हिजो कुनै ठाउँमा
सूर्यलाई हँसिया हथौडा
भन्न सिकायौ
कुनै ठाउँमा हँसिया हथौडालाई
सूर्य भन्न सिकायौ
जबर्जस्ती
कालोलाई सेतो भन्नुपर्ने
सेतोलाई कालो भन्नुपर्ने
यो कस्तो गणतन्त्र हो?
पण्डितले सर्जममा नभएको
सामानको लागि ‘सम्झेर’
पैसा चढाउनुस् भनेजस्तो
तिमीले सिद्धान्त सम्झेर पैसा चढायौ
घोषणापत्र सम्झेर पैसा चढायौ
हामी लिनेले
देशको दुखिरहेको घाउ बिर्सेर
पैसामा आफ्नो अमूल्य भोट बेच्यौं
सिद्धान्त बेच्यौं, बेच्यौं इमान पनि
पछि खानु सास्ती खाएपछि
गुनासो गर्दै हिँड्यौं दुःख पाइयो भनी
त्यसैगरी अहिले
कुनै ठाउँमा रुखलाई
हँसिया हथौडा भन्न
सिकाउँदै छन्
कुनै ठाउँमा हँसिया हथौडालाई
रुख भन्न सिकाउँदै छन्
ढुक्क छ फेरि पनि
जनताले पहिलेजस्तै
दुःख पाउँदैछन्
आखिर जनताले
रुखलाई रुख
सूर्यलाई सूर्य
हँसिया हथौडालाई हँसिया हथौडा
हो भन्ने अधिकार कहिले पाउँछन्?