फोहोरी काठमाडौँ
पोकाका पोका फोहोर प्याक गरेर
पठाउँदैछ बन्चरे
बन्चरेको बाटो निर्माण
सुस्तपनाको अधिकतम बिन्दु
अनि गन्हाउँछ काठमाडौँ
बिच्किन्छ सिसडोल
बिच्किन्छ बन्चरेडाँडा
गन्हाउँछ यहाँको राजनीति
यो दुर्गन्ध महँगो पर्न सक्छ
कुनै दिन आज नभए भोलि!
आऊ हैँजाका सन्तानहरू
काठमाडौँ फोहोर छ
फोहोरमा मोहर छ भन्देको
साँच्चीकै मोहर नै रहिछ क्या हो?
झोला बिसाएर आऊ न हौ भनेको
पूरापुर बोरा नै बोकेर आयौ
अनि के खाएर मिल्छ कुरा?
कसरी हुन्छन् यस्ता कुरा पूरा!
धर्मको पीर गर्ने समाज
आधुनिकता खोज्ने हामी
हाम्रा आफ्ना आफ्नै भगवान छन्
पार्टीगत भगवान
उनर्का पाउमा चुम्न पाए
खराउमा ढल्न पाए
ओहो जिन्दगी त्यति नै त हो!
बन्चरेडाँडा
सिसडोलको व्यथा
यो आजको मात्र चाहिँ पक्कै हैन
हाम्रा पुराना भगवानले नगरेका
कामका उपहार होलान् कतै
नयाँ भगवानका पनि गल्ती होलान्
तर
मोर्चाबन्धी नै गरेर
काठमाडौँ गन्हाउँदा
सिसडोल पक्का मगमग हुँदैन
बन्चरेडाँडा सुगन्धित पक्का रहँदैन!
गुलेलीले हान्दा
अश्रुग्यासले ताक्दा
समस्या समाधान पक्का हुँदैन
आजको भोलि केही हुँदैन
समय लाग्छ
फोहोर छ भन्छन् काठमाडौँ
उत्तिकै फोहोर राजनीति
फोहोर सफा गर्न उत्रिएकाहरूको
खुट्टा नकामुन
पखेटा नलागुन
एउटा आशा जीवित नै रहोस्
सफा होस् काठमाडौँ
सफा होस् राजनीति!