म को हुँ?
यो प्रश्न खुब आइरहन्छ
र म सधैं कुनै पहाडजस्तै अवाक रहन्छु
कहिले लाग्छ हजुरबाको विश्वास हुँ
हजुरआमाको आश हुँ
बाको सपना हुँ
आमाको खुसी हुँ
दाजुको भरोसा हुँ
आफन्तको सम्झना हुँ
साथीको साथ हुँ
तर फगत यो कुनै घाइते बाघले आहार देखेर
मनमा कल्पेका कुराजस्तै न हो मेरो
म त केबल आफ्नै सुगन्ध खोज्दै हिँडेको मृगजस्तै
आफैलाई खोज्दै हिँडेको मान्छे
हरेक ठाँउमा आफूलाई फरक-फरक रुपमा देख्दा लाग्छ
छेपाराहरू खुब डाहा गरिरहेछन् मेरो
म खेल प्रेमीहरू कहाँ पुग्दा दर्शक बन्छु
मन्दिर पुग्दा एकाग्रह भक्तजन बन्छु
विद्यालय पुग्दा शालिन विद्यार्थी बन्छु
साथीहरू भेट हुँदा गफको सागर बन्छु
घरमा अबोध बच्चा बन्छु
फरक फरक पात्र मिसिएर बनेको एउटा 'म' देख्दा
फरक फरक रङ्ग मिसिएर बने पनि सेतो देखिने सूर्यको किरण सम्झन्छु
कहिलेकाहीँ सम्झन्छु म रोशन हुँ
उहीँ सबैले बोलाउने गरेको रोशन
तर फेरि सम्झन्छु, के न्वारनभन्दा पहिला मेरो अस्तित्व थिएन त?
म थिइनँ त?
अनि फेरि आउँछ उहीँ प्रश्न-
म को हुँ?