कपुरधारा चोकमा बनेपालीको चिया पसलसँग धरै मान्छेको जस्तै मेरो पनि तीता मीठा स्मरणहरू छन्। तीन दशकभन्दा बढीको इतिहास बोकेको चिया पसल आजका दिनसम्म पनि उस्तै रैछ।
दुई दशक अगाडि यो चिया अड्डा हाम्रो सबैभन्दा सहज र प्रिय भेटघाट स्थल थियो। साथीभाइ जम्मा भयो, चिया, चुरोट, दुनोट, पाउरोटी, पप आदि खायो अनि बेतुकका गफ, अट्टहाँसले समय बितायो। कति मज्जाको दिन थिए, हुन्थे।
बनेपाली दाइ हाम्रो हल्लाले आजित हुन्थे होला तर पनि उनले कहिल्यै कुनै नराम्रो प्रतिकृया जनाएनन्। हरेक दिन एक कप चिया खाएर पचास कप गफ गरेर बस्ने हामी आलाकाँचा ठेट्ना विद्यार्थीको अल्लारेपनलाई, सामान्य सम्झी माफ गरेका होलान्, अहिले आएर बल्ल बुझियो। आज ठमेल हुँदै सामाखुसी जाँदै थिएँ, त्यही बनेपाली चिया अड्डा अगाडि केहीबेर ट्राफिक जाममा परेँ अनि दुई दशकअगाडि घटनाको परिदृश्य मानसपटलमा घुम्न थाल्यो। विगतका ती मधुर स्मरणले फेरि एक पटक रोमाञ्चित र भावुक बनायो।
त्यतिबेला हामी त्रिचन्द्र कलेजमा विज्ञान संकायको विद्यार्थी थियौं। हुन त राम्रै पढ्थ्यौं, अनुशासित पनि थियौं नै तर कच्चा उमेरको कारणले होला हुलको मानसिकता बढी नै थियो। गुलाबी उमेरको मान्छे न थियौं, जिम्वेवारी बोध कहाँ हुनु, अपरिपक्व थियौं।
उपत्यका बाहिरबाट शिक्षा र अवसरका लागि क्यापस पढ्न आएकाहरूका प्रतिनिधि अनुहार हामीहरू गल्कोपाखा, नयाँ बजार, म्हपी, कपुरधारा, रानीबारी तिर छरिएर डेरामा बस्थ्यौं तर संगमस्थल चाहिँ कपुरधारा चोकको बनेपाली चिया पसल थियो। एक मन त लाग्यो झरेर पसल जाउँ, पुरानो सम्झना ताजा गरौं तर बीच बाटोमा सवारीसाधन छाडेर जान सकिनँ।
मनमनै सोचेँ, यो पसल पुरानै बनेपाली दाइले नै चलाउनु भएको छ कि अरु कसैले? पसलमा केही मान्छे चिया चुरोट खाँदै थिए, उनीहरूलाई देखेपछि झट्ट मन मस्तिष्कमा पुराना दृश्य सञ्चारित हुन थाले। ट्राफिक जाम घटाउन ट्राफिक प्रहरी र केही स्वयंसेवक निरन्तर लागिरहेका थिए। त्यतिबेला एकजना दिदी त्यहाँ ट्राफिक सुचारु गर्न हरेक दिन सेवारत हुन्थिन्। ती दिदीलाई पनि सम्झें। अहिले ती दिदी कहाँ होलिन्?
क्यापसमा प्राक्टिकल नभएको दिन हाम्रो कक्षा दश बजे अगाडि नै छुट्थ्यो अनि हामी चार/पाँच जना हुल बाँधेर हिँड्दै लैनचौर हुँदै आआफ्नो डेरा तिर जान्थ्यौं। हाम्रो यात्रा आम मान्छेको भन्दा फरक हुन्थ्यो, फुक्काफाल दैनिकी र मस्त र अस्तव्यस्त पारा देखेर बाटोमा भेटिने मान्छेहरू दङ्ग पर्थे होला। अहिले थाहा भयो १९/२० वर्षका हामी चाहिनेभन्दा बढी गैह्रजिम्मेवार रहेछौं।
गल्कोपाखा मोडमा पुगेपछि हामी अलि सम्हालिन्थ्यौं। त्यहाँ प्राय: विद्यागृह अध्ययन गर्ने एक हुल केटीहरूसँग हाम्रो जम्काभेट हुन्थ्यो। हामी कलेजबाट फर्कने र उनीहरू विद्यालय आउने समय एउटै पर्थ्यो अनि जानाजानी बाटो काट्ने स्थान एउटै पार्थ्यौं। एकअर्काबीच परिचय थिएन, मात्र निमेषभर हेराहेरी हुन्थ्यो। त्यही सानो पलको देखादेख हाम्रो लागि निकै महत्वूर्ण पल बन्थ्यो।
कहिले बाटो वारिपारि, कहिले बाटो बीच भने कहिले अलि पर हाम्रा आँखाहरू बोल्थे। त्यही अमूर्त आँखाको भाकाले गर्दा फरक भाव र मिठास सञ्चार भएको भान हुन्थ्यो। किशोरावयका रङ्गीन सपना साँच्ची नै मीठा थिए, त्यतिबेला हेक्का राखिएन अहिले महसुस हुन्छ।
एकअर्कालाई हेर्ने अनि सपना देख्ने क्रम पाँच/छ महिना चल्यो। हाम्रो मानसपटलमा केही अनुत्तरित प्रश्नहरू जहिले पनि रहन्थे, हामीले जस्तै उनीहरूले सोच्छन होला कि सोच्दैनन् होला? हामीलाई जस्तै उनीहरूलाई पनि भेटुँ-भेटुँ, बोलुँ-बोलुँझैं लाग्छ कि लाग्दैन होला? हामीले जस्तै यौनिक सपनामा सयल गर्छन् कि गर्दैनन् होला? आदि आदि। तर विडम्बना, न कहिल्यै बोल्न सकियो न सोध्न सकियो। मनको कुरा मन मनै रहे, आवाज बनेर प्रतिध्वनित हुन सकेनन्। हाम्रा प्रश्नहरू उत्तर विहीन थिए, रहे।
त्यही हुलमा एउटी उनी पनि थिइन्। म उनीप्रति अलि बढी भावुक थिएँ। अरुजस्तै चञ्चलपन उनीमा थिएन। अलि शान्त तर निकै चहकिला आँखा थिए। मलाई किन-किन विस्तारित भएर परिधि उनीसम्म बढाउन चाह रहन्थ्यो, तर म विस्तारित हुनै सकिनँ। न मेरो आयतन बढ्यो न क्षेत्रफल, बस जडबत मेरा भावहरू गतिहीन स्थिर रहे।
उनको भावना कस्तो थियो होला? अहँ! थाहा पाउन सकिनँ। उनलाई नभेट्दा मलाई केही छुटेको, कमी भएको, हराएको या बिर्सेको भान हुन्थ्यो। खै उनीमा के त्यस्तो आकर्षण थियो, नजानिँदो पाराले उनको बानी लागेको थियो। उमेर नै त्यस्तै थियो, सायद आकर्षित भए हुँला अनि साथ र प्राप्तिको मोह जागेको होला। जे होस ती कुरा सम्झँदा प्रेमील राहत महसुस चाहिँ हुने रैछ। क्रम चलिरह्यो हामी एकअर्कालाई हेरिरह्यौं। न हामीबीच परिचय भयो न चाहेको र सोचेको जस्तो सम्बन्ध बन्यो। अव्यक्त आकर्षण चाहिँ निरन्तर थियो।
एक पटक हामी बनेपाली चिया पसलमा चिया चुरोट खाँदै थियौं, उनी त्यही बाटो हुँदै कतै जाँदै रहिछिन्। मलाई साथीहरू चुरोट पिउने तरिका सिकाउँदै थिए, जानी नजानी चुरोटको धुवाँ उडाउँदै गरेको देखिनँ। सरासर भित्र आइन्, अलि रिसाएको पारामा मेरो मुखबाट चुरोट तानेर फालिदिइन् अनि कराइन्, 'कस्तो नराम्रो बानी भएको, यसरी चुरोट खाने मान्छे मलाई त पटक्कै मन पर्दैन। अबदेखि चुरोट खाएको देखें भने मारिदिन्छु।'
म अक्कबक्क के गर्ने, के बोल्ने भेउ नै पाइनँ। पहिलो पटक भेट्न खोजेको, बोल्न चाहेको मान्छे भेटिइन्। तर मेरो विडम्बना, उनीसँग सामना गर्न नसक्ने अवस्थामा भएँ। मलाई अपराधबोध भयो। लाजले टाउको झुकाएर चुपचाप बसेँ। उनी फतफताउँदै बाहिर निस्किइन्, म र मेरा साथीहरू एकअर्कालाई हेराहेर गरेर मात्रै चुपचाप बस्यौ। मलाई बल्ल हाम्रो त्यो निरन्तर भेटको अर्थ खुलेको महसुस भयो। हामीबीच आकर्षण होइन, प्रेम रहेछ। अव्यक्त प्रेम।
त्यस घटनाको केही दिनसम्म त म के गर्ने, कसो गर्ने अलमल्ल परिरहेको थिएँ। सोचेँ, गल्ती गरेकै हुँ तर जानाजानी होइन। साथीसंगीको लहलहैमा लागेर गरेको सानो गल्ती न हो। सोचेँ उनलाई भेटेर माफ माग्छु। भन्छु, मलाई साथीभाइले कर गरेर जबरजस्ती चुरोट खुवाएका हुन्, म चुरोट पिउँदिनँ। अब आइन्दा चुरोट छुँदा पनि छुन्न। उनीले अवश्य माफ गर्नेछिन्। खै के भयो, समयले साथ दिएन त्यसपछि दुई/चार दिन उनीसँग भेट भएन।
त्यहीबीच हाम्रो प्रयोगात्मक परीक्षा सकियो। सबै साथीहरू कलेज बिदा भएकोले आ-आफ्ना घर फर्किए, म चाहिँ उनीसँग भेटिन्छ कि भनेर केही दिन काठमाडौँ नै बसेँ। सायद उनको पनि परीक्षा सकिएकोले होला विद्यालय बन्द थियो, भेटिन छाडिन्। कसैलाई उनको बारेमा सोधुँ भने पनि मलाई उनको नाम, थर, कक्षा, ठेगाना केही पनि थाहा नै थिएन। सोधखोज गर्न सकिनँ। नचाहँदा नचाहँदै गह्रुंगो मन लिएर नवलपरासी घर फर्किएँ।
घर गएको केही दिनसम्म मन गह्रुंगो भइरह्यो, रमाउन सकिनँ। आमा भन्दै हुनुहुन्थ्यो, पढाइको भारले यसको बानी परिवर्तन भएछ। कति दिन मन अमिलो पारेर बस्नु, सामान्य बन्नु नै थियो। विस्तारै आफ्नै लयमा फर्किएँ। उनको सम्झना र अन्तस्करणमा समाहित भएका प्रेमील पलहरू थिए।
एकदिन म पढेको विद्यालयमा पूर्व विद्यार्थीको कार्यक्रमको खबर आयो। विद्यालय नजिकैको स्टेशनरीमा जम्मा भएका मान्छेहरू असामान्य समाचारको बहसमा थिए, 'काठमाडौंको विद्यागृहबाट वनभोज कार्यक्रममा गएका विद्यार्थीहरू चढेको बस ब्रेकफेल हुँदा चाँगुनारायण नजिकै दुर्घटना भएर केही छात्राहरूको मृत्यु।'
दुर्घटनाको खबरले मन दुखे पनि समाचार चाहिँ पढिनँ, फर्किएँ। केही पर पुगेको थिएँ फेरि मनमा के कुरा सञ्चारित भयो खै, समाचार हेर्न मन लाग्यो अनि पत्रिका पसल फर्किएँ। कान्तिपुर दैनिक लिएँ। पत्रिकाको प्रथम पृष्ठमा त्यही त्रासदीपूर्ण दुर्घटनाको मूल खबर थियो। समाचार पढ्दै जाँदा मन रुँदै गयो। मृत्यु हुने विद्यार्थीको तस्बिर हेरेँ।
जब मेरा आँखाहरू एउटा तस्बिरमा पुगे, मेरो हात लुलो भयो, कान बन्द भयो, खुट्टा काप्न थाले, मुटुको धड्कन तेज भयो अनि म भुइँमा लडेँ। नजिकै भएका मान्छेहरूले मलाई उठाएर बेञ्चमा राखेछन्। पानी पिउन दिए, केही प्राथमिक उपचार गरे अनि म अलि सामान्य भएँ। केहीबेर आराम गरेँ। मलाई सहायता गर्ने महानुभावहरूलाई धन्यवादसहित 'अलि कमजोर भएकोले रिङ्गटा लागेर लडेको हुँ, अन्य केही होइन, केही भएको छैन' भन्ने कुराको विश्वास दिलाएर घर फर्किएँ।
कान्तिपुरको त्यो हँसिलो उनको तस्बिरबाहेक मसँग अब केही छैन। छन् त केही टुक्रिएका, छरपष्ट, अधुरा र मलिन यादहरू मात्र।
उनीसँग कहिल्यै भेट नहुने भयो। नफर्कने गरी अनन्त यात्रामा हिँडिन्। उनीसँग भेटेर माफ माग्न नै पाइनँ।
मेरो माफी मसँग रह्यो।