हजारौं माइल
सँगै यात्रा गरेका हामी
तीर्थयात्री र चप्पलजस्तै थियौं
म भगवानसँग प्रार्थना गर्न
मन्दिरबाहिर तिमीलाई खोली
मन्दिर के पसेको थिएँ
तिमी त
साँच्चीको मन्दिरको चप्पलजस्तै
जो पहिले आइपुग्यो
उसकै खुट्टामा सजिएर
जिन्दगीको अर्को
यात्रामा निस्किएछौ।
म तिमीलाई
अर्को जुनीसम्म माग्न
मन्दिर छिरेको थिएँ
तिमी त यो जुनीमै नभेटिने गरी
अर्कैको खुट्टामा सजिएछौ।
म अर्को मन्दिरमा
तिमीलाई
प्रतीक्षा गरिरहने छु
जुन समय
तिमी मन्दिर बाहिरको
चप्पलले जस्तै
आफ्नो मान्छे कुरिरहेकी हुनेछौ
म तिम्रो मान्छेभन्दा
पहिले आइपुग्ने छु
र
आफ्नो खुट्टामा सजाएर
जिन्दगीको बाँकी
यात्रामा निस्कने छु।
त्यसपछि म
पुनः
कहिले मन्दिर छिर्नेछैन
किनकि
म मन्दिर छिरेर
फेरि तिमीलाई
गुमाउन चाहन्नँ।