कविता
ऊ सबै मेरो थिएन
ऊ अलि अलि सबैको थियो
मैले उसलाई बन्धी बनाएकी सायद
ऊ मबाट टाढिन खोज्दै थियो।
मैले सोच्दथें,
प्रगाढ माया गर्दथें उसलाई
उसलाई रित्याएर आफ्नो बनाउनु पर्छ
तर ऊ आफैंमा पूर्ण थियो!
उसले सबैलाई आफ्नो बनाउँदै थियो।
मेरो गल्ती त्यो सोचको थियो
जसले सधैं जितको शिकार खोज्थ्यो
तर जित,
ऊ मसँग भएर पनि
ऊ उसको सबैसँग हुनुमा थियो।
मायाको परिभाषा फेरिएछ कि,
मैले नजानेको प्रयास हो यो ?
जति म नजिकिन खोज्दथें
त्यति ऊ टाढिन खोज्दथ्यो
बुद्धिमानी त उसलाई आजाद छोड्नमा थियो
तर,
उसलाई बन्धनमा बाँधेकी रहिछु
उसलाई ऊ बाटै अलग्याउँदै रहिछु....।
आज बुझ्दैछु,
सम्बन्धमा हुनु भन्दा पनि
सम्बन्धमा बाँच्नु ठूलो रहेछ.....।
उसलाई आफ्नो बनाउनु भन्दा पनि
उसलाई उसकै बनाउनु ठूलो रहेछ.....।
आफ्नो प्रेममा डुबाउनु भन्दा पनि
एक अर्कामा उतार्नु ठूलो रहेछ......।