुपर्छ? मलाई प्रेम गर्ने मान्छेको बारेमा थाहा पाए किन मेरा दाजुहरू रिसले आगो बन्छन्? म अबेरसम्म बाहिर बस्दा किन मेरा बाको इज्जत जान्छ?
मसँग छुट्टिने बेला टिलपिल गरिरहेका उसका आँखाका भावहरूले गरेका कुनै प्रश्नको उत्तर मसँग थिएन।
होटेलको रिसेप्सनमा पुगेँ। कलेज ड्रेसममै रहेका एकजोडी केटाकेटीहरू होटेलमा सस्तो र राम्रो कोठा दिन आग्रह गरिरहेका छन्।