ऊ पहिले जूनजस्तै थिई। आजकाल जून भएकी छ। त्यो विशाल आकाशमा चम्किलो रुपसहित बस्दा उसलाई मेरो याद आउँछ कि आउँदैन होला?
आकाशमा उसलाई हेरेर म यही प्रश्नको उत्तर खोजिरहेको हुन्छु आजकाल। ऊ जून बनेर गएदेखि मेरो मोबाइलमा उसको फोनको घण्टी बज्दैन। मेसेज बक्सहरूमा प्रेम भरिएका सन्देशहरू आउँदैनन् मलाई।
मलाई भने उसलाई बारम्बार फोन डायल गर्न मन लागिरहन्छ। औंलाहरू मोबाइलको किप्याडसम्म लैजान्छु, उसको नम्बर डायल गर्छु तर कल गर्न सक्दिनँ। ह्वाट्सएप, मेसेन्जर र भाइबरमा उसका लागि प्रेममय शब्दले भरिएका सन्देशहरू लेख्छु तर पठाउन सक्दिनँ। सायद जून बनेर मबाट टाढा जाँदा उसले मेरो हिम्मत पनि लिएकी थिई, मेरो भरोसा पनि लिएकी थिई। जुन मुटुमा मैले उसलाई राखेको थिएँ, त्यो मुटु चाहिँ किन हो कुन्नी उसले लिइन तर ऊ गएदेखि यो मुटु पुरै रित्तो छ।
हाम्रो डेटिङ स्पट भनेको मेरो प्रेम नगरका अनि दुनियाँको राजधानी सहरका केही सीमित क्याफे र रेस्टुराँहरू मात्रै हुन्। मन भुल्ने गरी, मन भरिने गरी प्रकृतिका मनोरम छटाहरूसँग बेप्रवाह पलहरू गुजार्न हामीले अहिलेसम्म पाएका छैनौं।
आज हामीले सँगै लन्च गर्ने गरी भेट्ने निधो गर्यौं।
उसले बानेश्वरमा म बसेको होटलअगाडि आएर फोन गरी। म हतार हतार तल झरें।
होटलको गेटैमा ऊ लाल रंगको स्कुटर रोकेर बसेकी छ। गाढा निलो कुर्ता, सेतो सुरुवाल, आँखामा कालो चश्मामा ऊ साँच्चीकै राम्री देखिएकी थिई।
मलाई देख्नासाथ उसले आफ्नो जादुमयी मुस्कान देखाई। म पनि मुस्कुराउँदै उसको स्कुटरको पछाडि बसें। उसले शंखमुल पुलतर्फ स्कुटर हुइँकाई। कुमारीपाटीबाट थोरै अगाडि लगनखेलतर्फ गएपछि उसले स्कुटर रोकी।
हाम्रो अगाडि एउटा अग्लो बिल्डिङ थियो, त्यसको माथि लेखिएको थियो हाँडी विरयानी।
हो, आज ऊ र म भोक मेट्न विरयानी अनि मायाको प्यास मेट्न सुरक्षित ठाउँ खोज्दै यहाँ आएका हौं। यसअघि हामी कहिल्यै यहाँ आएका थिएनौं, त्यसैले यो विरयानी स्टेशन कतिऔं तलामा छ भन्ने हामीलाई जानकारी थिएन। भर्याङबाट एकतला उक्लिसकेपछि हामीले लिफ्ट देख्यौं तर कतिऔं तलामा यो विरयानी स्टेशन छ भन्ने थाहा नपाएका हामीहरू निरन्तर सिढीँहरू उक्लिदै गयौं।
श्वास फेर्नै गाह्रो हुने गरी स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै हामी ६ तला माथि गएपछि विरयानी स्टेशन पुग्यौं। त्यहाँ पुगेपछि हामीलाई थाहा भयो अघि हामीले तल देखेको लिफ्ट यही आउनलाई रहेछ। आफ्नो बुद्धि सम्झेर आफै हाँस्यौं।
यहाँ बाहिरपट्टि बसेर सहरको सुन्दरता हेर्दै बस्ने ठाउँ पनि रहेछ तर हामीले भित्र बस्ने निर्णय गर्यौं किनकि हामीलाई एकान्त, गोप्य र प्रेमलाप गर्न मिल्ने ठाउँ चाहिएको थियो।
भित्रको एउटा टेबलमा हामी आमने सामने भएर बस्यौं। मैले उसका हातमा स्पर्श गरें, ऊ झस्किई।
वेटर मेन्यू लिएर आयो। हामीले दुईओटा विरयानी अर्डर गर्यौं। वेटरले अर्डर लिएर गएपछि मैले उसलाई आफू नजिक आएर बस्न इसारा गरें। ऊ आइन।
म उसको नजिक गएँ, म नै नजिक आओस् भन्ने भाव उसको अनुहारमा पनि झल्किरहेको थियो।
मलाई उसको कपाल औधि मनपर्छ। मैले उसको कपाल सुमसुम्याएँ, विस्तारै आफूतिर ढल्काएँ र उसको निधारमा चुम्बन गरें।
मैले चुम्बन गरिरहँदा ऊ पूर्णरुपले सिथिल भैसकेकी छ। प्रेम मिसिएको चुम्बनले होला ऊ पूर्ण रुपमा पग्लिसकेकी छ। समाज र परिवारका कयौं फलामे साङ्लाका बन्धन तोडेर हामी त्यहाँसम्म पुगेकाले पनि होला ऊ अलिअलि डराइरहेकी पनि थिई।
उसलाई कोही आएजस्तो लागेछ क्यारे, हठात् मेरो अंगालोबाट अलग भई। म उठेर विपरीत दिशाकै कुर्सीमा गएर बसें, कोही आएको रहेनछ। उसैले नाटक गरेको भन्दै म ऊसँग रिसाएँ।
ऊ मलाई फकाउन खोज्दै थिई। मैले ऊतिर हेर्दै हेरिनँ, म उठेर यताउता टहलिन थालें।
टेबलमा विरयानी आइपुग्यो। उसले मलाई खाऊ भनि, मैले खाइनँ। उसले आफ्नो प्लेटको खान थाली।
एकदम सन्नाटा छायो।
केहीबरेपछि उसले फेरि नजिकै बोलाई। म चुपचाप उसको छेउमा गएर बसें। उसले आफूले खाँदै गरेको एक चम्चा विरयानी मलाई मलाई खुवाइदिएपछि म मुस्कुराएँ।
हाम्रो सम्बन्धमा रिसाउने, ठूस्किने, घुर्की लगाउने क्रियाकलाप सामान्य हुन्। अब भने हामी करियरका कुरा गर्न थाल्यौं।
उसलाई सबैभन्दा ठूलो मान्छे बन्नु छ, आफ्नो नाम पूर्णिमाको ज्योतिझैं चम्किलो बनाउनु छ। ऊ निरन्तर आफ्नो महत्वाकांक्षा सुनाइरहेकी छ।
उसका कुरा सुन्दासुन्दै म सोचमग्न हुन थालें। ऊ प्रतिष्ठित परिवारको छोरी भएकै कारण हामीले यो राजधानी खाल्डोमा खुलेर आफ्नो प्रेमको वासना फैलाउन सकेका थिएनौं। कतै सार्वजनिक स्थलमा भेट्नु पर्यो कि हाम्रा लागि मास्क अनिवार्य हुन्थ्यो। तर आज त ऊ स्टार बन्ने, सेलिब्रेटी बन्ने आफ्ना चाहनाहरू मलाई सुनाइरहेकी छ।
उसले आफ्नो जीवनका आउने दिनका योजना, महत्वाकांक्षाहरू सुनाइरहँदा म आफ्नो प्रेम जोखिममा पर्दै गएको अनुभूति गरिरहेको छु। किनभने उसका अनगिन्ती चाहनाहरूको बीचमा मेरो एउटा मात्रै चाहना थियो। उसकै वरिपरि, उसकै सहयात्रामा एउटा खुसीले भरिएको जिन्दगी बिताउने। मेरो लक्ष्य, मेरो गन्तव्य ऊ मात्रै हो, उसलाई बिर्सेर मैले अलिकति पनि परको जिन्दगी सोचेको छैन।
कहिलेकाहीं त लाग्छ, म किन उसलाई यति विघ्न माया गरिरहेको छु? किन म ऊभन्दा पर वर्तमान र भूत दुवै देखिरहेको छैन? आफैले आफैलाई पागल ठान्छु म कहिलेकाँही।
उसले के सोचिराको भनेर बोलाएपछि म आफ्नो सोचमग्न दुनियाँबाट बाहिर आएँ।
'किन म ठूलोमान्छे भएको तिमीलाई मन पर्दैन?,' थोरै रिस मिसाएर उसले प्रश्न गरी।
मेरो मुखबाट फ्याट्ट वाक्य निस्क्यो, 'जून बन्छ्यौ त तिमी?'
सायद उसलाई मसँग दूरी कायम गर्नु थियो, चलाखीपूर्ण तरिकाले भनि 'हुन्छ'।
ऊ मलाई किन एक्लै धर्तीमा छाडेर जून बनेर गई, मलाई थाहा छैन। तर म अहिले पनि धर्तीको एउटा सुदूर कुनाबाट ऊ त्यो मेरो जून हो भनेर हेरिरहेको छु।
पहिले मेरो अगाडि ऊ बस्दा मेरा आँखाहरूले जूनजस्तै देख्थे उसलाई। त्यतिबेला उसका आँखाहरूले पनि सिर्फ मलाई नै हेरिरहेका हुन्थे। तर आज परिस्थिति फेरिएको छ। ऊ जूनजस्तै होइन, जून नै भएकी छ। त्यसैले अब मैले मात्र होइन, पूरै पृथ्वीले उसलाई हेरिरहेको छ। उसको शीतल चमक हेरेर धर्तीमा म बाँचिरहँदा एक्लोपनको आभास हुन्छ कहिलेकाहीं, ऊ धरतीमा हुँदाका प्रत्येक पल सम्झिन्छु।
त्यो विशाल आकाशबाट पृथ्वीको यो सुदूर कुनामा उसले मलाई देख्छे कि देख्दिन थाहा छैन, उसलाई मेरो सम्झना आउँछ कि आउँदैन थाहा छैन तर पनि माया त माया हो, उसले लात मारेर गएको यो खोक्रो मुटुले आज पनि उसैलाई अथाह माया गरिरहेको छ।
जून बनेपछि पनि महिनैपिच्छे पन्ध्र दिन हराउँछे ऊ, जसरी मेरो जिन्दगीबाट हराएकी थिई। यता उसलाई जीवनमा सबैभन्दा बढी प्रेम गरेको मेरो मुटु भने प्रकृतिको नियम तोडियोस्, ब्रह्माण्डको थिति फेरियोस तर औंसीका नाममा उसको चमक नहराओस् भनेर कामना गरिरहेको छ।
ऊ औंसीको रात बन्नु कहिलेकाहीं मेरो मुटु टुक्राएर, मेरो विश्वासलाई दागबत्ती दिएर, मेरो भरोसालाई श्रद्धान्जली दिएर हिँडेको श्राप पो लागेको हो कि भनेर सम्झन्छु। तर अहँ! मैले उसलाई श्राप दिनु हुँदैन, उसले माया मारेजस्तै मैले माया मार्नु हुँदैन। उसले भरोसा तोडेजस्तै मैले आफ्नै प्रेमको विश्वास तोड्नु हुँदैन।
कहिलेकाहीं मान्छे प्राप्त गरेका कुराले अनमत्त हुँदोरहेछ। सायद उसलाई त्यसैको घमण्डमा बाँच्ने बानी परेको छ अहिले। उसलाई आफ्नो ज्योति र चमकमा घमण्ड हुनु स्वाभाविकै पनि होला। तर उसको जिन्दगीमा, उसको हर यात्रामा, उसका हर लक्ष्यमा ज्योति भरिदिने ब्रह्माण्डमा एउटा सूर्य मात्रै हुन्छ।
जून बनेर गएकी उसलाई खगोल विज्ञान थाहा छ कि छैन कुन्नी? अथाह ज्योति, अथाह चमक भएका ऊजस्ता, ऊभन्दा ठूला ग्रह, उपग्रहहरू सूर्यकै परिक्रमा गरिहेका छन्।