मेरो पहिलो प्रेमपत्र न मेरो प्रेमीको थियो, न प्रेमीलाई नै। यो सम्बन्ध त प्रेमभन्दा धेरै अमूल्य थियो। यो सम्बन्धमा माया थियो। यहाँ स्वतन्त्रता थियो। यो प्रियविहीन, प्रेम बिनाको प्रेमपत्रमा धेरै भावना समेटिएका थिए। उसको प्रेमपत्रले यी लाख भावनालाई केही शब्दहरूमा समेटेको थियो।
'यो मुटुको द्वारबाट भावना निकाल्ने एक मात्र माध्यम- शब्द। त्यसैले आज भावनाहरू शब्दमा व्यक्त गर्दछु। माफ गर्नु, मलाई लागेन बजारमा बिक्ने फूलहरूले मेरो भावनाको सुवास बोक्छन् भनेर। विकौटे फूलहरूमा म मेरो भावनाहरू कसरी समेट्न सक्थेँ र? त्यसैले सुन्दर शब्दहरूमाझ सोझा भावना समेटेर तिमीसम्म तिर चलाउँदै छु, मायाको नडराउनु ल! ओखती बोकेर आएको छ प्रेमको, तिम्रो एक्लोपन मेटाउने।
हाम्रो पहिलो भेट क्यान्टिनमा कि कक्षामै आँखा जुध्यो? होस, विगत बिर्सिनका लागि बनेको हो र भविष्य श्रृंगार्नका लागि। भविष्यसँगै श्रृंगार्ने मौका पाउन यो चिठी तिमीसम्म पुर्याउँदै छु।
सायद साथ धेरै समयको भयो हाम्रो, एकअर्कालाई त्यो ढंगले बुझ्ने मौका पायौं जुन ढंगले सायद हामी आफैलाई चिन्दैनौँ वा चिन्न खोजेनौँ। सबेरै आँखा मिच्दै शुभ बिहानीदेखि आँखा मिच्दै नै शुभ रात्रीको सन्देशमै सायद माया समेटिएको थियो।
तिमी मायालाई कसरी परिभाषित गर्छौ मलाई थाहा भएन। तर माया मेरो लागि एउटा जिम्मेवारी बहन गर्नु जस्तै हो, तिम्रो मेरो सुन्दर भविष्य बनाउने माध्यम भनौं। म चहान्नँ यो माया पूर्णिमा र औँसीमाथि समेटियोस्। म त पृथ्वीले सूर्यको चक्कर लगाउन्जेल जीवित सामीप्यताको आभाष चहान्छु।
म चहान्छु तिम्रो दुई आँखाहरू माझ समेटिन र न्यानोपनको आभाष पाउन। नपरोस् मलाई लपेटिन तिम्रो बदनमा, नपरोस् मलाई चाख्न तिम्रा ओठहरू मायाको आभाष पाउन। म चहान्नँ तिम्रा नजरमा लड्न, तिम्रा नजर मसँग ठोकिँदा मेरो मुटु यसरी धड्कियोस्, जसरी आमाको काखमा पल्टिँदा धड्कियोस्।
तिमी तिम्रो मुटु तिमीसँगै राख, म मसँगै राख्छु। मुटु साटेर के प्रेम? आऊ, तिमी र म मुटु नसाटी प्रेम गरौं। अनगिन्ती प्रेम, अमर प्रेम, अजीव प्रेम, असल प्रेम। आऊ, तिमी र म मिलेर हाम्रो भविष्यको एउटा सुन्दर खाका बनाऔं सँगै अनि दुई मुटु मिलेर बहुमतमा पारित गरौँ।
म तिम्रो प्रणय होइन, तिम्रो भविष्यको त्यो कुनामा बन्न चहान्छु जुन कुनामा तिमीलाई खुसी हुँदा हाँस्न र दुःख हुँदा रुन हिच्किचाउनु नपरोस्। चिसोमा आँखाहरूले सेकाउला एकअर्कालाई 'तिमी' र 'म' लाई एकअर्काको जिम्मा होइन, हामीलाई हाम्रो जिम्मा लगाउँ ल?
के मलाई हक दिन्छौँ तिमी मेरा कविताहरूमा समेट्न? के मलाई हक दिन्छौँ तिम्रो सुन्दर कथाको एक मुख्य पात्र बन्न? मेरो 'म' मा 'तिमी' जोडेर तिमी र म हामी बनौँ न ल?
उहीँ तिम्रा आँखाहरूमा हराउने र भाकाहरूमा लठ्ठ पर्ने व्यक्ति।'
कति मिठा शब्दहरू थिए। मनबाट निस्केर मनमा नै छुने। तर सायद सबैको सही समय हुन्छ। मलाई यो समयले त्यो भावना बुझ्ने अनुमति दिएन सायद। तर पनि मैले नबुझेको कुरा उसले बुझ्थ्यो। हाम्रा न भावना, न सोचाइ मिल्थ्यो। यो मेरो जवाफबाट पनि पुष्टि हुन्छ। तर मैले बुझ्न नसकेको मलाई उसले बुझ्थ्यो। त्यसैले ऊ मलाई अझै भन्ने गर्छ- 'मुटु नसाटी प्रेम गरौँ ल!'
कति भिन्न रहेछ है हाम्रो विचार? तिम्रो र मेरो उद्देश्य एउटै छ तर गन्तव्यसम्म पुग्न हिँड्ने बाटो फरक, ठ्याक्कै राजनीतिक पार्टीको जस्तै। अब भन त भिन्न शैली र विचार भएको हाम्रो कुरालाई कसरी बहुमतबाट पारित गर्नु र खै?
भावना व्यक्त गर्ने माध्यम शब्द हो तर केवल शब्द मात्र होइन। ती शब्दहरूले व्यक्त गरेका अमूल्य भावनालाई जीवित स्वरुप दिन ती विकैटे फूलहरूको ठूलो भूमिका हुन्छन्। माया जीवनकालमा प्रण लिएर वा लक्ष्य सम्झेर हासिल गर्ने ट्रफी होइन, विशुद्ध भावना हो। मलाई त्रास एउटा मात्र के कुराको छ भने कतै तिमीले ओखती बनाएर पठाएको तिम्रो मायाले लागुपदार्थको काम त गर्ने होइन!
हाम्रो पहिलो भेटभन्दा पनि कुन भेटले हाम्रो मनमा त्यो नयाँ तरंग र मायाको फूल फुलाउन सुरु गर्यो भन्ने पल महत्वपूर्ण हुन्छ। विगतको हाम्रो कार्यले नै भविष्य बनाउँछ भन्ने नि होइन। भविष्यको श्रृंगार गर्न विगत सम्हाल्नु नै पर्छ। आफूलाई नै बुझ्न नसकेको हामीहरूले कसरी एर्काअकालाई बुझ्यौ भनेर विश्वस्त हुन सक्छौँ र?
पानीको फोकामा भएको खोक्रोपन सरहको खालीपन त सधैँ रहिरहन्छ जसको बारेमा न बुझ्न सकिन्छ न देखिन्छ। शुभ बहानी र शुभ रात्रीसम्मको संवादलाई मात्र मायाको रुपमा परिभाषित गर्न कसरी गर्न सकिन्छ र होइन?
हाम्रो मायाको परिभाषा नै फरक छ। मेरो लागि माया जिम्मेवारी मात्र होइन। किनकि जिम्मेवारीमा बाध्यता हुन्छ जुन मायामा हुँदैन। कुनै कुरा त्याग्दा, अपनाउँदा त्यहाँ आफ्नो चहाना, इच्छाजस्ता भावना हुन्छन्। भविष्यको मात्र पनि कसरी भनुँ मायालाई जबकि वर्तमानमा नै मायाको कुनै ठेगाना छैन।
यो संसार र समय, दिन र रातमा समेटिएजस्तै सूर्यको परिक्रमा पृथ्वीले गरेजस्तै माया त एकनास हुँदैन। यो त हुरीबतास जस्तो हो त कहिले सलसल आफ्नो गतिमा बगेको खोला। प्राकृतिक नियमसँग मायालाई दाँज्छौ भने त माया जिम्मेवारी नै बन्दै जान्छ।
तिमी मायालाई समेट्न चहान्छौ, म यसलाई फराकिलो बनाउन चहान्छु जहाँ वचनबिना भावना महसुस होस्, शब्दबिना मेरो खुसी र पीडाको मूल्यांकन होस्। मेरो मायाको परिभाषा नै धेरै फरक छ।
म भूत र वर्तमानको बली दिदैँ मायाको भविष्य श्रृंगार्ने हिम्मत गर्न सक्दिनँ। अहिलेको परिवेशमा तिमी र म मिलेर हामी र हाम्रो होइन म, मेरोबाट हाम्रो बन्ने गर्छ। यो वर्तमानको हाम्रो भिन्नता। तिमी र मैले बुझ्ने मायाको भिन्नता। त्यहीँ जसले मायाको द्वारबाट भावना निकाल्छ।