अमूल्य उपहार (अन्तिम भाग)
अनन्या होलीमा घर पुगिन्। घर पुग्दा एकजना भाइको हातबाट अनिसको चिठी आयो। चिठी हेर्दा उनी स्तब्ध, बिजुलीको झट्का लागेर अनान्याको मुटुको धड्कन रोके जस्तो भयो। उनको सातोपुत्लो उड्यो। चिठीमा लेखेको थियो, 'अनु, तिमी मलाई जसरी पनि भोलि यो ठाउँमा भेट्न आऊ, नभए म आफैलाई चक्कुले प्रहार गरेर ज्यान त्यागी दिन्छु।'
बिहेअगाडि त अनन्यालाई उसलाई भेट्न डर लाग्थ्यो भने बिहेपछि त भेट्ने कुरै भएन। त्यो राति पेट दुख्यो भनेर अनन्याले खाना नखाई सुतिन्। जीउमा आतंककारी आक्रमण भएजस्तो, सास फेर्न गाह्रो, छाती भतभत पोलेको, हात चिसो न चिसो, जीउ थरर कापेजस्तो, बिहान उठ्दा टाउको भारी भएर फुट्लाजस्तो, अनिसको छातीमा छुरा घोपेको, रगतले लत्पत भएको, डर लाग्दो सोच मात्र आइराख्यो।
अनिसलाई यो अवस्थामा ल्याउने जडको दोषी अनन्याले आफैलाई नै ठानी। यदि मैले उसलाई त्यो कार्ड २ वर्षअगाडि नपठाएको भए आज ऊ यस्तो पीडामा हुने थिएन। मेरो कारण अनिसले त्यसो गरिहाल्यो भने म एउटी अपराधि भएर कसरी बाँच्न सक्छु होला र? यसमा मेरो मात्र होइन, सबैको बदनामी हुन्छ। यो समस्या सानो होइन भन्ठानेर अनन्याले दादालाई त्यो चिठी देखाइन् र उसलाई सम्झाइदिन अनुरोध गरिन्।
दादा उसको घर जानु भयो तर त्यहाँ के भयो, अनन्यालाई केही थाहा भएन। सायद दादाले आफ्नो बहिनी प्रतिको निःस्वार्थ माया र सुरक्षात्मक भावनाले यो संवेदनशील समस्याको समाधान गर्न आफ्नो शारीरिक र बौद्धिक क्षमताले भ्याएसम्म कडाभन्दा कडा प्रभावकारी कदमहरू लिँदै हुनुहुन्थ्यो होला। दादा रिसाउँदै अनिसको घरबाट फर्केर आउनु भयो र सोध्नु भयो, 'अनु, तैँले अनिसलाई चिठी लेख्या हो?'
'हो, हो दादा मैले नै हो पहिला उसलाई चिठी लेखेको हो,' अनन्याले भनिन्।
'तँ मूर्ख, गदही,' भनेर दादाले रिसाउँदै गाली गर्नुभयो। अनिसको घरमा के-के भयो, अरु केही भन्नु भएन। भोलिपल्ट साँझ अनिस अनन्याको घरमा आइपुग्यो।
'सर घरमा हुनुहुन्छ?,' उसले सोध्यो।
दादाले उसलाई बोलाउनु भको होला भनेर अनन्याले आँगनमा बस्न भनिन्। दादा एकैछिनमा घर आउनु भयो।
अनिसले दादालाई नमस्कार गर्यो।
दादाले नमस्कार नफर्काइ अनन्यालाई हात समाउँदै कोठामा लिएर जानु भयो अनि क्रोधित स्वरमा सोध्नु भो, 'अनु! तैँले किन बोलाको उसलाई?'
'दादा, मैले बोलाको होइन, ऊ त तपाईंलाई भेट्न आएको,' अनन्याले भनिन्।
दादाको रिस आगोझैँ थियो, अनिसलाई घरको छेउमा लिएर जानु भयो। के-के सोध्नु भयो र उसलाई पिट्न थाल्नु भयो। गाउँको मान्छे पनि आएर उसलाई नराम्रोसँग कुटपिट गर्न थाले।
अनन्याको निर्दोश दिमाखलाई होसै भएन। कोठाबाट रुँदै, सिनेमाको हिरोइनजस्तै, 'नाइँ! उसलाई नपिट्नु' भन्दै बचाउन गइन्।
त्यो झगडामा गाउँलेले सोध्यो, 'को हो ऊ?'
उनले रुँदै भनिन्, 'मेरो साथी।'
अनि उनी बल्ल चेतमा आइन, हे भगवान मैले यो के गरेँ! म त एउटा विवाहित केटी, उसलाई बचाउने क्रममा छुरी, चक्कु बिना नै उनले आफ्नो हत्या गरिसकेकी थिइन्। दादा त आफ्नी अनन्याको मूर्खता देखेर बेहोस। त्यो घटनाको दृश्य मानौं एउटा हानिकर आँधीले विनाश छोडेजस्तो थियो।
त्यो रात अनन्याको जीवनको कहाली लाग्दो थियो। धर्ती फुटोस् र मलाई निलेर लागोस् सोच्दै आँखा झिमिक्क नगरी सबेरै उठिन्। अनन्याकी आमाले आफ्नी छोरीको रातभरिको छटपटी र पीडा महसुस गरेर भन्नुभयो, 'छोरी, तैँले यो के रोग लगाइस्र? कहिलै निको नहुने, मलाई किन नभनेकी?'
उहाँले प्रेमपूर्वक बुबाको सुरक्षामा उनलाई सहरको लागि बिदा गर्नुभयो। अनन्याले सहर पुगेर दिवाकरलाई कल गरिन, तर फोन लागेन। त्यसपछि चिठीमा घटनाको बारेमा जानकारी दिइन्। उहाँ २-४ हप्ताभित्र उनलाई लिन आउनु भयो र उनको पढाइ बन्द भयो।
एरयपोर्ट प्रस्थानमा अनन्याले 'अनिसलाई फोन गर्छु ल' भनेर दिवाकरसँग अनुमति मागिन्।
एसटिडीको ज्याला तिर्ने पैसा दिँदै उहाँले भन्नु यो, 'हुन्छ गर।'
अनिस बसेर पढ्ने घरको नम्बर उनीसँग थियो, फोन उठ्यो।
अनिसलाई बोलाइदिन भनिन्।
'हेल्लो, म अनिस बोलेको,' उताबाट आवाज आयो।
'हेल्लो, म एयरपोर्टबाट बोलेको, तिमीलाई कस्तो छ? खोइ के-के भो यो? मैले मेरो जीवनबाट यो सबै अपेक्षा गरेको थिइनँ, तिमीले गर्दा मलाई दुःख, मैले गर्दा तिमीलाई दुःख कहिल्यै चाहेको थिइनँ। ल जे हुनु थियो भै गो, आफ्नो ख्याल राख्नू, मेरो पढाइसढाइ बन्द भयो, म अब जाँदै छु। त्यही खबर गर्नलाई फोन गरेको,' अनन्याले भनिन्।
'कोसँग?,' उसले सोध्यो।
'कोसँग हुने नि, लाने मान्छेसँग,' अनन्याले जवाफ दिइन्।
त्यसपछि अनिसले केही नबोली ढ्याक्क फोन काट्यो।
अनन्यालाई स्पष्ट ज्ञात भयो, उसले मलाई अब असाध्यै घृणा गर्छ र एक किसिमले मनमा ढुक्क पनि महसुस गरिन्। मैले गर्दा विचराले कति दुःख पायो, मजस्तो मान्छे घृणाको लायक नै हो भनेर त्रासदी मेटाउने शक्तिका साथ् सब कुरा भुल्ने प्रयत्नमा श्रीमानसँग प्लेन चढेर विदेश आइन् र आफ्नो सुखी घरसंसार बसाइन्।
नेपाल छोडेको दशकौं पछि फेसबुकमा जोडिने मौका आयो। अनन्याका सपरिवार छोरा, छोरी, आफू र बुडा सबले अकाउन्ट खोले। अनन्यालाई यो जादुको छडीले उसलाई पनि सर्च गर्न मन लाग्यो र अँध्यारोमा तीर फालेझैं उसको नाममा फ्रेन्ड रिक्वेस्ट पठाइन्। फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट भको देखेर आश्चर्य भइन्।
'तिमी नेपालको अनिस हो?' अनन्याले सोधिन।
'हो अनु, म तिम्रै स्कुलको अनिस हो,' भनेर जवाफ आयो। यसरी उनीहरूको फेसबुकमा च्याटिङ हुन थाल्यो। ऊ नेपालमा कानुन अधिकृतजस्तो ठूलो मान्छे भइसकेको, आफ्नो छोराछोरी र परिवारसंग जीवन सेटल भएको थाहा पाएर अनन्या अत्यन्तै खुसी भइन्।
च्याटमा एकदिन उसले भन्यो, 'अनु, मसँग तिमीले लेखेको चिठीहरू अझै पनि छ।'
'हे भगवान्!' भन्दै अनु छक्क परिन् र दिवाकरलाई यो कुरा सुनाइन्।
उहाँले भन्नुभयो, 'हैट, के त्यस्तो मान्छेसँग तिमी च्याट गरेर बसेको! मान्छेले समयसँग परिवर्तन हुनुपर्छ। एउटा विवाहित व्यक्तिको घरमा उसको श्रीमती, छोराछोरीको चिठी, कार्डका मेमोरीहरू हुनुपर्छ। अझै पनि १० क्लास पढ्दाको गर्लफ्रेन्डको चिठी राखी राख्नु त्यो त क्रेजी मान्छे नै हुनुपर्छ।'
अनन्याको डिग्रीको पढाइ पनि जारी नै थियो। 'मेरो अब परीक्षा आउँदैछ र मेरो बुढाले तिम्रो बारेमा उस्तो भन्नुभयो है, त्यो चिठीहरू फालिदेऊ,' अनिसलाई भनिन् र आफ्नो फेसबुक अकाउन्ट डिएक्टिभ गरिन्।
फेसबुक डिएक्टिभ गरेको केही दिनपछि अनन्याको जीवनमा अर्को बज्रपात आयो। सायद अनन्याका परिवारले फेसबुक खोल्दा इमेल र फोन प्राइभेसी सेटिङमा राख्न नजानेर, उनीहरूको पर्सनल डिटेल्स सार्वजनिक भएर होला, दिवाकरलाई अनिसको १० पन्ना लामो इमेल आयो। साथमा अनन्याले उसलाई त्यतिबेला लेखेका चिठी र हाल चयाटिङका अट्याच्मेन्टका प्रमाणसहित।
त्यति मात्र नभएर त्यो इमेलमा डिक्स्नेरीमा घृणाका जति पनि नकारात्मक र अश्लील शब्दहरू छन्, अनन्याको बारेमा ती सबै शब्दहरू प्रयोग भएको थियो। जसरी नेपालको घटनाले अनन्याको जीवनमा कहाली लाग्दो रातको आँधिबेरी ल्याएको थियो, त्यसैगरी यो इमेलले मानौं १० गुणा शक्तिशाली अटोमिक बम खसेको बिस्फोटको भूमरीमा पसेजस्तो थियो।
अनन्यालाई आफ्नो पति-पत्नी सम्बन्धको हत्या भएको महसुस भयो। उसले दिवाकरलाई जीवनमा कहिल्यै यस्तो दुखी देखेको थिइनन्। उनले श्रीमानसँग रुँदै माफी मागिन्।
दिवाकरले अनन्यालाई क्षमा मात्र होइन, सहानुभूतिकर्ता र मायाका साथ सम्झाउदै भन्नुभयो, 'अनु, तिमी लाटी छौ। साबधानी अपनाउन बिर्सिन्छौ तर तिमीमाथि म सधैं गर्व गर्छु। तिमी मेरो लागि इन्स्पिरेशन हौ, तिम्रा दर्शनशास्त्र र ज्ञानका कुराहरू म मेरो काममा प्रयोग गरिराखेको हुन्छु। कोही बाहिरको मान्छेले तिम्रो बारेमा राम्रो या नराम्रो भनेको मलाई कुनै प्रभाव पर्दैन।'
त्यसैगरी, अनिसलाई पनि सिम्पल सकारात्मक रिप्लाई पठाएर भन्नुभयो, 'तपाईं सही हुनुहुन्छ, मलाई थाहा दिनु भएकोमा धन्यवाद, हयाब अ ग्रेट लाइफ।'
यसरी उसको विनाशकारी बमलाई बिना बल या बहादुरी देखाएर नै डिफ्युज गरिदिनु भयो।
यति सुन्दर मुटु भएको उत्कृष्ट मानव, कठिनाइ परेको बेला सहायता दिने, यति ठुलो समस्या पनि यति सहजै समाधान गर्न सक्ने, सधैं सही बाटो देखाउने र अघि बढ्ने प्रेरणा दिने नि:स्वार्थ माया गर्ने श्रीमान पाउनु म कति भाग्यमानी केटी! अनन्याले आज आफूलाई साँच्ची नै संसारको सबभन्दा भाग्यमानी महसुस गरिन्। उनी यी सब कुरा सोचेर ओछ्यानबाट उठेर बाथरूम पसिन् र दादालाई फोन गरिन् र हृदयदेखि धन्यवाद दिइन्।
'दादा हजुरले मलाई सुन होइन, कोहीनुर हिराजस्तो जीवनसाथी र सबैभन्दा अनमोल उपहार दिनुभएको रहेछ,' उनले खुसीको आँसु झार्दै भनिन्।
'किन, के भो साने?' दादाले सोध्नु भयो।
अनुले घटनाको छोटो विवरण दादालाई सुनाइन्। दादासँग कुरा सकाएर, दिक्षालाई पनि फोन गरिन् र सोही कुरा दोह्राउँदै जानकारी दिइन्। विगतमा अनान्याको बोयफ्रेन्ड छ भनेर थाहा हुने उनी मात्र एक साथी थिइन् र आफ्नो बिहेपछि अन्नान्याले उनै साथीलाई दिवाकरको बारेमा परेको पहिलो नकारात्मक छापको बारेमा गरेका फ्ल्यासब्याक कुराहरू सम्झिँदै दुवै साथीहरू ठूलो स्वरले हाँसे।
उतिबेला १७ वर्षीया निर्दोष अनन्याले दुखी हुँदै दिक्षासँग गुनासो पोख्दै भनेकी थिइन्, 'ओए सुन्न! मेरो श्रीमान् दिवाकारे त कस्तो बदमास मान्छे रैछ, एयरपोर्ट जानुअघि एकछिन हाम्रो डेरा हेर्न आउनु भएको थियो, अनि मैले सरी है हजुरलाई केही नि खान दिइनँ भन्दा उहाँले भन्नुभयो, ‘किस त खान दिन्छौ नि!’ त्यत्रो पढेलेखेको मान्छेले त्यस्तो कुरा गर्न सुहाउँछ? मलाई त त्यो मान्छे पटक्कै मन परेन।'
'हैट् लाटी, तिमी बायोलोजी पढ्ने मान्छेलाई यति पनि थाहा छैन, बिहे भएपछि श्रीमानले के-के गर्छन्, तिमीलाई एउटा किस पनि गर्नु भएन! उहाँ त कस्तो भालादमी मान्छे,' दिक्षाले हाँस्दै भनेकी थिइन्।
'तर एउटा कुरा बुझिनँ, तिम्रो सबै कुरा थाहा हुँदाहुँदै दिवाकरजीले किन बिहेको लागि रिजेक्ट गर्नु भएन त?,' दिक्षाले गम्भीर रूपमा सोधेकी थिइन्।
'अऽऽ काँ हुने विचरा, उहाँले पनि केटी सानै छ, उनलाई बिहे गर्न मन छैन भन्नु भएको रहेछ। तर मेरो घरमा जस्तै उसको दाइ र बुबालाई म मन परिसकेको थिएँ। उहाँ पनि परिवारको खुसीमा आफू ‘बलिका बक्रा’ दुलाहा बनिदिनु भएको। खासमा उहाँ त आफ्नो गर्लफ्रेन्डसँग बिहे गर्न भनेर जानु भएको। मेरो ससुरा र केटीको बुबाबीच मतभेत भएर म दुलही बन्न पुगेकी नि,' अनन्याले जवाफ दिएकी थिइन्।
बाथरूममा लामो कुरा गरेको आवाज सुनेर दिवाकरले भन्नुभयो, 'किन हल्ला गरेको, सुत्नु परेन? भोलि काममा जानु छैन? कोसँग कुरा गर्या यति राति?'
'दादा र दिक्षासँग,' अनन्याले भनिन्।
'किन नि?' उहाँले सुध्नु भयो।
'हजुर बुझ्नु हुन्न,' उनले भनिन्।
अनन्याले बेड साइड टेबलको लाइट अफ गरेर आँखा चिम्म गरिन् तर निन्द्रा भने उनीबाट कोसौं दूर थियो। उनलाई गीतामा भगवान कृष्णले दिएको उपदेशको स्मृति याद आयो। जब हामी कुनै रुखलाई हेर्छौं, उसको पात, फूल या फललाई हेरेर दङ्ग पर्छौं तर त्यो रुखको जरालाई हेरेर हामी कहिले आकर्षित हुँदैनौं। यसको अर्थ के हो त? जसले त्यो रुखलाई हराभरा बनायो, जसले त्यो रुखलाई बढायो, हुर्कायो उसको केही मूल्य छैन? त्यसो त पक्कै होइन।
जब हामी कुनै रुखलाई पानी हाल्छौं, जरामै हाल्छौं। जब कुनै रुखको पूजा गर्छौं, जरालाई नै पूजा गर्छौं। यसै प्रकार दिवाकरको जरा रुपी महानता, उहाँको अपरम्पार माया र बलिदानलाई जुन शब्दले बयान गरे पनि अनन्याले कमै देख्दै थिइन्।
अनन्याले आफ्नो श्रीमानलाई कलियुगका महादेव रुपी जीवनसाथी पाएकोमा भगवानलाई अटुट आभार प्रकट गर्दै हर्षका आँसु झारिन्। उनलाई आज छर्लंग भयो कि, अनिसले उनलाई उत्प्रेरक भनेर जिन्दगीभरि द्वेष र घृणाले हेर्छ, उ आफ्नो ठाउँमा सही छ। अनन्याले उसको घृणालाई पनि प्रसादसहित स्वीकार्दै आफू दोषमुक्त भएर विगतको कथालाई पूर्णबिराम लगाइन्। आफ्नो श्रीमानको हातलाई माला बनाएर, आफ्नो मुटुमा बेर्दै, उनी पीडाबाट मुक्त भएर सुखको निन्द्रामा डुबिन्।
आज यो घटनाले ‘अनु र दिवु’को सम्बन्ध झन्नै बलियो बनायो र जीवनको जुनै आँधीहुरीले नष्ट हुन नसक्ने अटुट बनायो। मायाको सम्बन्धमा मिठो स्वर र सुन्दर अनुहार होइन, सुन्दर मन र अटुट विश्वास चाहिन्छ। साँचो प्रेमको परिभाषा दिनु पर्यो भने अब उनी भन्छिन, 'दिवाकरले अनन्यालाई गर्ने माया हो!' र अनन्याले सधैं कामना गर्छिन्, उनको जस्तै 'अमूल्य उपहार' संसारका सबै दिदीबहिनीहरूसँग होस!
यो पनि
अमूल्य उपहार
अनपेक्षित समय