बेलुनमा हावा भर्न कानको जाली खुल्ने गरी सघंर्ष गरिरहेको जलहरीका पुक्क फुलेका गालातिर सानीले बालसुलभ नजर लगाइन्। 'मेरो बुबाको गालालाई के भा'को?' सोच्दै घुटुक्क थुक निलिन्। हावा भरिएर एकाएक हुसुसु... ठूलो भयो। बेलुनको मुख बाँध्यो।
'म... म समाउने' भन्दै सानी बेलुन तिर लम्किन्। अचानक रुन लागिन्।
'ल ल लिऊ, यो तिम्रै हो यी,' बेलुनको टुप्पो समाउन लगाउँदै जलहरीले भन्यो, 'लेऊ समात नत्र बेलुन भाग्छ।'
सानीले टुप्पो समाउनको साटो, दुवै हत्केलाले बडो जतनले पक्डिन्। बुबाको हातबाट बेलुन फुत्केको उनले देखेकी थिइन्। सानी बेलनु फुत्किएमा आफूले भेट्न नसक्ने ठानेर, सुम्सुम्याउन लागिन्।
'छोरी, बेलुनलाई एकछिन उड्न देऊ। धेरै माथि जाँदैन,' सानीको मनमा रहेको डर हटाउने कोसिस गर्यो।
'अनि उडेर आकाशमा गयो भने आउँदैन,' आफू बुबाभन्दा अग्लो नहुनुको आभास भयो।
'बेलुन उडेर भाग्ने भयो' मनमनै कल्पना गर्दै सानी एकाएक खिस्रिक्क भइन्। आँखा टिलपिल आँसुले ढाक्यो।
'बाबाले समाउँछ नि, मेरो बाबु रुँदैन!' छोरीको बानी थाहा पाएको बाबु सतर्क हुन्छन्।
पुलकित, ठूला तर गहिरा आँखा बुबातिर हेर्दै भर्खर नेपाली व्यञ्जनवर्ण उच्चारण गर्न जानेकी सानी डराइन्।
'यसरी समाउन हुन्न, फुटिहाल्छ नि मेरो सानी, कति ज्ञानी,' बाबुलाई फुत्किनेभन्दा फुट्ने डर लाग्यो।
बैसाखीको सहाराले उभिएको जलहरी अब भने धेरै बेर उभिन नसक्ने कुरा उसको मुजा परेको निधारमा पसिनाका छिटाले देखाउँथ्यो।
'बाबा! गालो भयो है,' रातो खास्टोले बेरिएर तुन्द्रुङ्ग झुन्डिएको दाहिने घुँडोतिर हेरिन्, शैशव ममता छरप्रष्ट भयो। जलहरीको मन भरियो।
'छैन नि' भन्दै खुट्टा हल्लायो। सानी बाबुको हल्लिएको खुट्टा देखेर मुसुक्क हाँस्छे। जलहरीले सन्तोषको श्वास फेर्यो। तर ऊ भित्रैबाट गल्दै आइरहेको थियो। यो असमर्थता देखाउन चाहँदैन।
हिउँदको महिना, घमाइलो बेलुकी अनि कोदोबारीको छेउमा पर-परसम्म देखिने स्याल्फुस्रो, कुटमिरा र पातीका रुख बुटाहरू। जलहरीलाई मध्यान्न ज्यादा रमाइलो लाग्छ। प्राय: बाबुछोरी सोही प्रहरमा घुम्न मन पराउँछन्। आज भने साँझ नै पर्यो।
'उ... त्याँ हेर त काग!' छोरीको ध्यान भङ्ग गरायो। काग हेर्न मुन्टो दायाँ मोड्दा, बेलुन फुत्कियो। सानी झसंग भई। ऊ बेलुनको पछि-पछि कुदी।
यही मौकामा जलहरी भुइँमा बस्यो, थ्याच्च। भर्खर कोदोको नल फाँडेर बसेका ठोसाले, पछाडि घोच्यो, च्वास्सऽऽ! 'ह्या... खास्टो ओच्छ्याउन पर्ने रैछ' बिस्मात मान्दै दाहिने हातले घोचेको ठाउँमा सुमसुमायो। 'त्यसका बाजे!'
हावाको झोकासँगै कहिले माथि कहिले तल गर्दै बेलुन सानीको हात-हात आइपुग्छ। यही लयमा सानी पनि लागिपरेकी थिइन्- 'आइज आइज, ह्याँ आइज!' कलिलो मस्तिष्कलाई रमाउन धेरैबेर लागेन।
यो दृश्य बडो मनमोहक ढङ्गले दाहिने फर्केर हेरिरह्यो। आफूलाई ठोसाले घोचेको बिर्सियो। 'पाटाको पल्लो छेउ उफ्रिँदा-उफ्रिँदा कोदाको ठोसाहरू केटाकेटीले खुँदेर धुलो बनाएछन्,' मनमनै बोल्यो।
गोधुँली साँझ। चराको बास बस्ने समय। टा….ढा पश्चिममा डुब्न लागेका घामका किरणहरू। बाँस झ्याङको हावासँगै झुलिरहेका टुप्पालाई छलेर सानीको कपालमा आएर छरिन्थे, कालो कपाल सुनौलो हुन्थ्यो। फेरोमा अलिकति उध्रिएको सुरुवाल, पोलिस्टरको रातो घाँघर, घाँटीसम्म लर्किएको बाक्लो कालो कपाल, छेडेको कानका लोतीमा दमकाने, बाटुलो मोहडामा मिनाक्छी नयन, भएकी सानी खाली खुट्टाले एकहोरो हावासँगै उफ्रिँदै थिइन्।
एक्कासी हावाको झोका आयो! एक हुल सारौँहरू बाँसा झ्याङबाट चिरबिर-चिरबिर गर्दै तितरबितर भए। सानीलाई बेलुन सारौँले लैजान्छ भन्ने डर पस्यो। नभन्दै हावाको झोकाले बेलुन नभेट्ने गरी फुल्न लागेको बुढो बाँसको आँख्लामा अड्कियो।
'बाबा!' दिक्दार आवाजमा बाबुलाई पुकारी। जलहरीले चोया काट्दा छोडेको झिनो बाँसको कप्टेरोले बेलुन ताकेर झटारो हानिन्। त्यो बबुरो सुकेको चोयो, कति माथि जान सक्थ्यो र, सानीको उत्कट चाहना लिएर लामो यात्रा गर्न सकेन, अलिक पर पुगेर झर्यो।
'बाबा! बाबा!' जति उफ्रिँदा पनि नभेट्ने भएपछि चिच्याइन्।
'बेलुन गयो, उ... माथि' हल्लिरहेको अर्को बाँसको हाँगो बेलुन तिर ठोक्किन आउँछ। 'उता जा!' रिसले आगो भएकी सानी एकोहोरो अड्किएको बेलुन हेर्दा गर्दन मात्रै हैन, उफ्रिँदा खुट्टा पनि गल्दै आउँछ। केही सीप नलागेपछि बेसहरा अबोध सानी, भुइँमा थचक्क बस्छे। बाबुले हेरेको छ कि छैन देब्रे फर्केर हेर्छे।
जति नै गरे पनि अड्केको बेलुन तल झरेन। फेदमा गएर बाँसलाई हल्लाउने निरर्थक प्रयास गरिन्। हावासँगै हल्लिरहेको बाँस, आफूले हल्लाएको महसुस गरिन्। हौसिइन्। बुढो बाँसको छेउमा अर्को सानो-सानी जत्रै तामा आकाश ताकेर उभिएको थियो। हरियो कलिलो तामा देखेर सानी दङ्ग भइन्। बेलुन अड्केको बाँस छाडेर उनी तामा वरिपरि घुम्न लागिन्।
तामाको टुँसा छाम्छिन्। काउसो बिझेको पत्तो पाउँदिनन्। हातमा लागेको काउसो चिलाउने बित्तिकै अर्को हातले कन्याउँछिन्। 'ह्या जा!' गर्दै ठस्स कन्छिन्। हत्केला झट्कार्छिन्। काउसो जहिँको त्यही! तामाको एउटा आँख्लाबाट पानी बगेर सानीको हत्केला च्याप-च्याप हुन्छ। पुछ्न त्यही बुढो बाँसको पटासमा समाउँछिन। अझ धेरै काउसो टाँसिएर उसको हत्केला कालाम्मे हुन्छ।
उसलाई काउसो बिझेको मतलब छैन। उप्किन लागेको पटासलाई एक छेउबाट तान्छे। बेरिएको पटास अर्को छेउमा थोरै च्यातेर सलल..ल बाँसबाट छुट्टिन्छ। घर नजिकै बाँसको झ्याङ सधैँ देखेकी हो सानीले तर जलहरी ढिस्को भएकोले त्यता जान दिँदैनथ्यो। बाँस, पटास र काउसोसँगको पहिलो संसर्ग सानीलाई अनौठो भयो।
झर्को मान्दै नाभीदेखिको बल लगाएर सानी ठुस्स परिन्। घुर्की देखेर जलहरी थोरै रमायो, सदाझैँ। 'खै कता पुगेछ?' दाहिने हातले विस्तारै बैसाखीको टेको लगाएर धरमर-धरमर गर्दै उठ्यो र सानी भएतिर लाग्यो। सुस्तरी पाइला चालिरहेको जलहरीलाई कुनै हतारो छैन। छोरीको क्रियाकलाप देखेर मन्त्रमुग्ध भएको ऊ 'यो बालखापन त नगएकै जाति! केटाकेटीमा भगमानकै बास हुन्छन्' आफूले भोगेको बाल्यकाल बिर्सिएकोमा थकथकी मान्छ। उनैका लागि बाँच्ने अठोट, विस्मृत हुन्छ।
'ओहो! काउसो लागेछ। यसले त चिलाउँछ नि' हात र पटास दुवै समाउँछ। जलहरीले सानीको हातलाई उनकै कपालमा रगड्दै, 'अब आइन्दा काउसो बिझेमा कपालमा दल्नुपर्छ, हस्?' लेग्रो तान्दै काउसोको घरेलु उपाय सिकायो।
'हस्' बाबुको बोलीमा लोली मिलाइन्।
'बाबा, यसको घुइई… घुई… बनाउने,' बेलुनको आश मर्न धेरै बेर लागेन।
जलहरीले पनि बेलुनलाई बिर्सेझैँ गरेर, 'मेरो नानुलाई फिरफिरे चाहियो? हेर है, एकैछिनमा बन्छ,' टाठो हुँदै मट्याङ्ग्रा हातमा लियो।
तिखो भागले पटासको बाहिर रगडेर सबै काउसोहरू झार्छ र दुइ भागमा बराबर जसो हुने गरी च्यात्छ। दायाँ हातमा परेको भाग अलि हलुका र सिधाजस्तो लाग्छ। त्यसलाई अरु दुई वटा लामा-लामा सिराहरू बनाउँछ। एउटा सिराकोबीच भागमा पर्ने गरी छेउ-छेउमा छोटो खोल्सा बनाउँछ र त्यही खोल्सामा अर्को सिरा सिउरिएर प्लस आकारको फिरफिरे तयार भयो।
घगाँरुको एक अमल लामो तिखो काडाँले बीच भागमा खोप्छ, एक छटक जति अघि घुसाएर पटासको एउटा पखेटामा छिस्स हिर्काउँछ, फिरफिरेले आफ्नो रफ्तार समाउँछ- फनन...न।
'खै बाबा!' भन्दै जलहरीको हातबाट फिरफिरे खोसेर देब्रे हात हल्लाउँदै, दाहिने हात तेर्स्याएर घरतिर दौडिन्छे। जलहरी मुसुमुसु हाँस्दै सानीको पाइला पछ्याउँदै बैसाखी फट्याउँछ।
***
'आऊ, मेरा प्यारा-प्यारा भाइबहिनीहरू, रेडियो नजिक आऊ' भन्दै रेडियो नेपालबाट बाल कार्यक्रम सुरु भयो। लोडसेडिङमा रेडियो भरपर्दो साथी भएको छ। एफएम त्यति टिप्दैन। घाममा सुकाउन राखेको ब्याट्री च्याप्दै जलहरी घरभित्र पस्छ।
गोधुँली साँझ झन् गाढा हुँदै खरानी रङको हुन्छ। बत्ती आउँछ कि भनेर स्वीच अन राखेको ४० वाटको गुलुब मिलिक्क गर्दै 'आउँदिनँ' भनेर जान्छ। बन्द कोठामा हावाको बेग नपुगेर अटेरी गरी घुमिरहेको फिरफिरे विस्तारै विश्राम लिँदैछ। आफै बज्दै, आफै सुन्दै गरेको रेडियो कोही कसैले सुन्दियोस् भनेर होला, बालगीत भन्दा 'स्याऽऽ' ध्वनी ज्यादा फाल्दैछ। सानीले रेडियो बजेको वास्ता गर्दिनन्। फिरफिरेलाई चोर औँलाले घुमाइरहन्छिन्।
३ खुट्टे टेबलमा बैसाखी अड्याउँदै, सिरानीमाथि राखेको रेडियो तिर लम्किन्छ। स्याँर स्याँर बजिरहेको रेडियो खिटिक्क बन्द गर्दै, काखमा राख्छ। रेडियोको खोल उतार्दै, फुर्का टकटक्याउँछ। टाँसिएका खरानीका कणहरू बुरूरू झर्छन्। खोलले बैजनी रङ धारण गरेको देखेर मनमनै मुस्काउँछ 'एक जमानामा यो रेडियोको ठूलो काम थियो।'
त्यो जमानामा बज्ने रेडियो कार्यक्रमका नामहरू जलहरीलाई आज पनि कण्ठाग्र थिए। बुढो तर पुरानो भै नसकेको रेडियो ओल्टाई-पल्टाई हेर्छ। उसले के-के सुनेन यो रेडियोमा।
शनिबार राति ८ बजे अंग्रेजी भाषाको समाचार सकीएपछि पाण्डव सुनुवारको चौतारी कार्यक्रम जहाँ देशैभरिका लोक-दोहोरी पारखीको सुमधुर बोलहरू सुन्यो। साँझमा टाठो आवाजमा बज्ने घटना र विचार सुनेर देश टोटोल्यो। नाटक 'दिन-प्रतिदिन' सुन्यो। कृषि कार्यक्रममा बुढी आमै नाङ्लोमा चामलका कनिका निफन्दै खेतबारीका मल, बिउ, जानकारीमूलक कुराकानी आँगनमा बसेरै 'अँऽऽ अँ' गर्दै सुनेकै हुन्। 'हरी शरणम…' भनेको सुन्दा पक्कै पनि घुँडोको बिमार, नभए कुप्री छिन यी बुढी' भनेर परिकल्पना गर्यो।
शनिबार दिउँसो बज्ने 'फोन-इन' कार्यक्रम, उसको सबैभन्दा प्यारो थियो। लक्का जवान जलहरी पूरै हप्ता यही कार्यक्रम कुरेर बस्थ्यो। यसमार्फत उसले धेरै साथी र आफन्तलाई छोटो सन्देश पठायो। उसलाई लाग्थ्यो ऊजस्तै सबैजना सन्देश कुरेर रेडियो सुन्दैछन्। फौजीको रेकर्ड गरेको आवाज सुन्दा उसलाई, फौजी हुने रहेर पलाएर आउँथ्यो। सन्देश के पठाउने भनेर कल्पना गर्थ्यो। झिसमिसे बिहानीमा शंख र घण्टको ध्वनीबाट सुरु हुने भजनहरू गुनगुनाउँदै, 'यो रेडियो नेपाल हो, अब कोमल ओलीबाट समाचार सुन्नुहोस्' भन्ने तिखो वाक्य सुन्नेबित्तिकै चनाखो हुन्थ्यो।
अतीत सबैलाई प्यारो लाग्छ। वर्तमान झन्झटिलो। भविष्य र वर्तमानको भाष्यमा जलहरी पर्न चाँहदैन। कालो होस या सफेद, अतीत आफैमा मनमोहक हुन्छ। कहिलेकाहीँ ऊ आफू पनि अतीत हूँ जस्तो लाग्छ।
बाबु कतै हराएको जस्तो लाग्यो सानीलाई। अन्धकार पूरै कोठाभरि व्याप्त थियो। अलिक डर पनि लाग्यो, त्योभन्दा धेरै भोक।
'बाबा!'
जलहरी झसङ्ग भयो।
'काखमै खेलाइराखेको रेडियो नै ठम्याउन नसकिने भएछ,' मधुरो आवाजमा सानीलाई आफूसँगै भएको आभास दियो। इस्टकोटबाट लाइटर झिक्यो।
'सानी, टेबलमा टुकी होला, यता देऊ त,' निष्पट्ट अँध्यारोमा सानी निशब्द टेबल छामछाम-छुमछुम गर्छे। टेबलले खल्ट्याङ्-खुल्टुङ आवाज निकाल्छ। सानीको हात टेबलको पल्लो छेउसम्म पुग्दैन्। जलहरी लाइटर बाल्न खोज्छ तर लाइटर झिल्का मात्रै छोडछ्। निमेष भरको झिल्काको उज्यालोमा टुकी बत्ती टेबलमा हैन, ढोकानेर अम्खोरासँगै देख्छ।
आज उसलाई उठ्न मन लागेन। फेरि सानीलाई नै अह्राउँछ, 'सानी, ढोका नेर र'छ।'
केहीछिनको मिल्का-मिल्कीपश्चात लाइटर धिमा बल्यो। लाइटरको सलेदो नङ्ग तानेकोले झिल्को अब बत्ती भयो। सानीलाई हतारो थियो। लामो पाइला चाल्दा निकै लामो चालिछन् क्यार, खुट्टामा अम्खोरा ठोक्कियो। अँध्यारोमा पत्तो भएन, भुइँले पानी सोस्यो।
अइया! पनि भन्न नपाउँदै ढलेको अम्खोरा त्यत्तिकै छोडेर टुकी समाउँदै बाबुनेर गइन् र लाइटरमा झोसिन्। कोठा सुनौलो भयो। मट्टितेलको हस्को जलहरीको नाक छेडेर फोक्सोसम्म पुग्यो। सुँक्क गर्यो।
छोरीलाई भोक लागेको कुरा बुझेर बैसाखी दिन भन्यो। सानी उसको दाइने खुट्टा हो। सानी पनि बाबाले अह्राएको झिनाझपिटा काम खुरुखुरु मान्छे। बैसाखीको सहारा नभएपछि टेबल कोल्टे पर्छ, सदाझैँ। एक अम्खोरा पानी सोसेकोले रातमाटाले लिपेको भुइँ झुस्स फुलेको छ। 'त्यहाँ, नटेक चिप्लिन्छ!' अघि-अघि लागेकी सानीलाई होशियार गराउँछ।
सानी पछाडि फर्केर भर्याङ्ग ओर्लिन्छे। आफू पनि एक हातले टुकी समाउँदै अर्को हातको सहाराले भर्याङ ओर्लन्छ। सानी आफ्नो पैतालाभरि रातमाटाको लेप टेक्दै हिँडछे। जलहरी पदचाप पच्छ्याउँदै खोल्ट्याङ-खोल्ट्याङ भान्सातिर लाग्छ।
'छोरी, माम खाने कि माम्री?' दिउँसै पकाएको भातले जुरो हालिसकेको थियो। ओदानमाथि मोही हालेर राखेको कराहीमा अनदिको पुवाको माम्री नरम देखिन्थ्यो। टुकीको उज्यालो पर्ने वित्तिकै सानीले के खाने रोज्न समय लागेन। दाबिलोले फलामको कराही कोतर्न लाग्यो। अझै तातो छ, अँगेनो। सानी अँगेनो आडमा बसेर भुइँमा अँगारले कोर्न लागिन।
'लेऊ' एक बोटुको पुवा बनाएर सानीलाई दियो। मोहीमा घोलिएको गुलियो सानीको मुखमा बिलायो। जलहरी खरानीमुनि गाडेको अगुल्टो निकालेर अँगेनोभित्र ठोस्यो र ढुङ्ग्रीले भुङ्ग्रोमा फुक्यो। अगुल्टोले आँगो टिप्यो।
इस्कुसको तिहुन रापले गर्दा झोलमा फोका पर्यो। धेरै तात्न नपाउँदै पित्तलको कसौँडीको भात खन्यायो र चोइला-चोइला परेका भात खुँड्यो। आजको छाक टार्यो जलहरीले।
'छोरी, छेउमा कि भित्तामा?'
उनले छेउ वा भित्तो जे रोजे पनि यसो छाम्दा कमेरोमा हात चिप्लेको अन्दाज थियो। त्यसैले हरेक साँझ सोधिने यो प्रश्नको उत्तर नदिई सानी मन्डी तानेर झ्यालतिर फर्केर सुतिन्। सानी छेउमा लामो-लामो श्वास लिँदै मस्त निदाइरहेकी थिइन्, आँखा छोपिन लागेको कपाल सपक्क कान पछाडि सिउँरिदियो। धपक्क बलेको अनुहार देखेर मन्त्रमुग्ध भयो।
दिब्दिबे बत्तीमा खोइ कहिलेको हो युवामञ्च निकाल्यो, नि..कै पुरानो। जलहरी युवामञ्च भित्रको फोटो देखेर जुरुक्क उठ्यो। 'जीवनको भोगाइ सानीले खेलाउने फिरफिरेजस्तै- घुमिरहेको छ तर अफसोच विपरीत दिशामा!' भन्दै जलहरी पुराना पत्रमित्रता गर्दाका दिन सम्झियो।
उसले धेरै जिल्लाका धेरै मानिससँग पत्रमित्रता गरेको थियो। कतिले पछिसम्म चिठी पठाइरहन्थे। फोटो स्टुडियोको क्यानभास अगाडि सिधा उभिएर वा दशैं तिहारमा तोरी बारी र फूलबारीलाई पृष्ठभुमिमा राखेर क्यामेरको फ्रेममा अटेसम्म गाउँभरिका मानिसहरूसँग खिचाइएको फोटो पनि आउथ्यो। पत्रमा आफूलाई चिनाउन उताबाट जवाफमा 'फलानो- फलानो रंगको कपडा लगाएको दायाँबाट फलानो नम्बर र माथिबाट फलानो नम्बर' भनेर आफ्नो उपस्थितिको पहिचान पठाइन्थ्यो।
धेरैमध्ये एउटा पत्र भने धेरै पछिसम्म आइरहयो। त्यही पत्रले गर्दा निकै रात अनिदै बितायो जलहरीले।
यता गाउँमा बर्खे मल बारीमा ओसार्नु छ। मकै छर्ने चटरो। बुवा र भाइ बारीतिर व्यस्त छन्। बहिनी र आमा चुलाचौकामा अल्झेका छन्। बहिनी कान्छी, सबै दाजुबहिनी ४ वर्षले जेठाकान्छा।
जलहरीलाई पटक्कै काम र गाउँतिर ध्यान लाग्दैन। दश कक्षाको जाँच दिएपछि अरू लाठेहरूको पछि लागेर सहर जाने निधो गर्यो। एसएलसी परीक्षाको नतिजासँग त्यत्ति ठूलो आशा थिएन।
'ए ठूले, अब यति पढेसी पुगिहाल्यो,' मनहरिले सुनाए। जलहरीले बाबुको कुरो बुझ्यो अथवा बुझेन तर गाउँको लहर समात्यो। बाटो खर्च बोक्यो र आमाले तयार पारेको सामल बोकेर बाटो लाग्यो।
***
पत्र-मित्रता गरेको धेरै समयपछि तोरीबारीमा खिचिएको फोटोको धेरै अनुहारहरू मध्येकी दायाँबाट तेस्रो व्यक्तिलाई आज दुवैले आफ्नै आँखा अगाडि उभिएको देख्दा हर्षबिभोर हुन्छन्।
'कहिले आयौ काठमाडौं?' जलहरीले सोध्यो।
'अस्ति आ'को,' उनले मसिनो आवाजमा जवाफ दिएर मुन्टो निहुराइन्। अनुहार झनै राता भए, डर लाज सबैले एकैचोटि झप्प घेर्यो। शीर उचालेर जलहरीको अनुहार हेर्न सकेकी थिइनन्। आँखा झप्प छोप्यो। निस्पट्ट अँध्यारो।
(एकैछिन दुवै मौन रहन्छन्।)
उनी मनमनै के भयो भन्दै डराउँछिन्। के बोल्ने, के नबोल्ने सोच्न सकिनन्।
'मावलीमा अनि घरमा सन्चै छ?,' जलहरीले सोध्यो।
'उम्… सप्पै ठिक छ,' पछ्यौराको फेर दोबार्दै भनिन्।
जलहरीलाई शीर उचालेर हेर्न निकै कोसिस गरिन्। तर डर, सरमले मुटु बाहिरै आउला जसरी धड्किएर भुतुक्कै भइन्। पत्रमा लेख्न नसकेको भावना, भेटदा भन्न साँचेकी उनी अहिले अवाक छिन्।
'जाउँ' जलहरीले उनलाई पछ्याउन इसारा गर्यो। यही मौका छोप्दै छड्के आँखाले जलहरीलाई हेरिन्। उनलाई देखेपछि लाजले भुतुक्कै भइन्। 'लोग्ने मान्छेलाई त्यसै-त्यसै, कसैलाई नहुने हतारो हुन्छ।'
धुँवाको कुहिरोभित्र छोपिएको होटलमा रोकियो।
'बस' चुलोबाट पुत्याइरहेको धुवाँलाई ढाडले छेक्दै आफ्नो अगाडि उनलाई बस्न भन्यो।
'साहुनी, खै थुक्पा दिनु त, दुई ठाउँमा! अनि प्याज-खोर्सानी छ भने हाल्नु है!' दायाँ तिर पिर्कामा बसेकी साहुनीलाई हेर्दै भन्यो।
धुवाँको कुहिरो चिर्दै निहुरेर बसेकी उनलाई नियाल्यो।
'ठूलो फराकिलो निधार, निधारमा रातो अक्षता। सिउँदो छुट्याएर रातो धागोले बाटेको बाक्लो कालो कपालको लाक्क्षी। आधा मुख छोपिने गरी बेरेको रातो बर्को। रातो प्लास्टिकको जालि चप्पल। नाकमा नथ्थी। कानमा सिहुँरिएको चाँदीका मुन्द्रा। गाढा निलो आँखामा बाक्लो कालो गाजल। रातो भेलाको कुर्ता।' जलहरीले कुनै पनि ठाउँ बाँकी नराखी नियाल्यो।
यत्तिकैमा तात्तातो झोलले टिल्पिल थुक्पा टेबलमा आइपुग्यो। उसले हेर्न थाँती राखेर ध्यान थुक्पातिर लग्यो।
'खाऊ न!' उनीतिर सिलाबरको कचौरा सार्दै भन्यो।
पिरो र तातो थुक्पाले जिब्रो डाम्यो, मुखभित्र राख्ने कि ओकल्ने सोच्न नपाउँदै सुलुत्त चिप्लियो। सहन नसकेर जलहरीको आँसु खस्यो।
यो दृश्य महसुस गरेकी उनी 'खितितिती' हाँसेको आवाज आयो।
ऊ एकोहोरे खाइरहेकी छ। लोग्ने मानिससँग डर पनि लाग्छ तर मसीले लेखेको मायामा विश्वासको छाप बसेको छ।
'साहुनीले आगोकै कोइला हालिछिन् जस्तो छ, अचाक्ली तातो,' तात्तातो खाएर मुख पोलेको दोष होटेल साहुनीलाई थोपर्यो।
चम्चाले थुक्पा खान असहज भए तापनि जति आउँछ, उति खाँदै थिइन्। पेटमा भोक भए पनि थुक्पा पटक्कै रुचेन। 'मलाई पुग्यो!' रसाएको नाक सुक्क तान्दै खास्टोले नाकमुख पुछिन्। टिम्मुरले पर्पराएको जिब्रोलाई थुम्थुमाउन थोरै हावा मुखभित्र तानिन्।
जलहरीले पैसा तिर्यो। टहरोबाट बाहिर निक्लियो। अलमल्ल परिन्। एकैछिन 'यो ठाउँबाट कतै जानु नपरे पनि हुन्थ्यो' मनमनै सोचिन्।
ऊ उठेर अघि-अघि लाग्यो। रातो जगको पानी ठाडो घाँटी लगाएर पिइन्। 'रिसाउनु भयो कि?' भन्दै डराइन्।
ऊ बाहिरबाट ढोकाभित्र हेर्दै पर्खिबसेको थियो।
उनले मिलिक्क हेर्न नपाउँदै फटाफट पाइला अगाडि बढायो। पत्र-मित्रता पछिको पहिलो भेट। भेटेको केही घण्टा बस्न नपाउँदै छुट्टिनु पर्ने दुवैको बाध्यता। वीर अस्पताल पुग्छन्।
'केही छ?' भन्दै जलहरीले सोध्यो। उनी नबोली यताउता हेर्दै मुन्टो घुमाउँदै उभिइरहिन्।
घरबाट मावल जाने भएकोले पत्र नपठाउन आग्रह गर्दै लेखेको चिठी 'यदि हाम्रो माया साँचो हो भने सोह्र श्राद्धमा परेवा तिथिको ११ बजे वीर अस्पतालको गेटमा कुरेर बस्नेछु' भन्ने अन्तीम पत्रको अन्तिम वाक्यले गर्दा आज भेट सम्भव भयो। कागजमा मसीले लिपेको शब्दबाट अपरिचितसँग माया बसेकोमा उनलाई यो सबै सपनाजस्तो लाग्यो।
'गल्ती गरें, कसैले देखेमा मेरो जीवन बर्बाद हुन्छ' उनलाई ग्लानी भयो, के गरौं र कसो गरौँ भयो। भक्कानिएर रूँदै बाटो सक्किएको पत्तो पाउँदिनन्। ढुङ्गेधारामा मुख पखालेर मावली पुगिन्।
ओछ्यानमा पल्टिँदै जलहरीको तर्कनाले काउकुती लगाउँछ। मुसुक्क हाँस्दै हर्षित भइन्। थुक्पा खाँदा, मुख पोल्दा, निल्नु न ओकेल्नु हुँदा, साहुनीलाई दोष थुपरेको सम्झिँदै एक्लै मनमनै हाँसिन्। पानीपाट गोल्डेन खैनी माड्दै ओठमा च्यापेके देखिन्। हरियो गोट्टी भएको जुत्ता, खरानी रङको कमिज, कालो इस्टकोट, खद्दरको पाइन्ट, फराकिलो निधार, अलिकति फुल्न लागेको कपाल, हाँस्दा चाउरिने कञ्चट र बोल्दा देखिने पित्तलको तारले बाँधेको बङ्गारा, सर्लक्क चुच्चो नाकमुनि घोप्टे जुङ्गा, सिनित्त तिखारेका दारी, समाजले 'आर्मीको श्रीमती रे!' भन्दै चिनीने चिनारीले मनमनै काउकुती लागेको जस्तो भयो।
आफ्नो चरमचक्षुले जति भ्याउँछ, सबै निर्धक्क नियालिन्, अदृश्य तर छर्लङ्ग! 'आखिर आफ्नै मान्छे हो क्यारे! सिपाहीकी श्रीमती।' ढुक्क भएर एक फाँको श्वासले छाती धक्क फुलेर आयो। कोल्टे फेरिन्। निद्रा परेन। झल्झली जलहरी आँखैअगाडि आउन थाल्यो।
उनलाई जसरी हुन्छ जलहरीसँग विवाह गर्नु थियो। मावल आएकी उनी, त्यतैबाट भाग्ने आँट आयो।
फेरि अर्को मनले मानेन। 'माइती, मावली, समाज र गाउँलेले के भन्लान?' सोच्दा-सोच्दै भाले बासेको पत्तो पाइनन्।
आज पनि ऊसँग भेट्न आँतुर थिइन्, सबेरै धन्दापात सकेर उनी वीर अस्पतालतिर लागिन्। अस्पतालको गेटमा पुग्नुअगाडि नै जलहरी कुरेर बसेको थियो। आज पनि ऊ अघि-अघि हिँडयो। उनी पछि-पछि पछ्यौराले मुख छोप्दै हिँडिन्। आज होटलमा बस्दा निकैबेर भलाकुसरी भयो।
'अब म यसरी भेट्न आउन मिल्दैन, माइजू आज माइतबाट फर्किने खबर सुन्थेँ' भनिन्।
'केही दिन पर्ख, डेराको बन्दोबस्त मिलाउँदै छु, मिल्ने बित्तिकैसँगै बसौँला,' उसले सजिलै आश्वस्त पार्न खोज्यो।
'अँ! काँ त्यसरी हुन्छ? घरमा मार्नुहुन्छ।'
उनलाई जतिसक्दो छिटो जलहरीको नामको सिन्दुर लगाएर दुःखसुख सहेर, वरिपरि हुनु थियो। अब भने मनको ढ्याङ्ग्रो जोडतोडले बझ्यो। विछोडका तर्कनाहरू आँखाको डिल-डिलसम्म देखिन थाल्यो। सुँक्क-सुँक्क आवाज आयो।
'गाउँमा खबर पुर्याउन मान्छे खोज्नुपर्छ। काठमाडौंमा त आफन्त मेरा कोही छैनन्। त्याँ' तिम्लाई माग्न को जाने हो, कि म एक्लै आए हुन्छ?' झर्किँदै सोध्यो।
'जेसुकै होस्, माग्न आउनु घरमा। मामा-माइजूले मान्नु भएन भने म हजुरसँगै आउँछु। नत्र…' लामो अनुत्तरित प्रश्नको जवाफ ऊसँग माग्दै थिइन।
***
समय बित्दै गयो- दिन, महिना र साल।
'यो रेडियो नेपाल हो, …२०६१ साउन २३ गते कालिकोट जिल्लाको पिलिमा सडक निर्माणको काम गरिरहेका शाही सेनालाई आतङ्ककारीको समूहले आक्रमण गरेका छन्। ठूलो समूहमा आएका आतङ्ककारीले चारैतिरबाट घेरी साँझ ४ बजेदेखि सुरु भएको फाइरिङ राति १ बजे मात्रै रोकिएको थियो।
आक्रमणमा १८० जना शाही सेनाको मृत्यु भएको छ। देशको विकट मानिने दुर्गम जिल्लाहरूलाई जोड्ने सडक निर्माणको जिम्मा विगत केही महिनादेखि शाही सेनालाई दिइएको थियो। घाइते सैनिकहरूको नेपालगंजस्थित भेरी अस्पतालामा उपचार भइरहेको छ। डाँडाखर्क गाविस- १ निवासी २४ वर्षीय गोपाल थापाको आक्रमणमा परी मृत्यु भएको छ। केही सैनिक कर्णालीमा हाम्फालेर ज्यान जोगाएका छन्। सरकारले यो घटना कडा शब्दमा निन्दा गरेको छ…।'
सायद श्वास फेर्नु र मुटु धड्किनु मात्रै जीवित हुनुको प्रमाण हैन रहेछ। वीरेन्द्र सैनिक अस्पतालको शय्या नम्बर ३३३ मा ३३ दिनपछि होस आउँदा जलहरी किंकर्तव्यविमूढ!
***
काटिएको दाहिने खुट्टा सुम्सुम्याउँदै छेउमा रहेको रेडियो खिटिक्क खोल्यो र स्वयम्भुका दुई आँखा हेर्दै टोलाउँदै लामो सुस्केर हाल्यो- 'खुइया।'
उसलाई रेडियो बजेको एकदमै रमाइलो लाग्छ। उसले रेडियोसँग कुरा गर्दै, सुन्दै, त्यसलाई हेर्दै महिना, वर्ष र धेरै वर्ष कटायो। अझै पनि काट्छ होला। तर उसकी प्राणप्यारीले श्रीमती हुनुको मूल्य चुकाउनु परेकोले उसको मन, आत्मा, दिमाग, प्रेम, स्नेह सबै आधा मात्रै बाँकी छ। ऊ अझै पनि यही रेडियोले वाचन गरेको समाचारमा आफ्नो अनुत्तरित प्रश्नको उत्तर खोज्दै छ।
'मेरी श्रीमती, बाबु, आमालाई किन मारियो?' यो उसको भावना र संवेग रहस्यको गर्तमा छ। अझै यही रेडियोलाई बारम्बार प्रश्न गरी रहन्छ।
तर रेडियोले आजको समाचार भन्छ। ठूला समाचार भन्छ। त्यो सानो गाउँको, सानो घरमा लगाइएको आगोको लप्कोले जलेको एउटा सानो शरीर हेर्न यो रेडियो पुग्न सक्दैन। पुगेको भए पनि बोल्न सक्दैनथ्यो। रेडियोको पनि आफ्नै विडम्बना थियो। रेडियोले उसकी श्रीमतीलाई बिर्स्यो तर त्यो घटना बारम्बार सम्झिनलाई अनि सुन्नलाई ऊ जिउँदै छ।
'अब यो समाचार सुन्दिनँ' भन्दै घरभन्दा ३०० मिटर टाढाको राते भिरको डिलबाट उडेर स-परिवारसँग बिलाउन चाहन्थ्यो। डिलमा पटक-पटक, धेरै पटक उभिएको थियो। अँधेरी खोलाको चिसो हावाले उसको शरीरलाई हुत्याउँथ्यो। हुत्तिएर लडुलाझैँ गर्थ्यो। तर लडिहाल्दैन थियो।
आँखाअगाडि अँधेरी खोलबाट निस्केका कुहिरोमा रुक्मणी अनि उनको संघर्ष ८०:८० को पर्दामा जसरी चित्रहरू चल्न थाल्थे। लामो श्वास फुकेर कुहिरोलाई हुत्याउन खोज्थ्यो। कुहिरोको आफ्नै बाध्यता छ। उडिहाल्दैनन्, सायद अर्को चिसो हावाको झोका चाहान्थे होला। ऊ त्यही सल्लाको बोक्रा केलाउँदै टोलाउँछ र फर्किन्थ्यो, कुहिरोहरू छोडेर!
त्यही रेडियोमा फत्तेमानको 'मर्न बरु गाह्रो हुन्न…' भन्ने गीत उसले खै कति चोटि सुन्यो तर अचेल त्यो गीतको संगीत बज्दा पनि ओठहरू त्यसै बर्बाराउन थाल्छन्। अनायसै गला अवरुद्ध हुन्छन्। मन भरिएर आउँछ। आँखा त सुकिसके, तैपनि परेला बाटिन्छन्!
उसले जन्मस्थान छोड्यो। पुर्खाले सिञ्चेको खेतबारी र जन्मिंदै लिएर आएको थर छोड्यो। रुक्मणीको याद आउने सबै सर-सामान छोड्यो। उसले छोडन केही बाँकी राखेन। एक किसिमले रुक्मणीलाई माया गर्ने मुटु छोड्यो। तर त्यो रातो खास्टो छोड्न सकेन। खै किन हो तर यो सधैँ साथमा हुन्छ। हाट बजार जाँदा फेटा बाँध्छ। काममा जाँदा कम्मर कस्छ। टोलाउँदा आफ्नो काटिएको खुट्टाको खाटा छोप्छ। खत छोप्दा, निष्प्राण घुँडोमा ज्यान भरिएर आउँछ। रुक्मणीलाई भगाउँदा पहिलो चोटि स्पर्श गरेको त्यो धमिलो तर सपाट यादहरू असरल्ल खास्टोभरि छरिन्छन्।
उसको जीवन रातो खास्टो, सानी अनि रेडियो वरिपरि फिर्फिरे झैं घुमिरहन्छ। उसलाई वर्तमान, भूत र भविष्यप्रति केही गुनसो छैन। एक्लो हुनु, अशक्त हुनु, कमजोर हुनु अनि काम नलाग्ने हुनु भनेको यही सुकाएर राखेको ब्याट्रीजस्तै हो भन्ने सोच्छ। के थाहा बेलुका यसले रेडियोमा प्राण भरी पो हाल्छ कि?
जलहरीलाई ज्यानको त लोभ नभएपछि संसारी मोहले छुने कुरै भएन। दीनहीनलाई माया पाउन रुद्री लगाइरहनु पर्दैन भनेझैँ गाउँलेले दाउरा, घाँस, दुहुनु हुनेले मोहीदेखि बिगौती, रातोमाटोदेखी कमेरो इत्यादीले सक्दो सहयोग गरे। गाउँलेको सल्लाहअनुसार घरमा ढुङ्गा छाप्ने निश्चित भयो। त्यही ढुङ्गा बोक्ने भरिया बनेर कोलपाटे आयो।
कलिलो उमेर, चिसोले चरचर फुटेका हात र गाला, गम्बुटले खुट्टा गुम्सिएर हिलोले खाएको औँलाको काप, सबैभन्दा कान्छो अनुहार भएको कोलपाटेसँग भेट भयो। कुरो बुझ्दै जाँदा कोलपाटे टुहुरो, बेसहारा र बबुरो रहेछ। बिर लागेर बाबु मरेपछि आमालाई वनमान्छेले लगेको हल्ला गाउँभरि व्याप्त भए पनि आमाको र बाउको अनुहार उसलाई धमिलो सम्झना छ। कोही नहुनेको भगवान हुन्छन्। जलहरी कोलपाटेको लागि भगवान भयो।
कोलपाटेको मथानीकी भुजेलकी छोरीसँग विवाह गराइदियो। ७ पटक गर्भ खेर गएको कोलपाटीनी निकै सास्ती खेपेर पुन: दोजिया भइन्। सदरमुकामको अस्पतालामा उपलब्ध सम्पूर्ण सुविधा र परामर्श लिएकोले सानीको जन्म भयो। घरमा लक्ष्मीको बास भयो।
टुकी संघकी तालीम दिने बिसुन्खेले 'जलहरी सर एक्लो जीवन कहिलेसम्म हो? एक-एक मिले जोडी हुन्छ?' ठट्यौलीमा हाँसेर भनी भ्याइन्।
अर्को विवाह सुन्नेवित्तिकै कन्पारो तातेर आयो।
काटिएको घुडोको मुआब्जा ८ लाख ५० हजार बोकेर लिसंखु आएको पनि १० वर्ष भैसकेछ। दिन गनेर पनि के गर्नु, श्वास चलुन्जेल आफू पनि चले भैहाल्यो नि भन्दै गर्दा भूकम्प आयो। संसार हल्लायो। पहाड, रूख, बिरुवा, गोठ, आँखाले थामुन्जेल सबै चिज हल्लायो।
उसको तीन तले घर पनि हल्लियो। हल्लेर गर्ल्याम्म-गुर्लुम्म ढल्यो। तर जलहरी हल्लेन। भर्याङमुनि फाली सिहुरिन गएको जलहरी भागेन। भागेर पनि कहाँ जाने? भागेरै आएको, भगाएर ल्याको, भागेर ज्यान जोगाको। अब कति भाग्नु जस्तो लागेछ कि क्या हो? उसका पाइला अघि बढेनन्।
मोह नहुने मानिसलाई मृत्युले पनि सहजै नलग्ने रहेछ। तीन दिनपछि उसले आफूलाई जीवितै पायो। त्यही भर्याङमुनि। देब्रे खुट्टा छाम्यो आफ्नो, दाहिने घुँडो छेउमा बडेमानको ढुङ्गो बजारिएछ। आफ्नो घुँडोको नियति सम्झियो। भर्याङमाथि पूरै माथिल्लो तलाका चिर्पटहरू थुप्रिएछन्। होसमा आउने बित्तिकै कोलपाटेको परिवार सम्झियो। अफसोच!
***
सायद बेलुन बाँसघारीमा साँझको शीतले ओस्सियो होला। सानीले जसरी बेलुन सजिलै बिर्सी त्यसरी नै कोलपाटेलाई बिर्सी। खाटको चेपमा परेर बाँचेकी सानीको अबका दिनमा जलहरी नै बाबु हो। समयसँगै सानीले जिन्दगी पाइन्। अहिले मस्त निदाइरहेकी छिन्।