भइरहेको व्यवस्थामा परिवर्तन!
राज्यसत्तामा परिवर्तन!
या यस्तै केही शाब्दिक रुपमा बुझिने राजनीतिक क्रान्तिको अर्थ यही हो।
तर घरभित्र क्रान्तिले के अर्थ राख्छ होला?
क्रान्ति शब्द दिमागमा आउँदा म भने परिवर्तन सम्झन्छु। त्यसो भए उपेक्षित वर्ग भएर जन्म लिनु नै क्रान्तिकारी बन्नु हुनुपर्छ।
छोरी हुनु, आफैमा क्रान्तिकारी हुनु हो। हरेक छोरीले जीवनको कुनै मोडमा आफ्ना लागि आफ्नै घरभित्र क्रान्ति गरेकै हुन्छ्न्।
कथित दलित हुनु या अल्पसंख्यक हुनु पनि आफैमा क्रान्तिकारी हुनु रहेछ। उनीहरूले घरबाट बाहिर निस्किएपछि क्रान्ति गर्छन्, गर्न बाध्य बनाइन्छ। मान्छेले त मान्छे भएर मान्छे बराबर हुनका लागि क्रान्ति गर्छ।
के एउटा अन्डा क्रान्तिकारी हुन सक्छ? अन्डाहरू क्रान्तिकारी हुन सक्छन्? अन्डाले के पाउँला भनेर क्रान्ति गर्ला? अन्डाको क्रान्तिको उद्देश्य के होला? आउनुस् अन्डाको क्रान्तिको कथा पढौँ।
एकपटक एउटा अन्डा क्षत्री गाउँमा जन्मिएछ। अन्डा जन्मिन्छ कि पर्छ? सामान्यतया कुखुराले अन्डा पार्यो भनिन्छ। तर यो क्रान्तिकारी अन्डा हो, त्यसैले जन्मिएको मानौँ।
अन्डा भएर क्षत्रीको आँगनको, कुखुराको खोरमा जन्मिनु कुनै क्रान्तिकारी कुरा होइन। तर त्यो अन्डाको ग्रहदशा निकै कडा रहेछ। उसले आफ्नो जीवनकालमा त्यही क्षत्री गाउँको माझमा रहेको एउटै मात्र बाहुनको घरको यात्रा गर्नुपर्ने रहेछ।
अब भाग्यमै लेखेर आएको कुरो टर्ने पनि भएन। टार्नलाई अन्डाकी आमा कुखुराले पिपलको बोटमा जल चढाउन जान पनि जानेकी थिइन।
फलस्वरूप त्यो बाहुनको घरको एउटा छोरो गाउँ आइपुग्यो। सहरमा बोइलर अन्डाको स्वाद मनग्गे मनपरेको उसलाई लोकल अन्डा चाख्ने ठूलो रहर थियो। तर गाउँभरि बुवाका जजमान।
बाहुनका घरमा अन्डा खाए भन्ने थाहा पाए भने कति थु-थु गर्दा हुन्। बाको कर्मकाण्डी पेसा धरापमा पार्ने कुरा पनि आएन। तर गाउँ आएको मौकामा लोकल अन्डा नचाखी फर्कन पनि मनले दिएन।
मन मार्न नसकेपछि क्षत्री गाउँको आफ्नो साथीलाई खुसुक्क लोकल अन्डा खान मन लागेको कुरा बतायो। क्षत्री साथीले आफ्ना कडा ग्रह बोकेर जन्मिएको अन्डा र उसका केही थान अरु साथीहरू भेला पारेर सुटुक्क बाहुन साथीको खल्तीमा हालिदियो।
बाहुनले घरसम्म त पुर्यायो तर आमाको चुल्होमा अन्डा पुर्याउनु धेरै ठूलो क्रान्ति थियो। आमालाई अन्डा खान मन लागेको कुरा बताउनु नै सानो कुरा थिएन। अझ त्योभन्दा ठूलो डर त आफूले यसअघि नै अन्डा खाएको कुरा आमाले थाहा पाएपछिको सम्भावित प्रतिकृयाको थियो।
सिधैं आमालाई भन्न नसकेपछि उसले दाजुलाई त्यो कुरा सुनायो। भाइको नाममा आफूले पनि अन्डाको स्वाद थाहा पाउने भएपछि दाजुले हिम्मत नगर्ने कुरै भएन। संयोगले त्यस दिन बुवा चाहिँ घरमा नभएको मौका परेछ।
'आमा भाइलाई अन्डा खान मन लाग्यो रे, पल्लाघरबाट मागेर ल्याएछ,' दाजुले सास रोकेरै यति भन्यो।
जायज हो, आमा आफ्नो कोखदेखी दशधारासम्मलाई दोष दिएर बिलौना गर्न लागिन्। दाजुभाइ मिलेर आमालाई अन्डाका फाइदा बेफाइदा बुझाउन लागे।
छोराको रहरका अघि आमाको मन किन नपग्लेओस्! झन्डै एक घण्टाको बिलौनापछि आफ्ना आँसु पुछेर उनले एउटा भाँडो निकालिदिइन् र झपार्दै भनिन्, 'नखाई नसक्ने भए यी यही भाँडोमा उसिनेर खाओ, तर मेरा चुल्हामा ल्याउन पाउदैनौँ। गोठमा पकाउनु।'
यत्ति भएपछि दाजुभाइलाई के चाहियो? हतपत्त बिहानको खोले पकाइसकेपछि निभाएको गोठको चुल्होमा आगो सल्काए। आमाले दिएको भाँडोमा पानी थापेर ल्याए अनि त्यही ग्रहदशा कडा भएको अन्डा र उसका साथीहरूलाई उसिन्न बसाले।
अन्डा उसिन्दै गर्दा दाजुचाहिँकी सानी छोरी स्कुलबाट आइपुगी। आफ्ना बुवा र काका मिलेर गोठमा दिउँसै के पकाउन लागे भन्ने उत्सुकताले ऊ लुगै नफेरी गोठतिर लागी। गाईबाख्रालाई खोले पकाउनबाहेक कहिलेकाहीँ तरुल पिँडालु उसिन्ने र मकै पोल्ने गरेको त्यो चुल्होमा ओदान राखेर सानो भाँडो बसालेको देखेपछि पक्कै केही मिठै पाकेको हुनुपर्छ भन्ने लाग्यो उसलाई।
छोरी आएको देखेर दाजुभाइलाई अप्ठ्यारो पर्यो। अबुझ बच्चीले भोलि खेल्दाखेल्दै आफ्ना साथीलाई अन्डा खाएको कुरा बताइदिई भने त क्षेत्री गाउँमा हल्ला फैलिन्छ। अन्डा खाए पनि बाको कर्मकाण्डी पेसा धरापमा नपार्नका लागि भाइ चाहिँले जुक्ति फुरायो।
'नानी, यो उसिनेको आलु हो। आलुलाई उसिनेर बोक्रा तासेर फेरि एक घण्टा उसिनेपछि यस्तो हुन्छ।'
नानीलाई के मतलब, जेसुकै होस्। खानेबेला मिठो भयो, भैगयो। तर स्वाद अलि नौलो थियो। नानीलाई स्वाद भने असाध्यै मन पर्यो। अन्डा खाएर ऊ आफ्नो गृहकार्य गर्न लागी।
उता रिसाएकी आमाले अन्डा खाइसकेपछि दाजुभाइलाई अन्डाका बोक्रा, जुठेल्नामा खाल्डो खनेर पुर्न लगाइन् र अन्डा उसिनेको भाँडो घरबाहिरको धारामा छुट्टै मस्कोले माझ्न लगाइन्। आइन्दा त्यो भाँडोमा केही नपकाउन बुहारीलाई निर्देशन पनि दिइन्।
आफ्ना लोग्ने र देवरले खाएको कुरा आफूलाई पनि चाख्ने रहर हुँदाहुँदै सासुको डरले मन मारेकी बुहारीले सासुको निर्देशनलाई टाउको हल्लाएरै पालना गर्ने आशय व्यक्त गरिन्।
तर आमालाई बुहारीको त्यति धेरै विश्वास लागेन। आफ्नो निर्णय अझै मजबुत बनाउन त्यो भाँडोमा कोइला झिकेर राख्ने निधो गरिन्। त्यति गरेपछि आगो जोर्न अल्छी लागेका बेला कोइले चुल्होमा केही पकाउन पनि मिल्यो। कोइला हालिसकेपछि त्यो भाँडोमा कसैले केही पकाउने डर पनि भएन।
अन्डा खाएर केही दिनमा भाइ आफ्नो बाटो लागे। दाजुले दोश्रो पटक अन्डा खाने कुरा निकाल्न सकेनन्। तर आलु भनेर अन्डा खुवाइएकी बच्चीले भने अन्डा नचिन्दै स्वाद मन पराएकी थिई। घरमा आलु उसिनेको दिन ऊ उसिनेको आलुलाई बोक्रा तासेर फेरि उसिनेर अन्डाको स्वाद निकाल्ने कोसिस गर्थी।
आलुलाई जति धैर्यताका साथ उसिने पनि कहिल्यै अन्डाजस्तो स्वाद ननिस्किएपछि एकदिन आफ्ना बुवासँग अनुरोध पनि गरेकी हो उसले।
'बाबा, मैले उसिन्दा त तपाईंहरूले बनाएको जस्तो मिठै हुँदैन। तपाईं नै बनाइदिनु न!'
एकपटक झुट बोलेर छोरीको बालसुलभतासँग खेलिसकेको बाबुले पुरानो गल्ती ढाक्न फेरि अर्को झुट बोल्नुपर्यो। भन्यो, 'तेरो काकाले के हालेर उसिनेको थियो, फेरि आएपछि उसैलाई सोध्नु है छोरी, मलाई त आउँदैन!'
फेरि एकपटक बुवाको झुट पत्याएर छोरीले वर्षौं त्यही भ्रममा आलु उसिनेर अन्डाको स्वाद खोजिरही।
झन्डै दशक बित्यो। आमा उपचारको लागि सहरमा अन्डा उसिन्ने छोराको घरमा आउनुपर्यो। त्यस घरको चुल्होमा सहरका बोइलर अन्डाहरू पहिल्यै साम्राज्य जमाएर बसिसकेका थिए।
एक किसिमले अन्डाहरूको क्रान्ति सफलताको बाटोतर्फ अग्रसर थियो। आमाले धेरै विरोध गर्न सकिनन्। अन्डा पकाउने एउटा प्यान अलग गरेर औँसी पूर्णिमा, तिथि श्राद्ध बारिदिए पुग्न थाल्यो।
अन्डाले गाउँको चुल्होमा प्रवेश नपाए पनि त्यही परिवारको सहरको चुल्होमा प्रवेश पाउँदासम्म आलुमा अन्डाको स्वाद खोज्ने फुच्चीलाई भने अन्डाको स्वाद मन नपर्ने भइसकेको थियो। ऊ आजकल अमलेट र बोइल एगभन्दा पर, अन्डा राखेको केक खानसमेत निकै गाह्रो मान्ने गर्छे। क्रान्तिले ल्याएका परिवर्तनले सबैलाई फाइदै गर्छ भन्ने पनि कहाँ हुने रहेछ र!