ऊ ढलेकै होर बा?
सितिमिति ढल्ने मान्छे हैन ऊ
जति भिजे पनि गल्ने मान्छे हैन ऊ
लोभी मनका जाल फिंजाउँदै
कता कता ताक्ने मान्छे हैन ऊ
केही नगरीकन थाक्नेहरूका अगाडि
रत्तिभर सुस्ताउन नपाउँदा पनि थाक्ने मान्छे हैन ऊ
ईर्ष्याले भित्रभित्रै पाक्ने मान्छे हैन ऊ
कमजोरीलाई घम्लङ्ग ढाक्ने मान्छे हैन ऊ
तर! ऊ कसरी ढल्यो?
ऊ ढलेकै होर बा?
अहँ! पत्यारै लाग्दैन
अलिकति कोट्याएर हेरौं त
नभए घचच्याएर हेरौं
मेशिनमाथि मेशिनझैं उसका औंला
निरन्तर चलिरहन्थे चलिरहन्थे
ती कहिल्यै दुख्दैनथे
काम छल्न हत्केलामा घोप्टो परेर लुक्दैनथे
जिम्मेवारीबाट कहिल्यै चुक्दैनथे
सुख्खा भए पनि ती सुक्दैनथे
तेल बोकेर कतै ढुक्दैनथे
तर! ऊ कसरी ढल्यो?
ऊ ढलेकै होर बा?
भोको पेटमा पनि ऊ अघाइरहन्थ्यो
सताउनेहरूलाई पनि ऊ सघाइरहन्थ्यो
श्रृजनामा पसिना बगाइरहन्थ्यो
उज्ज्वलताभास ऊ जगाइरहन्थ्यो
आलस्यलाई पर पर भगाइरहन्थ्यो
मनमा दाम्लो लगाइरहन्थ्यो
तर! ऊ कसरी ढल्यो?
ऊ ढलेकै होर बा?
मलाई त पत्यारै छैन
ऊ ढलेको हैन बा
बरु ढालिएको होला
रस चुसेर फालिएको होला
ऊ उठ्नेछ बा
ऊ फेरि उठ्नेछ बा।