‘बुढा उठेर खाना बनाउनु है! ६ बजिसक्यो आज साउनको अन्तिम सोमबार व्रतको स्याङ्गे गर्नुछ, म मन्दिर गएँ।’ भन्ने आवाज मस्तले सपना देखिरहेको मेरो कानमा एक्कासि ठोकिन पुग्यो।
म हिजो साँझ साथीहरूसँग अवेरसम्म बसेकाले बूढीको ब्रतभन्दा मेरो ह्याङओभर र निन्द्रा प्यारो थियो त्यसैले मैले थाहा पाए पनि थाहा नपाएझैं गरेर चुपचाप रहें।
अझ उनले भन्दै थिइन्, ‘आज साँझबाट त बुढा मजाले हामीले माछा मासु र अण्डा खान सक्छौं नि!’
निदाएको नाटक गरिरहेको म मुसुमुसु हाँसिरहें तर उनलाई देखाउन भने सकिनँ।
उनको व्रत मेरै लागि थियो। उनले भनेअनुसार मसँग बिहे गर्नुपूर्व शिवजस्तै पति पाऊँ भनेर ब्रत बस्थिन् रे! बिहेपछाडि चाहिँ गोपिनीहरूको नजर श्रीमानमा नलागोस् भनेर।
यसकारण पनि उनी ब्रत बस्दा एउटा नियम छ- उनले त माछा, मासु र अण्डा लगायतका मांसहारी चिज खाँदिनन् र मलाई पनि नखानु है भनेर बिहान अफिस जाँदा र अफिसबाट आउँदा हरेक पटक सम्झाइरहन्छिन्। उनलाई यो कुरा थाहा छैन कि श्रीमानले पिउँदा मासुजन्य चिज खान्छ भनेर।
फेरि आज साँझबाट मांसहारी चिज खान पाइन्छ नि भन्ने उनको मनोभावनाले के संकेत गर्यो भन्ने कुराले अर्थ राख्छ होला र मैले उनलाई पटक-पटक भनेको कुरा सम्झें।
बुढी तिम्रो स्वास्थ्यलाई असर पर्नेगरी मेरा लागि व्रत नबस तर उनले मेरो सुझावको कहिल्यै वास्ता गरिनन्। बरू ब्रतको संख्या उनले हरेक वर्ष क्रमश: थप्दै गइन् श्रीकृष्ण जन्माष्टमी, तीज, पञ्चमी, शिवरात्री र साउने सोमबार।
म भने बच्चैदेखि अलिक भौतिकवादी मान्छे भएकाले पनि श्रीमती ब्रत बसेको देख्दा साह्रै अध्यात्मिक श्रीमती मेरा लागि नितान्त अनौठो लाग्ने गर्थ्यो र आज साउनको अन्तिम सोमबार बूढीको ब्रत स्याङ्गे गर्नेबेला साथीहरूले भट्टी बोलाए भने के आइडियाले घरबाट निस्कने होला भनेर सोच्दै थिएँ।
मेरो मोबाइलको घण्टी टिनिनी बज्यो। साथी कृष्णको फोन कल आएको रहेछः हेलो
‘हेलो सुशान्त आज पटानीको सोलमारी जान पर्छ है’
‘एकछिन पछि फोन गर न मूला बूढी यहीँ छ।’
कृष्णले बूढी नाम सुन्नबित्तिकै फोन काट्यो।
मलाई चरर पसिना आयो।
बूढीको डरले भन्दा मैले आज पनि उनलाई साथ दिन नसक्ने कुरा श्रीमतीले थाहा पाइन् भनेर।
मलाई हिजो साँझको ह्याङ्गओभरले छोडेको थिएन, त्यसमा फेरि एकाबिहानै कृष्णेले डुबायो।
यही सोच्दै जेसुकै होस् भनेर उठें तर श्रीमती मन्दिर गइसकेकी रहेछिन्। मन आनन्द भयो।
अब खाना बनाउनु पर्नेछ, त्योभन्दा अघि म दाँत ब्रस गर्दै धारामा निस्कें।
आँखा झुम्म थिए। शरीर झमझम भैरहेको थियो। तै पनि आज श्रीमतीका लागि भए पनि चोखो पानीले शरीर भिजाउनु पर्छ भन्ने लाग्यो।
नत्र मेरो एउटा खराब बानी के छ भने पिएको बिहान कहिल्यै नुहाउने गर्दिनथें।
टाउकोमा नुहाउनलाई पानी हाल्न खोजिरहेको थिएँ। त्यतिकैमा कतैबाट आवाज आयो- सुशान्त बाबु! सुशान्त बाबु!
पल्लाघरे उजेली काकी रहेछिन्। उनलाई ठम्याएपछि मैले केही सोच्दै नसोची भनें- काकी तपाईंको पनि आज व्रत स्याङ्गे गर्नुछ होला है?
उनी केही बोलिनन् एकछिनपछि- नुहाएर मेरो घर आउनुस् है बाबु?
मैले प्रतिउत्तरमा टाउको हल्लाएँ, उनी गइन्।
मैले हत्तपत्त नुहाएँ अनि उजेली काकीको घरमा गएँ।
उजेली काकीको दुई छोरामध्ये जेठो(विवाहित) वैदेशिक रोजगारमा दक्षिण कोरिया छन् भने कान्छो(अविवाहित) नेपाली सेनामा कार्यरत छन्।
उनका श्रीमान कान्छो छोरा ४ वर्षको हुँदा नै परलोक भएका रे! श्रीमानको परलोकपछि उजेली काकीले दुखजेलो गरेर छोराहरूलाई हुर्काइन्।
अहिले उनलाई दुवै छोराले सबै कुरा पुर्याएर राखेका छन्। फेरि किन के समस्या पर्यो र उनले मलाई बोलाइनन्। मैले खुट्याउन सकिनँ।
र चुपचाप उनको दैलोको घण्टी बजाएँ- उजेली काकी ढोकासम्म आइन्। उनी आउन बित्तिकै मैले सोधें- काकी शोभा बहिनी खोइ?
‘तिम्री बूढीसँग मन्दिर गाकी छिन् त।’ उजेली काकीले भनिन्।
‘ए ए’ भन्दै मैले टाउको हल्लाएँ।
बाबु शोभाको कोठामा आउनु न भनेर भित्र बोलाइन्।
म अन्टसन्ट परें- शोभाको कोठामा जाने कि नजाने? जाने त किन जाने? नजाने त आमाजस्तै उमेरकी मान्छेले भनेको कसरी नमान्नु?
फेरि एक महिलाको कोठा त्यसमा पनि उसको श्रीमान बाहिर छ। अरूले देखिहाले भने के भन्लान्!
यतिबेलै राधिका(मेरो श्रीमती) आइन् भने? अनेक प्रश्न मनमा खेलिरहे तै पनि म उजेली काकीको आदेश मानेर शोभाको कोठामा छिरें।
कोठामा प्रवेश गर्दैगर्दा एक खालको बासनाले म आनन्दता लिइरहेको थिएँ। ढोकाबाट कोठाको चारैतिर आँखा घुमाएँ।
नेपालीमा एउटा उखान छ साउन महिनामा आँखा फुटेको गोरुले सदैव हरियो देख्छ रे! सोही उखान लागू हुन्थ्यो शोभाको कोठामा पसेपछि।
कोठाको भित्ता पूरै हरियो रङले पोतिएको थियो, दराजको रङ पूरै हरियो थियो, हरिया पहिरन (चुरा, सारी, ब्लाउज आदिले)ले भरिएको थियो। उसो त मेरो कोठा पनि साउने हरियोले नभरिएको त होइन तर शोभाको कोठाजति सजिसजावट चाहिँ थिएन।
उजेली काकीले आफ्नो बुहारीको कोठामा किन बोलाइन् थाहा भएन तर मैले चाहिँ आफ्नो कोठा र शोभाको कोठा तुलना गर्न लागें। आफ्नो श्रीमती र शोभाको रहनसहन दाँच्न खोजें। आकाश पातल जतिकै फरक लाग्यो।
म शोभाको कोठा र सजावटका सामान हेरेर टोलाइरहेको थिएँ। उजेली काकीले बोलाइन्- बाबु जाऊँ अब बैठक कक्षमा बसौंला यहाँको चर्तिकला देखिहाल्नु भो। अहिले फेरि महारानीको सवारी भयो भने अनेक कुरा छोरालाई लगाउँछे।
उजेली काकीको शब्दलाई मैले दुई तरहले अर्थ्याउन थालें। एक उहाँको बुहारीलाई हेर्ने परम्परावादी सोचमा परिवर्तन हुन नसकेको रहेछ, दुई बुहारी(शोभा) को केही सामाजिक विचलनमुखी स्वभाव रहेछ।
यिनै यिनै कुराहरू सोच्दै म उजेली काकीसँगै बैठक कक्षमा गएँ।
उनी मलाई छोडेर भान्सातिर पसिन्। म फेरि उनको बैठक कक्ष चारैतिर नियाल्न लागें। बैठक कक्ष पनि सजावटमा कम त थिएन तर शोभाको कोठाजस्तो हरियो सजावट चाहिँ थिएन।
मैले यी दुवै कोठा नियालेपछि पनि मलाई पत्तो थिएन उजेली काकीले मलाई केका लागि बोलाइन् भनेर।
म अचम्मित चाहिँ थिएँ, यो घर यौटा एकल आमाको संघर्ष हो, कथा हो, परिवर्तन हो। यी कुरा याद गर्दा पनि गौरवान्वित हुने खालका छन्, प्रेरणादायी छन्।
यिनै कुराले मेरो मनमा यो या त्यो बहानामा खेलिरहेका थिए। उजेली काकी चिया लिएर आइपुगिन्-ल बाबु आइपुग्यो चिया खानुस्।
मैले र उजेली काकी सँगसँगै चिया लिन थाल्यौं। उजेली काकीले मतिर हेर्दै सोधिन्- बाबु कस्तो लाग्यो त हाम्रो घर?
‘गजब राम्रो छ नि काकी।’
‘अनि शोभाको कोठा नि?’
म हच्किएँ। उनले के सोध्न खोजेकी हुन् शोभाको कोठाको बारेमा अनेक कुरा मनमा खेल्न थाले। तै पनि भनिदिएँ- राम्रो छ नि काकी।
‘अनि काकी तपाईंले खास मलाई केका लागि बोलाउनु भको नि?’ मैले सोधें।
‘सुन्नुस् बाबु मलाई तपाईंको काकाले समयमै विधुवा बनाएर छोडे त्यसपछिका संघर्ष कति गरियो यो कुरा तपाईंले पनि आकलन गर्नुभयो होला भन्ने मैले बुझेको छु। हो म महिला हुँ, महिला भएर महिलाकै विरोध गर्नुहुँदो रहेछ भन्नुहोला, कतिले त मलाई परम्परावादी महिला पनि भन्छन् तर कुरा के हो भने बाबु महिला महिलाको हकका पक्षमा बोल्नुपर्छ। महिलाले देखाउने कुहर्कतका पक्षमा होइन।’
‘मतलब काकी मैले बुझिनँ नि!’ मैले प्रश्न गरें।
‘मतलब मेरो बुहारीको कोठा तपाईंले देखिसक्नु भो नि बाबु।’
‘कोठा त के छ र काकी साउनको महिनामा हरियो वस्तु पहिरन गर्नु त हाम्रो संस्कृति हो नि होइन र?’
‘संस्कृति हो बाबु तर संस्कृति विकृति बनाउनुलाई संस्कृति भनिँदैन।’
मैले उजेली काकीका शब्दजाल सहितका जवाफमा साँच्चिकै जवाफ पाउन सकेको थिइनँ। त्यसैले पुनः सोधें- भन् नखोजेको मतलब?
‘हो हामी नेपाली संस्कृतिका धनी छौं। पुजारी हौं तर यसो भन्दैमा परम्परादेखि चलिआएका साँस्कृतिक पहिचान मेटिनु हुँदैन। तिनको नमेटिने गरी संरक्षण गरिनुपर्छ बाबु। अनि सुन्नुस् बाबु, हामी हाम्रो पालामा पनि साउनको सोमबारे ब्रतमात्रै नभएर अहिले जे जति ब्रत बसिन्छ सबै बसिन्थ्यो।’
‘अनि काकी?’ मैले उत्सुकतापूर्वक बीचमै उजेली काकीको कुरा काटें।
‘बिहे गरेको पहिलो वर्ष त साउन महिनाभर माइतीमा बस्ने चलन थियो। अहिले यो लगभग हराइसकेको छ भन्दा नि हुन्छ। त्यतिबेला हामी अरूलाई देखाउन भन्दा पनि शुद्ध मनले पानीसमेत नखाएर ब्रत बस्थ्यौं। अहिले ब्रतका लागिमात्रै ब्रत बसिन्छ।’
‘काकी के पानी नखाएर स्वास्थ्य बिगारेर ब्रत बस्नु ठिक हो र?’ मैले फेरि काकीलाई बीचमै रोकें।
‘मतलब त्यो होइन बाबु, स्वास्थ्य बिगारेर ब्रत बस्ने होइन तर कसैलाई देखाउन, फेसबुक, टिकटकमा राख्न अथवा तेरा लागि ब्रत बसेको छु भनेर घुर्की लगाउन अहिलेका महिलाहरूको ब्रत बस्ने लाइन छ। यो फेसन बनेको छ। संस्कृति फेसन होइन नि बाबु। हो यो कुराको उदारहण मेरो बुहारी हो। तपाईंले बुझ्नुभयो होला।’
मैले ‘ए, ए’ को संकेतमा टाउको मात्र हल्लाएँ।
पुनः उनले जोडिन्- ब्रत बस्दा केही न केही सोचिन्छ नै तर कसैलाई मैले तेरै लागि ब्रत बसेको भनेर घुर्की लगाउनु हाम्रो संस्कृति होइन।
उजेली काकीका कुराले कतिबेला मेरो शरीरमा काँडा जरजर रोपेझैं हुन्थ्यो त कतिबेला यी बूढी पुरातनवादी सोचकी रहिछन् भन्ने अनुभव हुन्थ्यो।
म चुपचाप उनको कुरा सुनिरहें उनले भनिरहिन्।
‘अनि बाबा अरू पैसा कहिले पठाइसिन्छ त?’ कसैको फोनमा कुरा गरेको आवाज हामी बसेको कोठासम्म आइपुग्यो।
उजेली काकीले झ्यालबाट बाहिरतिर हेर्दै भनिन्- ए महारानीको सवारी भएको रहेछ।
त्यसपछि हामी दुवै चुपचाप। फोनमा बोलेको आवाज सुनिरह्यौं।
‘अनि के बाबा मैले तपाईंको लागि भनेर कति कठोर ब्रत बसेको छु नि’
‘साउन महिनाभर नपत्याए मेरो टिकटक हेरिस्यो ल!’
‘हाम्रो कोठा पनि पूरै हरियो बनाछु। तिमी पो मलाई माया गर्दैनौं त।’
शोभाले श्रीमानसँग कुरा गरिरहेको अनुमान गरें मैले। उताबाट के बोले सुनिएन तर यताको आवाज प्रष्टै सुनिन्थ्यो।
‘तिमीले के गर्छौ मलाई! पैसा नपठाए म अर्कोसँग हिन्दिन्छु।’
‘अनि तिम्रो बूढी आमालाई बिना पैसा कसरी पालूँ हँ मैले?’
‘ए ए तँ पैसा कमाउँछु भनेर ठूलो बनेको।’
सम्मान सिधै तिमीको बाटो हुँदै तँ सम्म झर्यो।
उजेली काकी र म चुपचाप उनीहरूको फोन वार्तालाप सुनिरह्यौं।
‘ल राख् अब! म तेरो लागि भनेर आफ्नो शरीर कमजोर बनाई बनाई ब्रत बस्ने! चाहिँदैन तेरो पैसा सैसा म हिँडें अब तेरो घरमा एक मिनेट नि बस्दिनँ।’
यति भनेर शोभाले फोन काटिन् र आफ्नो कोठामा पसेर चुकुल लगाई बसिन्।
मलाई अचम्म लाग्यो।
‘यो दैनिक हर्कत हो बाबु अचम्म मान्न पर्दैन। त्यसै म काँ संस्कृतिका कुरा गर्छु र!’ उजेली काकीले भनिन्।
मलाई भने अनेक तरहका कुराहरू मनमा खेलिरहेः के सबै महिलाहरूको ब्रत बस्ने शैली र उद्देश्य शोभाको जस्तै हो त? अनि मेरो श्रीमति राधिका?
म मलिन अनुहार लगाउँदै आफ्नो घरतिर लागें।
राधिका पनि शोभासँगै मन्दिरबाट आएकी रहेछिन्। मलाई के सोचिन् थाहा छैन तर मैले चाहिँ उनको अनुहारमा पनि शोभा देखिरहेँ र सिधैँ उनीसँग नबोली बेडरूममा गएर पल्टिएँ।
राधिका थालमा टीका र प्रसाद लिएर कोठामै आइन् र सोधिन्- स्याने (मेरो कान्छो छोरा) को बा के भयो सन्चो भएन?
मैले चाहिँ मेरो बाबा सन्चो होइसिन्न भनेझैं सुनेँ।
‘केरे! केरे! के फकाउन पर्यो र! सिधै भन न मलाई नि शोभाको जस्तै चाहियो भनेर।’ मैले केही नसोची भनिदिएँ।
‘आज के भएछ स्यानेको बाबालाई हिजोको ह्याङ्गओभर सकिएको छैन होला है। नुहाएर आउनुस् आज मेरो ब्रत पनि स्याङ्गे गर्नुछ नि।’
मैले चाहिँ ‘जा नुहाएर आइज तेरा साथीहरू काँ गतिला छन् तँ गतिलो हुन्छस मैले तेरा लागि भनेर ब्रत बसेको तैंले के बुझ्छस् र?’ भनेको सुनेँ र रन्थनिँदै बाथरूम पसेँ।
नुहाएर आइसकेपछि बल्ल था भो मत राधिका भनेर शोभालाई देखिरहेको रहेछु।
त्यसपछि राधिकाले मलाई टीका लगाएर प्रसाद दिइन त्यसपछि क्रमशः घरका अन्य सदस्यहरूलाई।
मलाई राधिका र शोभा अथवा सबै महिला एकै हुन् भन्ने आजभन्दा अगाडि लागिरहन्थ्यो तर यो होइन रहेछ यो कुरा आज पुष्टि भयो।
राधिकाको ब्रत स्याङ्गे गरेपछि खाना खानुपर्छ भनेर हामी भान्सामा पस्यौं। तर खाना पकाउने मान्छे नै उजेली काकीसँग गफिएपछि कसले पकाउँछ खाना? अब चाहिँ मलाई राधिकाले के भन्लिन् भन्ने डर लागिरह्यो। उनले भनिन्- ए खाना पकाउन भ्याउनु भएनछ है! ठिकै छ दुवै मिलेर बनाऊँ अब अनि खाम्ला।
यतिपछि मलाई प्रष्ट थाहा भो कि पुरूष हुनुको नाताले ममा पुरूषार्थको दम्भ अधिक रहेछ।
मैले आम महिलाहरूलाई एउटै डालोमा हाल्नुको कारण पनि यही रहेछ, बिहे भएको यत्रो वर्ष (सात) मा पनि मैले मेरै श्रीमतीलाई नजिकबाट चिनेको रहेनछु। सबै महिलाहरू राधिकाजस्ता नहोलान् तर सबै महिलाहरू शोभाजस्ता मात्रै पनि हुँदैनन्।