विशाल समुद्री तट तहसनहस पार्न सुनामी आँधी अक्सर आउने गर्छ। साँघुरो खहरे पहाडी खोचमा बग्दै गर्दा, बाढीको गतिले नदी बनाइदिन्छ। आगोले दागबत्ती दिएको दाउरा, कोइला बन्छ। सबै कुरामा एउटै कुरा समान छ- सबैको दिन आउँछ, पालो आउँछ।
मेरो जीवनमा पनि पालो चलिरहेको थियो जसको सामर्थ्य चल्न छोडिसकेको थियो। आधी र बाढीको त पूर्वानुमान हुन्छ तर उनको मान राख्दाराख्दै भविष्य बनेको म, पूर्व बन्न पुगेछु। आँधी पछिको कम्पनले तहसनहस भएको एउटा सिङ्गो उदाहरण हुँ म आजको।
जिउँदो हुनु र बाँच्नुमा एउटा मसिनो रेखा छ। म जिउँदो त छु तर बाँचिरहेको पटक्कै छैन। जिउँदो रहन श्वास चल्न पर्छ अनि बाँच्न विश्वास! जीवनमा बाँचिरहन विश्वास जिउँदो हुनपर्छ। अनि ऊसँग हुनपर्छ जसलाई तपाईं प्रेमको भेषले लेप लगाइदिनु हुन्छ।
हिउँदमा भेट भएको थियो ऊसँग। वर्षायाम आउँदासम्म 'तँ त बदलिइस्, पहिलाजस्तो हुन छाडिस्' भन्ने आरोपको कठघराले नमज्जाले समात्यो। परिवर्तन स्थिर छ भन्ने हेक्का उनले राखिदिइनन्। परिवर्तन अस्थिर भएको हेक्का आफूले राखेँ र म पनि उसका लागि एउटै याम बनिदिँदै गएँ।
भित्रभित्रै उकुसमुकस हुँदा पनि शीतल बन्ने कोसिस गरेँ, बेजोड अभिनय गरेँ नाटकीय सम्बन्ध बचाउन। आफ्ना हर सीमा नजिक पुगेँ हेर्नलाई ताकि कतिसम्म मायाको भोकले अन्धो बनाउँछ भनि, कतिसम्म बहिरो बनाउँछ भनि। बाँचेर हेरेँ अन्धो भएरै, थामेन सधैंभरि। अन्ततः लकुवा हान्यो र जिउँदो मात्र रहन पुगेँ।
ट्राफिक संकेतको हरियो बत्तीजस्तै फेसबुकको हरियो थोप्लोदेखि सँगै हिँडेका हामी, हेलो-हाई बन्द हुँदै पहेलोमा रोकियौं, राहतको महसुस पनि नभएपछि रातोमा बन्द हुन गयौं। किन बन्द भयौं? एउटै उत्तर छ- पालो सबैको आउँथ्यो र आउँदो रहेछ पनि। दाउराबाट बनेको कोइला सल्केपछि दाउरै जलाउन थाल्यो। लाउन नजानेपछि जलाउन आफै समय परिस्थिति आउँदा रैछन्।
दुःख र पीडाको आजीवन सदस्य हुँ बाल्यकालदेखि नै। पछि गरिबीको गोत्र पनि जोडिँदै गयो। दशाको वंशावलीको साढेसातौं पुस्ता। सुखको त म जन्मदेखि नै बेजोड दर्शक अनि उनी त्यसैको खेलाडी। उसको वर्तमान जीवन, मेरो सपनाको क्षितिज।
कालखण्डमा बिताइने जीवनलाई कालले नै मृत्युसम्म डोर्याउँछ। मायाको सम्बन्ध गाँस्नेलाई सम्बन्धको माया हुनैपर्छ। सम्बन्ध खर्चिलो चिज हो, बन्न खर्चिएको समय फर्किएर आउन्न र भत्किँदा जीवनभर उपचार नहुने पीडाले सताइरहन्छ।
पीडाको कारागार भित्रको जन्मकैद पाएको कैदी हुँ म। ओझेलमा परेर नफक्रिएको फूल हुँ म। ऊ डाक्टर भएको अस्पतालको बेवारिसे बिरामी हुँ म। समयलाई कुरुवा राखेर ऊबाट उपचार हुने आशामा दिनदिनै चक्कर काट्दैछु। हरेक रात उसका यादहरूको ज्वरो आउँछ अनि उसकै बिम्बले पानीपट्टी गरेर सुत्न खोज्छु। संसार सुत्छ अनि मेरो रात सुत्न खोज्दा खोज्दै बित्छ। आफू अँध्यारो आकाश बनेर, चम्किएकी जून थिई ऊ, उल्का सरि बिलाएर गई।
आँखाभन्दा ठूलो हुन्छ चस्मा, नाडीको गोलाइभन्दा ठूलो हुन्छ घडी तर त्यसो भन्दैमा दृश्य र समय, तिनले दिन सक्दैनन्। ऊभन्दा परिवार ठूलो हो थाहा छ, भविष्य ठूलो हो थाहा छ। त्यसो भन्दैमा ऊ कहाँ पर हुन दिन्छ र यो मस्तिष्कले!
सायद हावा बनिनँ होला। हुन्थेँ त म बिना बाँच्नै नसक्ने हुने थिई ऊ।
आँखाले देखेका सबै कुरा सत्य हुँदैन भन्ने गर्थी, पुर्याएरै छाड्यो भाग्यले। मेरा आँखाले सदैव ऊ सँगकै भविष्य देख्थ्यो। मागेको कुरा सबै पुग्ने भए त संसार के हुन्थ्यो भन्थी। हो रैछ! ऊ नै थिई मैले मागेको संसार। बाटो हिँड्दै गर्दा हातका औँलाबीच कस्सिएर पकड्ने गर्थी तर त्यसो गर्दैमा हत्केलाका रेखाहरू कहाँ बदलिँदा रहेछन् त अनि कहाँ फेरिँदा रहेछन् त रेखाले देखाएका भाग्यका दुर्भाग्यहरू।
म तिम्रो मिसेस हुँ भनेर भन्दैमा कहाँ पक्को हुँदो रैछ त सम्बन्ध जब विवाहको पत्रमा सुश्रीको श्री अर्कै भएपछि। मायाको विश्वास दिलाउन र जताउन हात काट्ने र मर्ने धम्की दिइँदैमा कहाँ पूरा हुँदो रहेछ! जब जीवन काट्ने र सँगै मर्ने वाचा कोही अरुसँगै गरिसकेपछि।
जीवनका अनेक आयामहरू हुन्छन्। अलग आयामका एउटै स्थितिले हाम्रो भेट गरायो र फरक कथाले विछोड गरायो। जीवनमा उस्तै कथा भएका पात्रहरूले मात्र बुझ्ने गर्छन् एकअर्काको पीडा। हुम्लाको ढाकरको पीडा राजधानीको गल्लीले कहिल्यै बुझ्दैन।
जीवन अनुभव र सिकाइको श्रृंखला हो। समयले बनाएको परिवेश र परिवेशले निम्ताएको समयको जाँतोमा जो कोही पेलिनै पर्छ। कोही अघि पेलिएर निखारिने क्रममा होलान् अनि कोहीले आजसम्म त्यसलाई आत्मसाथ गर्नै नपाएको पनि होलान्। जसले अनुभव गरिसकेको छ, उसका लागि त्यो भोगाइ हो अनि जसले आजसम्म छैन, उसका लागि त्यो भ्रम हो। सधैंभरि आफू सही र सधैंभरि आफू गलत हुन सकिँदैन।
फर्किएर हेर्दा जीवन फरक-भएर पनि हेर्न जरुरी छ। उसले माया नगरेको हुँदै होइन। माया नगर्नेले समाजका अघि मेरो मान्छे भन्ने आँट कहिल्यै गर्ने थिएन। अधिकांश अप्ठ्यारा समयमा साथ नदिएको पनि होइन। तर समय बित्दै गर्दा किन ऊ थाक्दै गई? किन उसले मबाट अलग हुने निर्णय गरी? मैले आजसम्म बुझेको छैन। आफू भविष्य बनाउनका लागि अलग हुन चाहेको कसरी भन्न सकि जसले तिमी मेरो भविष्य भन्ने गर्थी! त्योभन्दा स्तब्ध त किन भविष्य भनेर पढाइ रोज्नुपर्ने स्थानमा रजाइ गर्ने मान्छे छानेर गई, त्यसले गलाउँछ।
हरेक खेलका नियम हुन्छ, शिवाय उसले गर्ने प्रेम बाहेकको। सम्बन्ध बनाउने नबनाउने आफ्नो निर्णय हो र बनाइसकेपछि आफ्नो निर्णयले आफ्नो त्यो मान्छेलाई के कस्तो असर गर्ला भन्ने हेक्का हुनुपर्छ किनकि त्यो एक मान्छे मात्रै हैन, तिमीभन्दा कैयौं वर्ष अघिदेखि उसलाई संसार देख्ने मानिसहरूको आस्थाको केन्द्र पनि हो। आफ्नो अनुकूलताभित्र कसैको प्रतिकूलता बिम्बित हुनु कदापि हुन सक्दैन।
एक्कासी आएर कसरी भन्न सक्छौ तिमी कि माया छैन अब भनि? अर्बौं मानिसको भिड, सयौं देश र अनकन्टार भूगोलको बीचमा तिमीलाई कसैले छान्छ भने त्यो संसारकै कति सुन्दर अनुभव हो? दूरसंचार प्राधिकरणले निकाल्ने दश अंकका दशौं अर्ब नम्बरमध्ये, तिमीलाई मिसकल भए पनि कसैले गर्छ भनि त्योभन्दा सुन्दर के हुनसक्छ?
मिसकल गर्न पनि त सम्झिनै पर्छ तिमीलाई अनि उसको ब्रह्माण्डीय जीवनमा आफ्ना अनेकन् आयामहरूलाई छाडेर तिमीलाई सम्झेर फोन लगाउनु आफैमा कति जीवन्त छ, हैन र? किन खोजिरहेछौ ठूला कुरा? अनि धेरै समय बोल्दा माया अनुभव हुने तिमीलाई र केही दिन बोल्न नपाए नकारिएको अनुभव किन गरिरहेछौ?
उसका जीवनका तिमीजस्तै अनेकन् पाटाहरू छन् जो तिमीलाई आजसम्म थाहा छैन। तिमीलाई थाहा नदिएको भनेर किन रिसाएको फेरि? आँखाले देख्ने संसारको पनि सीमा छ, कानले सुन्न सक्ने ध्वनिको पनि सीमा छ। समुद्रमाथिको अकाशले सधैंभरि देख्ने समुद्रको गहिराइ देख्न सक्दैन। तिमीले जानेको ऊ भनेको उसले देखाएको ऊ मात्र हो। तिमीले देखेको ऊ त अकाश हो तर वास्तविक ऊ त क्षितिजसम्म फैलिएको छ। उसलाई बुझ्न उसको गहिराइ तिमीले पुग्नै पर्छ र उसको गहिराइ पुग्न तिमीले आफ्नो यथार्थभन्दा अझै तल डुबुल्की मार्न पर्छ।
दिन र रात गरी बोलेर, प्रायः भेटेर, शारीरिक स्तरमा लिप्त भएर पनि केही सम्बन्ध किन टिक्दैनन्? अनि कहिलेकाहीँ बोलेर, त्यहीमाथि झगडा गरेर पनि केही सम्बन्ध कसरी टिक्ने गर्छन्? कागजको फूल र बगियानको फूलजस्तै हुन् सम्बन्ध। सम्बन्धमा परिणाम होइन, प्रक्रिया हेर्नुस्।
छाडिदिनुस् आज तपाईंलाई भेट्ने भनेको, अन्तिम समयमा भेट्न सक्दिनँ भनेर सूचना आयो। के हुन्छ होला तपाईंको प्रतिकृया? त्यही काजी कालु पाण्डेले नेपाल एकीकरणमा यति-यतिका काम गरेर आफ्नो दम्भ बढाएझैं मैले तेरा लागि यतिका चिज गरेँ, तैंले मेरा लागि के गरिस् भनेर आफ्नो दम्भ बढाउनु हुन्छ? कि उसलाई केही पर्यो कि, काम गर्दै गर्ने ठाउँबाट अपर्झट केही आइलाग्यो अथवा पारिवारिक कुनै कारण थियो भनेर जान्न चाहनु हुन्छ? यतिका सोच्न आफूभित्रको दम्भले कहाँ दिन्छ र हैन?
हरेकले बुझ्न जरुरी छ, माया जीवनका लागि अपरिहार्य छ तर पर्याप्त भने छैन। पर्याप्त नजिक पुग्न धेरै अपर्याप्त चिजको जोडन जरुरी छ। सायद हामी ठूला चिज खोज्दै जाँदा, स-साना चिजले भरिएको मायाको अस्तित्व पनि विलिन भएर गयो।
बाल्यकालको याद आयो। 'के बन्छस् पछि?' भन्दा डाक्टर र पाइलटको रटान लगाइयो। सायद बाआमालाई थाहा थियो, यथार्थमा बनाउन नसके पनि सपना चाहिँ देखोस्। त्यसैले त आज पनि सपनाकै पछि जीवन दौडिँदै छ। षट्कोण र त्रीभुज पढाउने गणित शिक्षकले अलिकति चिनो त्यतिबेलै त्यही भुजाहरूबीच बनाउन सिकाएको भए, भविष्य त्यतिबेलै जानिन्थ्यो। यसरी जोकोहीसँग ठक्कर खाएर, जीवनभरिको पीडा बोक्नु पर्ने त थिएन।