मेरो बिरामी बुबाको सिरानमुनि
तपाईंको मेनिफेस्टो रोएको छ मेयर साब
कति जतनले साँचेका
मेरा पिता
आफ्नै जीवनकालमा
अनुभूत गर्न चाहान्थे
सहरको समुन्नति
वस्तीको विकास
सन्तानको सुखद् भविष्य
कति विश्वासले
व्यथाले गलेको शरीर लतार्दै
वैशाखे धूपको पर्वाह नगरी
दिनभर भोक प्यासको ख्यालै नगरी
तपाईंको भरोसामा स्वस्तिक लगाए।
परिणामको घोषणासँगै
बिहानीले दिनको संकेत गरेझैं
तपाईंको मेनिफेस्टो विपरीत
तपाईंको चालढाल अर्कै छ
मेरी अपाङ्ग छिमेकी
लख काटिरहेकी छिन्
खै आशा मर्ला जस्तो छ
मेरो बेरोजगार साथी
प्रश्न गरिरहेको छ
एउटाको पेटमा लात हानेर
कसैलाई खुवाउनु
कसरी न्यायोचित हुनसक्छ?
कसैको भाग खोसेर
कसैलाई दिँदैमा
समाजवाद कसरी आउन सक्छ?
फेरि पल्टाउँछु तपाईंको मेनिफेस्टो
अहँ! कतै लेखिएको छैन
कतै उल्लेख छैन
त्यहाँ त विकासको मूल फुटाउने कुरा छ
गरिब र निमुखाको मुक्तिको वाचा छ
सभ्य समुन्नत समाजको कल्पना छ
समानताको लामो व्याख्या छ
तर तपाईंका हर प्रहार
गरिब र निमुकाको शिरमा बज्रेको छ
सीमित सदस्यको बीचमा
सीमित स्वार्थको बीचमा
तपाईंको निरीहता देखेर
मेयर साब, मेनिफेस्टो रोइरहेको छ।
पल्लो घरकी काकी
भक्कानिँदै भन्नुहुन्छ
निरीह श्रमिकहरूलाई
खाटी वर्गशत्रु जस्तो
इगो र सन्तुष्टिका लागि
देशद्रोही जस्तो
विकासका प्रमुख बाधक जस्तो
डाँडा कटाउँदै हुनुहुन्छ
के समाजवादका शत्रु तिनै हुन् त?
कलिला सन्तानका कोमल मनभित्र
घृणाको विष भरिएको छ
त्यसैले मेनिफेस्टो रोइरहेको छ
मेयर साब, मेनिफेस्टो रोइरहेको छ।
बिन्ती मेयर साब!
स्वार्थीहरूको चङ्गुलबाट बाहिर आउनुहोस्
तपाईं त अमूक पार्टी र झुन्डको हैन
सबैको साझा अभिभावक बन्नु छ
सामाजलाई समुन्नतिको बाटोमा लिनु छ
हिजो गरेका वाचा पूरा गर्नु छ
मेयर साब, मेनिफेस्टो रोइरहेको छ।