भन्नुको औचित्व के छ र
त्यसैले सुनाइ रोज्दैछु
किनकि मेरो ती सपनाका
भनाइहरू शीतनिन्द्रामा छन्
तल कतै गहिराइमा
र म हरदम तैरन्छु सतहमा
सपनाको बैंसको आँधिबेरी चल्दा
भित्रैबाट भनाइका भुल्काहरू उठे
जीवनको शीतकालमा नपुग्दै
तिनका आवाज बन्द भए।
कठैबरा ती मेरा सपना
सिउँडी र पिर्रे-रसको
असरले अर्धमुर्छित माछा सरह
ढुलमुल गरिरहेछन्
त्यसै त्यो चिरपरिचित
आफ्नै जलकुण्डमा
के होलान् ती मेरा विक्षिप्त सपनाहरू?
बौरिएलान् कि तिनीहरू
चिसो मूलको पानीको प्रवाहसँगै?
या लान्छ बगाएर निष्ठुरी भेलले उतैतिर?
कि भर्छन् आफ्ना फुरलुङ
देशका ती माछुवारहरूले?