विद्यालयको पहिलो दिनमा दिलाएको त्यो मिठो मुस्कान। फेरि पनि ठाउँ त्यही, परिवेश त्यही अनि वातावरण त्यही। तर पनि ल्याउन नसकेको पहिलो पटक कक्षा कोठाको बसाइझैं त्यो मुस्कान सम्झने छु, त्यो सपनाका आकार।
घोचाइ र छुच्चोपनले सरलाई आरोप लगाउने समयमा नै आत्मीयताका साथीहरू बीचको माया अहँ! अझै भुल्न सकेको छैन। न त कुनै जात न त कुनै लज्जावट, न वर्गीय विभेद, न कुनै सपनाको भागदौड। आहा! कुममा कुम जोडेपछि संसार जितेको आभास। नयाँ कापीको पहिलो पेजमा सफा अनि निश्चल अक्षरमा कोरिएका शब्दहरूजस्तै थिए हाम्रा बालापन।
आमाको काखमा रमाएको जस्तो सजिलो नहुँदो रहेछ जिन्दगी। समय सँगसँगै बगिरहेको जीवनमा घरको दुःख अनि आमाबुबाको भोगाइले अझ गलेको र बीच बाटोमै थकित भएको महसुस हुँदो रहेछ। जवानी नआउने हो त दुःख पीडा नबुझिने अनि बालापन मात्र रहिरहने हो भने म संसारमा नआउने नियम अनि सिद्धान्त बुझ्न थालिसकेको थिएँ।
तर बदलिँदो जिन्दगी न पर्यो। कति बेला कुन घडीको कुन समयले मेरा जिन्दगीको बाटो नै फरक हो भनी चिनायो। न कसैको प्रवाह न कसैको मतलब। एक सर्को र एक चुस्की लिएपछि केको सम्पत्ति कमाउनु पर्ने! कताको सपनाका आकार कोरिराख्नु पर्ने! हरेकको सल्लाह अनि सुझाव मेरा लागि बालुवामा पानीजस्तै थिए। जति खन्याए अनि डुबाए नि सुख्खा नै थिए।
साँच्चै समय नै बलवान। चिया अनि धुवाँको चुस्कीमा रमाउन जानेका मेरा जिन्दगीहरू तिमीले पस्किन लाग्दै गरेको थालमा परेका लातहरू हिजोआज यो पृष्ठ मरुभूमिमा काम्न थालेका छन्। तिमीसँग धोद्रो स्वरमा हप्काउने यी मेरा बाडीहरू, हिजोआज कसैको हेराइले नै चुप लागेको छ।
खोइ! कस्तो घमण्ड अनि जिद्धीपन थियो, घरभन्दा पनि बढी बाहिर रमाउन चाहने मेरो मन आज निकै टाढा हुँदा पनि तिम्रै मायाको स्पर्श अनि घरकै सम्झनाले पोलिराख्या छ। तिम्रो गालीको मिठास त तब मैले महसुस गरेँ जब यहाँका दरिन्द्र मान्छेको बोलीको हेपाइबाट पाएँ।
लाग्थ्यो जवानीको जोशले हो या मदिराको नसाले, सिंगो संसार नै मुठ्ठीमा पार्ने सामर्थ्य राख्थेँ। तर नहुँदो रहेछ सोचेजस्तो। यहाँ हरेकको जिन्दगी दन्तमन्जनलाई झैं सिन्काको सहायताले रघेटी रघेटी थुकेर फ्याकिँदो रहेछ।
पश्चाताप त एक दिन अवश्य हुनेछ,आफू पिसिएको दिन छर्लङ्ग देखिने छ भन्ने तिम्रा मिठा ज्ञानहरू आफ्नो जिन्दगीका भोगाइहरूमा महसुस गर्दैछु। तिमीसँग मात्रै रहेछ डर लाग्दा हेराइ अनि क्रोधित आतंकहरू प्रस्तुत गरेको। सायद हेपेर होला! यहाँ त भिजेर लत्रक्क परेको मुसो झैं भएको छु।
हरेक दिन रुनु, कराउनु अनि चिच्याउनुबाट पनि म भित्रको म नै थाकिसकेको थियो। त्यो व्यस्त सहरले नि मलाई घमण्ड अनि जिन्दगीको पाठ सिकाउनु पर्ने भएर नै होला सायद मेरा दर्दनाक दुखेसो आवाज हावाभन्दा धेरै टाढा खसालेको।
तिमीले त कयौं पटक रहेछ आफ्नो खुसी अनि मुस्कान छोपेर मेरो भाग्य बनाइदिएको। अभागी हुनु समय र तिमीले दिएको जिन्दगीलाई धिक्कारी रहेछु। तर भाग्य बनाउन मेहनत अनि परिश्रम गर्नु पर्दो रहेछ जुन कुरो यो कठोर जिन्दगीको भोगाइबाट आत्मसाथ गरें। मनको विचार खुट्टाको चाल, आँखाको इसारा हातको काम नै भाग्य बनाउने गणितीय रेखा हुन् जुन कुनै पल नि मासिनु हुन्न, मेटिनु हुन्न भन्ने जिन्दगीको सिद्धान्त यहीको परिवेशबाट थाहा पाएँ।
बाफ्रे! झण्डै फेरि पनि लत्याएछु तिमीले दिएको अनि बनाइदिएको 'म'लाई। खै कतिपटक उठाइदिन्छौ अनि अड्याइदिन्छौ त्यो मेरो 'म'लाई! हेपाइ, घोचाइ, थर्काइको आँसुले भिजेकी तिमीलाई अब माया, सुख अनि खुसीको हिटरले न्यानोपन दिलाउने छु।
अब त समयले निकै कडक पाठ सिकाएको छ। त्योभन्दा पनि ठूलो ज्ञान तिम्रो जिन्दगीको धैर्यता अनि निरन्तरताले दिएको छ। मलाई 'म'को महत्त्व अनि त्यो हुँदाको आभास भएको छ। आफूमा भएको 'म' बेची मलाई बनाइदिएको 'म' कदापि घट्न दिने छैन। अब 'म' मबाट हामी भएर जिन्दगीको रथ हाँक्ने जिम्मा निःस्वार्थपूर्वक आत्मसाथ गर्नेछु। अनि समाउने तिम्रा हात भए नि जुवामा काँध मेरो हुनेछ। जुन कुनै कुरामा तिमी भए नि मिठास, तागत, हाँसो खुसी मै बनिदिनेछु।
निरन्तरता, निडर, निश्चल, नियम, नि:स्वार्थ नै जिन्दगीका मेरुदण्ड हुन्। कहिलेकाहीँ विचार, विवेक, विश्वास, विनय, विद्या ठाउँमा सदुप्रयोग नहुन सक्छ तर तिम्रो साथ अनि आडले ओइलाउँदै गरेको वृक्ष, पानी मलले नयाँ मुना अनि पालुवाझैं पलाउने छु। आशा छ, अबका हाम्रा प्रत्येक दिनहरू जुनेली रात झैं चम्किने छन्। तिमीले ताते ताते गर्दै हिँडाएका पाइलाहरू तिम्रो बुईको स्पर्श पाउन रोइकराए तापनि कुनै ठेसको दुखाइले अबका दिनमा कदापि रोकिने छैनन्!
'आमा' अइया हुँदाको मालिस हौ। त्यसैले हरेकको मुस्कानको मलम हौ। आमा, आदर्शले भरिपूर्ण माई हौ। त्यसैले हरेकको सफलताको कोहिनूर हौ। आमा' आड, आँखा, आँट, आकृति, आचरणीय, आरक्ष हुन्। जुन शब्दबाट बयान गर्न नसकिने भाव हुन्। आमा अधेरीको प्रकाश हौ। साँच्चै भनुँ भने तिमी मेरो अक्सिजन हौ, जिन्दगी जिउने आकार हौ।