समय परिस्थिति अनि धरातल बदलिएर
फरक छ आजकाल
मेरो पृष्ठभूमि
बदलिएको मन, विचार
र
संघर्ष अनि परिवेशले
खारिएर बनेका
उत्कृष्ट भावना लिएर
तिम्रो पदचाप पछ्याउँदै
आज पनि हिजोकै
मान्छे म।
तिमी सोध्दै थियौ
सोचेको अनि सुनेको
वास्तविकता फरक भए?
त्यतिबेला मेरा शब्दहरू
निरुत्तरित थिए
मनभित्र विशाल सुनामीजस्तै
तरङ्गहरूको छालमा
मेरो तेस्रो नेत्रले भन्दै थियो
विचार अनि यो मन निखारिए पनि
हिजोकै मान्छे म।
तिम्रा असंख्य सपना
तिम्रो विशाल महत्त्वाकांक्षाको
हुरीमा
मेरो वास्तविकताको
मेल नभए?
तिम्रो अटल विश्वास अनि
भूतकालको त्यो तिम्रो स्मरणमा
मेरो भविष्यका सपनाहरूको
बेमेल भए?
अझै भन्दा
तिम्रो सुन्दर रहरहरूको आकर्षणमा
मेरो वर्तमानभित्र
विकर्षण स्पष्टै देखिए?
यस्तै यस्तै अलिखित अनेकौं अनुत्तरित
प्रश्नहरूले जेलिएर
फगत
बाँचिरहेको
हिजोकै मान्छे म।
विगतका मेरा
अक्षम्य गल्ती
अनि
तिमीलाई गरेको चरम
अन्यायहरूले प्रायश्चितको
विशाल बोझ लिएर
सतहबाट शिखरमा पुगेको
यो मन
फेरि अनेकौं प्रश्नवाचक
चिन्हभित्र हराउँदै
पुनः जमिनमा ओर्लिएर
अस्पष्टताको बाटोमा
रुमल्लिएको
हिजोकै मान्छे म।
त्यसैले त प्रिय,
यो महान गल्तीहरूको
पहाड बोकी
प्रायश्चितको नाम्लो लिएर
तिम्रा विशाल खुसीहरू
तिम्रा असीमित चाहनाका
वर्षाहरूमा
मेरो वर्तमानको दरार
बेमेल भए
दु:खभित्र पनि
म
दुखी पक्कै हुनेछैन
किनकि
तिम्रा चाहाना, सपना,
खुसी, रहर,
र
तिम्रो उच्च स्वतन्त्रताभित्र
समाहित गरेर
अगाडिको अन्धकार यात्रा
तय हुनेछ मेरो
अनि त मलाई महसुस हुन्छ
जेसुकै जतिसुकै बदलिए पनि
यो ढल्किँदो शरीर
परिवेश
र
मेरो मिठो रहर भित्रको
तितो र नमिठो
वास्तविकता
यही
आज पनि
हिजोकै मान्छे म!