'काका! म विजयी भएँ,' साँझपख सूर्य डुब्दै गर्दा भतिजोले आफू राजनीतिमा उदाएको खबर फोनबाट सुनायो। उसले सुनाउनुपूर्व नै मिडियाबाट ऊ विजय भएको खबर सुनिसकेको थिएँ। फेरि पनि उसको मुखबाट सुन्दाको खुसी बेग्लै।
म त्यही खुसीले उन्मत्त भएर बुर्कुसी मार्न चाहन्थेँ तर सकिनँ। मनैमनले नाँचें, उफ्रिएँ, कुँदें। शरीर अशक्त भए पनि मन उन्मत्त हुन छोड्दो रैनछ।
'बधाई छ बाबु। मेरो आशीर्वाद छ। सधैं तेरो जित होस्,' मैले फोनबाटै भनेँ।
'काका, म तुरुन्तै तपाईंलाई भेट्न आउँदैछु,' यति भन्दै उसले फोन राख्यो। सायद मसँग भेट्न आँतुर थियो ऊ।
१२ वर्षअगाडि दाजु-भाउजूले मलाई छोडेर गएको नासो हो सुनिल। जतिखेर सुनिल २५ वर्षको थियो, त्यो कालो दिनले बेला कुबेला मलाई सताइरहन्छ। झट्ट सम्झिन्छु, निधारमा चिटचिट पसिना निस्किन्छ। म आत्तिन्छु। छातीमा गह्रुंगो चिजले थिचे जस्तो। घाँटीमा केही अड्के जस्तो। सास फेर्न गाह्रो हुन्छ। आँखाहरू रुन थाल्छन्। तब झस्किन्छु। म अरुको अगाडि रुन सक्दिनँ। हाँसेको बहाना गर्छु। ठट्टा गर्छु, जिस्कन्छु। नाथे हाँसोमा कत्रो तागत, भारीका भारी दुःख लुकाउन सक्ने!
दाजु, भाउजू, मेरी श्रीमती रुपा, छोरी शिक्षा, सुनिलको भाइ सुशील सबैलाई दैवले एकैचोटि आफ्नो प्यारो बनायो। हामी गृहजिल्ला पाल्पाबाट स्याङ्जा हुँदै काठमाडौ फर्किदै थियौं। मेरोभन्दा दाजुको हात सफा थियो। लामो यात्रामा चालकको सिट उहाँकै हुन्थ्यो। सुशील अगाडि थियो, बाबासँगै। हामी पछाडी गफमा मस्त।
स्याङ्जा नौडाडा कटेको चार/पाँच मिनेट भएको हुँदो हो। भालुपहाडको ठूलो घुम्तीमा विपरीत दिशाबाट आएको ट्रक हामी तिरै पेलेर आयो। दाजुले हरसम्भव जोगाउन खोज्नुभयो होला तर गाडी अनियन्त्रित भएर भिरबाट तल सेती खोलामा खस्यो।
त्यसपछि केही थाहा पाइनँ। होस आउँदा अस्पतालमा थिएँ। छोरी शिक्षा अस्पतालसम्म साससहित आएकी रैछ। मलाई साथ दिन आएकी होली। पछि म त रहेँ, ऊ रहिन। अरु सबैले त्यहीबाट बिदा लिनु भएछ। म भाग्यले बाँचें। आजको यो दिन आउनु रैछ र भतिजो सुनिल बेलायतमा इन्जिनियरिङ पढ्दै थियो।
दाजु र म दुवै राजनीतिमा थियौं। दाजु अलि कम म अलि बढी। दुर्घटनामा परेर मेरो शरीर पूरै नचल्ने भयो। देख्न सुन्न र बोल्न मज्जाले सक्छु। बाँकी अरुको सहारामा।
म राजनीतिबाट ओझेल परेँ। अर्को साल पढाइ पूरा गरेर सुनिल राजनीतिमा होमियो। यसरी राजनीतिमा लागेको उसले ११ वर्षमा निकै उचाइ प्राप्त गर्न सकेको थियो।
सबैजसो दलभित्र एकै प्रकारका समस्या थिए। अग्रज नेताहरूको अहम्। ढुलमुले कार्यशैली। दलभित्र मौलाएको गुटबन्दी। नातावाद। इमान्दारीताको संकट। सत्ता मोह। जवाफदेहीताको कमी। यिनै समस्याको बीचमा उदाएको आशाको किरण थियो सुनिल। ऊ पूरानै दलको सदस्य भएर पनि आफूलाई अलग रुपमा स्थापित गर्न सफल भएको थियो।
रानीतिक दलको नीति वा सिद्धान्तले खास फरक पर्दैन। दल भित्रका नेता असल इमान्दार र सक्षम हुनु आवश्यक छ। जतिसुकै राम्रो नीति योजना भए पनि खराब व्यक्तिले कार्यान्वयन गर्न सक्दैन। बरु सही व्यक्तिले खराब नीति योजनालाई सच्याउन सक्छ। त्यसैले दलका झुटा घोषणापत्र पढेर होइन व्यक्तिको आचरण, क्षमता र योग्यता हेरेर मतदान गर्नुस्। सुनिलले यसै भन्थ्यो। उसका विचारलाई जनताले मन पराएका थिए।
यसअघि पनि ऊ सांसद थियो तर समानुपातिकबाट। अहिले पनि सांसदमै विजयी भयो, प्रत्यक्ष मतबाट। काम गर्ने ठाउँ र अधिकार उस्तै हुन् जुन बाटोबाट सांसद चुनिए पनि। तर यो जितको राजनीतिमा ठूलो अर्थ थियो। असल काम गर्नेलाई सत्तासम्म अनि कामचोरको पत्तासाफ गर्न जनता सचेत छन् भन्ने स्पष्ट सन्देश। यही चुनावबाट धेरैको राजनीति संकटमा परिसकेको थियो। कतिको त समाप्तै भयो भन्दिदा गलत नहोला।
घर बाहिर बिहानैदेखि विजय जुलुसको तयारी चल्दै थियो। लगातार नारा गुञ्जिरहेको थियो। सुनिलको छोरो सक्षम भित्रबाहिर गर्दै रमाइरहेको थियो। ऊ भर्खर पाँच वर्षको पुग्यो। स्कुल बिदा हुँदा मैसँग आएर चकचक गरिरहन्छ। बुहारी बिदाको बेला मात्र घरमा हुन्छिन्। प्राध्यापक हुन् उनी। मेरा सहयोगी बिनोद र म जहिल्यै घरमा।
समर्थकहरू सुनिलको प्रतीक्षामा थिए। झ्यालबाट देखेँ, घरअगाडि गाडी रोक्यो। सुनिल हतारहतार गर्दै गाडीबाट निस्कियो। 'काका... काका..!' ऊ त्यहीबाट चिच्यायो।
गाडी रोकेको ठाउँदेखि मसम्मको दूरी ५० मिटर जति हुँदो हो। जसरी सुनिल भाग्दै आएको थियो, उसैगरी भागेर जाने मन मलाई नभएको होइन। फिल्मको पारखी थिएँ। फिल्मी पारामै जान चाहन्थेँ। के गर्नु, म भने कोठाको कोठैमा कुँजिएर बस्नु परेको छ।
ऊ एक्लै कोठामा प्रवेश गर्यो। अबिरले राताम्ये, अनुहार चिन्नै नसकिने थियो। आएर झ्वाम्म अँगालो हाल्यो। केही बोलेन। मेरा आँखा भरिएर आँसु खसे। म पनि बोल्न सकिनँ। उसै त बोल्दा बोली लरबरिन्थ्यो, झन् भक्कानिएको बेला कहाँबाट बोली फुटोस्। धेरैबेरको मौनतापछि घुक्कघुक्क गर्दै सुनिल नै बोल्न थाल्यो।
'काका, मैले जितेँ। नेपाली जनताले मलाई सगरमाथा जति मत दिएर विजयी गराएँ,' उसले रुन्चे स्वरमा भन्यो।
मलाई थाहा थियो, उसले जित्छ भनेर। तर एकलौटी मतपरिणाम ल्याएर जित्नेछ सोचेको थिइनँ।
सुनिलले मेरो छातीबाट आफ्नो टाउको उठायो। आँसुले उसको अबिर लतपतिएको थियो।
'हेर म कति खुसी छु। एकछिन त लाग्यो कि, म सपाङ्ग छु। मलाई केही भएकै छैन। म पहिलाको जसरी उठ्न, हिँड्न, दौडिन सक्छु। भलै म उठ्न सकिनँ तर शरीरमा एकाएक शक्ति आएको महसुस गरेँ,' मैले निकै उत्साहित भएर भनेँ। थाहा छैन कसरी मेरो आवाज स्पष्ट भयो। सुनिल पुनः मलाई अंगालेर रुन थाल्यो। धेरैबेर रोयो। मैले रोकिनँ उसलाई।
'जनताको कुनै दल हुँदैन। उनीहरू कुनै दल विशेषको सदस्य हुनु हुँदैन। जनतानै दलका कार्यकर्ता हुने हो भने जतिसुकै लोकतान्त्रिक प्रणालीबाट चुनाव भए पनि त्यो निष्पक्ष हुँदैन। राजनीति पेसा होइन, सेवा हुनुपर्छ।' सुनिल आफै भन्थ्यो। उसको विचारलाई जनताले राम्रै सँग साथ दिएका थिएँ। आफ्नो पुर्ख्यौली चुनाव चिन्हझैं एकबाट अर्कोमा मतदान नगर्ने परिपाटी यसपटक तोडिएको थियो।
मतगणना सकियो। सुनिल यानिकी हाम्रो दल पहिलो भयो। फेरि एक पटक जनताको मन जितेर ठूलो दल बनाउनुमा सुनिललको लोकप्रियता प्रमुख थियो। चुनावी प्रचारमा सुनिलकै नाम काफी थियो। दलभित्र पाका र अग्रज नेता हुँदाहुँदै भावी प्रधानमन्त्रीको रुपमा सुनिलकै नाम घोषणा गरेर निर्वाचनमा गएको थियो। जनताको मत तान्न पार्टीको यो रणनीति सफल भएको थियो।
सरकार गठनको तरखर चल्न थाल्यो। सुनिललाई दोस्रो वा तेस्रो दलको समर्थन आवश्यक थियो। एक्लैले बहुमत पुग्दैनथ्यो। दोस्रो, तेस्रो र बाँकी सबै दल मिलेर सरकार बनाउने सम्भावना पनि उत्तिकै थियो। तर संसदीय प्रणालीमा ठूलो दलले सरकारको नेतृत्व गर्ने चलन थियो। नेपाली जनता युवाले चलाएको सरकार हेर्न आँतुर थिए। त्यसैले त यसपालि संसदमा युवाहरूको बहुमत थियो। सुनिलको दल पहिलो हुनुमा सुनिलको लोकप्रियता र उसका अधिकांश सांसद युवा थिए।
धेरैजसो पाका नेता प्रत्यक्षबाटै साइड लागेका थिए। केही बाँकी थिएँ, जो प्रत्यक्ष चुनाव लड्न डराएर समानुपातिक बन्दसूचीमा बसेका। फेरि पुराना अनुहार दोहोरिए।
जो जसरी आए पनि, माहोल सुनिलको थियो। जताततै सुनिल सुनिल मात्र सुनिन थालेको थियो। जनताहरू सुनिलको ठाउँमा अरुलाई सोच्नै नसक्ने भएका थिए।
'यदि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था भैदिएको भए पूरै देश उर्लिएर सुनिललाई मात्र मत दिने थियो।' यो मैले होइन, एक चर्चित राजनीतिक विश्लेषकले अन्तरवार्तामा भनेका थिए। उनले अर्को महत्वपूर्ण कुरा भने। 'सुनिलले तीन वर्षे कार्यकालमा पर्यटन मन्त्री भएर पर्यटन क्षेत्रको कायपलट गर्दै कुशलता प्रदर्शन गरे। अब ऊ प्रधानमन्त्री भएर त्योभन्दा बढी कुशलता प्रदर्शन गरोस् भन्ने चाहना बमोजिम जनताले उसलाई मत दिएका हुन्। बारम्बार अवसर पाएका पुराना र युवा नेताले त्यतिको दम देखाएको भए आज कम्तीमा सुनिललाई चुनौती दिने अर्को प्रतिस्पर्धी हुन्थ्यो।
कसैले दशकौं गर्न नसकेको काम सुनिलले एकै कार्यकाल, त्यो पनि तीन वर्षमा गरेर देखायो। विदेशमा पढ्नु नराम्रो होइन, त्यहाँ देखे सिकेको ज्ञानसीप आफ्नो देशमा गरेर देखाउने हो। जो सुनिलले देखायो। एउटाले गर्न सक्ने अर्कोले नसक्ने भन्ने हुँदैन। हामी भन्थ्यौं नि देशमा एक सपूत चाहियो। त्यो सपूत देशले पाएको छ, सुनिलको रुपमा।'
तीन दशक लामो मेरो राजनीतिक जीवनमा मैले उच्च पद प्राप्त गर्न नसके पनि नेपाली राजनीति र राजनीतिज्ञलाई नजिकबाट चिनेको थिएँ। राजनीतिलाई त्यसै फोहोरी खेल भनिएको हैन। यसका थुप्रै कारण छन्। जस्तो सबैसँग एउटा जिब्रो भए जिन्दगी चल्छ। राजनीतिज्ञसँग दुइटा जिब्रो भएन भने ऊ राजनीतिज्ञ हुनै सक्दैन। सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा एउटै विषयमा राखिने विचारमा ठूलो अन्तर देखिन्छ। म आफैले धेरै चोटि दोहोरो भूमिका निभाएको छु।
पुरानो नेपाली उखान छ- 'रात रहे अग्राख पलाउँछ।' भोलि बस्ने भनिएको गठबन्धन दलहरूको बैठक हप्तादिनसम्म बस्न सकेन। यस बीचमा विभिन्न दलहरूबीच दुई पक्षीय बहुपक्षीय वार्ता हुन थाले। संचार माध्यममा विभिन्न किसिमका समाचार प्रसारण हुन थाले। मेरा लागि सूचनाको स्रोत रेडियो र टेलिभिजन थिए। फुर्सदमा बिनोदले पत्रिका पढेर सुनाउँथे। बिनोद भन्थे- 'काका, सुनिल दाइलाई नेतृत्व नदिने चलखेल हुँदैछ रे।'
सुनिल घरमा आएर यथार्थ कुरा बताउदैन थियो। वार्ता हुँदैछ मात्र भन्थ्यो। मिडियाले भनेजस्तो बिमति गठबन्धनमा नभएको, एक/दुई दिनमा शुभ समाचार सुन्न पाउनुहुन्छ भन्थ्यो। मैले पीर मान्छु भनेर ऊ साँचो कुरा बताउदैन थियो। तर म राजनीतिको दाउपेच सबै बुझ्दथेँ।
कतैकतै सुनिलको ठाउँमा अरु नै व्यक्ति खडा गरेका समाचार पनि सुन्नमा आए। तेस्रो ठूलो दलसँग गठबन्धन गर्ने वार्ता चलिरहेको बेला उनीहरूका नेता भन्न थाले- 'सुनिलजस्तो कनिष्ट व्यक्ति प्रधानमन्त्री हुँदा उसको सरकारमा समावेश मन्त्रीहरू सबै पाका भए। वरियता नमिल्ने भयो।'
यो सुन्दा पनि हाम्रो देशका नेताको सोच र छवि उदाङ्गो हुन्थ्यो। जनताले सबै युवा सरकारमा जाऊ भनेर जनादेश दिएसी बुढाखाडा नेता किन सरकारमा जानु परेको? फेरि उमेरमा सानो प्रधानमन्त्री हुँदैमा उसको खुट्टामा ढोग्न जान पर्ने त पक्कै होइन। यो सबै सुनिललाई अगाडि बढ्न नदिने प्रपन्च भएको मैले अनुमान लगाएँ।
सुनिलजस्तो कुशल नेता सरकारको प्रखुममा रही कायापलट गर्नेमा कुनै शंका थिएन। डर थियो अन्य दललाई। सुनिलकै कारण उनीहरूको राजनीति शंकटमा पर्नेवाला थियो। यही रफ्तारमा सुनिल अगाडि बढ्ने हो भने अर्को चुनावमा उसको बहुमत आउनेवाला थियो, अरु सबै पत्तासाफ। यसैकारण अन्य दल सुनिललाई सरकारमा आएको हेर्न चाहँदैन थिए। त्यसैमा फोहोरी राजनीति सुरु भयो।
एक महिनासम्म नयाँ सरकार गठन हुनै सकेन। राजनीतिक भागबन्डामा कुरो नमिलेको जस्तो देखिन्थ्यो। असलमा नेतृत्वमा कुरा मिलेको थिएन। सुनिलबाहेक अरु प्रधानमन्त्री हुन्छु भनेर कसैले दाबी गर्न सकेको थिएन, किनकि जनदबाब चर्को थियो सुनिलको पक्षमा। भित्रभित्र प्रधानमन्त्री हुने आकांक्षा बोकेका नेता प्रशस्तै थिए। सुनिलको दल भित्रैबाट सुनिलको विकल्पमा पाका नेताहरूको नाम बाहिरिन थाल्यो। जो पहिला पटक-पटक प्रधानमन्त्री भैसकेका थिए। समस्या अरुमा होइन, सुनिलको दलभित्रै रहेको असन्टुष्टि विस्तारै बाहिर पोखिँदै थियो।
सुनिलकै कतिपय साथीहरू सुनिलको विपक्षमा देखिन थाले। एकचोटि सुनिल अघि बढेपछि उसका समाकालीन सबै पछि पर्ने डर उनीहरूमा पनि हुँदो हो। सकभर आफू अगाडि बढ्न पाउँ भन्ने चाहना कसको नहोला। राजनीतिज्ञमा त्यागको भावना एकदमै आनवश्यक गुण हो, त्यही दुर्लभ थियो नेपालमा।
धेरै दिनसम्म देश अनिर्णयको बन्दै भैसकेको थियो। सुनिल आफै दिक्क भैसकेको थियो। एकदिन सुनिल आफैले पत्रकार सम्मेलन गरेर आफू प्रधानमन्त्रीको दौडबाट बाहिरिएको घोषणा गर्यो-
'मेरो कारण देशलाई सरकार विहीनताको अवस्थामा पुर्याउन चाहन्नँ। सबै नेता जसरी म पनि सत्ता र कुर्चीको लागि मरिहत्ते गर्न थालेँ भने म र उनीहरूमा के फरक भयो? म राजनीतिलाई फोहोरी खेल बनाउन चाहदिनँ। सफा राजनीति गर्न चाहन्छु, सफा राजनीतिज्ञ हुन चाहन्छु।'
यो खबरले मलाई निकै दुखी बनायो। लाग्यो, जनमत खेर गयो।
बेलुका छिट्टै सुनिल घर फर्कियो। प्रायःजसो ऊ घर आउँदा म सुतिसकेको हुन्थेँ। उसको आउने टुङ्गो हुन्थेन। मलाई छट्पटी भैराखेको थियो। सुतेको भए पनि निदाएको थिइनँ। ऊ केही नबोली मेरो कोठामा आएर सोफामा थचक्क बस्यो। उसको अनुहारको बारेमा के भनुँ, कुनै चमक थिएन। त्यत्रो मत ल्याएर विजयी भएको जनप्रतिनिधिको अनुहार पराजित उम्मेदवारको भन्दा अँध्यारो देखियो। म चुपचाप उसलाई हेरिरहेँ। बोल्न केही थिएन मसँग। उसको टाउको झुकेको थियो। भुइँमा एकतमासले टोलाएर हेरिरहेको थियो। कोठामा शून्यता छायो।
सुनिललाई देखेर म भक्कानिएँ।
'सुनिल!' मेरो रुन्चे आवाज फुत्कियो।
ऊ एक्कासी मलाई झम्टिन आइपुग्यो।
'काका, म हारेँ। मलाई जनताले जिताएँ तर आफ्नै दल र मित्रहरूले हराएँ। मैले राजनीतिमा लागेर ठूलो भूल गरेछु। मैले सोचेको थिएँ। देश धेरै अगाडि बढिसक्यो। सामन्ती सत्ता बाहिरियो, गणतन्त्र स्थापित भयो। जनताको संविधान बन्यो। अब जनताले जे चाहन्छन् त्यही हुन्छ। तर होइन रहेछ। देशमा जुनसुकै तन्त्र आए पनि, जतिसुकै लोकतान्त्रिक संविधान बने पनि, नेता र नेतृत्वको सोचमा सोही अनुसारको परिवर्तन आएन भने देश जहाँको त्यही रहने पक्का छ। यहाँ जनताले के चाहन्छन् भन्दा पनि राजनीतिक दलले के चाहन्छन् उनीहरूको स्वार्थले काम गर्दो रहेछ।
गणतन्त्र, लोकतन्त्र संविधानमा लेखिएर मात्र देश समृद्ध हुने होइन। त्यसलाई संस्थागत गर्न काम गर्नुपर्छ। जबसम्म दलतन्त्र हाबी हुन्छ, तबसम्म सत्ताको लागि हानालुछ चलिरहन्छ। संसदीय लोकतन्त्रको नाममा सरकार गिराउने र बनाउने पटकपटक जालझेल भैरहन्छ। तब संसदीय लोकतन्त्र र गणतन्त्र भनेका खराब रहेछन भन्ने भ्रम जनतामा नआउला भन्न सकिन्न। दल हरूको आचरणले वर्तमान संविधानमाथि नै जनताले प्रश्न गर्न थाल्नेछन्। मलाई प्रधानमन्त्री हुन पाइनँ भन्ने दुःख कत्ति छैन। जनताले दशकौंको संघर्षले बनाएको संविधानमाथि जनविश्वास गुम्ला भन्ने डर ज्यादा छ।
राजनीति आज पनि फोहोरी खेल भनेर साबित भयो। यही फोहोरी खेलभित्र जोकोही व्यक्ति आउन चाहँदैनन्। म आएर गल्ती गरेछु काका।'
सुनिल बोल्दै थियो। यतिका दिनसम्म मनभित्र गुम्सिएका पीडा पोखिँदै थिए। ऊ पनि मान्छे न हो। राजनीतिमा आयो भन्दैमा कठोर हुनुपर्छ भन्ने कहाँ छ र?
'राजनीतिक दलले नेपाली जनतालाई प्रयोग मात्र गरे। आफू सत्तारोहण गर्ने माध्यम मात्र बनाए। मसँग तपाईंले भन्ने गरेजस्तो दुई वटा जिब्रो छैनन्। नेता हुनलाई दुइटा जिब्रो चाहिन्छ भन्ने परिपाटी फेर्न चाहन्थेँ म। राजनीति इमान्दारीपूर्वक गरिने समाजसेवा बनाउन चाहन्थेँ। तर एक्लैले केही भएन।
जुन दिनसम्म नेपाली राजनीतिमा असल, इमान्दार र सफा राजनीति गर्ने सिस्टम बस्दैन, त्यो दिनसम्म चुनाव गर्नु र सरकार निमार्ण गर्नु लोकतन्त्रको नाउँमा जनतामाथि भएको धोका हो।'
म चुपचाप उसलाई सुनिरहेँ।