दिनहुँ राज्यको रेमिट्यान्स
हवाईअड्डामा लाम लागेर उभिएको छ
मलिन मुहार, झुत्रा कपडा, सानो झोला
हातमा हरियो पासपोर्ट
मस्तिष्कमा केही थान रहरसँगै
पालो कुरेर बसेको छ।
विदेशी भूमिमा रगतपसिना बगाउन
रेमिटेन्स तम्सिएको छ
गरिबीका घाउमा मलम लगाउन
रेमिट्यान्स कस्सिएको छ
सुन्दर सपनाका बगैंचामा
नयाँ फूल रोप्न खोज्दै भौतारिएको छ रेमिटेन्स।
छेउको अर्को ढोकामा
नवछोटे राजाहरू
रातो कार्पेटमा, रेड वाइनको नशामा
रेमिट्यान्सको रगतपसिनामा मोज गर्दै
छत्तीस किलो र सेटिङ भुल्दै
रवाफसँगै स्यालुटका साथ भित्र
कसैले नछुने गरी पसेको छ।
यता रेमिट्यान्स त्यो भिडमा
धम्की र कर्के नजर सहँदै
महङ्गो एयरपोर्ट शुल्क बुझाएर
यताउता भौतारिँदै
पीडा व्यथा थाती राखेर
छातीमा पीर भरिएको पोको लुकाएर
आफ्नो पालो कुरेर अरु रेमिट्यान्ससँग उभिएको छ।