पीरको भारी
सपनाका भारी
आशाको भारी
ऋणको भारी
थुप्रै भारी नै भारीले
थिचिएको
किचिएको
यो
मन बोकेर
केही थान आमाको
मुहारको खुसी किन्न
बालाई फाटेको
जुत्ता फेर्न
सिंहदबारका सिंहहरूलाई सराप्दै
हातमा पासपोर्ट बोकेर
चर्को घाममा पसिनासँग
पैसा साट्न
खाडी पसेको
साहुको मिटर ब्याज तिर्न नसकेर
गुमाएको घर-जग्गा
फिर्ता ल्याउनुछ
बस् मैले धेरै भारीहरू बिसाउनु छ
भारी बिसाउने चौतारीहरू बनाउनु छ
त केवल मृत्युअघि।